+
+

भारतीय सेना प्रमुख उत्तेजक हुँदा नेपाली सेना नबोल्नु ‘अर्थपूर्ण’

भारतले सैनिकलाई अघि सारेर नेपाललाई तर्साउने रणनीति लिएको निश्कर्ष

गौरव पोखरेल गौरव पोखरेल
२०७७ जेठ ६ गते २१:१०

६ जेठ, काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले २६ वैशाखमा चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावत र सेना प्रमुख जनरल मनोज मुकुन्द नरभानेसहितका उच्च सैनिक अधिकारीलाई छेऊमा राखेर नेपाली भूमि अतिक्रमण गरेर बनाइएको कैलाश मानसरोवर जोड्ने सडक भिडियो कन्फरेन्सबाट उद्घाटन गरेका थिए ।

उक्त कन्फरेन्समा रक्षामन्त्री सिंहले भनेका थिए, ‘यो सडक रणनीतिक, धार्मिक र व्यापारिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण छ ।’

बोर्डर रोड अग्नाइजेसन (बीआरओ) ले बनाएको सडक उद्घाटन गरिएको जानकारीसहित सिंहले ट्वीट गरेपछि नेपालमा यो प्रकरण चर्चामा आएको हो । यसले नेपालमा जनआक्रोश सिर्जना गर्‍यो ।

नेपाली पक्षले विरोध जनाउन थालेको एक सातापछि भारतीय सेनाका प्रमुख जनरल नरभानेले ‘नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको’ भन्दै विवादास्पद अभिव्यक्ति दिए ।

नयाँ दिल्लीको सुरक्षा तथा रणनीतिक मामिलाका थिंक ट्यांक मनोहर पर्रिकर रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आईडीएसए) ले आयोजना गरेको वेबनारमा उनले भनेका थिए, ‘लिपुलेकमा विगतमा कुनै समस्या थिएन, त्यही भएर अहिले यो मुद्दा कसैको इसारामा उठाइएको भन्नेमा विश्वास गर्ने आधार देखिन्छ र त्यसको बढी सम्भावना पनि छ ।’

नरभानेको अभिव्यक्ति आउनुअघि सोमबार नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कुटनीतिक नोट थमाउँदै भारतीय कदमको विरोध जनाएका थिए ।

यसको जवाफ भारतीय विदेश मन्त्रालय वा उपल्लो तहबाटै आउने अपेक्षा गरिएको थियो । तर, एकाएक सैनिक प्रमुख नरभानेको अभिव्यक्ति सार्वजनिक भएपछि कूटनीतिज्ञ र सैनिक अधिकृतहरुले ‘आश्चर्य’ मानेका छन् ।

नेपाली सेनाका एकजना अवकाश प्राप्त प्रधानसेनापतिले पनि अनलाइनखबरसँग कुरा गर्दै भारतीय सेना प्रमुखको अभिव्यक्तिलाई ‘अस्वाभाविक’ भनेका छन् । नेपाली सेनाको जंगीअड्डाले भने भारतीय सेना प्रमुख नरभानेको भनाइलाई ‘जानकारीमा राखेको’ भनेको छ ।

जंगीअड्डाको संयमता

भारतीय सेना प्रमुख नरभानेले विवादास्पद अभिव्यक्ति दिएसँगै नेपाली सेनाले पनि जवाफ फर्काउनुपर्ने माग जनस्तरमा उठ्यो । तर, प्रधानसेनापति पूर्णचन्द्र थापाले संयमता देखाउँदै भारतीय समकक्षीको भनाइप्रति ‘आवश्यकता भए उपयुक्त मञ्च’मा कुरा राख्ने जनाए ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेमार्फत थापाले सन्देश प्रवाह गरेका थिए, ‘सो सम्बन्धमा आवश्यकता पर्दा नेपाली सेनाको आधिकारिक धारणा प्रधानसेनापतिबाट विधिसम्मत ढंगबाट उपयुक्त मञ्चमा व्यक्त हुनेछ ।’

नेपाली सेनाका एक पूर्वप्रमुखले प्रधानसेनापति थापाले यो प्रकरणमा ‘सुझबुझ’ देखाएको टिप्पणी गरे । उनले भने, ‘यसमा सेना संलग्न हुनु भनेको समस्यालाई थप जटिलतातर्फ धकेल्नु हो ।’

नेपाल–चीन–भारत सम्बन्धका जानकार गेजा शर्मा वाग्ले पनि यो दुवै मुलुकको सैन्य निकायले टिप्पणी गर्ने विषय नभएको बताउँछन् । ‘भारतीय सेना प्रमुखले अभिव्यक्ति दिए भनेर नेपाली सेनाले जवाफ फर्काएको भए, त्यो अर्को गल्ती हुने थियो’, उनले अनलाइनखबरसँग भने, ‘बरु भारतीय सेना प्रमुखको भनाइबारे अहिलेसम्म नेपाल सरकारको औपचारिक धारणा नआउनुचाहिँ अत्यन्त रहस्यमय विषय हो ।’

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि भारतका सेना प्रमुख नरभानेले दिएको अभिव्यक्ति उत्तेजनात्मक भएको ठहर गर्दै कूटनीतिक तहबाट खण्डन गर्न सोमबार सरकारलाई निर्देशन दिइसकेको छ ।

भारत सरकारको आधिकारिक जवाफ ?

नेपाली सेनाका अवकाश प्राप्त उच्च अधिकृतहरु नरभानेले वास्तविकताको गहिराइमा नछिरी अभिव्यक्ति दिएको बताउँछन् । अनावश्यक लाञ्छनासँगै तेस्रो मुलुकलाई पनि जोडेर अभिव्यक्ति आउनु अस्वभाविक भएको सैनिक अधिकृतहरुको टिप्पणी छ ।

यद्यपि, यो नरभाने आफैंले राखेको धारणा हो वा व्यक्त गर्न लगाइएको हो भन्ने विषयले महत्व राख्ने उनीहरुको भनाइ छ । नेपाली सेनाका अवकाश प्राप्त रथी विवेककुमार शाह भने कुनै पनि मुलुकको सेना प्रमुखले सरकारको आधिकारिक धारणाभन्दा बाहिर गएर टिप्पणी नगर्ने बताउँछन् ।

‘महाकालीको स्रोतदेखि यता नेपाली भूमि हो भन्ने हाम्रो अडान छ’, शाहले अनलाइनखबरसँग भने, ‘त्यसैले भारतको आधिकारिक व्यक्ति सेना प्रमुखले बोलिसकेपछि यसलाई परराष्ट्र मन्त्रालयले खण्डन गर्नुपर्छ ।’

नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी डा. प्रेमसिंह बस्न्यात भने भारतीय रक्षामन्त्रीले सेनाका उच्च पदस्थ अधिकृतलाई राखेर सडकको उद्घाटन गरेकै वखत नेपाललाई अप्रत्यक्ष रुपमा मनोवैज्ञानिक थ्रेट दिएको बताउँछन् ।

‘लामो युद्धपछि भारत र चीनले अहिले विवादित सडकलाई मैत्रीपूर्ण मार्गको रुपमा व्याख्या गरेका थिए’, बस्न्यातले अनलाइनखबरसँग भने, ‘यस्तो अवस्थामा प्रधानमन्त्री वा यातायात मन्त्रालयबाट उद्घाटन हुनुपर्ने सडक रक्षामन्त्रीले उच्च सैन्य अधिकृतहरुलाई राखेर उद्घाटन गर्नु आफैंमा अर्थपूर्ण छ ।’

त्यसमाथि भारतीय सेना प्रमुख नरभानेको अभिव्यक्ति आउनुले सीमा विवादमा मोदी सरकारले सेनामार्फत नेपाललाई अर्को सन्देश पनि दिन खोजेको उनी बताउँछन् । ‘यो अप्रत्यक्ष रुपमा हामीले सीमा मिच्यौं, चित्त बुझ्दैन भने वी आर रेडी टु फाइट भनेको हो’, बस्न्यातले थप स्पष्ट पार्दै भने, ‘फेरि जनरलको अभिव्यक्ति आइसकेकाले संवाद भइहाले पनि सेनाले मान्दैन भनेर अवरोध खडा गर्ने प्रयास हुनसक्छ ।’

भारतीय सेना प्रमुख नरभानेको अभिव्यक्तिले नेपाल र भारतबीचको विवादमा कुटनीतिक द्वन्द्व झनै चर्किन सक्ने र जटिलातर्फ धकेलिने थुप्रैको विश्लेषण छ

भारतीय प्रधानमन्त्री मोदी अहिले सरदार बल्लभ भाइ पटेलको नीतिमा अघि बढेको बस्न्यातको धारणा छ । पटेललाई स्वतन्त्र भारतको निर्माता पनि मानिन्छ । भारतले स्वतन्त्रता प्राप्त गरेपछि आसपासको स–साना देशहरु आफ्नो भूमिका मिलाउनुपर्छ भन्ने उनको धारणा थियो ।

‘नेहरुको लाइन संवाद थियो, बल्लब भाइ पटेल सिधै आक्रमणमा विश्वास गर्थे’, उनले भने, ‘पछिल्लो समय कास्मिर प्रकरण, लगत्तै नेपाली भूमि समेटेर जारी गरिएको भारतको नक्सा लगायत अन्य केही घटना क्रमले मोदी सरकार पनि बल्लव भाइकै रणनीतिमा अघि बढेको देखाउँछ ।’

हाल स्वीडेनको उप्साला युनिभर्सिटीको शान्ति एवं द्वन्द्व विभागमा कार्यरत भारतका प्रा. डा. अशोक स्वैनले पनि नेपाल एक स्वतन्त्र देशको हो भन्ने कुरा भारतले बुझ्नु पर्ने भनेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘नेपाल एक मुलुकको हो र यसको आफ्ना विचार हुन्छन् भन्ने भारतले बुझ्नुपर्छ ।’

स्वैनले भारतीय सेना प्रमुख नरभानेलाई पनि भारतीय जनता पार्टीको नेता जसरी बोल्न छाड्न सुझाव दिएका छन् ।

भारतीय सेना प्रमुख नरभानेको अभिव्यक्तिले नेपाल र भारतबीचको विवादमा कुटनीतिक द्वन्द्व झनै चर्किन सक्ने र जटिलातर्फ धकेलिने थुप्रैको विश्लेषण छ । नेपालको सुरक्षा मामलाका जानकारसमेत रहेका वाग्ले पनि भन्छन्, ‘भारतीय सेनाध्यक्षको टिप्पणीले चीनलाई पनि विवादमा ल्याउने प्रयास गरेको छ, यसमा सीमा विवाद प्रक्रिया थप जटिल र अन्योलपूर्ण बनाउने नियत देखिन्छ ।’

राजनीतिक तहबाट समाधान गर्न सुझाव

कालापानी, लिपुलेक क्षेत्रको विवाद नयाँ होइन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जानकारी नदिइएको भने जस्तो नेपाली भूमिमा सडक निर्माण पनि तत्काल भएको विषय होइन ।

नेपाली सेनाले पटकपटक यो विषयलाई राजनीतिक र कूटनीति संवादबाट समाधान गर्न सरकारलाई आग्रह गर्दै आएको छ । त्यही कारण अहिले यो विषयमा नेपाली सेना मौन रहेर परिस्थितिलाई नजिकबाट नियालिरहेको जंगीअड्डा स्रोत बताउँछ ।

यसअघिका प्रधानसेनापति राजेन्द्र क्षत्रीले २८ जेठ २०७५ मा गरेको भारत भ्रमणमा पनि लिपुलेकको विषय उठेको थियो । तत्कालीन रक्षामन्त्री निर्मला सिथारमण (हालकी अर्थमन्त्री) र राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालसँग उनले यस विषयमा छलफल गरेको जंगी अड्डाका एक वरिष्ठ सैन्य अधिकारी बताउँछन् ।

यद्यपि, यो प्रसंगलाई त्यसवेला भारतीय पक्षले त्यति रुचि नदिएको स्रोतको दाबी छ । यसको दुई महिनापछि क्षत्रीले चीन भ्रमणका क्रममा तत्कालीन रक्षामन्त्री वेई फेन्ग्हेसाग पनि लिपुलेकको प्रसंग उप्काएका थिए । र, उनले सीमा विवाद समाधानमा नेपाल, भारत र चीन गरी त्रिदेशीय समझदारी चाहिने उल्लेख गरेका थिए ।

को हुन् नरभाने ?

सन् १९६० मा बम्बईको पुणेमा जन्मिएका मनोज मुकुन्द (एमएम) नरभानेले ३१ डिसेम्बर २०१९ मा भारतीय सेनाको सर्वोच्च पदको कार्यभार सम्हालेका थिए । हाल भारतमा चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) रहेका विपिन रावतको उत्तराधिकारीका रुपमा उनी सेनाध्यक्ष बनेका हुन् ।

उनका बुबा मुकुन्द भारतीय वायु सेनाका ‘विङ कमाण्डर’ थिए भने उनकी आमा ‘अल इण्डिया रेडियो’की आरजे (रेडियो जक्की) थिइन् । पुणेको जनप्रबोधिनी प्रशालामा विद्यालय तहको अध्ययन गरेका नरभाने भारतको राष्ट्रिय प्रतिरक्षा एकडेमी र भारतीय सैन्य एकडेमी, देहरादुनका पूर्वविद्यार्थी समेत हुन् ।

उनले मद्रास विश्वविद्यालय, चेन्नईबाट प्रतिरक्षा अध्ययनशास्त्रमा स्नात्तकोत्तर तहको अध्ययन गरेका छन् भने रक्षा र व्यवस्थापन शिक्षामा दवी अहिल्या विश्वविद्यालयबाट एमफिल गरेका छन् ।

चार दशक लामो सैनिक जीवनमा उत्तरपूर्व र जम्मु–कास्मिर दुवैमा काम गरेको अनुभव नरभानेसँग छ । श्रीलंकमा शान्ति स्थापनार्थ भारतीय सेनाको ‘अपरेशन पवन’मा पनि उनी सहभागी थिए ।

विगतमा नरभाने भारतको राष्ट्रिय राइफल बटालियनको कमाण्डर रहिसकेका छन् । सेना प्रमुख हुनुअघि पनि उनले भारतीय सेनाको एकीकृत मुख्यालयमा दुई कार्यकाल काम गरेको भारतीय सेनाको वेवसाइटमा उल्लेख छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?