Comments Add Comment

नेपाली भूमि अतिक्रमण गर्दै भारतले मानसरोवरको बाटो खोल्यो

२६ वैशाख, काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको छ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला-लिपुलेक लिङ्क रोड उद्घाटन गरेका हुन् ।

भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो ।

भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उत्तराखण्डको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ)ले कैलाश मानसरोवर रुटलाई चीनको बोर्डरसम्म जोडेको छ। कोभिड-१९ को महामारी सामना गर्दै बीआरओले १७ हजार ६० फिट उचाइमा रहेको कैलाश मानसरोवरमा बाटो विस्तार गरेको हो ।’

‘सुगौली सन्धि विपरीत’

यो सडक मार्गले नेपाली भूमिलाई हस्तक्षेप गरेको सीमाविद्हरू बताउँछन् । भूगोलविद् प्रा.डा. नरेन्द्रराज खनाल त्यो बाटो नेपाली भूमि हुँदै गाएको बताउँछन् ।

सन् १८१६ को सुगौली सन्धिअनुसार काली (महाकाली) नदी पूर्वका सम्पूर्ण भूभाग नेपालको हो । प्रा.डा. खनाल लिम्पियाधुरा मुहान भएको नदी नै सीमा नदी भएकाले गुञ्जी, गब्र्याङ, कुटियाङ्दीलगायतका सम्पूर्ण भूभाग नेपालको हो ।

सर्वे अफ इन्डियाले नेपाली भूभागसमेत भारततर्फ पर्नेगरी नोभेम्बर २०१९ यता दुईवटा राजनीतिक नक्सा प्रकाशन गरेपछि नेपालमा त्यसको चर्को विरोध भयो ।

त्यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले लिपुलेकलाई व्यापारिक मार्गको रुपमा विकास गर्ने भनी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । त्यतिबेला उनीहरूले नेपाललाई कुनै जानकारी दिएको थिएन ।

कालापानी क्षेत्र र नवलपरासीको सुस्तामा सीमा विवाद रहेको कुरा दुवै देशले स्वीकारेको छ । तर, आफैँले विवाद छ भनेर स्वीकारेको क्षेत्रमा एकलौटी रुपमा बाटो खोल्नु गलत भएको जनकारहरू बताउँछन् ।

नेपाल सरकारको दृष्टिकोण के हो ?

सर्वे अफ इन्डियाले निकालेको नक्साको जनस्तरमा व्यापक विरोध भएपछि नेपाल सरकारले कूटनीतिक नोट पठाएको थियो । तर, भारतले अहिलेसम्म समस्या समाधान हुने गरी तत्परता देखाएको छैन ।

भारत चुप लागेर बसे पनि नेपालले आफ्नो दृष्टिकोण स्पष्ट पार्नुपर्ने जानकारहरू बताउँछन् । पूर्वसचिव द्वारिकानाथ ढुंगेलका अनुसार यो महाकाली नदीको मुहानसँग जोडिएको मुद्दा हो ।

भारत आफैँले कालापानी र सुस्तामा विवाद छ भनेको बेला त्यसरी सडक खोल्नु सहमति विपरीत भएको ढुंगेल बताउँछन् ।

‘कोभिड-१९ को मारमा परेका बेला भारतले सडक उद्घाटन गरेको खबर आयो’ सीमा बचाउ अभियानमा समेत सक्रिय पूर्वसचिव ढुंगेल भन्छन् ‘एउटा नागरिकको नाताले मेरो प्रश्न छ यो विषयमा नेपाल सरकारको दृष्टिकोण के हो ? दिल्लीस्थित नेपाली दूतावासले के खबर गर्‍यो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment