१३ मंसिर, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा मातहत कार्यालयहरूले गरेको अनुगमन क्रममा परीक्षण गरिएका ५४ नमुनामध्ये ९ वटा दूधका नमुना प्रतिकूल पाइएका छन् ।
विभागले ५ दिनमा कुल १ सय १५ डेरी पसल तथा व्यवसाय अनुगमन तथा निरीक्षण गरेको थियो ।
अनुगमन क्रममा विभाग र मातहत खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरूबाट दूध तथा दुग्ध पदार्थका गरी कुल १ सय २९ नमुना संकलन गरिएको थियो ।
संकलित नमुनामा ७ वटा खुला गाईको दूध, १३ वटा खुला भैँसीको दूध र ७४ वटा खुला मिश्रित दूध छन् ।
त्यस्तै ३१ दही, ३ पनिर र १ खुवाको नमुना समेत संकलन गरिएको विभागको भनाइ छ ।
संकलित नमुनामा चिल्लो पदार्थ (फ्याट), एसएनएफ र मिसावट सम्बन्धी विश्लेषण गरिएको थियो ।
हालसम्म ५४ वटा नमुनाको विश्लेषण प्रतिवेदन अनुसार ३ वटा गाईको दूध, ३ वटा भैँसीको दूध र ३ वटा मिश्रित दूध गरी कुल ९ वटा नमुना प्रतिकूल पाइएको विभागले जनाएको छ ।
विभागका अनुसार परीक्षणका लागि संकलन गरिएका अन्य थप नमुना हाल अनुसन्धानकै क्रममा छन् ।
प्रतिक्रिया 4