+
+
Shares

अध्यादेश खारेजी लगायतका माग राख्दै रास्वपा कार्यालयमा पत्रकार महासंघको एक घण्टे धर्ना

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १३:०६

१३ मंसिर, काठमाडौं । प्रेस काउन्सिल अध्यादेश खारेजी लगायतका माग राख्दै आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले आइतबार एक घण्टा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा धर्ना दिएको छ ।

महासंघका अध्यक्ष निर्मला शर्मा लगायतका पदाधिकारी र पत्रकारहरूले बिहान ११ बजेबाट प्लेकार्ड सहित धर्ना दिएका थिए ।

समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसाय राखी प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत हस्तक्षेप भइरहेको विषयप्रति महासंघको आपत्ति छ ।

महासंघले गोरखापत्रलगायत सरकारी सञ्चारमाध्यम तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकारको उल्लङ्घन भएको र लोकतन्त्रको रक्षाका लागि विज्ञापनसम्बन्धी विभेदपूर्ण नीति अपनाइएको आरोपसमेत लगाएको छ।

महासंघले पहिलो चरणको आन्दोलन देशव्यापी रूपमा सफलतापूर्वक सम्पन्न भए पनि सरकारले मागप्रति बेवास्ता गरेको जनाएको छ। सरकारलाई थप दबाब दिन तथा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई मागमा सहमत गराउन दोस्रो चरणको आन्दोलन घोषणा गरिएको महासंघले उल्लेख गरेको छ ।

वैशाख १४ गते नेपाली कांग्रेस, १५ गते नेकपा एमाले, १६ गते नेपाली कम्युनिस्ट पार्टी, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा पनि एक घण्टा धर्ना दिने महासंघको कार्यक्रम छ ।

महासंघले वैशाख २० गते काठमाडौं उपत्यकाका माइतीघर तथा काठमाडौं बाहिरका जिल्लाका सदरमुकाममा कालो लुगा, कालो पट्टी र कालो मास्क लगाएर प्रदर्शन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?