+
+
Shares

सुकुमवासीको विषय लिएर कांग्रेस जनतामा जाने

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १२:५०

१३ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सुकुमवासीको विषय लिएर जनतामा जाने भएको छ । यी लगायतका विषय लिएर जनतालाई बुझाउन आवश्यक रहेको कांग्रेसका नेता/कार्यकर्तालाई सभापति गगन थापाले बताएका हुन् ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी ‘हामी तयार छौं अभियान अन्तर्गतको’ स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले जनतामा के कस्ता विषय लिएर जान आवश्यक छ भन्ने सन्दर्भमा सुकुमवासीको विषय स्मरण गरेका हुन् ।

‘सुकुमवासीको विषय छ । यत्रो प्राकृतिक विपद्‍मा परेका मान्छेहरूको विजोगको विषय छ । सहकारी पीडितहरूको रकम फिर्ता गर्ने भनेको छ’, उनले नेता/कार्यकर्तालाई भने, ‘तपाईंहरूले हेर्नुपर्‍यो सरकारले १०० बुँदे कार्यसूची ल्याएको थियो । त्यसमा दलितसँग माफी माग्ने देखि के घोषणा गरेको छैन ?’

सरकारले घोषणा गरेको दिन ताली पाएको उल्लेख गर्दै सभापति थापाले भने, ‘अहिले सम्झाउने काम हाम्रो हो नि याज प्रतिपक्ष ।’

हालै भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीलाई हट्न सरकारले भनेको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका विस्थापित सुकुमवासी परिवारलाई गत शुक्रबार दिउँसो २ बजेभित्र स्थान खाली गर्न भनेर सूचना टाँसेको थियो ।

विकल्प बिना नै हट्न भनिएको भनेर सुकुमवासीहरूले विरोध जनाउँदै आएका छन् ।

विस्थापन र होल्डिङ सेन्टरको अवस्था: काठमाडौंको थापाथली लगायत नदी किनारका बस्ती हटाएपछि विस्थापित भएका परिवारहरूको स्थायी व्यवस्थापन हुन सकेको छैन । बस्ती भत्काइएको महिनौँ बितिसक्दा पनि पीडितहरू कीर्तिपुर र विभिन्न होल्डिङ सेन्टरमा कष्टकर जीवन बिताउन बाध्य छन् ।

त्यहाँबाट पनि बिकल्प नदिएरै हटाउन लागिएको भनेर विरोध भइरहेको छ ।

यही बेला कांग्रेसले यो विषयलाई जनतामा लिएर जान लागेको हो ।

यससँगै प्राकृतिक विपद्मा परेका मान्छेहरूको व्यवस्थापनको विषयलाई पनि कांग्रेस सभापति थापाले जोड दिएर उठाएका छन् ।

गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढी आएको तीन माहिना बितिसक्दा पनि रसुवा, नुवाकोट र धादिङका सयौँ विस्थापित परिवार अझै अस्थायी टहरा र पालमुनि कष्टकर जीवन बिताउन बाध्य छन् ।

घरबारविहीन भएका रसुवा स्याफ्रुबेसी, गोगने, खाल्टे बगर, नुवाकोट र धादिङका सयौँ परिवार त्रिपाल र अस्थायी शिविरमा बसिरहेका छन् । जाडो मौसम सुरु भएसँगै वृद्धवृद्धा, बालबालिका, सुत्केरी र अपांगता भएका व्यक्तिहरूलाई चिसो छल्न निकै कठिन भएको प्रभावितहरूले बताइरहेका छन् ।

सरकारी पुनर्स्थापनामा ढिलाइ भएपछि त्रिशूली क्षेत्रका बाढीपीडितहरूले कोलनीस्थित नेपाल विद्युत् प्राधिकरणको जग्गामा अस्थायी पाल टाँगेर बस्नुपरेको छ ।

साथै, परिवारका सदस्य गुमाएका र सर्वस्व बगाएका जीवित व्यक्तिहरूमा गम्भीर मानसिक तनाव देखिएको चिकित्सकहरूले बताएका छन् । कतिपय विस्थापित परिवारले आधारभूत खाद्यान्न र आर्थिक सहायतासमेत नपाएको र गैरसरकारी संस्थाहरूको भर पर्नुपरेको गुनासो गरेका छन् ।

यसमा सरकार कति जिम्मेवार छ र रह्यो भन्ने विषय जनतालाई बुझाउन आवश्यक रहेको भन्दै कांग्रेस सभापति थापाले पार्टीका नेता/कार्यकर्तालाई यही अनुसार परिचालित हुन भनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?