‘बिग बोस २०’को ‘वीकएन्ड का वार’मा यसपटक सलमान खान स्काउट ओपीमाथि निकै आक्रोशित देखिनेछन् । शोको सार्वजनिक प्रोमोमा लभ गिललाई लिएर स्काउटले गरेको कुराकानीको विषय उठाउँदै सलमानले उनलाई कडा रूपमा सुनाएको देखिन्छ ।
सलमानले स्काउटले लभको छवि बिगारेको आरोप लगाएका छन् । यता, सलमानको कुरा सुनेपछि लभ भावुक हुँदै रोएको प्रोमोमा देखिन्छ ।
प्रोमोमा सलमानले स्काउटसँग लभबारे गरिएको कुराकानीका विषयमा प्रश्न गर्छन् । स्काउट आफ्नो भनाइमा सहमत नहुँदा सलमान थप आक्रोशित हुन्छन् ।
उनले स्काउटले लभको छवि बिगारेको भन्दै आफूले अहिलेसम्म यति ठूलो स्वरमा कुरा नगरेको बताउँछन् ।
सलमानले स्काउटलाई एउटी युवतीको प्रभावमा परेर आफूले बोलेका कुराको अर्थसमेत बिर्सिएको भन्दै प्रश्न गर्छन् ।
उनले स्काउट र गुल्लूबीच भएको कुराकानी आफूले पनि सुनेको संकेत गर्दै त्यहाँ भनिएका कुरालाई सामान्य रूपमा लिन नसकिने बताएका छन् ।
उता, सलमानको आक्रोशबीच लभ गिल भने भावुक हुन्छिन् । उनी लगातार रोइरहेको देखिन्छ ।
कनिका मन्न र आम्रपाली दुबेसँग कुरा गर्दै लवले आफूले स्काउटलाई राखी बाँधेको समेत बताउँछिन् । लभ र स्काउटले यसअघि आफूहरूबीचको सम्बन्धलाई दाजु-बहिनीको रूपमा प्रस्तुत गर्दै आएका थिए ।
तर, विवादको जड भने स्काउट र गुल्लूबीचको निजी कुराकानी हो । ‘बिग बोस २०’को ८२औँ एपिसोडमा देखाइएको उक्त कुराकानीमा स्काउटले लभसँगको आफ्नो पुरानो निकटताबारे बताएका थिए ।
उनले लभले आफूलाई समयमै खाना खान सम्झाउने, बिहान उठाउने र कपालमा तेलसमेत लगाइदिने गरेको बताएका थिए ।
यतिमात्र होइन, लभ आफू नजिक बसेर लगातार हेर्ने गरेकोदेखि उनीसँगको मित्रतालाई आफूले ‘ट्रमा’का रूपमा लिएको भन्नेसम्मका कुरा स्काउटले गुल्लूसँग गरेका थिए ।
यही कुराकानी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पनि स्काउटको आलोचना भएको थियो ।
स्काउट र लभको सम्बन्धलाई लिएर घरभित्र यसअघि पनि पटक-पटक चर्चा हुँदै आएको छ । दुवैले आफूहरूबीच दाजु–बहिनीको सम्बन्ध रहेको बताउँदै आए पनि उनीहरूको निकटतालाई लिएर अन्य प्रतियोगीले प्रश्न उठाउँदै आएका छन् ।
अक्टोबरमा सलमानले समेत लभ र स्काउटको सम्बन्धबारे प्रश्न गरेका थिए ।
यता, स्काउटकी प्रेमिका काश्वी हिरानन्दानीले पनि यसअघि लभसँगको उनको निकटतालाई लिएर सीमारेखा स्पष्ट गर्न सुझाव दिएकी थिइन् । २५ अक्टोबरमा उनी शोमा पुगेकी थिइन् ।
त्यसपछि ९ नोभेम्बरको दिवाली विशेष एपिसोडमा लभले स्काउटलाई राखी बाँध्दै उनीहरूको सम्बन्धलाई दाजु-बहिनीको रूप दिएकी थिइन् ।
तर, राखी बाँधिएको केही समयपछि नै पुरानो कुराकानी फेरि विवादको केन्द्रमा आएको छ ।
अब ‘वीकएन्ड का वार’मा सलमानले स्काउटलाई के-कस्तो जवाफ दिन्छन् र लभ-स्काउटको सम्बन्धबारे घरभित्रको माहोल कता मोडिन्छ भन्ने चासो बढेको छ ।
प्रतिक्रिया 4