
११ असोज, काठमाडौं । सैनिक मुख्यालय जंगी अड्डा, भद्रकालीमा बिहीबार र शुक्रबार दुई दिन पृतनापति समन्वयात्मक बैठक–२०८२ सम्पन्न भयो ।
नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूको भौतिक उपस्थिति र पृतनापतिहरूको भर्चुअल सहभागीतामा सम्मेलन सम्पन्न भयो ।
सम्मेलनमा पूर्वीपृतनाका प्रमुख गौरवकुमार केसी, मध्य पृतनाका हरेन्द्र पाठक, उपत्यका पृतनाका रवीन्द्र कार्की पश्चिम पृतनाका मधुकर सिंह कार्की, मध्य पीश्चम पृतनाका प्रेम पुन, उत्तर पश्चिम पृतनाका दिपेशजंग शाह र सुदूरपश्चिम पृतनाका किरण केसी सहभागी भर्चुअल रुपमा जोडिएका थिए ।
नेपाली सेनाको वार्षिक कार्यतालिका अनुसार वर्षमा दुई पटक हुने पृतनापति समन्वयात्मक बैठक अनुसार यो एउटा बैठक थियो । सेनाको नियमित कार्यतालिका अनुसार यो समन्वयात्मक बैठक सम्मपन्न भए पनि अहिलेको वर्तमान राजनीतिक परिस्थितिका कारण यसलाई निकै महत्त्वपूर्ण रुपमा हेरिएको छ ।
२३ र २४ भदौमा देशभर भएको जेनजी प्रदर्शनपछि नेपालको सुरक्षा चुनौती बढेको छ । ७४ जनाको ज्यान गएर सरकारको सत्तामै उलटफेर ल्याएपछि पृतनापति बैठकमा पनि यिनै विषयमा गम्भीर छलफल र सुरक्षा चुनौतीबारे विश्लेषण भएको छ ।
सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले अनलाइनखबरसँग भने, ‘समसामयिक विषयमा छलफलहरू भए, आफ्नो क्षेत्रका बारेमा पृतनापतिहरूले बिफ्रिङ गरे । सम्पादन गर्नुपर्ने कामको बारेमा समीक्षा र सुझाव भयो ।’
जेनजीको २३ भदौको प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागेर काठमाडौं र सुनसरीमा गरी २१ जनाको ज्यान गएको थियो । यसै दिन गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका थिए । २३ भदौको राति प्रधानमन्त्री निवास बालुटावाटारमा चारै वटा सुरक्षा निकायका प्रमुख र प्रधानमन्त्री केपी शर्मा ओलीबीच छलफल भयो ।
त्यतिबेला सुरक्षा प्रमुखहरूको गम्भीर छलफल गरेर सुरक्षा रणनीति बनाउनुभन्दा पनि तत्कालीन प्रधानमन्त्री ओलीको प्रस्तुतिले सुरक्षा निकायका प्रमुखहरू झनै चिढिएका थिए ।
भोलिपल्ट २४ गतेको सुरक्षा अवस्था त नाजुक थियो । बिहानबाटै नेपाली सेना मैदानमा खटिएको थियो । तर महत्त्वपूर्ण संरचनाहरू सेनाले जोगाउन नसकेबारे आलोचना भइरहेको छ ।
पृतनापति समन्वयात्मक बैंकमा भने यसबारे छलफल भएको थियो । सैनिक स्रोतका अनुसार सेनाले त्यतिबेला सुझबुझपूर्ण ढंगले स्थिति नियन्त्रणमा लिन सफल भएकाले ठूलो क्षति भएको भन्दै समीक्षा भयो ।
समन्वयात्मक बैठकमा भने यसबारे पनि केही छलफल भएको सैनिक स्रोत बताउँछ । ‘जेनजी घटनामा मानवीय क्षति र भौतिक क्षतिको कुरा उठ्यो । कति मानवीय क्षति भएर भौतिक क्षति जोगाउने ?,’ सैनिक स्रोत भन्यो, ‘सेनाले उच्च कौशल प्रदर्शन गरेर स्थिति नियन्त्रणमा लिएको भन्ने समीक्षा भयो ।’
यसबारे सैनिक मुख्यालयले भने आधिकारिक रुपमा केही बोलेको छैन । सैनिक प्रवक्ता सहायक रथी बस्नेत भन्छन्, ‘जंगी अड्डाले यसबारे केही दिनपछि प्रष्ट पार्छ ।’
सैनिक स्रोतका अनुसार अहिले त्यो घटनाबारे जवाफ दिन उपयुक्त समय नरहेको बताइएको छ । परिस्थिति अनकुल भएपछि सेनाले यो घटनाबारे सम्पूर्ण जानकारी गराउने गरी आन्तरिक तयारी गरेको सैनिक स्रोत बताउँछ ।
समन्वयात्मक बैठकमा अर्चुअल माध्यममबाट जोडिएका पृतनापतिहरूले आ–आफ्नो ठाउँको अहिलेको सुरक्षाबारे विश्लेषण गर्दै ब्रिफिङ गरेका थिए । जहाँ अधिकांश पृतनापतिहरूले विस्तारै अवस्था सामान्य बन्दै गए पनि सुरक्षा चुनौती भने उच्च रहेको निष्कर्ष निकालेका थिए ।
बदलिँदो राजनीतिक अवस्थाबारे पूर्वसेनापतिसँग छलफल
पृतनापति समन्वयात्मक बैठकभन्दा पहिला सैनिक मुख्यालयले पूर्वप्रधानसेनापतिहरू पनि छलफल गरेको थियो । जसका लागि अहिलेसम्म जीवित रहेका सम्पूर्ण पूर्वसेनापतिहरूलाई जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलले बोलाएका थिए ।
छत्रमान गुरुङ, रुक्माङ्गत कटुवाल बिरामी भएका कारण उपस्थित भएनन् । राजेन्द्र क्षेत्रीको समय नमिलेका कारण उपस्थित हुन सकेनन् । उपलब्ध भएका पाँच पूर्वप्रधानसेनापतिहरू प्रज्वलशमशेर राणा, प्यारजङ्ग थापा, गौरवशमशेर राणा, पूर्णचन्द्र थापा र प्रभूराम शर्मा सैनिक मुख्यालय जंगीअड्डा पुगेका थिए ।
उनीहरूसँग प्रधानसेनापति सिग्देलले बदलिँदो राजनीतिक परिस्थितीबारे जानकारी गराएका थिए ।
वर्तमान राजनीतिमा विकसित घटनाक्रमबारे कुराकानी भएको सेनाको जनसम्पर्क कार्यालयले जनाएको छ । यो घटनाक्रमसम्म आइपुग्दा सेनाले निभाएको भूमिकाबारे ब्रिफिङ भएको सैनिक मुख्यालयले जनाएको छ । भावी सुरक्षा चुनौतीबारेमा पनि छलफल भएको बताइएको छ ।
सेनाले सम्पूर्ण सुरक्षा कमाण्ड आफ्नो हातमा लिएर २४ भदौको रातिबाट फिल्डमा उत्रिएपछि परिस्थिति सामान्य बनेको भन्दै सेनाले निभाएको भूमिकामा पूर्वसेनापतिहरू प्रशंसा गरेको दाबी जंगीअड्डाको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामादेखि संविधान जोगाउँदै अन्तरिम सरकार गठनसम्म सेनाले खेलेको भूमिकाका बारेमा छलफल भएको सैनिक स्रोतले बताएको छ ।
प्रधानसेनापति सिग्देलको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्याधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन गरेका थिए । संसद् विघटन भएर चुनावको समेत मिति तोकिएको छ । आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे पूर्वप्रधानसेनापतिबाट केही सल्लाह, सुझाव समेत प्राप्त भएको जंगीअड्डाले बताएको छ ।
२१ फागुनको चुनावबारे विश्लेषण
सम्मलेनमा आउँदो २१ फागुनमा हुने भनिएको प्रतिनिधि सभाको चुनावबारे पनि छलफल भएको छ । २१ फागुनमा चुनाव हुनसक्ने/नसक्नेबारे पृतनापति सम्मलेनमा कुरा उठेको थियो ।
दलहरूले चुनावलाई कुन रुपमा लिएर अघि बढ्छन् । यदी चुनाव नै नहुने अवस्था आयो भने हुनसक्ने सम्भावित घटना तथा सरक्षा चुनौतीको बारेमा छलफल भएको स्रोतले बताएको छ ।
चुनाव हुँदा र नहुँदाका सुरक्षा चुनौतीको विश्लेषण गर्दै गर्नुपर्ने तयारीका बारेमा छलफल भएको उच्च सैनिक स्रोतले बतायो ।
अहिलेकै अवस्थामा माओवादी केन्द्र, नेपाली कांग्रेसका युवा नेताहरूले चुनावमा जानुपर्ने बताइरहेका छन् । तर एमाले, कांग्रेस लगायत केही दलहरूको २१ फागुनको चुनावबारे आधिकारिक धारणा सार्वजनिक भएको छैन ।
जसकारण चुनाव भएको अवस्थामा वा नभएको अवस्था जे भएपछि चाडवाडपछि सुरक्षा चुनौती झन बढ्न सक्ने र सेनाले गर्नुपर्ने तयारीबारे छलफल भएको सैनिक स्रोतले बताएको छ ।
अहिलको परिस्थिति केही सामान्य बन्दै गए पछि चुनावको सुरक्षा चुनौती कायमै छ ।
प्रतिक्रिया 4