Comments Add Comment

नरभानेको अभिव्यक्तिमाथि नेपाली सेना बोल्दैन : प्रधानमन्त्री

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा र लिपुलेकको विषयमा भारतीय सेनाध्यक्षले दिएको अभिव्यक्तिको नेपाली सेनाले ंप्रतिक्रिया नदिने बताएका छन् ।

मंगलबार राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भारतको सेनाले प्रतिक्रिया दियो भन्दैमा नेपालले त्यसको प्रतिवाद नगर्ने बताएका हुन् ।

‘नेपाली सेनाले अरु कुनै देशको सेना बोल्यो भनेर वाद प्रतिवाद गर्ने काम गर्दैन । कुनै देशले सेना बोल्न लगाउँछ भने त्यो पनि उपयुक्त होइन । हामी सवाल जवाफमा फस्ट हुनुपर्ने आवश्यकता पनि छैन’ उनले भने ।

केही दिनअघि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेले नेपालले कसैको इशारामा लिम्पियाधुरा र लिपुलेकको विषय उठाएको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीले राष्ट्रियसभामा बोल्ने क्रममा उक्त विषयमा प्रतिक्रिया दिएका हुन् ।

सीमाको विषयमा बोल्दा अरु कसैले उकासेको भन्नु नेपाली राष्ट्रियताको अवमूल्यन भएको प्रधानमन्त्री ओलीले बताए । ‘हामीलाई कसैले यदि अरुले उकासेको भन्ने जस्ता शब्दहरु प्रयोग गर्छ भने त्यो नेपाली राष्ट्रियतामाथिको अण्डरमाइण्ड गरिएको कुरा हो’ उनले भने ।

नेपाल विश्वमा अरुको गुलाम नभएको ९ मध्ये एक देश भन्दै प्रधानमन्त्रीले भने ‘ब्रिटिशको प्रवेशलाई चीनले रोक्न सकेन । भारतले रोक्न सकेन । नेपालले खुकुरी नामको सानो चक्कुको भरमा रोके ।’

प्रधानमन्त्री ओलीले नेपाली सेनालाई विवादमा ल्याउने प्रयास भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

‘नेपाली सेनालाई पटक पटक विवादमा तान्न खोज्ने, बदनाम गर्न खोज्ने । व्यापारिक सेना भो भन्ने’ ओली भन्छन्, ‘अब सेनालाई आफ्ना बुट आफैँ उत्पादन गर्न लगाउनुपर्छ । म त्यो लगाउँदै छु । आफ्ना ड्रेस आफैं उत्पादन गर्न लागाउनुपर्छ । हरेक ठाउँमा हामी आत्मनिर्भरताको बाटोतिर जानुपर्छ ।’

यो पनि पढ्नुहोस भारतीय सेना प्रमुख उत्तेजक हुँदा नेपाली सेना नबोल्नु ‘अर्थपूर्ण’

पौष्टिक बिस्कुट खान छोड्यो, नेपाली सेना बलियो भयो !

प्रधानमन्त्री ओलीले सेनामा बिस्कुटका लागि २०/२५ करोड रुपैयाँ खर्च हुँदै आएकोमा आफूले त्यसलाई रोकिदिएको बताए ।

‘पौष्टिक बस्कुट भनेर २०/२५ करोड उडाउँदै थियो । मैले सेनालाई भनेँ – के बिस्कुट किनिराख्या ? पाउरोटी, साउरोटी के के हुन्छ आफैं बनाऊ न । १५ दिन तालिम लिँदा हुने कुरा । आफैं यसो गोलमा सेकाएपछि भुक्क भइहाल्छ । भइगोे नि । त्योभन्दा पौष्टिक के हुन्छ ? ताजा खाने नि’ प्रधानमन्त्रीले भने ।

बिस्कुट छाडेर पाउरोटी खान थालेपछि सेना बलियो भएको उनले दावी गरे । ‘पौष्टिक बिस्कुट खान छोड्यो । आफैंले बनाएको केक खान्छ । आफैं बनाएर खाउ भनेपछि अहिले सेना अलि बलियो भएको छ । तागतिलो भएको छ’ उनले भने ।

सेनाले ब्यारेकमा रहँदा धेरै काम गर्न सक्ने र गर्दै आएको उल्लेख गर्दै उनले अगाडि थपे, ‘अरुले स्यालरी जोड्छ उसले स्यालरी जोड्दैन उत्पादन गर्छ । व्यापारमा लाग्यो के लाग्यो हिजोको कुरा हो त्यो अहिले त्यस्तो छैन ।’

जसरी पनि सेनालाई बदनाम गरेर राष्ट्रलाई कमजोर नपार्न प्रधानमन्त्री ओलीले आग्रह गरे । ‘यो राष्ट्रको ताकतमध्ये एउटा सेना पनि हो । त्यसलाई अण्डरमाण्ड गर्ने खालका कुरा उचित होइन’ उनले भने ।

प्रधानमन्त्रीले नेपाली सेनाले गरेको कामको विवरण पनि दिए । ‘बाढी आयो सेना, आगलागी भयो सेना, भूकम्प आयो सेना । कोरानाको मान्छे लिन चीन जान पर्यो सेना । खोलामा हाम फल्न पर्यो सेना । तराईमा टोर्नाडो आउँदा ८७९ वटा घर तुरुन्त बनाएर कस्ले हस्तान्तरण गर्यो सेनाले । अरुले भए सक्दैनथ्यो’ उनले भने ।

काठमाडौंमा तीन सय सिटको सभागृहको दुई वर्षसम्म जग हाल्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले लुम्बिनीमा ३ हजार जना अट्ने अस्थायी सभाहल नेपाली सेनाले ३७ दिनमै बनाएको दावी गरे ।

काठमाडौंमा बनाउने भनेको ३०० सिटको सभागृह बनाउन सेनालाई दिएको भए त्यो पनि ३७ दिनमा तयार हुने उनको भनाइ छ । ‘सेनालाई दिन नमानेर बनाउन खोज्दा दुई वर्षमा केही पनि बनेको छैन । स्थायी त ५०० सिटको सानो ठिमीमा बनाउदैछौं । त्यो त सुरु नै भएको छैन’ उनले भने ।

तर, अनेक प्रकारका स्वार्थका संवाहक भएका सञ्चारममध्यम र व्यापारिक घरानाले सेनालाई विवादमा ल्याउने प्रयत्न गरेको उनको आरोप छ । ‘त्यस प्रकारका विभिन्न ब्यापाारिक गुटहरुका पछाडि हामी कुद्न हुँदैन’ उनले भने ।

‘३ वर्ष भित्र गुमेको भूमि फिर्ता ल्याइन्छ’

प्रधानमन्त्री ओलीले अबको तीन वर्षभित्र गुमेको भूमि फिर्ता ल्याउने उद्घोष गरेका छन् ।

भूमि फिर्ता ल्याउने गाह्रो हुने भन्दै उनले अप्ठेरो भएकै कारण विगतका सरकारहरुले नसकेको दावी गरे । आफ्नो प्रधानमन्त्रीको कार्यकालभित्र फिर्ता ल्याउने दावी गर्दै भने ‘अब यो ३ वर्ष बाँकी छ । ३ वर्षभित्र ल्याइसकिन्छ फिर्ता भन्ने लाग्छ’

सांसदहरुले प्रधानमन्त्रीस्तरमा किन वार्ता हुन सकेन भनेर प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले कुटनीतिक स्तरमा पहल भइरहेको बताए । परराष्ट्र सचिव स्तरमा वार्ताको प्रयास भइरहेको उल्लेख गर्दै सबै तहको वार्ता भइसकेपछि गाँठो फुकाउन मात्रै प्रधानमन्त्रीस्तरमा वार्ता हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment