पूर्वप्रधानमन्त्री केपी ओलीले हालै सरकारविरुद्ध आन्दोलनमा उत्रिन कार्यकर्तालाई आदेश दिएको सार्वजनिक भयो । उनले भनेको कारण थियो– बालेन सरकारले संविधानको रक्षा गर्न सकेन । यतिबेला एमाले र नेकपा बाहेक अन्य दल सरकार ढाल्ने पक्षमा देखिएका छैनन् ।
‘आन्दोलन’को अंग्रेजी शब्द ‘मुभमेन्ट’ हो । निश्चित उद्देश्य प्राप्तिका लागि जनजागरण वा जनमानसलाई उत्तेजित गराउने, भड्काउने, उक्साउने गतिविधिलाई आन्दोलन भनिन्छ । ‘आन्दोलन’ले सामान्य अवस्थालाई ‘उथलपुथल’, ‘अन्योल’, ‘अस्तव्यस्त’ पार्छ । सामान्य नागरिकको, स्कुलका बच्चाहरूको पठनपाठन र दैनिक जीवनलाई असर पार्छ ।
‘आन्दोलन’को विकल्प सभ्य र नरम खालको ‘विरोध प्रदर्शन’ हुन्छ । ‘आन्दोलन’मा रक्तपात, लुटपाट, सार्वजनिक सम्पत्ति ध्वस्त हुन सक्छ । कसैको ज्यान जान पनि सक्छ । ‘रा–ज–नी–ति’लाई ‘राम्रोसँग–जनतालाई–निमोठ्ने–तिकडम’ र कानुनी शासनलाई ‘जासुसी’ शासन बनाएकोले कुनै घोटाला, काण्ड नभए पनि एमालेलाई आन्दोलनको नशा लागेको छ । कानुनी शासन भएको भए र नेताहरू सभ्य, इमानदार, नैतिकवान्, संविधानवादमा चल्ने भए आन्दोलन गर्नुपर्ने कुनै कारण र परिस्थिति थिएन र छैन ।
‘आन्दोलन’ बिनाकारण कसैको सनकमा हुनु हुँदैन । सरकारले संविधान, संविधानवाद र कानुनी शासनको ‘ट्रयाक’ छाडेमा आन्दोलन जायज हुन सक्ला । सरकार भ्रष्ट, असक्षम, असफल देखियो र सच्चिएन भने आन्दोलन जायज हुन सक्ला । तर, अहिले सरकार सच्चिनुपर्ने अवस्था देखिएको छैन । किनकि सरकारले ‘ट्रयाक’ छाडेको छैन । कानुन बुझ्ने बुद्धिजीवी नेता हुने हो भने ‘आन्दोलन’ राजद्रोहको अपराध हो । सरकारवादी भएर मुद्दा चल्छ । २५ वर्ष कैदको सजाय हुन सक्छ । तर नेपालमा ‘जासुसी शासन’ चलेकोले कारबाही हुँदैन ।
जासुसी शासन भन्नुको कारण छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सशस्त्र प्रहरीको एआईजीले गोप्य सरकारी सूचना चुहाएको । त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीलाई औषधि उपचारको खर्च नबुझाए कारबाही हुन सक्छ भनेको घटनालाई उदाहरणका रुपमा लिन सकिन्छ । पछिल्लो एक घटनामा प्रहरीको एक एआईजीले सरकारी गोप्य कुरा पूर्वशासकहरूलाई चुहाएको देखिएको छ ।
नेताहरूको खराब स्कुलिङ
नेपाली कांग्रेसका बीपी कोइरालाजस्तो पहिलो पुस्ताका नेताहरूले प्रजातन्त्र र सार्वभौमसत्ता जनतामा हुनुपर्छ भनेर राजासँग संघर्ष गरेका थिए । उनीहरूको संघर्ष प्रधानमन्त्री पदका लागि थिएन । तर, राजाबाट जनतामा सार्वभौमसत्ता सार्न ढिला भयो । त्यसैले त्यो पुस्ताले सुशासन, संवैधानिक अभ्यास, राजनीतिमा इमानदारी, संविधानवादको व्यावहारिक प्रयोग देखाएर सरकार सञ्चालनको सीप दोस्रो पुस्तामा हस्तान्तरण गर्न पाएनन् । कोही बिते, कोही असमर्थ भए ।
सार्वभौमसत्ता र प्रजातन्त्र त्यसपछि आयो । अनि दोस्रो पुस्ताका नेताले अघिल्लो पुस्ताले जेलनेलको सजाय पाएको, भारतमा शरण लिनु परेको, संघर्षमा लाग्दा सम्पत्ति सिध्याएको देखेका थिए । पञ्चायतमा सुरुमा भ्रष्टाचार थिएन । पछि छिर्यो । पञ्चहरूको शासन, ताकत, शक्ति, रवाफ, पैसाको फुर्ति र पछि लाग्ने मण्डलेहरूको जमात पनि देखे । चुनाव लड्न, राजनीति गर्न पैसा चाहिँदो रहेछ भन्ने बुझेर कमाइप्रति आकर्षित हुँदै गए । सरकार दिन सक्ने संसद् विघटन गरे । विचारधारा नमिल्नेसँग पनि सरकार बनाए । महत्त्वपूर्ण पदमा आफ्नो मान्छे भर्तीकेन्द्र बनाए । पञ्चायत नजाँदै राजा वीरेन्द्रले अख्तियार दुरुपयोग निवारण आयोग गठन गरेर भ्रष्टाचारमा सजाय कडा हुने व्यवस्था गरेका थिए ।
नेताहरूले प्रजातन्त्रको नाममा कमाउने अठोट गरे । फसियो भने बच्न अख्तियारमा आफ्नो मान्छे नियुक्ति सुरु गरे । फसियो भने सजाय घटाउने ऐन बनाए । ‘नीतिगत निर्णयमा आफूलाई उन्मुक्ति हुने’ कानुन बनाए । ठूलाले भ्रष्टाचार गर्न पाइने, सानाले नपाइने वातावरण सिर्जना गरे । देशै ‘भ्रष्टाचारको लागि स्वर्ग’ बनाइयो । आज भ्रष्टाचारले ‘नेपाली’लाई जिस्क्याइएरहेको र हेपिरहेको छ । भ्रष्टाचार र भ्रष्टाचारीदेखि कर्मचारी, संविधान र कानुन डराइरहेछ । नेपाल आज भ्रष्टाचारीको देश भनेर चिनिने बनेको छ । फ्रान्सको पत्रिका ‘ले म’ले नेपाललाई अस्थिर बनाउने नेपालको प्रधानमन्त्री नै छन् भन्ने छाप्यो । त्यो को हो, पाठकले चिनेकै व्यक्ति हो । रास्वपाले बहुमत पाएर बल्ल स्थिर सरकार बनाएको छ । काम गर्दैछ । लोकप्रिय छ । भ्रष्टाचार, घोटाला सुनिएको छैन । नहतारिइकन रीत पुर्याएर भ्रष्टाचारीलाई कारबाही गर्ला, भ्रष्टाचार कम होला भन्ने ३ करोड नेपालीको आश छ तर एमालेका नेताहरू सरकार ढाल्न षड्यन्त्र गर्दैछन् ।
०८२ भदौ २३ र २४ को युवा पुस्ताको आन्दोलन भ्रष्टाचारले गर्दा भएको हो । संसदीय प्रणाली उत्तममध्येमा पर्छ । संविधानको धारा ७४ मा ‘बहुदलीय प्रतिस्पर्धात्मक संसदीय शासन प्रणाली’ शासकीय स्वरूप हुनेछ भनिएको छ । प्रणाली सञ्चालन गर्ने प्रधानमन्त्रीले हो । संविधान र शासन प्रणाली उत्तम भएर हुँदैन, प्रधानमन्त्री ‘उच्च नैतिकवान्, भिजन भएको, इमानदार, अनुभवी, त्यागी र नि:स्वार्थी’ हुनुपर्छ ।
बेलायत, जापानलगायत ६० भन्दा बढी देश संसदीय व्यवस्थाबाट सफल र सम्पन्न भएको प्रधानमन्त्रीहरू इमानदार भएकोले हो । ती देशमा कुनै दल वा कुनै पूर्वप्रधानमन्त्रीले आन्दोलनको नाम पनि लिँदैनन् । सरकारलाई काम गर्न दिन्छन् । ती देशमा हाम्रो जस्तो प्रधानमन्त्री भएको भए आज ती देशहरू हामीजस्तै आन्दोलनको नमुना भ्रष्ट ‘बनाना रिपब्लिक’ हुने थिए । बेलायत, जापानलगायत संसदीय व्यवस्था भएका देशका प्रधानमन्त्रीहरू नेपालले पाएको भए नेपाल ती देशजस्तै सम्पन्न, सुखी र स्थिर हुने थिए । हाम्रो गरिबी र भ्रष्टाचारको कारण त हाम्रा नेताहरू नै हुन् । हामीले दुर्भाग्य नै भन्नुपर्छ संविधान राम्रो र नयाँ व्यवस्था पनि राम्रो र नयाँ तर नेता पुरानो, स्वार्थी र सत्तामुखी परे ।
०८१ असारमा कांग्रेस र एमालेबीचको ७ बुँदे सम्झौताको कारण ०८२ भदौको आन्दोलन भयो । आन्दोलनमा नेताहरूको घर जल्यो । तर तिनलाई घर जलेको असर परेन । आज जलेको घरभन्दा महँगो घरमा तामझामसहित अरबको राजाको जस्तो आरामदायी जिन्दगी बिताइरहेका छन् । तर भ्रष्टाचार नियन्त्रण गर्ने अख्तियार लगायत कसैले तिनको स्रोत खुलाउनुपर्यो भनेर माग्दैनन् । मिडिया पनि मौन छ ।
०८२ को निर्वाचनमा रास्वपाले दुई तिहाइ बहुमत ल्यायो । धारा ७६(१) को सरकार बनायो । पुराना शासकहरूले बालेन सरकारलाई खतरा देखे । भ्रष्टाचारको फाइल खोलिएला भनेर डराएका छन् । सरकार गठन भएको ८ महिना पूरा भएको छैन । सरकारले संविधान र लोकतन्त्रको रक्षा गर्न सक्दैन भन्ने हल्ला फैलाएर आन्दोलन गर्ने भनेर भड्काउँदै छन् । सडकबाट सरकार ढाल्नु राजद्रोहको अपराध हो । आन्दोलनको आह्वान गरेर जनता, उद्योगपति, व्यापारी, लगानीकर्तालाई तर्साइरहेका छन् ।
संसदीय प्रजातन्त्रमा सडक आन्दोलनबाट सरकार ढाल्छु भन्नु नै नेता बन्नका लागि अयोग्यता हो । बहुमतको सरकार बिनाकारण ढाल्छु भन्नु अनैतिक, असंवैधानिक, अप्रजातान्त्रिक हुन्छ । एमाले र नेकपाका नेता संविधानसभाको सभासद पनि थिए । सभासद् भइसकेपछि राजनीतिक प्रणाली, राजनीति बुझेको, इमानदार, नैतिकवान्, भिजन भएको दूरदर्शी, देशभक्त हुनुपर्ने हो । तर देखिएन ।
वर्षदिन नपुगेको सरकारलाई ढाल्ने कुरा गर्नेहरूले कसरी संविधान लेखे होला ? कसरी हामीले प्रधानमन्त्री बनायौँ र मान्यौँ ? जवाफ हामीले नै दिनुपर्छ । हामीले नै संविधान लेख्न हामीमा भएको सार्वभौमसत्ता तिनमा सारेका हौँ । हामीले उनीहरूलाई संविधानको ‘फाउन्डिङ फादर’को हैसियत दिएका हौँ । तर आफूले लेखेको संविधानविपरीत ६ महिनामा नै सरकार ढाल्छौँ भन्दा ३ करोड नेपालीले मत खेर गएको महसुस गरिरहेका छन् ।
संविधानको ‘फाउन्डिङ फादर’ भइसकेको व्यक्तिले फोहोरी राजनीति गर्दैनन् भन्ने मान्यता हुन्छ । सांसदको भन्दा संविधानको ‘फाउन्डिङ फादर’हरूको हैसियत, मर्यादा र जवाफदेहिता उच्च हुन्छ । तर हामीले बनाएका ‘फाउन्डिङ फादर’को हैसियत नै देखिएन । हामीले सार्वभौमसत्ता ‘हैसियत नभएकाहरू’मा सारेछौँ । सभासदले उच्च नैतिकता, इमानदारिता कायम राख्छन् भन्ने मान्यता हो । अलोकप्रिय भयो, विरोध भयो भने राजनीतिबाट राजीनामा गरेर पुस्तक लेखेर बस्छन् उनीहरू, अथवा मानव अधिकार परिषद् जस्ता निम्ता आउने अन्तर्राष्ट्रिय संगठनमा काम गर्न जान्छन् । हाम्रा नेतामा त्यो खुबी देखिएन । फोहोरी राजनीतिमा रमाउने परे । चुनाव हारेर पनि आज संविधानको रक्षा गर्न सडकबाट सरकार ढाल्नुपर्यो भन्दैछन् ।
हालै भोटेकोशी र बुढीगण्डकीको बाढीले खर्बौंको क्षति भयो । हजारौँ घरबारविहीन छन् । हजारौँले परिवार गुमाए । विदेशी राष्ट्र र अन्तर्राष्ट्रिय समुदाय सहयोग गर्न तयार छौँ भन्दैछन् । तर, विपक्षी दलहरू सरकारलाई सहयोग गर्नुको सट्टा ढाल्नुपर्यो भन्दैछन् । संविधानको फाउन्डिङ फादरको हैसियतले आफैँले सही गरेको संविधान रक्षा गर्नुको सट्टा ध्वस्त पार्न खोज्दैछन् । उनीहरू आफैँले प्रतिनिधिसभाको कार्यकाल ५ वर्ष संसद् विघटन गर्न नपाइने लेखे । धारा १००(४) मा सरकार गठन भएको २ वर्ष अविश्वासको प्रस्ताव दर्तासम्म पनि गर्न नपाउने पनि आफैँले लेखे । अर्को उपधारामा एक पटक ल्याएको अविश्वासको प्रस्ताव असफल भयो भने अर्को १ वर्ष ल्याउन नपाइने पनि लेखे । तर आज सरकार ढाल्नुपर्यो, आन्दोलन गर्नुपर्यो भनेर सोझासाझा जनतालाई भड्काइँदै छ ।
आफैँले धारा १०० को उपधारा (६) मा २ वर्ष नपुग्दै सरकार ढाल्न पाइँदैन लेख्ने, सडकबाट सरकार ढाल्न पाइन्छ नलेख्ने । चुनाव लड्ने । हारेपछि चुनाव स्वतन्त्र भएन हराइयो भन्ने । अर्को दलले सरकार बनायो भने सरकार ढाल्छु भन्नु संविधान र विबन्धनले दिँदैन । चुनावमा स्वेच्छाले भाग लिएका पनि हुन् । चुनाव स्वतन्त्र र स्वच्छ भएको पनि हो ।
अनि कुन संविधान र कुन नैतिकताले आन्दोलन गराएर सरकार ढाल्न मिल्छ ? सरकार ढाले पनि राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघनकर्ता ठहर गरेकोले त्यो दाग नमेटिन्जेल राजनीति गर्न नै कसरी मिल्ला र ? सोचौँ ।
त्यसैले, सरकार ढाल्ने आन्दोलन र कार्य प्रजातन्त्र भनेर बुझ्ने हो भने त्यो गलत हो त्यसो नगरौँ । आफ्नै बेइज्जत हुन्छ । अन्तर्राष्ट्रिय समुदाय खासगरी छिमेकी भारतलगायत संसदीय व्यवस्था भएका देशले कसरी हेर्लान् ? विचार गर्नुपर्ने हो । त्यसैले आन्दोलनको सट्टा महात्मा गान्धीले बेलायती विरोधी भारत छोडो अभियान चलाए । सत्याग्रह र अहिंसाको नारामा आफ्नै नेतृत्वमा खाली खुट्टा शान्तिपूर्ण ‘लङमार्च’ हिँडेर बेलायतीविरुद्ध सफल भए । हामीकहाँ पनि आन्दोलनको सट्टा गान्धी बनेर गान्धीले जस्तै हाम्रा नेताले नेतृत्व लिएर बालेन सरकार छोड नारा दिएर शान्तिपूर्ण सत्याग्रह र अहिंसा गरेर देखाउनुपर्यो । शीर्ष नेता भएर अरूलाई आन्दोलनमा पठाउने होइन । आफैँ गान्धी बनेर नेतृत्व लिने हो ।
अन्ना हजारे र गोविन्द केसीले जस्तै बालेन सरकार ढाल्न नेतृत्व आफैँ अनशनमा बसौँ न । इतिहासमा नाम लेखिनेछ ।
सरकार ढाल्न सरकारले संविधानको रक्षा गर्न सकेन भन्ने नारा दिइएको छ । अमेरिकी राष्ट्रपति लगायत १९३ देशका कार्यकारी प्रमुखले शपथ खाँदा ‘आइ विल प्रिजर्भ, प्रोटेक्ट एन्ड डिफेन्ड द कन्स्टिच्युसन’ भनेर बकेर शपथ खान्छन् र हस्ताक्षर गर्छन् । त्यसरी संविधानको रक्षा हुन्छ । अहिले सरकार ढाल्छु भन्नेहरूले संविधान उल्लंघन गर्दै छन् ।
उहाँहरूले दुई वर्ष धैर्य गर्नुपर्छ, तेस्रो वर्ष टेकेको पहिलो दिनमा नै सरकारविरुद्ध अंक पुर्याउने क्षमता छ भने अविश्वासको प्रस्ताव दर्ता गर्न मिल्छ । त्यसपछि चुनाव गराउन सक्नुभयो र १३८ को संख्या पुर्याउन सक्नुभयो भने संवैधानिक प्रधानमन्त्री बन्न सक्नुहुन्छ ।
(लेखक पूर्वन्यायाधीश हुन्)
प्रतिक्रिया 4