News Summary
Generated by OK AI. Editorially reviewed.- गण्डकी प्रदेश सरकारले मनास्लु आधार शिविरमा आमरण अनसन बसेका युवालाई अनसन स्थगित गरी वार्तामा आउन आग्रह गरेको छ।
- धावा नुर्वु लामाको नेतृत्वमा १० जनाको टोली शुक्रबारदेखि जलवायु परिवर्तनको प्रभाव न्यूनिकरण माग गर्दै आमरण अनसनमा बसेको छ।
- उनीहरूले जोखिमयुक्त हिमतालहरूको मापन, संयुक्त अनुगमन, हवाई अनुगमन र वस्ती नजिक साइरन जडान गर्न सरकारलाई आग्रह गरेका छन्।
४ असोज, गोरखा। हिमाली क्षेत्रका स्थानीयको जीवन रक्षाको माग गर्दै मनास्लु आधार शिविरमा आमरण अनसन बसेका युवाहरूलाई वार्तामा आउन गण्डकी प्रदेश सरकारले आग्रह गरेको छ। छलफल तथा वार्ताको माध्यमबाट माग सम्बोधन गर्न उपयुक्त हुने भन्दै तत्काल अनसन स्थगित गरी वार्तामा आउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आग्रह गरेको हो।
आइतवार सार्वजनिक रुपमा अपिल गर्दै कार्यालयले छलफल र वार्ताको माध्यमबाट तीनै तहको सरकार र नागरिक समाजको सक्रियतामा माग सम्बोधन गर्नु उपयुक्त रहेको बताएको छ। उठान भएका मागहरू नेपाल सरकार, स्थानीय तह तथा सम्बन्धित अन्य निकायसँग समन्वय गरी यथोचित सम्बोधन गर्न/गराउन प्रदेश सरकार सकारात्मक रहेको कार्यालयले छ।
युवाहरूले उठान गरेका बिषय संवेदनशील तथा जनसुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने भएकाले प्रदेश सरकार यसप्रति गम्भिर रहेको समेत बताइएको छ।
जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणका लागि बिभिन्न माग राख्दै उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँ बस्ने धावा नुर्वु लामा नेतृत्वको दश जना टोलि शुक्रवारदेखि मनास्लु आधार शिविरमा आमरण अनसनमा बसेका छन्।
जलवायु परिवर्तनका कारण हिमतालहरू फुट्ने जोखिम बढेकाले बेलैमा त्यसतर्फ उचित कदम चाल्न सरकारलाई उनीहरूले सचेत गराएका छन्। उत्तरी गोरखास्थित बिरेन्द्रताल (सामागाउँ), कालताल (प्रोक), हरियो ताल (पुगेन) लगायतका जोखिमयुक्त हिमतालहरूको मापन गरि भविष्यमा हुनसक्ने बिष्फोटको जोखिम अध्ययन गर्न उनीहरूले सरकारलाई आग्रह गरेका छन्।
नेपालको मानव वस्ती नजिकै रहेको चीनतर्फको हिमतालहरूको दुवै देशका संयन्त्रहरूले संयुक्त अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्ने र मनास्लु क्षेत्र र चुम उपत्यकामा रहेको हिमतालहरूको हवाई अनुगमन गर्न समेत उनीहरूले आग्रह गरेका छन्। विपदको पूर्व सूचना दिने गरी जोखिमयुक्त वस्ती नजिक साइरन जडान गर्नुपर्ने समेत उनीहरूको माग छ।
प्रतिक्रिया 4