Comments Add Comment

लोक सेवाले पहिलो चरणको परीक्षा भइसकेका पदको पदपूर्ति नरोक्ने

अवस्था सामान्य भएपछि परीक्षा कार्यक्रम सार्वजनिक हुने

५ जेठ काठमाडौं । लोक सेवा आयोगले कुनै एक चरणको परीक्षा सन्चालन भइसकेका पदहरुका बाँकी परीक्षा देशको अवस्था सामान्य भएपछि लिने भएको छ । सुरक्षा निकाय तथा संगठित संस्थाको परीक्षाको हकमा पनि यही लागू हुने आयोगले जनाएको छ ।

सोमबार बसेको लोक सेवा आयोगको बैठकले गरेका निर्णयअनुसार पहिलो चरणका परीक्षा भइसकेका शाखा अधिकृत र नायब सुब्बा पदका बाँकी परीक्षाहरु लकडाउन सकिएर अवस्था सामान्य भएपछि हुने भएका छन् ।

यसअघि कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि लोक सेवाले यी पदका परीक्षाहरु अनिश्चितकालसम्मका लागि स्थगित गरेको थियो । गत वैशाख १४ गतेको मन्त्रिपरिषद बैठकले हाललाई पदपूर्तिका सबै कार्यक्रम रोक्न लोक सेवा आयोगलाई आग्रह गरेको थियो । तर, आयोगले यसअघि नै कुनै एक चरणको परीक्षा भएकाको हकमा परीक्षा रोक्न नमिल्ने अनौपचारिक धारणा सार्वजनिक गरेको थियो ।

सोमबार आयोगको बैठकले त्यसबारे औपचारिक निर्णय गरेको छ । ‘निजामती सेवाको हकमा कुनै चरणको परीक्षा कार्यक्रम (प्रथम चरण परीक्षा लिखित परीक्षा प्रयोगात्मक परीक्षा आदि) पूर्ण वा आंशिक रुपमा सञ्चालन भएका विज्ञापनका हकमा स्थिति सामान्य भएपश्चात बाँकी सम्पूर्ण परीक्षाहरुको नयाँ परीक्षा कार्यक्रम निर्धारण गरिनेछ,’ आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

दरखास्त संकलन मात्र भएका परीक्षा स्थगित

दरखास्त संकलन भैसकेका तर कुनैपनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका विज्ञापनका हकमा भने सरकारबाट अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको छ ।

२०७६ फागुन २८ मा प्रकाशित राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक खरिदार वा सो सरह पदका लागि भएका विभिन्न विज्ञापनहरुमा दरखास्त लिने कार्य समेत यही जेठ ९ गते शुक्रबारदेखि बन्द गर्ने निर्णय भएको छ । दरखास्त बुझाइसकेका तर दरखास्त दस्तुर बुझाउन बाँकी उम्मेदवारहरुका लागि स्थिति सामान्य भएपश्चात निश्चित अवधि तोकी दस्तुर बुझाउने प्रबन्ध गरिने आयोगले जनाएको छ ।

नेपाल सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि उक्त विज्ञापनहरुको परीक्षा कार्यक्रम भने स्थगन गरिएको छ ।

न्याय सेवाका परीक्षा स्थिति सामान्य भएपछि

आयोगको स्वीकृत वाषिर्क कार्यतालिका बमोजिम विज्ञापन हुन बाँकी रहेका पदहरुको विज्ञापन प्रकाशनको कार्य हाललाई स्थगित गर्ने निर्णय पनि आयोगको बैठकले गरेको छ ।

न्याय सेवा आयोगको क्षेत्राधिकार भएका न्याय सेवाका पदका विज्ञापनको हकमा स्थिति सामान्य भएपश्चात नयाँ परीक्षा कार्यक्रम निर्धारण गरिनेछ ।

न्याय सेवाले आयोगलाई परीक्षा नगर्ने भनेमा आयोगले सोबारे आवश्यक निर्णय लिने छ ।

सुरक्षा निकाय तथा संगठित संस्थाको परीक्षा के हुन्छ ?

कुनैपनि चरणको परीक्षा कार्यक्रम (शारीरिक तन्दरुस्ती परीक्षण, आई.क्यू. परीक्षा, प्रथम चरण परीक्षा, लिखित परीक्षा वा अन्य यस्तै प्रकारका परीक्षाहरु) भइसकेका वा परीक्षा प्रकृयामा प्रवेश गरिसकेका निकाय वा संस्थाका लिखित परीक्षा सञ्चालन हुन बाँकीको हकमा स्थिति सामान्य भएपश्चात नयाँ परीक्षा कार्यक्रम सार्वजनिक गर्ने निर्णय आयोगले गरेको छ ।

सम्बन्धित निकाय वा संस्थाबाट विज्ञापन प्रकाशन गरिसकेको तर आयोगबाट परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी रहेका निकाय र संस्थाका विज्ञापनको परीक्षा कार्यक्रम सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment