Comments Add Comment

कोरोना फैलाउने अखडा बन्दैछ क्वारेन्टाइन स्थल !

कपिलवस्तुमा निर्माण गरिएको एक क्वारेन्टाइनस्थल

६ जेठ, काठमाडौं । सोमबार एकैदिन बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा बसेका ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भयो ।

तर, आइसोलेसन बेडको अभावमा उनीहरू रातभर त्यहीँ कोरोना संक्रमण नभएकाहरू सँगै बसे । यो क्वारेन्टाइन स्थल त्यही हो, जहाँ बसेका २५ वर्षीय युवकलाई समयमै अस्पताल लैजान नसक्दा आइतबार मृत्यु भएको थियो । उनी कोरोनाका कारण मृत्यु हुने दोस्रो नेपाली थिए ।

सरकारले बाँकेलाई कोरोनाको हटस्पट मानेको छ । तर, संक्रमित व्यक्तिलाई राख्ने आइसोलेसन वार्ड थपिएको छैन । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई कोरोना विशेष अस्पताल बनाइएको थियो, जुन यसअघि नै संक्रमितले भरिइसकेको छ ।

त्यही कारण जेठ १ गते कोरोना संक्रमण पुष्टि भएका ८ जनालाई दाङ पठाउनु परेको थियो । त्यसबेला नै प्रष्ट थियो कि थप संक्रमित भेटिए राख्ने आइसोलेसन बेड हुनेछैन । यसका बाबुजुद थप आइसोलेसन बेड किन व्यवस्था गरिएन ?

जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका कोभिड–१९ फोकल पर्सन नरेश श्रेष्ठका अनुसार संक्रमितलाई कहाँ राख्ने भन्ने विषयमा केन्द्र र प्रदेश सरकारसँग समन्वय गर्नुपर्ने भएकाले ढिलो भएको हो । उनले भने, ‘हिजो राति भएकाले कुनै निर्णय हुन नसकेको हो, यसअघि हामी छलफलमै थियौं ।’

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहका अनुसार उनीहरूलाई मंगलबार साँझ ६ बजे नेपालगञ्जको डेन्टल अस्पतालमा लगिएको छ ।

अव्यवस्था त्यति मात्र थिएन । नरैनापुर क्वारेन्टाइनमा खटिएका एक स्वास्थ्यकर्मीका अनुसार सोमबार एक सय ९० जनामा परीक्षण गरिएको थियो । ५९ जनालाई संक्रमण पुष्टि भएको जानकारी आए पनि कसलाई संक्रमण भएको हो भन्नेबारेमा मंगलबार बिहानसम्म जानकारी दिइएको थिएन । त्यसैले संक्रमित र संक्रमण नदेखिएका सबै जना एउटै क्वारेन्टाइनमा घुलमिल भएर बसे ।

यो क्वारेन्टाइन स्थलमा भएको लापरवाहीको एक दृष्टान्त मात्र हो, अन्यत्र पनि यस्तै भएको छ ।

पर्सामा वैशाख ३१ गते एकैदिन ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भयो । संक्रमितमध्ये केहीलाई साँझसम्म अस्पताल लगियो भने केहीलाई लगिएन । नारायणी अस्पतालमा आइसोलेसन बेड अभाव भएका कारण केही संक्रमितलाई भोलिपल्ट मात्र अस्पताल लगिएको थियो । परिवारमा सँगै बसेकाहरूलाई ४ दिनसम्म पनि सोधपुछ गरिएको थिएन ।

दुई दिनअघि स्थानीय प्रशासन र वडाध्यक्ष श्याम चौरासियाको टोली त्यहाँ पुग्यो । सोही टोली पुगेपछि अहिले ९ परिवारका २६ जनालाई स्थानीय स्कुलमा राखिएको छ । ७ वटा कोठामा ९ जना महिला र १७ जना पुरुष क्वारेन्टाइनमा बसिरहेका छन् ।

वडा नम्बर १६ का स्थानीय ललन साहका अनुसार अहिलेसम्म पनि त्यहाँ स्वास्थ्यकर्मी पुगेका छैनन् । स्वाब संकलन गर्नु त परैको कुरा, उनीहरूलाई खानपिनको सुविधा पनि छैन । अहिले ९ जना संक्रमित भेटिएको घरमा ताला लागेको छ ।

‘कसैले पनि खानाको व्यवस्था नगरेकाले हामी गाउँलेले २ दिनदेखि चन्दा उठाएर २६ जनालाई खुवाइरहेका छौं’ साहले भने, ‘उनीहरूले घरबाटै तन्नाहरू ल्याएर बसेका छन् ।’

स्वास्थ्यकर्मी समेत हेर्न नआएपछि क्वारेन्टाइनमा बसेकाहरू आत्तिएका छन् । साहले भने, ‘अब पनि केही व्यवस्थापन भएन भने यहाँका मानिसहरू घर जान बाध्य हुनेछन् ।’

****

मुगुका ३० वर्षीय दीपक परियार अहिले कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा छन् । उनले कैलाली आउनुअघि सीमापारि भारत सरकारले व्यवस्था गरेको क्वारेन्टाइनमा १० दिन बिताएका थिए । नेपाल प्रवेश गर्नुअघि र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गराए, जसमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

तर, अब क्वारेन्टाइन स्थलबाटै कोरोना सर्ला भन्ने डर छ । किनकि उनी बसेको स्थानमा क्वारेन्टाइनको कुनै पनि मापदण्ड पूरा भएको छैन । त्यस स्थलमा न खानाको राम्रो व्यवस्था छ, न सुत्ने । एउटै कोठामा १० जना मानिसलाई राखिएको छ भने पूरै क्वारेन्टाइनस्थलमा भारतबाट आएका तीन सयभन्दा बढी छन् ।

****

डोटीका नवीन साउद भारत सरकारले व्यवस्था गरेको क्वारेन्टाइनमा झण्डै एक महिना बसे । नेपाल आएपछि धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा पाँच दिन बसे । उनी अहिले डोटीको दिपायल सिलगढी नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा छन् । आज मंगलबार मात्र त्यहाँ पुगेका उनलाई नगरपालिकाले खानाको व्यवस्था गरेन । त्यसैले उनको परिवारले घरबाटै खाना ल्याएर दिएका छन् । त्यहाँ उनीसहित तीन जना छन् ।

‘भारतको क्वारेन्टाइनमा हप्ता–हप्तामा आरडीटी टेस्ट गरिएको थियो । नेपाल प्रवेशको समय बोर्डरमा पनि जाँच भयो’ साउदले अनलाइनखबरसँग भनेका छन्, ‘धनगढी आएपछि पनि एकपटक जाँच भयो । यहाँ आएपछि भने गरेको छैन ।’

****

कोरोना भाइरसको संक्रमण सुरु भएसँगै संघ, प्रदेश र स्थानीय सरकारहरूले क्वारेन्टाइन स्थल बनाए । रोजगारीका लागि भारत गएकाहरू फर्किने क्रम बढेसँगै सीमा नाकाका अधिकांश जिल्लामा क्वारेन्टाइन स्थल थपिएका छन् ।

तर, क्वारेन्टाइन स्थलमा मापदण्ड नपुगेको मात्र होइन, गम्भीर लापरवाही समेत हुन गरेको छ । नरैनापुरको क्वारेन्टाइनमा रहेका युवकलाई समयमा अस्पताल लैजान नसक्दा मृत्यु भएको घटनाले पनि त्यसलाई पुष्टि गरिसकेको छ ।

मंगलबार संसदमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि क्वारेन्टाइन स्थलमा कमजोरी भएको स्वीकार गरेका छन् । उनका अनुसार हाल देशभर ५७ हजार ९०४ जना राख्न सकिने क्वारेन्टाइन बेड छ । तर, ३० हजार मात्र गुणस्तरयुक्त छ ।’

तर, सरकारी अधिकारीहरू त्यो ३० हजारमा पनि मापदण्ड पूरा नभएको स्वीकार गर्छन् । विभिन्न क्वारेन्टाइनमा बसेकाहरूले स्वास्थ्य मन्त्रालयको हटलाइनमा फोन गरेर सुनाएअनुसार क्वारेन्टाइनको अवस्था र मापदण्ड हेर्ने निकाय समेत छैन । क्वारेन्टाइन बसेको लामो समयसम्म कोरोना जाँच गरिँदैन ।

एउटै कोठामा १५ देखि २५ जनासम्म राखिएको छ । सुत्ने, खाने र स्वास्थ्य उपचारको अवस्था निकै दयनीय छ । कतिपय स्थानमा त पाल टाँगेर क्वारेन्टाइन बनाइएको छ र त्यहाँ बाहिरबाट मानिसहरू सहजै आउजाउ गरिरहेका छन् ।

‘क्वारेन्टाइनस्थलको नाममा धेरै नेपालीलाई भेडाबाख्रा जसरी राखिएको छ’ मन्त्रालयको हटलाइनमा गुनासो सुन्न बसेका एक कर्मचारी भन्छन्, ‘सरकारको तर्फबाट अमानवीय व्यवहार भयो भनेर धेरै फोन आउँछ । तर, हामी गुनासो सम्बन्धित निकायसम्म पु¥याउनेबाहेक अरू केही गर्न सक्दैनौं ।’

कस्तो हुनुपर्छ क्वारेन्टाइन स्थल ?

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार क्वारेन्टाइन कोठा छुट्टै बनाउन नसकेपनि कम्तीमा दुई मिटरको दुरी कायम गरेर राख्नुपर्छ । शौचालय अलग चाहिन्छ भने चिकित्सकको निगरानी र स्वस्थ खाना पनि चाहिन्छ । किनकि क्वारेन्टाइनस्थलमा राखिने अधिकांश मानिस सम्भावित संक्रमित हुन् । साथै, त्यहाँ भएकामध्ये एक जनामा संक्रमण रहेछ भने अरूलाई नसरोस् भनेर बस्ने, खाना र शौचालयको व्यवस्थापन गर्नुपर्छ ।

नभए क्वारेन्टाइन स्थलबाटै संक्रमण फैलिने खतरा रहेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

क्वारेन्टाइन स्थल भनेको अपराधी राख्ने अखडा होइन

डाक्टर शरद वन्त, जनस्वास्थ्य विज्ञ

मैले क्वारेन्टाइन स्थलबारे धेरै समाचार सुनिरहेको छु । तस्वीरहरू पनि हेरिरहेको छु । त्यो हेर्दा यस्तो लाग्छ, क्वारेन्टाइन स्थलहरू सम्भावित संक्रमित राख्ने ठाउँ नभएर अपराधी राख्ने अखडा हो । किन यस्तो भयो होला ? मलाई लाग्छ, हाम्रो सरकारले क्वारेन्टाइनको अवधारणा नै बुझेको छैन ।

हामीले बुझ्नुपर्छ, क्वारेन्टाइनमा राख्नुको अर्थ यदि तपाईंलाई संक्रमण रहेछ भने अरूलाई नसरोस् र अरूलाई संक्रमण रहेछ भने पनि तपाईंलाई नसरोस् । तर, हामी काहीँकतै पाल टागेर राखेको छ त कतै भुइँमै राखिएको छ । कतै एउटै कोठामा लस्करै मान्छे सुताइएको छ । यो त अत्यन्तै अव्यवस्थित र अमानवीय भयो । त्यहाँ बसेकामध्ये एक जनालाई संक्रमण भएको रहेछ भनेर अरूलाई पनि सरिहाल्छ नि । अहिलेको क्वारेन्टाइन स्थल संक्रमण फैलाउने अखडा भएका छन् । पछिल्लो केही ठाउँको केसले त्यस्तै संकेत गर्छ । क्वारेण्टाइन स्थलबाटै संक्रमण फैलियो भने क्वारेन्टाइनमा राखेको केही अर्थ हुन्न । त्यहीँ भेदभाव भयो भने झन् खतरनाक हुन्छ ।

यदि मापदण्डअनुसार चल्ने हो र साँचो अर्थमा क्वारेन्टाइन गर्ने हो भने कुनै पनि व्यक्तिलाई क्वारेन्टाइन स्थलमा ल्याएपछि सुरुमा उसको कोरोना परीक्षण गर्नुपर्छ । परीक्षण गर्दा पोजेटिभ रिजल्ट आयो भने आइसोलेसनमा राख्नुपर्छ । त्यसका लागि त्यहाँ स्वास्थ्यकर्मी र एम्बुलेन्स हरदम तयारी अवस्थामा हुनुपर्छ ।

तर, क्वारेन्टाइन स्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्स छैन । यसले थाहा हुन्छ, हाम्रो तयारी कस्तो छ ।

अहिले फेरि विभिन्न देशमा भएका नेपालीहरूलाई ल्याउने विषयमा छलफल भएको छ । मेरो आग्रह छ, उनीहरूलाई ल्याउनुभन्दा पहिले गुणस्तरीय क्वारेन्टाइन स्थल बनाऔं ।

कस्तो हुनुपर्छ क्वारेन्टाइनस्थल ? हेर्नुहोस् सरकारी मापदण्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment