News Summary
Generated by OK AI. Editorially reviewed.- पोर्न फिल्म निर्माता कम्पनी स्ट्राइक थ्री होल्डिंग्सले मेटामाथि हजारौँ एडल्ट फिल्म चोरी गरी एआई मोडेल प्रशिक्षित गरेको आरोप लगाएको छ।
- मेटाले उक्त आरोपलाई अस्वीकार गर्दै आफ्नो एआई मोडेलमा पोर्न सामग्री प्रयोग नगर्ने र प्रमाण नभएको बताएको छ।
- स्ट्राइक थ्रीले मेटाको कर्पोरेट आइपीबाट बिट टोरेन्टमार्फत फिल्म डाउनलोड गरेको दाबी गर्दै अमेरिकी अदालतमा मुद्दा दायर गरेको छ।
के फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो एआई मोडेललाई प्रशिक्षित गर्नका लागि पोर्न फिल्महरुको प्रयोग गर्छ ?
सामान्य रूपमा कल्पना गर्न नसकिने यस्तो आरोप मेटामाथि लागेको छ ।
मेटाले आफ्ना एआई मोडेललाई ट्रेन गर्नका लागि आफ्ना हजारौँ एडल्ट फिल्महरूको प्रयोग गरिरहेको गम्भीर आरोप एक पोर्न फिल्म निर्माता कम्पनीले लगाएको छ । यद्यपि मेटाले भने त्यस्तो आरोपको खण्डन गरेको छ ।
एडल्ट फिल्म निर्माता कम्पनी स्ट्राइक थ्री होल्डिंग्सले मेटामाथि यस्तो आरोप लगाउँदै मुद्दा नै दायर गरेको थियो । आफ्नो कम्पनीले निर्माण गरेका हजारौँ पोर्न फिल्म चोरेर मेटाले आफ्नो एआई टूललाई प्रशिक्षित गर्ने गरेको जिकिर थ्री होल्डिंग्सको छ ।
के हो घटना ?
स्ट्राइक थ्री होल्डिंग्सको दाबी अनुसार मेटाको कर्पोरेट आइपी एड्रेस प्रयोग गरेर बिट टोरेन्टका माध्यमबाट हजारौँ एडल्ट फिल्म डाउनलोड गरेको थियो ।
कम्पनीका अनुसार मेटाले आफ्नो मेटा मूभी जेन, लार्ज ल्यांग्वेज मोडेल (लामा) तथा अन्य एआई मोडेलहरूलाई तालीम दिनका लागि उसका कम्तीमा पनि २ हजार ३९६ वटा पुरस्कार विजेता एडल्ट फिल्महरूको चोरी गरेको छ ।
सोही आरोप लगाउँदै स्ट्राइक थ्री होल्डिंग्सले अमेरिकी जिल्ला अदालतमा मेटामाथि मुद्दा दायर गरेसँगै मेटाले अदालतमा आफू विरुद्धको अभियोग अस्वीकार गरेको छ ।
आफूले एडल्ट फिल्म चोरी गरेको भन्दै स्ट्राइक थ्री कम्पनीको दाबीलाई पुष्टि गर्ने कुनैपनि प्रमाण नभएको भन्दै मेटाले एडल्ट फोटो वा भिडियोलाई आफ्ना एआई मोडेलको प्रशिक्षणमा प्रयोग नगर्ने प्रष्ट पारेको छ ।
साथै स्ट्राइक थ्री ले बेतुकमा हजारौँ मुद्दाहरू दर्ता गर्ने गरेको भन्दै मेटाले त्यही कारण मानिसहरूले सो कम्पनीलाई कपीराइट ट्रोलको संज्ञा दिने गरेका बताएको छ ।
स्मरण रहोस् एआई मोडेललाई प्रशिक्षित गर्ने विषयमा यस्तो खालको चोरीको आरोप लागेको यो पहिलोपटक होइन ।
हालैका वर्षहरूमा एआई कम्पनीहरूका विरुद्धमा उनीहरूका एआई मोडेललाई प्रशिक्षित गर्नका लागि विभिन्न डेटाहरूको प्रयोग गरिरहेको विषयमा अनेक प्रतिलिपी अधिकारका मुद्दाहरू दायर हुने गरेका छन् ।
मेटाको विरुद्धमा अमेरिका तथा फ्रान्स दुबै देशका लेखकहरूले पनि प्रतिलिपी अधिकार उल्लंघनको आरोपमा मुद्दा दायर गरेका छन् । आफूहरूका बौद्धिक सम्पत्तिलाई मेटाले एआई मोडेलको प्रशिक्षणमा प्रयोग गरिरहेको उनीहरूको दाबी छ ।
हालै प्रयोगकर्ताहरूले इन्स्टाग्राम तथा मेटाका अन्य सोसल मिडिया प्लाटफर्महरूमा रसियन गर्ल तथा स्टेप मम जस्ता विभिन्न अश्लील च्याटबटसँग च्याट गर्ने सुझाव देखिने गरेको गुनासो गर्ने गरेका छन् ।
तर मेटाले भने आफूले पोर्न सामग्रीको प्रयोग नगर्ने र कम्पनीको नियमले त्यसलाई अनुमति नदिने जिकिर गरेको छ । तथापि विशाल नेटवर्कमा हरेक डाउनलोडको निगरानी गर्न सम्भव नभएको पनि उसले जनाएको छ । एजेन्सी
प्रतिक्रिया 4