Comments Add Comment

कविता : कोरोना र महादेबहरू

मर्नु अगाबै हतार- हतार
खनिरहेछन् चिहानहरू
अन्त्यष्टिको लाईनमा प्रतिक्षारत छन् लाशहरू
अश्रुपूरित विश्वलाई
भयको अन्धकारले छोपेको छ
समयले हत्कडी लगाएको बर्तमानमा
बाँच्नको लागि
यतिसम्म लालयीत हुँदो रहेछ कि मान्छे
बाबुलाई दागबत्ती दिनसमेत गएन
प्रियाको अन्तिम मुख हेरेन
छोरालाई एक घुटको पानी ख्वाएन
अन्तिम बिदाईमा कोही भएन
लाससमेत छुन नसक्ने सजाय भोगिरहेछन्
एकातिर,
त्रासदी र अत्यासको खेतिमा
मृत्युरूपी फल फलाईरहेछ कोरोना
अर्कोतिर,
एक पटक मर्ने त्रासमा
पलपल मरिरहेछन् मान्छेहरू।

स्वास्थ्य समस्या मात्र भएन कोरोना
अर्थ ब्यवस्थाको महाशत्रु बन्यो
जिन्दगी नै ठप्प बनाई रहेछ
पुरै संसारलाई घरैभित्र कोचेर
अट्टहास गर्दै चौतर्फ
मानव अस्तित्व उपर धावा बोल्दै
चक्रवर्ती बनेको छ
यावत समस्याहरू थाँती राखेर
विश्व कोरोनामा केन्द्रीत छ
अन्देखा भएका छन् अन्य रोग र समस्याहरू
निरूपाय भएपछि
हडबड र बित्यासमा लपेटिँदै
एउटा नासबाट मुक्ती पाउने लालचाले
लकडाउनरूपी मन्द बिष
महिनौँ पिउँदै
सर्वनाश स्विकार्न बिवस छन् देशहरू।

प्राकृतिक अत्याचार वापतको तक्मा
छातीभरी भिरेर
कालकुट निल्न नसक्ने
तर महादेवको घमण्ड गर्नेहरूको
दम्भको बस्त्र फुकालि रहेछ कोरोना
न्युयोर्क, बेईजिङ्, लण्डन मात्र हैन
प्यारिस, मिलान, मस्को आदिमासमेत
अर्जापेको थुतुनोमा मुखौटोले छोपिदिदै
बुध्दी र क्षमताको परीक्षा लिईरहेछ
लासैलासको थुप्रोमाथि
शोक धुनको बिरहपूर्ण सङ्गितमा
दम्भि नेतृत्वरूलाई नचाई रहेछ कोरोना।

यिनका सुरक्षा कवचधारी सारा क्षेप्यास्त्रहरू
रमिते भै ताली ठोकी रहेछन्
साझा सत्रु उपरको प्रहार
आपसी मिलेमतोमा गर्न छाडेर
हिलो छ्यापाछ्यापमा उद्यत छन्
सारा औषधिहरू नालिका फोहर भए
स्व:रक्षामा प्रार्थनारत छन् धर्महरू
उपलब्धीहरू
फगत पानीको फोका बन्नाले
उपाय बिहिन भै विज्ञान रोइरहेछ
प्रदुषणले मरूभूमी बनेको आकाश
स्वच्छ, सफा मन्दाकिनी कलकल बग्नाले
अधर उधारेर मुस्कुराई रहेछ
कोरोनासँग आभारी देखिन्छ।

(म्याडिसन, अमेरिका)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment