Comments Add Comment

खुला आकाशमुनि सुत्नुस् भनेर झुल थमाइदिए !

१८ जेठ, जनकपुरधाम । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिने भारतसहित अन्यत्रबाट आउने व्यक्तिलाई क्वारेन्टिनमा राखने गरिएको छ । भारतमा यातायातका साधनहरु चल्न थालेसँगै नेपाल आउनेहरु बढेका छन् ।

आइतबारसम्मको तथ्यांकअनुसार प्रदेश २ मा मात्र १९ हजार ९८३ जना क्वारेन्टिनमा छन् । तर क्वारेन्टिनमा उनीहरुलाई निकै अव्यवस्थित रुपमा राखिएको छ ।

दृष्टान्त १

धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ गोदारका बलदेव खड्कासहित श्रीमतीसहित शनिबार साँझ भारतको नोएडाबाट आए । बुबाको निधन भएपछि काजकिरियामा सहभागी हुन उनी श्रीमतीलाई लिएर घर आएका थिए । तर उनी पुग्नु अगाडि नै वडाध्यक्षले घर अगाडि प्रहरी खटाएका थिए ।

प्रहरीले नजिकैको राष्ट्रिय माध्यमिक विद्यालयको क्वारेन्टिनमा लगेर राखेको छ, तर खुला आकास मुनी । ‘तीन वटा गुन्द्री र तकिया दिएर आज बाहिर सुत्नुस् भनियो’ खड्काले भने, ‘म त खुला आकाश मुनि नै सुत्छु, तर दुई जना महिलालाई कसरी बाहिरै सुताउनु  ? यही चिन्ताले रातभर सुत्न पाइएन ।’

अनौठो त के भने उनीहरुलाई खुला आकाशमुनि सत्नुस् भनेर झुल भने दिइएको थियो । उनी भन्छन्, खुला मैदानमा कसरी झुल लगाउनू ।’

उनकाअनुसार गुन्द्रीमा खाना खाएर आएर पल्टिएको केहीबेरमै पानी परेपछि उनीहरुको झन् विजोग भयो । दौडिएर विद्यालयको बरण्डामा गएर ओत लागे । ‘कतिखेर सर्प, किरा आएर दुःख दिन्छ थाहा छैन’ खड्का भन्छन्, ‘त्रासैत्रासमा रात काट्यौं ।’

उनकाअनुसार आइतबारसम्म कोठामा लगिने आश्वासन दिइएको थियो । तर साँझसम्म कोठामा नलगेपछि बरण्डामा बसेको उनले टेलिफोनमा सुनाए ।

दृष्टान्त २

धनुषाकै कमला नगरपालिका ८ स्थित श्री मावि टेढामोडको क्वारेन्टिनमा ६० जना छन् । उनीहरु मध्ये ८ जनालाई बरण्डामै सुत्ने व्यवस्था मिलाइएको छ ।

शनिबार राति सुतिरहेका बेला पानी परेपछि आफूहरु भिजेको क्वारेन्टिनमा रहेका सत्यनारायण मण्डलले बताए । ‘विद्यालयको बरण्डामा ओछ्याउन म्याट दिएको छ’ उनले भने, ‘हाबाहुरीसहित पानी परेपछि भिजियो ।’

विद्यालयमा एउटै शौचालय छ, त्यसले शौच गर्न जान पनि पालो पर्खनु पर्ने अवस्था छ भने साबुन, सेनिटाइजर छैन । काशिन्द्र यादवले भने, ‘कुन जन्मको पाप गरेको थिएँ र यो सबै भोग्नुपरिरहेको छ ।’

दृष्टान्त ३

सप्तरीको रुपनी गाउँपालिका ६ स्थित मावि बसबिट्टीको क्वारेन्टिनमा भारतबाट आएका २७ जनालाई राखिएको छ । कक्षाकोठाको भुइँमामा ओछ्याउन म्याट दिइएको छ, तर न समयमा खाना आउँछ, न चेकजाँच गर्न स्वास्थ्यकर्मी आउँछन् । ‘हामीलाई यहाँ थन्काएर राखिएको छ’ भारतको लुधियानाबाट आएका मनिष झाले भन्छन्, ‘आएको एक साता भन्दा बढी भइसक्यो, स्वाब पनि लिइएको छैन ।’

उनकाअनुसार क्वारेन्टिनमा बस्नेहरुमा मानसिक तनाव बढ्दै गएको छ । ‘न राम्रोसँग सुत्न सकिरहेको छु, न राम्रो खाना छ’ झा भन्छन्, ‘हामीले यहाँ कुन अपराध गरेका छौं र, यस्तो बन्दी बनाएर राखिएको छ ?’

तीन वटा दृष्टान्तले भारत तथा अन्यत्रबाट गाउँ फर्किएकाहरुले क्वारेन्टिन स्थलमा कति पीडा सहनुपरेको छ भन्ने प्रष्ट हुन्छ । राम्रोसँग सुत्न नपाउने, समयमा खाना खान नपाउने जस्ता कारण उनीहरु समस्यामा छन् । क्वारेन्टिनमा भोगेर गुल्मीमा एक जना व्यक्तिले आत्महत्या समेत गरेका छन् ।

तर स्थानीय र प्रदेश सरकार क्वारेन्टिनमा बस्नेहरुप्रति गम्भीर देखिएको छैन । उनीहरुको परीक्षण समेत समयमा भएको छैन ।

भारतमा समेत क्वारेन्टिन बसेकाहरुलाई अहिले नेपालमा फेरि क्वारेन्टिनमा बसेका छन्, तर समयमा परीक्षण हुन सकेको छैन ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको बिसनपुरका अहम मियाँ भारतबाट आउने क्रममा भारतको बिजनौर भन्ने ठाउँमा १४ दिन क्वरेन्टिनमा बसे । त्यहाँको कस्तुरबा गाँधी आवासीय विद्यालयको क्वारेन्टिनमा बसेर उनले प्रमाणपत्र समेत लिएर आएका छन् । अहिले डाक्नेश्वरी–५ स्थित कन्त चन्द्र माविको क्वारेन्टिनमा राखिएको छ ।

धनुषाको कमला नगरपालिका ८ स्थित मावि टेढामोडको क्वारेन्टिनमा रहेका कमला नगरपालिका ५ सघाराका सन्तोष सदा पनि भारतको क्वारेन्टिनमा बसेर आएका व्यक्ति हुन् । ‘ठीकै छ यहाँ पनि बस्छु, तर जाँच त फटाफट गरिदिनुपर्‍यो पनि’ सदा भन्छन्, ‘यहाँ आएको नौ दिन भइसक्यो न जाँच गरेको छ न स्वास्थ्यकर्मी आएका छन् ।’

जनप्रतिनिधि भन्छन्– संख्या बढ्दा के गर्नु ?

क्वारेन्टिन अव्यवस्थित भएको विषय प्रश्न गर्दा जनप्रतिनिधि उल्टो पीडा सुनाउँछन् । ‘शुरुमा त व्यवस्थित गरेकै थियौं, तर संख्या एक्कासी बढेपछि के गर्ने ?’ धनुषाको कमला नगरपालिकाका मेयर रामउदगार गोइतले भन्छन् । उनका अनुसार दैनिक २० देखि २५ जना थपिन थालेपछि समस्या भएको हो ।

क्वारेन्टिनमा बस्नेहरुको संख्या बढ्दा पनि स्वाब संकलन गर्न सम्बन्धित निकायले चासो नदेखाएको उनको गुनासो छ । ‘१६ दिनदेखि क्वारेन्टिनमा बस्नेहरु पनि छन् । तर स्वाब संकलन गरिदिएका छैनन् । अब हामी के गर्न सक्छौं ?’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment