News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसकी सांसद सीता थपलियाले काठमाडौं उपत्यकाबाट हटाइएका सुकुमवासीको पुनर्स्थापनामा भएको प्रगति र आधिकारिक तथ्यांक सार्वजनिक गर्न सरकारसँग माग गरिन्।
- उनले सुकुमवासी बस्ती हटाउँदा १० जनाको मृत्यु भएको दाबी उल्लेख गर्दै वास्तविक सुकुमवासीलाई स्थायी आवास र अधिकार दिनुपर्ने बताइन्।
- थपलियाले सरकार नागरिकका आधारभूत समस्या समाधान गर्न असफल भएको आरोप लगाउँदै ग्यास, महँगी र बाढी प्रभावित जिल्लाको अवस्थाबारे पनि प्रश्न उठाइन्।
१ असोज, काठमाडौं । नेपाली कांग्रुेसकी सांसद सीता थपलियाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएको सुकुमवासी नागरिकको पुनर्स्थापनामा भएको उपलब्धि सार्वजनिक गर्न सरकारसँग माग गरेकी छिन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकार नागरिकका आधारभूत समस्या समाधान गर्न असफल भएको आरोप पनि लगाइन् ।
मन्त्रीहरूले खुट्टा भाँच्ने र पाता फर्काउने कुरा गर्ने तर नागरिक रित्तो ग्सासको सिलिण्डर बोकेर दिनभर लाइनमा बस्नुपरेको अवस्था रहेको भन्दै उनले सरकारको कार्यशैलीप्रति आपत्ति पनि जनाइन् ।
‘कोही मन्त्रीज्यू खुट्टा भाँच्ने कुरा गर्नुहुन्छ, कोही मन्त्रीज्यू पाता फर्काउने कुरा गर्नुहुन्छ । तर नागरिक अहिले पनि रित्तो ग्यास बोकेर लाएइनमा उभिएका छन् । बाढी प्रभावित जिल्लाहरूको अवस्था अझै दयनीय रहेको छ । सरकारले नागरिकलाई न ग्यास दिन सक्यो न सरकारले बजारको महंगी नै नियन्त्रण गर्नसक्यो,’ उनले भनिन् ।
उनले सुकुमवासी नागिरको घर भत्काइएपछि विभिन्न कारणले १० जनाको मृत्यु भएको दाबी गरिएको उल्लेख गर्दै सरकारले यसबारे आधिकारिक तथ्यांक सार्वजनिक गर्नुपर्ने बताइन् ।
सुकुमवासी बस्तीमा डोजर चलाएर टहरा हटाउनु मात्र समस्याको समाधान नभएको भन्दै वास्तविक सुकुम्बासीलाई सम्मानपूर्वक स्थायी आवास र अधिकार उपलब्ध गराउन माग गरिन् ।
‘सरकारले आजसम्म पनि सुकुमवासी सम्बन्धी आधिकारिक तथ्यांक दिन सकेको छैन । हामी जान्न चाहान्छौँ, कति परिवारको पहिचान भयो ? कति परिवारलाई स्थायी आवास दिइयो ? र बाँकीलाई कहिले दिइन्छ ? डोजर लगाएर टहरा हटाउनु समाधान होइन, वास्तविक सुकुम्बासीलाई सम्मानपूर्वक स्थायी आवास र अधिकार दिनु समाधान हो,’ उनले भनिन् ।
उनले पुराना राजनीतिक दलहरूलाई गाली गरेर मात्र नयाँ मान्यता स्थापित नहुने पनि बताइन् ।
‘पुराना राजनीतिक दलका कमि कमजोरीमाथि प्रश्न उठाउन पाउनुपर्छ, पाइन्छ । हामी सुन्न तयार छौँ । तर पुराना दललाई गाली गरेर मात्र नयाँ मान्यता स्थापित हुँदैन । गाली मात्रै गरेर यो देश बन्छ भने गर्नुस्, हामी सुन्न तयार छौं,’ उनले भनिन् ।
प्रतिक्रिया 4