News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य अघि बढाइरहँदा काठमाडौंमा ३, ४ र ५ माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ हुने भएको छ।
- इप्पानका अनुसार नेपालको विद्युत् उत्पादन क्षमता करिब ४ हजार ३ सय मेगावाट पुगेको छ भने १७ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजना निर्माण तयारीमा छन्।
- एक्स्पोमा जलविद्युत् बाहेक सौर्य, वायु, ऊर्जा भण्डारण, ग्रिन हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड र जलवायु प्रविधिबारे छलफल र प्रदर्शनी हुने छ।
१ असोज, काठमाडौं । सरकारले सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अघि बढाइरहेका बेला नेपालको ऊर्जा क्षेत्रलाई लगानी, प्रविधि र नवप्रवर्तनसँग जोड्ने उद्देश्यले ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र इभेन्ट सोलुसन प्रालिको संयुक्त आयोजनामा आगामी ३, ४ र ५ माघमा काठमाडौंमा एक्स्पो आयोजना गर्न लागिएको हो ।
‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ भन्ने नारासहित आयोजना हुने एक्स्पो २०१७, २०१८, २०२२ र २०२४ मा भएका संस्करणको निरन्तरता हो । आयोजकले यसलाई पाँचौं संस्करणका रूपमा लिएको छ ।
इप्पान अध्यक्ष मोहनकुमार डाँगीका अनुसार नेपालको विद्युत् उत्पादन क्षमता अहिले करिब ४ हजार ३ सय मेगावाट पुगेको छ । निर्माणाधीन आयोजनाको क्षमता करिब ६ हजार ४ सय मेगावाट छ भने १७ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजना अध्ययन सम्पन्न गरी पीपीएका लागि आवेदन दिएर निर्माण तयारीमा छन् ।
ऊर्जा उत्पादन विस्तारमा निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी रहेको भन्दै इप्पानले आगामी दिनमा विद्युत् उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधार, विद्युत् खपत, औद्योगिक विद्युतीकरण, विद्युतीय सवारी, ऊर्जा भण्डारण र अन्तरदेशीय विद्युत् व्यापारमा समेत लगानी र प्रविधि आवश्यक रहेको जनाएको छ ।
एक्स्पोमा परम्परागत जलविद्युत् दायराभन्दा बाहिर गएर सौर्य, वायु, बायोग्यास तथा बायोमास, फोहोरबाट ऊर्जा, ऊर्जा भण्डारण, ग्रिन हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड, डिजिटल ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेट अफ थिङ्स र जलवायु प्रविधिसम्मका विषय समेटिने छ ।
आयोजकका अनुसार यसपटक ‘एकीकृत हरित ऊर्जा बजार’ अवधारणा अघि बढाइने छ । ऊर्जा उत्पादन विस्तारसँगै ऊर्जा पूर्वाधार उत्थानशीलता, लगानी र नवप्रवर्तनलाई एक्स्पोको मुख्य केन्द्रमा राखिने छ ।
पछिल्ला वर्षमा बाढी, पहिरो र गेग्रान बहाबका कारण जलविद्युत् आयोजनाका पूर्वाधारमा क्षति पुगेको घटनालाई समेत ध्यानमा राख्दै जलवायु परिवर्तनजन्य जोखिम, विपद् न्यूनीकरण र उत्थानशील ऊर्जा पूर्वाधार निर्माणबारे एक्स्पोमा बहस हुने आयोजकले जनाएको छ ।
इलाम, संखुवासभा, लमजुङ लगायत क्षेत्रमा भएका बाढीपहिरो तथा पछिल्लो भोटेकोशी र त्रिशूली नदी बेसिनमा आएको बाढीबाट ऊर्जा पूर्वाधारमा परेको प्रभाव समेत यस क्रममा छलफलको विषय बनाइने छ ।
लगानीदेखि प्रविधिसम्मको मञ्च
एक्स्पोमा ऊर्जा उत्पादक, आयोजना विकासकर्ता, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, प्रविधि प्रदायक, उपकरण निर्माता, इन्जिनियरिङ तथा निर्माण कम्पनी, सरकारी तथा नियामक निकाय, विश्वविद्यालय, अनुसन्धान संस्था, स्टार्टअप र विकास साझेदारलाई एउटै मञ्चमा ल्याउने आयोजकको तयारी छ ।
एक्स्पो क्रममा बीटुबी मिटिङ, हिमालयन ग्रिन इनर्जी कन्फ्रेन्स, अन्तर्राष्ट्रिय कन्ट्री प्याभिलियन, ग्रिन इनर्जी नलेज हब, आयोजना स्थल भ्रमण, प्रत्यक्ष प्रविधि प्रदर्शन तथा स्टार्टअप हब सञ्चालन गरिने छ ।
त्यस्तै ऊर्जा उत्पादन तथा सेवासम्बन्धी प्रतिस्पर्धा, हाइड्रो–कन शो, ईभी र्याली र गाला नेटवर्किङ डिनर पनि आयोजना गरिने छ ।
प्रदर्शनीमा टर्बाइन, जेनेरेटर, सोलार पीभी, इन्भर्टर, ब्याट्री तथा ऊर्जा भण्डारण प्रणाली, ट्रान्स्फर्मर, स्विचगियर, प्रसारण तथा वितरण प्रविधि, ग्रिड प्रविधि, स्वचालन तथा स्मार्ट ऊर्जा समाधान लगायत उपकरण तथा प्रविधि प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
विद्यार्थी तथा नवप्रवर्तकले विकास गरेका ऊर्जा क्षेत्रसँग सम्बन्धित नयाँ अवधारणा, वस्तु तथा सेवाको प्रतिस्पर्धा समेत एक्स्पोमा समावेश गरिने छ ।
आयोजकले भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटाली, स्विडेन, बेलायत र ब्राजिल लगायत देशका कम्पनी तथा सरोकारवालालाई सहभागी गराउने तयारी छ ।
एक्स्पोमा १ सयभन्दा बढी प्रदर्शनी स्टल रहने र तीन दिनमा ३० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा आयोजकको छ ।
प्रतिक्रिया 4