News Summary
Generated by OK AI. Editorially reviewed.- इप्पानले बाढीका कारण करिब ७५३ मेगावाट क्षमताका जलविद्युत् आयोजनामा क्षति पुगेको जनाएको छ।
- रसुवा, नुवाकोट र धादिङका त्रिशूली तथा भोटेकोशी बेसिनका सञ्चालनरत र निर्माणाधीन दर्जनभन्दा बढी आयोजनामा बाँध, पावर हाउस र पहुँचमार्गमा क्षति पुगेको छ।
- इप्पानले कामदार र प्राविधिकको खोजी–उद्धारलाई प्राथमिकता दिन र पुनर्निर्माणमा नीतिगत, वित्तीय तथा प्राविधिक सहजीकरण गर्न सरकारसँग अनुरोध गरेको छ।
१० भदौ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले बाढीका करिब ७५३ मेगावाट क्षमताका आयोजनामा क्षति पुगेको जनाएको छ ।
रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । त्रिशूली तथा भोटेकोशी नदी बेसिनमा सञ्चालनमा रहेका तथा निर्माणाधीन दर्जन बढी जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको इप्पानले जनाएको छ ।
‘विशेषगरी नदी किनार तथा बाढी प्रभावित क्षेत्रमा रहेका आयोजनाका बाँध, हेडवर्क्स , पावर हाउस, पहुँचमार्ग, प्रसारण संरचना, निर्माण सामग्री तथा अन्य भौतिक संरचनामा गम्भीर क्षति पुगेको प्रारम्भिक जानकारी संकलन भएको छ’ इप्पानले एक विज्ञप्तिमा भनेको छ ।
इप्पानका अनुसार रसुवा जिल्लामा सञ्चालनमा रहेका करिब २३६ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना तथा निर्माणाधीन करिब ३४२.४२ मेगावाट क्षमताका तीन आयोजनामा क्षति भएको छ ।
त्यसैगरी नुवाकोट जिल्लामा सञ्चालनमा रहेका करिब १२३ मेगावाट क्षमताका चार आयोजना तथा करिब ५२.६ मेगावाट क्षमताका दुई निर्माणाधीन आयोजनामा समेत क्षति पुगेको जनाएको छ ।
‘विशेषगरी माथिल्लो त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा पुगेको क्षतिका कारण भौतिक संरचनामा प्रत्यक्ष ठूलो क्षति नपुगेका कतिपय आयोजनासमेत राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद हुन पुगेका छन्’ इप्पानले भनेको छ ।
इप्पानले बाढी प्रभावित क्षेत्रमा विद्युत् आयोजनामा कार्यरत तथा फसेका सम्पूर्ण कामदार, कर्मचारी र प्राविधिकहरूको तत्काल खोजी, उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणलाई पहिलो प्राथमिकता दिन सरकार र सुरक्षा निकायलाई अनुरोध गरेको छ ।
क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणका लागि आवश्यक नीतिगत सहजीकरण, वित्तीय तथा प्राविधिक सहयोग, बीमा दाबी प्रक्रियामा सहजीकरण तथा प्रसारण पूर्वाधारको शीघ्र पुनर्निर्माण गर्नसमेत इप्पानले अनुरोध गरेको छ ।
इप्पानले बाढीबाट प्रभावित जलविद्युत आयोजनाको क्षतिको विस्तृत विवरण संकलन तथा अभिलेखीकरण गर्ने कार्यसमेत अघि बढाउने जनाएको छ ।
प्रतिक्रिया 4