Comments Add Comment

लकडाउनले शान्त निकुञ्ज, प्रसन्न पशुपन्छी

१८ जेठ, चितवन । कोरोना भाइरसको त्रास एवं लकडाउनले मानिसहरू घरभित्र र वरपर सीमित छन् । पर्यटक बनेर निकुञ्जमा जंगल सफारी गर्न जाने त धेरै परेको कुरा बन्यो । तर, निकुञ्जमा पर्यटक जान बन्द भएपछि जीवजन्तु र पशुपन्छीमा भने स्वतन्त्रता र उन्मत्त खुसी देखिन्छ ।

लकडाउन अघिसम्म निकुञ्जमा दैनिक सयौं पर्यटक बोकेका जीपहरू ओहोरदोहोर गरिरहन्थे। निकुञ्जले दैनिक ४२ वटा जीपलाई चल्न अनुमति दिएको छ। गाडी र पर्यटकको हल्लाखल्लाले जनावरहरूसमेत भाग्ने, डराएजस्तो गर्ने गर्थे ।

कोरोना संक्रमण रोकथामका लागि गरिएको  लकडाउनले विगत ६५ दिनदेखि चितवन राष्ट्रिय निकुञ्ज शान्त छ। जीव जनावरहरू निर्धक्क भएर आनन्दपूर्वक रमाइरहेका देखिन्छन् । निकुञ्जभित्र पर्यटकीय गतिविधि नहुँदा आम्दानी त घटेको छ तर जीव जनावर र पशुपन्छीहरू निष्फिक्री रमाइरहेका देखिन्छन् ।

गत वर्ष ३० करोड आम्दानी गरेको निकुञ्जको आम्दानी यसपटक २० करोडको हाराहारीमा झर्ने देखिएको छ। लक्ष्य ३८ करोडको थियो । आम्दानी घटे पनि निकुञ्जमा वन्यजन्तुको भने स्वतन्त्र विचरण बढेको देख्दा चित्त प्रसन्न हुने निकुञ्जका अधिकारीहरू बताउँछन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जनावरहरू हिजोआज मान्छे देख्नेबित्तिकै आक्रामक हुने र कुनै भाग्न थालेको बताए । निकुञ्जभित्र शान्त वातावरण हुँदा वन्यजन्तुहरू स-साना बच्चाहरूसँग रमाइरहेका देख्न सकिन्छ । मृगका बथान, विश्वकै दुर्लभ एक सिङ्गे गैंडा, मयूरहरू आफ्नै संसारमा रमाइरहेको देख्दा मन रोमाञ्चित बन्छ ।

राप्ती नदीमा पाइने विश्वकै दुर्लभ घोडियाल गोही माछा ढुकेर बसिरहेको छ। निकुञ्जको सिमसार क्षेत्रमा पाइने चराहरूको वेग आफ्नै छ । चितवनमा बढ्दै गरेको गर्मीमा धापिएका चराहरू नदीमा पौडिएर पानी छर्किँर्दै उडिरहेको हेर्दा निकै रमाइलो लाग्छ।

चैत, वैशाख र जेठ महिना चराहरूको प्रजनन् समय पनि हो । शान्त वातावरण पाए उनीहरू गुँड लगाउने र प्रजनन् कार्यमा व्यस्त बन्छन् । चराहरूको बच्चा हुर्काउने समय पनि हो, यतिबेला । निरन्तर पानी परिरहेकाले जंगलमा डढेलो पनि छैन । गोही पनि अण्डा कोरल्न थालेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जले गैंडाको चरनका लागि पाँच सय हेक्टर जति घाँसे मैदान तयार गरेको छ । अझै एक सय हेक्टर मैदान बनाउने तयारी भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती बताउँछन् । घाँसे मैदानमा सिरुघाँस गैंडा नदेखिने गरी बढेको छ । निकुञ्जले ठाउँठाउँमा बाटोहरू बनाउने, कुकाठहरू हटाउने काम गरिरहेको छ । निकुञ्जभित्र पूर्वाधारका कामहरू भइरहेको बताउँछन्, निकुञ्जका प्रमुख संरक्षण अधिकृत रुपाखेती ।

घाँसे मैदानलाई निकुञ्जले प्राथमिकतामा राखेको छ । घाँस काट्ने मेशिन नै ल्याएर यसपटकबाट मैदान बनाउने काम गरिएको रुपाखेतीले जानकारी दिए । उनले पाँच सय हेक्टरमा घाँसे मैदान, १५० किलोमिटर जति निर्माण र सुधार गरिएको जानकारी दिए।

निकुञ्जभित्र कयौं जलाशय, पोखरी र तालतलैयाहरू सुकेपछि थपिएको चुनौतीको व्यवस्थापन गर्न पनि निकुञ्ज लागिपरेको प्रमुख संरक्षण अधिकृत रुपाखेतीको दाबी छ । ‘चालु आर्थिक वर्षमा मात्रै १० भन्दा बढी पोखरी बनायौं,’ रुपाखेतीले भने, ‘पुराना ३५ वटा पोखरीहरूको मर्मत सुधार गरिएको छ ।’

गैंडालगायतका वन्यजन्तुका लागि खाने र रमाउने पानी पोखरी अनिवार्य भएकाले निकुञ्जले लकडाउनका बीचमा पनि यसलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएको छ ।

लकडानका बेलामा सबैको ध्यान कोरोनाको संक्रमणबाट कसरी जोगाउने भन्नेतिर हुँदा निकुञ्जभित्र चोरी शिकारी  गर्ने अपराधीहरू प्रवेश गर्ने र जंगली जनावर मार्न सक्ने हुँदा सुरक्षा सतर्कता पनि बढाइएको छ ।

यो लकडाउनको अवधिमा अनधिकृत रुपमा निकुञ्ज प्रवेश गर्ने, जीव जनावरमाथि आक्रमण गर्ने झण्डै एक हजार व्यक्तिहरूलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ । नेपाली सेनाको बटुकदल गणले निकुञ्जको सुरक्षा गरिरहेको छ।

अहिले विश्वको मानव जाति कोरोना भाइरस संक्रमणको त्रासमा छ। विश्वका अधिकांश देशमा फैलिएको कोरोना भाइरसका कारणले मानिसहरू घरभित्र नै लकडाउन भनेर बस्नुपरेको छ । तर, अन्य जीव जनावरलाई भने मानवलाई जति संकट छैन । निकुञ्जमा जीव जनावर र पशुपन्छीको निष्फिक्री उल्लास देख्दा मानिसका लागि यो सुविधा कहिले आउला भन्ने अनुभूति हुन्छ ।

तस्वीरहरू : कोमलचन्द्र भगत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment