News Summary
Generated by OK AI. Editorially reviewed.- असोज महिनामा मात्रै देशका विभिन्न ठाउँमा ३ वटा प्रजननयोग्य जंगली भाले हात्ती मारिएका छन्, यो वर्ष समग्रमा ४ वटा हात्ती मरेका छन् ।
- चितवन राष्ट्रिय निकुञ्जको रोनाल्डो असोज ३ गते वरण्डाभार क्षेत्रमा तार चपाउँदा करेन्ट लागेर मरेको थियो ।
- संरक्षणकर्मीहरूले भाले हात्ती मर्ने क्रम बढे प्रजननमा संकट आउने र भविष्यमा हात्ती लोपको जोखिम बढ्ने चेतावनी दिएका छन् ।
३० असोज, चितवन । असोज महिनामा मात्रै प्रजनन्योग्य ३ वटा जंगली भाले हात्ती मारिएका छन् । देशका विभिन्न ठाँउमा ३ वटा भाले हात्ती असोज महिना मात्रै मारिए भने यो वर्ष समग्रमा ४ वटा भाले हात्ती मारिएका छन् ।
२०८३ असोज ३ गते चितवन राष्ट्रिय निकुञ्जको सबैभन्दा चर्चित हात्ती रोनाल्डो वरण्डाभार क्षेत्रमा पर्ने बीसहजारी नजिकै रहेको नेपाली सेनाको पोष्टमा लगेको तार चपाउँदा करेन्ट लागेर मर्यो।
देशको एक मात्रै हात्ती प्रजनन् केन्द्र सौराहामा केन्द्रित हुने यो हात्तीको मृत्युले हात्ती प्रजननको क्षेत्रमा समस्या आउन सक्ने देखिएको विज्ञहरू बताउँछन् ।
रोनाल्डो मरेको १५ दिन पछि अर्थात असोज १८ गते सर्लाहीको बागमती नगरपालिका–४ मा जंगली भाले हात्ती मृत अवस्थामा भेटियो ।
ब्रह्मबाबा सामुदायिक वन नजिकै परबलबारीमा भाले हात्ती मृत अवस्थामा फेला परेको हो । हात्तीको सुँढलगायत शरीरका केही भागमा चोटपटकसमेत लागेको अवस्थामा हात्ती मृत भेटिएको थियो ।
यो भाले हात्ती मरेको ९ दिन पछि उदयपुरको बेलका नगरपालिकामा ‘सानो दारे’ नामले चिनिने वयस्क जंगली भाले हात्ती मृत अवस्थामा फेला पर्यो । धानबारीमा हात्ती मृत भेटिएको थियो ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट एक किलोमिटर सीमावर्ती क्षेत्रमा सानो दारे मृत अवस्थामा फेला परेको थियो । यो हात्ती एक वर्षभन्दा बढी समयदेखि कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा बसोबास गर्दै आएको थियो ।
२०८३ साल कै भदौं ३१ गते झापाको मेचीनगर नगरपालिका ३ तेलपानीस्थित जंगलमा एक जंगली भाले हात्ती मृत्त अवस्थामा भेटिएको थियो ।
यसरी यो वर्ष मात्रै ४ वटा जंगली भाले हात्ती मानवीय लापर्वाहीका कारणले मारिएका छन् ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामका अनुसार गत वर्ष ९ वटा जंगली भाले हात्ती मारिएका थिए ।

यसरी हरेक वर्ष जंगली भाले हात्ती मारिदै जाने हो भने हात्तीको प्रजननमा ठूलो संकट आउने चेतावनी डा. रामले दिए । ‘इलिफेन्ट इकोलोजी’मा पीएचडी गरेका पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार राम भाले हात्तीहरू मारिँदै जाँदा भविष्यमा प्रजननमा संकट आउन सक्ने बताउँछन् ।
पछिल्लो १५ वर्षमा ५८ वटा हात्ती मानवीय कारणबाट मारिएको बताउँदै उनले भने, ‘हामीले सौराहामा प्रजनन केन्द्र त खोलेका छौं, निजी हात्तीलाई पनि भाले हात्तीले प्रजनन गराउँछन् । मानौँ, एक दिन यी जंगली भाले हात्ती नै भएनन् भने प्रजनन केन्द्रको के अर्थ रहन्छ ?’
डा. रामले भाले हात्तीहरू मारिने क्रम पछिल्लो समयमा बढ्दै गएकोले संरक्षणकर्मीहरू गम्भीर बन्नुपर्ने र भाले हात्ती जोगाउने अभियान थाल्नुपर्ने आवश्यकता रहेको बताउँछन् ।
जंगली भाले हात्ती भनेको ब्रिडका हिसाबले अति महत्त्वपूर्ण हुन्छ, एउटा भाले हात्तीले दजनौं पोथी हात्तीहरूसँग प्रजनन गर्छन् । ‘सन्तान बढाउन महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ, मानिसहरूको जस्तो एक महिला, एक पुरुष हात्तीको हकमा हुँदैन नी,’ डा. राम भन्छन् ‘जंगली भाले हात्ती रोकिएन भने नेपालमा प्रजननमा ठूलो संकट आउने देख्छु, असाध्यै चिन्ताको विषय भयो ।’
डेढ महिनाको अवधिमा नै ४ वटा भाले हात्ती मारिनु निकै गम्भीर र सम्वेदनशील विषय भएको डा. रामले बताए । अझै यतिका महिना बाँकी छन्, कानुन फितलो त छैन, तर संवेदनशीलता र सचेतना कतै भएको जस्तो देखिएन, डा. राम भन्छन् नागरिकमा पनि चेतना बढाउनुपर्छ, कानुनहरू पनि सुधार गर्नुपर्दछ ।
‘जंगली जनावरले खेती खाँदा १० हजार रुपैयाँ क्षतिपूर्ति दिने गरिन्छ, तर क्षति धेरै भएको हुन्छ, त्यहीँ १० हजार लिन १० हजार किसानको अरु खर्च हुन्छ’ डा. राम भन्छन्, ‘क्षतिको तत्कालै मूल्याङ्कन गरेर तुरुन्तै राहात दिने व्यवस्था गरे किसानले विद्युतीय तारबारको धराप थाप्ने थिएनन् । जंगली जनाबरले खेती खाँदा किसान दुःखी नभई खुसी हुने अवस्था ल्याउनुपर्छ ।’
उनले सम्बन्धित पालिकाहरूबाट नै किसानलाई उचित राहतको व्यवस्था गर्न लगाउन सकिने बताए ।
विद्युतीय धराप वा विषादी प्रयोग गरेर मारिने हात्तीमध्ये अधिकांश जंगली भाले हात्ती हुने संरक्षणकर्मीहरूको भनाइ छ । तराईका क्षेत्रमा मानवीय गतिविधि बढ्दै जाँदा हात्तीका जैविक मार्गसमेत प्रभावित हुँदै गएका छन् ।
संरक्षणकर्मी डा. बाबुराम लामिछानेका अनुसार झन्डै दुई सयको हाराहारीमा रहेका हात्तीमध्ये बर्सेनि ११–१२ वटा मारिँदै गएका छन् ।
यदि यस्तै अवस्था जारी रहे भविष्यमा हात्ती लोप हुने अवस्था आउने उनको चिन्ता छ ।
झापामा अर्को एक जंगली हात्ती अहिले गम्भीर घाइते अवस्थामा छ । सो हात्तीलाई बचाउनका लागि विभाग तथा निकुञ्जका तर्फबाट उपचारको व्यवस्था मिलाइएको छ ।
निकुञ्ज विभागका वरिष्ठ अनुसन्धान अधिकृत डा.गणेश पन्तले सो हात्तीलाई डार्ट गरेर उपचार गर्न चितवन राष्ट्रिय निकुञ्जदेखिका प्राविधिक तथा चिकित्सकहरू गएको जानकारी दिए ।
हात्ती आफ्नो पुर्खा हिंडेको बाटोमा पछ्याउने हिंड्ने गर्दछन् । ती जैविक मार्गहरूमा अवरोध हुने, मानवीय गतिविधि बढ्दा हात्तीले त्यसलाई नरुचाउने हुन्छ । सोही कारण हात्ती र मानिसहरूको बीचमा द्वन्द्व हुने गरेको विज्ञहरू बताउँछन् ।
लामो दूरीमा ‘जिन ट्रान्सफर’ गर्न हिँड्ने यस्ता भाले हात्ती नै सबैभन्दा बढी जोखिममा पर्ने गरेका छन् । रुची भएको बढी खानेकुरा खोजेर खानुपर्ने भएको हुँदा पसाउन लागेको धानखेतमा हात्ती बढी आर्कषित हुने विज्ञहरूको भनाइ छ । तर, धान खान जाँदा नै हात्ती मारिने गरेका छन् । संरक्षणकर्मी डा. लामिछानेले वर्सेनि यसरी नै हात्ती मारिँदै जाने हो भने नेपालमा हात्ती हजारको नोटमा मात्रै सीमित हुने चेतावनी दिन्छन् ।
प्रतिक्रिया 4