३ कात्तिक, चितवन । चाडपर्वको समयमा हुन सक्ने वन्यजन्तुको चोरीसिकार नियन्त्रण गर्न चितवन राष्ट्रिय निकुञ्जले सूक्ष्म निगरानी बढाएको छ। निकुञ्जका संवेदनशील क्षेत्रमा ३५ वटा स्पाई क्यामेरा जडान गर्नुका साथै नियमित तथा आकस्मिक गस्तीलाई तीव्र पारिएको छ।
निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार चोरीसिकारको जोखिम रहेका र अनधिकृत व्यक्ति वा समूह प्रवेश गर्न सक्ने स्थान पहिचान गरी स्पाई क्यामेरा जडान गरिएको हो। जोखिमयुक्त क्षेत्रमा क्यामेरा राख्नुका साथै क्याम्पिङ र एम्बुसिङलगायतका गतिविधि पनि सञ्चालन गरिएको उनले बताए।
चाडपर्वकै समयमा केही वर्षअघि निकुञ्जको पूर्वी क्षेत्रमा तस्करहरूले खाडल खनेर दुईवटा वन्यजन्तु मारेको घटनालाई स्मरण गर्दै तिवारीले यस्ता आपराधिक गतिविधि हुन नदिन निकुञ्ज सचेत रहेको बताए।
निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रमा नेपाली सेना र निकुञ्जका कर्मचारीले नियमित तथा आकस्मिक गस्ती गरिरहेका छन्। दिवा र रात्रिकालीन गस्तीका साथै पैदल, साइकल, हात्ती, डुङ्गा र जिपमार्फत निगरानी भइरहेको निकुञ्जले जनाएको छ।
त्यसैगरी, शंकास्पद व्यक्तिहरूको गतिविधिमाथि निगरानी राख्ने, विगतमा वन्यजन्तुसम्बन्धी अपराधमा संलग्न व्यक्ति तथा कैद सजाय भुक्तान गरेर समाजमा फर्किएकाहरूका गतिविधिबारे सूचना सङ्कलन गर्ने काम पनि भइरहेको छ।
वन्यजन्तु संरक्षणका लागि नवीनतम प्रविधिको प्रयोग र तत्काल प्रतिकार्य टोली परिचालनमा समेत जोड दिइएको तिवारीले बताए। समुदायस्तरमा समन्वय, सहकार्य र सूचना आदानप्रदानलाई प्राथमिकता दिइएको छ भने संरक्षणमा संलग्न युवाहरूसँगको सहकार्यलाई पनि अघि बढाइएको छ।
गत असोज २८ गते बसेको चितवन जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको बैठकपछि सम्बन्धित निकायबीच आपसी समन्वयमा काम भइरहेको उनले जानकारी दिए। उनका अनुसार निकुञ्जका सबै सेक्टर तथा पोस्टलाई विशेष सक्रियतासहित परिचालन गरिएको छ।
प्रतिक्रिया 4