News Summary
Generated by OK AI. Editorially reviewed.- फ्रान्समा विद्यार्थी र नागरिक आन्दोलन हिंस्रक बनेपछि प्रधानमन्त्री सेबेस्टियन लेकोर्नूले सोमबार उच्चस्तरीय संकटकालीन मन्त्रिपरिषद् बैठक बोलाए।
- गत शनिबारको प्रदर्शनपछि करिब पाँच लाख सहभागी भएको आन्दोलनबाट देशभरि करिब १ हजार ५ सय पसल, व्यवसाय र ऐतिहासिक भवनमा तोडफोड तथा लुटपाट भएको छ।
- झडपमा करिब १ हजार सुरक्षाकर्मी घाइते भएका छन्, जसमध्ये ७ जना गम्भीर छन्।
३ कात्तिक, काठमाडौं । फ्रान्समा पछिल्लो सातादेखि जारी विद्यार्थी तथा नागरिक आन्दोलनले भयानक हिंस्रक रूप लिएपछि देशको राजनीतिक र सुरक्षा संयन्त्रमा हलचल मच्चिएको छ।
यसैबिच, गत साताको अन्त्यमा देशैभरि मच्चिएको व्यापक हिंसा, तोडफोड र लुटपाटको स्थितिबारे समीक्षा गर्न फ्रान्सका प्रधानमन्त्री सेबेस्टियन लेकोर्नूले सोमबार एक उच्चस्तरीय संकटकालीन मन्त्रिपरिषद् बैठक आह्वान गरे ।
आधुनिक फ्रान्सेली इतिहासमा सार्वजनिक अव्यवस्था र अराजकताको यो सबभन्दा खराब दृश्य मानिएको छ, जसले फ्रान्सलाई गहिरो संकटमा धकेलेको छ।
गृहमन्त्रीको राजीनामा प्रयास र आंशिक कर्फ्यूको घोषणा
सोमबार बिहान राष्ट्रपति इमानुएल म्याक्रोनको मुख्यालय (एलिसी प्यालेस) ले गृह मन्त्री लोरेन्ट नुनेज ले आफ्नो पदबाट राजीनामा दिने प्रयास गरेको घोषणा गरेको थियो। तर, राष्ट्रपति म्याक्रोनले उनको राजीनामा अस्वीकृत गर्दै फ्रान्सका सडकहरूमा सुरक्षा पुनर्स्थापित गर्न र शनिवार हिंसा मच्चाउने दोषीहरूलाई कानुनी कठघरामा उभ्याउन कडा निर्देशन दिएका छन्।
बढ्दो अराजकता नियन्त्रण गर्न प्रधानमन्त्री लेकोर्नू र सुरक्षा अधिकारीहरूले कडा कदम चाल्दै प्रभावित सहरहरूमा आंशिक तथा स्थानविशेष कर्फ्यू लगाउने घोषणा गरेका छन्। सरकारले गुप्तचर संयन्त्रमा देखिएका कमजोरीहरू सुधार गर्न र हिंसात्मक घटना रोक्न नयाँ पुलिसिङ रणनीतिहरू तुरुन्त लागू गर्न निर्देशन दिएको छ।
शान्तिपूर्ण प्रदर्शन कसरी हिंस्रक बन्यो ?
गत शनिबार फ्रान्सभरि करिब पाँच लाख मानिसहरूले बढ्दो महँगी, शिक्षा प्रणालीको दयनीय अवस्था र सार्वजनिक सेवाहरूमा आएको गिरावटीविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा भाग लिएका थिए। तर, प्रदर्शनका क्रममा कालो कपडा लगाएका र नकाबपोश उपद्रवी समूहहरू प्रवेश गरेपछि स्थिति पूर्ण रूपमा नियन्त्रण बाहिर गएको थियो ।
एक अनुमान अनुसार देशैभरि करिब एक हजार ५ सय पसल, व्यवसाय र ऐतिहासिक भवनहरूमा तोडफोड तथा लुटपाट मच्चाइएको छ। प्यारिसलगायत अन्य प्रमुख सहरहरूमा लुगा पसल, एप्पल स्टोर र लक्जरी बुटिकहरू लुटिएका छन् भने केही स्थानमा ऐतिहासिक भवन तथा पर्यटकीय कार्यालयहरूमा आगजनी गरिएको छ।

दंगा नियन्त्रण गर्ने सुरक्षाकर्मीहरूले भिड तितरबितर पार्न अश्रुग्यास र पानीको फोहरा प्रहार गरेका थिए भने कतिपय ठाउँमा लाठीचार्ज समेत भएको थियो।
गृह मन्त्रालयका अनुसार झडपका क्रममा करिब एक हजार सुरक्षाकर्मीहरू घाइते भएका छन् । जसमध्ये ७ जना गम्भीर अवस्थामा छन्।
विपक्षी नेताहरूले गृह मन्त्री नुनेज़ र सरकारमाथि प्रदर्शनअघि उचित सुरक्षा तयारी नगरेको र गुप्तचर जानकारी सङ्कलनमा असक्षम रहेको गम्भीर आरोप लगाएका छन्।
राजनीतिक अस्थिरता र आगामी खतराहरू
राष्ट्रपति इमैनुएल म्याक्रोनको कार्यकाल समाप्त हुन केही महिना मात्र बाँकी रहेको र आगामी छ महिनापछि नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुन गइरहेको समयमा यो संकट उत्पन्न भएको छ।
एकातर्फ प्रवासी विरोधी दक्षिणपन्थी नेत्री मरीन ले पेन र अर्कोतर्फ वामपन्थी नेता जीन-ल्यूक मेलेंचोन सरकारको कमजोरीको फाइदा उठाउँदै राजनीतिक रूपमा फाइदा लिन सक्रिय भएका छन्। फ्रान्सेली संसद् पनि तीनवटा प्रतिस्पर्धी राजनीतिक गुटहरूमा गहिरिएर विभाजित हुँदा पंगु बनेको छ।

यसैबिच, विद्यालयहरूमा हाफ–टर्म हलिडे सुरु हुन लागेका कारण आगामी केही हप्ताका लागि सरकारले केही राहतको सास फेर्ने अपेक्षा गरेको छ। तर, ट्रेड युनियनहरू र २०१८ को चर्चित ‘येलो ज्याकेट्स’ आन्दोलनले आगामी नोभेम्बर ५ मा फेरि देशव्यापी ठूला प्रदर्शनहरूको घोषणा गरेका कारण फ्रान्स अहिले पनि त्रस्त बस्न बाध्य भएको छ।
(बीबीसीबाट)
प्रतिक्रिया 4