Comments Add Comment

कथा : विवश जिन्दगीहरू

उखुबारीमा मुनियाको लास फेला परेको छ । यो हल्लाले सारा गाउँ पिट्यो ।

लास हेर्नेको भिड लाग्यो । प्रहरी भिडलाईनियन्त्रणमा लिँदै परतिर धकेल्दै थिए । भिडका आँखा घरि मुनियाको लासतिर पुग्थे अनि नजिकबाट हेर्ने इच्छाले अगाडि तानिन्थे । अगाडि सर्न खोजेको भिडलाई प्रहरी फेरि पछाडि धकेल्थे ।

लासदेखि दुईहात पर दुई शरीर भने चर्काे स्वरमा कोकोहोलो गर्दै थिए । उनीहरूको रूवाइसँगै आक्रोश पनि मिश्रित थियो । ती मुनियाका बाबुआमा थिए । उनीहरूअर्धचेत अवस्थामा आफ्ना बिलौना पोखिरहेका थिए ।

‘हमर बिटियाके मार देलक हो’, आमाचाहिँ चिच्याउँदै थिई । छाती पिटीपिटी रून थाली । उसको क्रन्दनलाई बेवास्ता गर्दै पुलिसहरू लासलाई ओर्काइफर्काइ गर्दै थिए । एउटा प्रहरी भने क्यामेराले लेन्स मिलाइमिलाइ फोटो खिचिरहेको थियो ।

‘अनुसन्धानमा कुनै किसिमको कमी–कमजोरी नहोस्’–सब इन्सपेक्टर अह्राउँदै थियो । उसलाई अघिदेखिको चर्काे रूवाईले भने झर्काे लागिरहेको थियो ।

परैबाट नियालिरहेका रामाधिनले सब इन्सपेक्टरलाई भन्यो, ‘सर, अपराधी नउम्किइयोस् । हाम्रो तर्फबाट अनुसन्धान र मुचुल्कामा पूर्णरूपमा सहयोग हुनेछ ।’ सब इन्सपेक्टर मुसुक्क हाँस्यो । रामाधिन वडाध्यक्ष थियो । त्यसैले उसले पूर्ण रूपमा सहयोग गर्ने आश्वासन दिएको थियो ।

‘मुनियालाई त बलात्कार गरेर मारेको हो रे नि !’

‘यो बाटो भएर मुनिया कहाँ गइरहेकी थिई त ?’ कसैले प्रश्न गर्न पनि भ्यायो ।

‘समातेर ल्याएको पनि त हुन सक्छ नि ?’ अर्काेले थप्यो । उपस्थित सबैले आ–आफ्नो तरिकाले अड्कलबाजी गरे ।

०००

मुनिया रामललनवा र लछुकी एकमात्र सन्तान । रामललनवा र लछुको विवाह भएको सात वर्षसम्म पनि सन्तान भएन । भगवानले नदिएको भन्ने उनीहरूको भनाइ थियो । सात वर्षपछि मुनियाको आगमनले उनीहरूको घर र मनमा उज्यालो ल्यायो । गाउँलेहरूले लछुलाई बाझ आइमाई भन्दै आएको कलङ्कबाट अब ऊ मुक्त भएकी थिई । त्यसैले पनि लछुको खुसीको सिमा थिएन ।

‘हम सब मुनियाके खुब पढाएम । यी हे हमरा के बेटा है । यी हे बेटी ।’ रामललनवा आँगनमा भर्खरै हिँड्न थालेकी मुनियालाई देखेर भन्थ्यो । उसको कुरा सुनेर लछु रामललनवालाई हेर्थी । छोरीप्रतिको माया देखेर ऊ मख्ख पर्थी अनि सोच्थी, ‘जे भए पनि भगवानले हामीलाई सन्तान दिए ।’

त्यसपछि भने उनीहरूको अरू सन्तान भएन ।

मुनिया दुवैकी प्यारी भई । लालनपालनमा कुनै कमी गरेनन् । आफूले सकेको स्याहार गरेर हुर्काए । गाउँको स्कुलमा भर्ना गरिदिए । मुनिया सानैदेखि मन लगाएर पढ्थी । उसको पढ्ने रूचि देखेर शिक्षकहरू खुसी थिए । गाउँमा यसरी मन लगाएर पढ्ने कमै थिए ।

‘मुनिया यसपालिको परीक्षामा प्रथम भएकी छ ।’ अफिसकोठामा कक्षासरले भने । महेश सरको कुरा सुनेर अन्य सरहरूले ट्वाँ परेको अवस्थामा हेर्न थाले । एकछिन कोही बोलेनन् । एककिसिमको सन्नाटा छाएको थियो । यो सन्नाटालाई चिर्दै हेडसर बोेले, ‘मुनियाको कक्षामा गाउँको पूर्वअध्यक्षको छोरा पनि पढ्छ होइन ? ऊ सधै प्रथम हुन्थ्यो त !’

‘त्यो त हो । तर, सबै विषयमा मुनियाले नै टपेकी छे’, महेश सरले थपे ।

‘जे होस् । त्यो अध्यक्षको छोरो नै पहिलो बनाउनुस्’– हेडसरले आदेश दिए ।

‘दश पर्सेन्टले फरक छ सर । मिलाउँदा थाहा पाउलान्’– महेश सरले पलाकपुलुक हेर्दै बोले ।

‘परेको म व्यहोरूला’, हेडसरले आफूले जिम्मेवारी लिने कुरा बताए ।

मुनियालेपहिलो स्थान कहिल्यै पाइन । तर उसको पढाइ राम्रो छ भन्ने कुरा सबैलाई थाहा थियो ।ऊ स्कुल र गाउँमा सबैको नजरमा मिजासिली र विश्वासिली थिई । उसमाथि कुनै किसिमको खोट लगाउने ठाउँ थिएन । नौ कक्षामा पुगेकी थिई । उसमा आएको परिवर्तनले ऊ धपक्कै बलेकी देखिन्थी । किशोरावस्थाको कलकलाउँदो अवस्थाबाट गुज्रिँदै थिई ।

देश भर्खरै संघीयताको बाटोमा अघि बढ्न थालेको थियो । स्थानीय चुनाव सकिएर जनप्रतिनिधिहरू जनताले चुनेर पठाइसकेका थिए । गाउँगाउँमा सिंहदरबार पुगेको हल्लाचाहिँ फैलिएको थियो । जनता समृद्धिको सपना बोकेर रमाउन थालिसकेका थिए ।

संघ र प्रदेशको चुनावको माहोल सुरु हुन लागेको थियो । चुनावी माहोलमा गाउँमा मान्छेहरूको आवतजावत बढिरहेको थियो । चुनावी प्रचा बाँड्नेहरू दिनहुँ आएर केके कागजका टुक्रा बाँडेर जान्थे । बबनसिंह गाउँको माहोल देखेर भन्थ्यो,‘गाउँमा गर्मी बढेको छ ।’

बबनसिंहको कुरा सुनेर गाउँलेहरूट्वाल्ल परेर हेर्थे । हिजोआज उसको रवैया फरक थियो । जुनकुरा गाउँलेहरू बुझ्दथे । स्थानीय चुनावमा यहाँ दुईहप्ता बसेर सबैलाई भोट मागेको उनीहरूले सम्झिए । ‘यो चुनावमा पल्लो गाउँको नेता मेयरमा उठेको छ । उनलाई भोट हाल्नु । एक भोटको पाँच हजार दिन्छु ।’ बबनसिंहले सबैसँग यही भनेको थियो । गाउँमा खसी ढालेर ठूलै भोज पनि गराएको थियो । भोजमा गाउँका बुढापाकादेखि केटाकेटी सबैले टन्न खाएका थिए । बबनसिंहले नेतासँग पैसा लिएर भोज खुवाएको थियो ।

‘यसपालि भोज खुवाउदैनौ कि के ?’ रामभजनले सोध्यो । प्रतिउत्तरमा बबनले भन्यो, ‘भोज त अब दिनहुँ हुन्छ । सबको घरघरमा हुन्छ । यो संघ र प्रदेशको जो चुनाव हो किन फिक्री लिन्छौ ?’

बबनको कुराले सबैको मनमा खुसीको घण्टी बज्यो । उखरमाउलो गर्मीमा पानी पर्ने आशा पलाएझैं भयो ।उनीहरूकोे मनमादैनिक पाइने ‘दारूपानी’को कल्पनाले डेरा जमायो । सबैले बबनसिंहलाई यसको चाँजोपाँजो मिलाउन याचनाको नजरले हेर्न थालेजस्तो देखिन्थ्यो ।

गाउँमा बबनसिंहको आउजाउ बाक्लिन थाल्यो । ऊसँग गाउँका लोग्नेमान्छेहरू खुसी थिए । साँझ परेपछि लोग्नेमान्छेहरू जाँडमा धुत हुन थाले । पिउँदै चुनावी माहोलको कुरा हुन्थ्यो । कोही पहिलेको चुनावभन्दा अहिलेको चुनाव फरक हुने कुरा फलाक्थे । कुरा गर्नेहरूमा सबैभन्दा ठूलो कुरा बबनसिंहको हुन्थ्यो । उसले भनेको कुरा वरिपरि बसेर सुन्नेहरूले सही थाप्नुपथ्र्याे ।

‘मुनिया अब जवान हुन लागी । त्यसकोलागि पनि केटा खोज्नुपर्छ’–बबनसिंहले एकदिन रामललनवालाई भन्यो । प्रत्युतरमा ऊ केही बोलेन । बबनसिंहले चाहिँ उसलाई सम्झाइरह्यो । एकमात्र छोरी भर्खर नौ कक्षामा पढ्दै थिई । त्यसलाई कसरी बिहा गरेर पठाउने ? मुनियाकी आमा मान्दिन । उसले यो कुरा बुझेको छ । त्यसैले रामललनवा केही नबोली चुपचाप बसिरह्यो ।

०००

मुनिया स्कुल सधैं जान्थी । कक्षामा ऊजति जान्ने कोही छैन भन्ने सबैलाई थाहा थियो । तर, परीक्षामा जहिल्यै ऊ दोस्रो हुन्थी । ऊसँग पढाइको कुरा सिक्ने धेरै हुन्थे । तर ऊ आफूलाई नआएको कुरा रमेशसँग सिकाइमाग्थ्यो । रमेश हिसाबमा राम्रो विद्यार्थी थियो । उसले कक्षामा सरले दिएको जुनसुकै हिसाबको हल गथ्र्याे । त्यसैले मुनिया ऊसँग सिकाइमाग्थ्यी । मुनियालाई रमेश सहयोगी भएकोले पनि राम्रो लाग्थ्यो ।

एक हप्तादेखि रमेश स्कुल आएको थिएन । रमेशको गाउँबाट स्कुल पढ्न आउने कोही थिएन । नत्र उसले उनीहरूलाई सोध्ने थियो । सरले सिकाउनु भएको हिसाब मुनियाले राम्रोसँग बुझेको थिएन । रमेश भएदेखि सिकाइदिन्थ्यो भन्ने लागेको थियो । तर ऊ नआएर न सिक्नै पाएको छ न त बनाउन । सरले पनि अब के भन्ने होला भनेर मुनिया भित्रभित्रै चिन्तित हुन थालेकी थिई ।

त्यसदिन बिदाको दिन थियो । मुनियालाई सरले दिएको हिसाबले सताइरहेको थियो । रमेश बिरामी भएर स्कुल आउन नसकेको कुरा हिजोमात्रै उसले सुनेकी थिई । त्यसैले ऊ रमेशको घर जान लागी ।

घरबाट हिँड्दा मनमा अनेकथरी कुराहरू खेलिरहेका थिए । यसरी जानु त नहुने हो तर जसरी पनि पहिलो हुने बिचारले उसको मनमा डेरा जमाएको थियो । त्यसैले रमेशलाई भेट्न जानु जरूरी थियो । बिरामी भएकोबेलामा गएर भेट्नु नराम्रो पनि त होइन । रमेशको घरसम्म गएर भेटेको कुराले अरूले केही पो भन्ने हो कि भन्ने पीरले पनि उसलाई पछ्यायो । ‘जेसुकै होस् । पढाइको विषयमा भेट्न जाँदा कसैले केही भने भनोस् ।’ उसले मनमनै आफूलाई भनी ।

गाउँमा चुनावको रन्को थियो । भोट माग्न कार्यकर्ताहरूगाउँ पसेका थिए । चुनावको माहोल दिनहुँ परिवर्तन भइरहेको थियो । चुनाव त सधैं आइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । यसरी नेताहरूले हात जोडेर भोट मागेको हेर्दा पनि रमाइलो लाग्ने । त्यहीमाथि कार्यकर्ताले साँझमा दिने भोजको मज्जा नै बेग्लै हुने ।

मुनिया घरबाट बाहिरिँदा गाउँका लोग्नेमान्छेहरू आँगनमा खटियामा घुरिरहेकै थिए । आइमाईहरू भने घरमा काम गरिरहेका थिए । कोही बिहानको काम सकेर पकाउँदै थिए । कोही जुठाभाडा मस्काउँदै थिए । उनीहरूको दैनिकी नै यस्तै थियो ।

‘जाँड खाएर बिहानसम्म सुतिरहेका छन् । रातभरि खाएर हल्ला मात्र गरिरहन्छन् ।’ मनमनै फतफताई । यसरी चुनाव आएको उसलाई फिटिक्कै मन परेको थिएन । अघिल्लो चुनावमा उसको बाबु दिनहुँ रक्सी खाएर घर पुग्थ्यो । उसकी आमालाई त्यसै कराउँथ्यो । कहिले त बाबुआमाको झगडा पनि हुन्थ्यो । सित्तैमा पाएकोेले दिनहुँ खाएको हो भन्ने सबैले बुझेका थिए । यसरी अरूबेला मातेर आउँदैनथ्यो । त्यसैले मुनियालाई चुनाव त नआइदिए हुन्थ्यो लाग्थ्यो ।

चिसो हुस्सु लागिरहेको थियो । अचानक मौसम परिवर्तन भइदिएको थियो । मुनिया फटाफट हिँड्न चाहन्थी । तर उसले आफ्नो दायाँबायाँ हेर्न चाहिँ छाडिन । एककिसिमको अप्ठ्यारो चाहिँ लागिरहेको थियो । तैपनि ऊ जान चाहन्थी । रमेशको लागि उसले आफूले दुई हप्ता अघि ज्वरो आउँदा खाएको सिटामोल पनि बोकेकी थिई । बिचरा नराम्रोसँग पो बिरामी भएको हो कि भन्ने उसलाई लागिरहेको थियो ।

गाउँदेखि पर पुगेपछि उसलाई कसैले पछ्याएजस्तो लाग्यो । ऊ टक्क अडिई । पछाडि फर्केर हेरी । कोही थिएन । वरपर खेतमात्र देखिन्थ्यो । कुनै बाझै थियो । कुनैमा उखु लगाएको । उसलाई भित्रैदेखि डर लागेर आयो । आफूभित्र आँट बटुलेर अघि बढ्न थाली ।

मुनिया उखुबारीको आलीहुँदै हिँड्न थाली । सुनसान बाटोमा हिँड्दा डर लागिरहेको थियो । रमेशको गाउँ पुग्न उसलेछोटो बाटो रोजेकी थिई । आलीबाट हिँड्दै गर्दा अचानक पछाडिबाट कसैले समायो । ऊ फुत्किन खोजी । अहँ उसले सकेन ।मुख थुनेर मुनियालाई उखुबारीमा घिसार्दै लग्यो । उसलाई जबरजस्ती गर्दा उसले आफूलाई बचाउन लाख कोशिस गरी तर उसको केही लागने ।

पीडाले छटपटाउन थालेकी मुनियाले आफूलाई बलात्कार गर्नेलाई देखी । उसले त्यसलाई चिनीहाली । ऊ दिनहुँ गाउँ आइरहने उही बबनसिंह थियो । बबनसिंहले पनि उसले आफूलाई चिनेको थाहा पायो । मुनिया उसैलाई आँखाले भ्याएसम्म हेर्दै थिई । आफ्नो पीडाभन्दा त्यस बलात्कारीप्रति आक्रोश पैदा भइरहेको थियो । बबनसिंहलाई अचानक के भयो कुन्नी । मुनियामाथि झम्टिन पुग्यो । उसको घाटी थिच्न थाल्यो । भर्खरै पीडा भोगेकी मुनियाले प्रतिकार गर्न सकिन । बबनसिंहले आफूले भ्याएसम्मको बल लगायो । छटपटाउदै मुनियाको इहलीला समाप्त भयो ।

०००

‘मुचुल्का सकियो । अहिले चुनावको माहोल छ । अनुसन्धान हुँदैगर्छ । लासको पोष्टमार्टम गर्न लानुपर्ने हुन्छ । भिड हटाओ’–सब इन्सपेक्टरले अह्रायो । वडाध्यक्षले उसको कुरा सुनेर सहमतीमा टाउको हल्लायो ।

मुनियाको लास उठाउन खोज्दा उसकी आमा झन् कोकोहोलो गर्न थाली । रामललनवा आफ्नी बुढीलाई सम्हाल्न खोज्दै थियो । उनीहरूको रूवाईले पुलिसहरू झर्काे मानिरहेका थिए ।

भिडमा भर्खरै रामलखन मिसिन आइपुगेको थियो । ऊ आइपुग्दा असिनपसिन भएर आइपुगेको थियो ।नजाँनिदो किसिमले आत्तिरहेको थियो । रामलखन बिहान यही बाटो भएर आउँदा उसले बबनसिंहलाई भागिरहेको देखेको थियो । उसले मुनियाको लास पनि देखेको थियो । आफूलाई गाउँलेहरूले यहाँ देख्यो भने आफू फसिने डरले ऊ यहाँबाट कुलेलाम ठोकेको थियो । यत्रो गाउँलेहरू जम्मा भएर लास हेर्न पुगेको ठाउँ आफू नपुग्दा फेरि शंकाको घेरामा परिने डरले ऊ फेरि यहाँ आएको थियो । उसको मुटु भने जोडजोडले धड्किरहेको थियो ।

अस्ति साँझ बबनसिंहले रामललनवालाई मुनियाको बिहेको कुरा गर्दा रामलखन सँगै थियो । मुनियाको बाबुले नमानेपछि बबनसिंह मख्ख परेको उसले चाल पाएको थियो । दिनहुँ बबनसिंह गाउँ आउँदा उसको नजर जहिल्यै मुनियामाथि परेको हुन्थ्यो । अनायासै कुनैबेला रामलखनको नजर बबनसिंहमा पुग्थ्यो । त्यतिबेला बबनसिंह मुनियालाई घुरिरहेको हुन्थ्यो । ऊ गाउँ आउजाउ गर्नुको कारण कसैले चालै पाउन सकेन ।

बबनससिंह पल्लो गाउँबाट दिनहुँजसो आउथ्यो । जुन मुनियासँग पढ्ने रमेशको बाबु थियो । जसलाई यतिबेला सम्झिएर रामलखनले दाह्रा किट्यो । ऊ त्यसलाई सम्ँिझदै आक्रोशमा बोल्न थाल्यो । उसले भिडलाई चिर्दै आफूले देखेको कुरा बताउन थाल्यो ।

बबनसिंहको नाम सुनेर भिड एकदम शान्त भएझैं भयो । सबैका आँखा बिस्फारित भए । कान झनन्न बजेझैं भयो । भिडबाट एउटा बोल्यो– ‘चुनाव भाँड्ने खेल ।’

‘यसरी मनलाग्दी आरोप लाउन पाइँदैन’, भिडमा कोही कराउँदै थियो ।

तर, भिडको कुरा सुनिरहेकी मुनियाकी आमालासलाई अंगाल्दै झन् चिच्याउन थालेको कसैले वास्तै गरेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment