Comments Add Comment

दैलेखका क्वारेन्टिनमा सामाजिक दुरी एकादेशको कथा !

तस्वीर : Bijaya Sharma Rupakheti

१९ जेठ, काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–३ कर्मस्थित देवती आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेकाहरूले आइतबार साँझ प्रदर्शन गरे ।

यहाँ भारतबाट फर्किएका १०० भन्दा बढीलाई राखिएको थियो । एउटा कोठामा २/३ जना मात्र राख्नुपर्ने, अरू सुविधा हुनुपर्ने भन्दै साँझ ७ बजेतिर क्वारेन्टिन स्थलबाट निस्किएका उनीहरूले डेढ-दुई किलोमिटरसम्म नाराबाजी गरे ।

प्रमुख प्रशासकीय अधिकृत हिरासिंह थापाका अनुसार गाउँपालिकाको २१ वटा क्वारेन्टिनमा १६ सय जनाभन्दा बढी छन् । उनीहरूलाई खाने र बस्ने व्यवस्था मिलाउनै मुस्किल छ। विद्यालय भवनले नपुगेर कतिपयलाई व्यक्तिको घरमा राखिएको छ। थापा भन्छन्, ‘एउटा कोठामा १५/१६ जना राख्नु परेको छ । यसो गर्दा पनि थप आउनेहरूलाई क्वारेन्टिन गर्न नसकिने अवस्था भइसक्यो । ’

थापाका अनुसार त्यो क्वारेन्टिनमा भएका सबैको शनिबार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरटीडी) गरिएको थियो । केहीको पोजेटिभ आएको थियो भने अरूको नेगेटिभ । तथापि गाउँपालिकाले ७ दिन क्वारेन्टिनमा राखेर पीसीआर टेस्ट गर्ने र नेगेटिभ आएकालाई मात्र घर पठाउने बताएको थियो ।

तर सोमबार बिहान भएको छलफलमा आरडीटी पोजेटिभ आएकाहरूले घर जान पाउनुपर्ने माग राखेपछि ६५ जनालाई पठाइएको छ । ‘क्वारेन्टिनमा पनि राम्रो व्यवस्था छैन । एउटा कोठामा १५/१६ जना बस्नु परेको छ । एउटा शौचालय सय डेढ सयले प्रयोग गर्नुपरेको छ । यसले अरू रोग पनि सर्ने अवस्था आयो’ थापाले भने,‘मन बाँधेर बस्ने हो भने यहाँभन्दा घरमै सुरक्षित हुने भयो ।’

भैरवी मात्र होइन, दैलेखका अधिकांश स्थानीय तहको क्वारेन्टिनस्थल भरिभराउ छन् । त्यहाँ सामाजिक दुरीलगायतका स्वास्थ्य मापदण्ड पूरा गर्न सकिने अवस्था छैन ।

नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्का भन्छन्, ‘भएका सबै विद्यालय भवन क्वारेन्टिन बनाइसक्यौं । अब आउनेहरूलाई क्वारेन्टिन गर्न सक्ने अवस्था छैन ।’

नगरपालिकाले २१ वटा क्वारेन्टिनमा १४ सय २९ जना छन् । क्वारेन्टिन स्थलहरूमा क्षमताभन्दा बढी मानिसलाई राखिएको छ । १०५ जनाका लागि बनाइएको नारायण क्याम्पसको क्वारेन्टिनमा २१८ जनालाई राख्नु परेको मेयर खड्काले स्वीकार गरे । भन्छन्, ‘क्वारेन्टिनमा सामाजिक दुरी त परको कुरा, पानी र हावाहुरीबाट बचाउन छत समेत दिन नसक्ने अवस्था आइसक्यो ।’

११-१२ गते ठूलो संख्यामा मानिसहरु आएपछि व्यवस्थापन गर्न नसकिने अवस्था आएको उनले बताए । पछिल्लो दुई दिनमा बाँकेको जमुनाह नाकामा कडाई गरेसँगै ठूलो संख्यामा मानिसहरु आएका छैनन् । तर बनबासा नाकाबाट दैनिक ४०/५० जना आउने गरेका छन् । उनीहरुलाई अब क्वारेन्टिनमा राख्न सक्ने अवस्था नरहेको नारायण नगरपालिकाका मेयर खड्काले बताए ।

दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारी पनि क्वारेन्टिन स्थलहरुमा सामाजिक दुरीलगायतका मापदण्ड पूरा गर्न सकिने अवस्था नभएको बताउँछन् । ‘भारतबाट आएकाहरूलाई स्कुलमा लगेर राखेका छौं । दुई छाक भात खान दिएका छौं’ मेयर भण्डारीले अनलाइनखबरसँग भने ‘सामाजिक दुरी वा स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्डहरु त एकादेशको कथा भइसक्यो ।’

उनकाअनुसार अहिले नगपारलिकाले बनाएको ३४ वटा क्वारेन्टिनमा करिज २५०० मानिस छन् । भारतबाट फर्किएकाहरु हरेक दिन ५/७ वटा गाडीमा आइपुग्छन् । र, क्वारेन्टिन गर्नुपर्नेहरुको संख्या ५/६ हजार पुग्ने अनुमान गरिएको छ ।

नगरपालिकामा ८ जनामा संक्रमण देखिएको छ, उनीहरूमध्ये दुई वर्षकी बालिकाको मृत्यु भएको छ ।

क्वारेन्टिनमा बसेकाहरुको परीक्षण चुनौतीपूर्ण बनेको मेयर भण्डारीले सुनाए । नगरपालिकाले २ हजार थान भाइरल ट्रान्सपोर्ट मेडियम (भीटीएम) किनेको भए पनि परीक्षणको रिपोर्ट आउन ढिला भएको छ । ‘१५ गते २०२ जनाको नमुना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र १७ गते ११६ जनाको सुर्खेतमा पठाएका छौं । तर अहिलेसम्म रिपोर्ट आएको छैन’ उनले भने, ‘परीक्षण गरेर तिमी स्वस्थ्य छौं वा छैन भन्न पाए हुन्थ्यो । नत्र नारा जुलुस हुन बेर छैन ।’

मेयर भण्डारीका अनुसार नगरपालिकाले ३० वेडको आइसोलेसन बेड बनाएको छ । तर परीक्षणको दर बढ्दै जाँदा यो अपर्याप्त हुने देखिएको छ ।

यो पनि पढ्नुहोस १७ कोरोना संक्रमित दुई दिनदेखि क्वारेन्टिनमै छन्, थप पोजेटिभ केस भेटियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment