Comments Add Comment
प्रिय पात्र :

सम्झौताहीन बाँच्ने द्रौपदीको चरित्र मनपर्छ : सीमा आभास

मलाई एक्लै बस्दा वा कुनै घटनासँग ठोकिन पुग्दा आफूले पढेका पात्रको याद आउँछ । यस्तो धेरैपटक भएको छ । कथा, उपन्यास, नाटक र धार्मिक ग्रन्थका पात्र दिमागमा सल्बलाइरहन्छन् ।

चरित्रमाथि सोच्न बस्दा मलाई महाभारतकी ‘द्रौपदी’ झट्ट सम्झना आइहाल्छ । द्रौपदीको कुनै किसिमको अन्याय नसहने सशक्त चरित्र छ । स्वर्ग जाने बेलामा युधिष्ठिरले सबै भाइलाई काम अह्राउँछन् त्यसबेला द्रौपदी हाँसेर भन्छिन्, ‘जसले जीवनभरि केही काम गरेन, उसले अहिले काम अह्राइरहेको छ ।’

त्यतिमात्र होइन, आफ्नो चीरहरण गर्ने दुशासनको रगतले केश भिजाएपछि मात्र केश बाट्ने शंकल्प गरेकी उनको हरेक तर्क धर्मसंगत, न्यायसंगत हुन्छ । उनले भीष्म पितामहलाई पनि प्रश्न गर्न छाडेकी छैन ।

हामी साना-साना कुरामा पनि सम्झौता गर्छौं । सम्झौता गर्न अभिसप्त छौं र त समयले हामीलाई सम्झौतावादी बनाइदिएको छ ।

तर, द्रौपदीले कतै पनि सम्झौता गरेको पाइँदैन । पूरा महाभारतभरि उनले जेजति कुरामा अडान लिइन्, त्यसले नारी शक्तिको बलियो चरित्रलाई देखाएको छ ।

उनीजस्तै सीता, गान्धारी, अहिल्यावा अन्य नारी पात्र दुःखको समयमा रुन्छन्, विलौना गर्छन् र निसार भएर शक्तिको पूजा गर्छन् । तर, द्रौपदीले कतै पनि हार मानेको, घुँडा टेकेको घटना छैन ।

पात्रकै कुरा गर्दा स्यामुअल बेकेटको ‘मर्फी’ उपन्यासको मर्फी भन्ने मूल पात्र मलाई मन पर्छ । आयरल्यान्डका लेखक बेकेटको पुरुष पात्र मर्फी दिनभर कोठामा बसिरहन्छ । उसकी एक प्रेमिका छिन्, जो हजुरआमासँग बसेकी हुन्छिन् । एकदिन उसको प्रेमिकाको हजुरआमाले जागिर भएको केटासँग विवाह गर्ने भनेपछि प्रेमिकाले मर्फीलाई जागिर खोज्छिन् ।

तर, अन्तरवार्ताको क्रममा ऊ केही पनि बोल्दैन । मात्र प्रेमिकाको मन बुझाउन अन्तरवार्तासम्म दिन गएको हुन्छ । ऊ एक्लै छ, कसैको मतलव राख्दैन । उसलाई कुनै उपलब्धि पनि पूर्ण लाग्दैन ।

सबै कुरा निसार छ भन्ने विचारले उसलाई बाँधेको हुन्छ । तर, यस्तो विचारले बाँधिएको कुरा मर्फी स्वयंलाई भने थाहा हुँदैन । विसंगतवादी उपन्यास लेखनको धारमा यो उपन्यास जति बलियो छ, यसको पात्र मर्फीकै कारणले कथा बलियो भएको हो ।

युवाकालमा नै मर्फी पढेपछि मभित्र यसको हृयाङ्ग लामो समयसम्म रहिरहृयो । आखिर बलियो पात्रविना बलियो कथा भन्न नसकिने रहेछ ।

नेपाली साहित्यतर्फको कुरा गर्दा मलाई मनु ब्राजाकीको ‘अन्नपूर्णाको भोज’ कथाकी अन्नपूर्णा याद आउँछ । कथा विशेष मन परेर होइन, बरु अन्नपूर्णा जस्ता हजारौं महिला हाम्रो देशमा भएकाले हो । कथामा एकजना लेखकका केही साथी घरमा खाना खान आउँछन् ।

त्यसका लागि अन्नपूर्णाको लोग्नेले माछा किनेर ल्याउँछ । त्यसैरात घरमा सुरापानसहित लेखकहरूको भोज चल्छ । अन्तिममा खान खान बसेकी अन्नपूर्णाको भागमा रित्तौ कराइ र माछाको फिँजमात्र बाँकी रहन्छ ।

हाम्रै आमा, दिदीहरूले पनि घरका पुरुष सदस्यले खाना खाइसकेपछि मात्र आफू खान्छन् । केही वर्ष अगाडिसम्म बजारको सहज पहुँच थिएन । यसैले घरमा माछामासु पाक्दा आमाहरूको भाग खालीजस्तै भइसकेको हुन्छ । म आज पनि कतिपय आफन्त तथा साथीहरूकहाँ जाँदा उनीहरूभित्र अन्नपूर्णा भेट्छु ।

तपाईं आज पनि आफ्नो बुबाआमाको तस्वीर हेर्नुस्, बुबाको अनुहारमा जस्तो चमक हुन्छ, आमाको अनुहारमा त्यो पाइँदैन । आमाहरू दुःखको आरनमा पिल्सिएकै कारण उनीहरू कहिल्यै खुलेर हाँस्नसमेत सकेका हुँदैनन् । यही सेरोफेरोलाई मनु ब्राजाकीले अन्नपूर्णाको भोजमा उतारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment