+
+
Shares
कथा :

द्रौपदी र नकुलको अतृप्त प्रेम

नकुल र द्रौपदीलाई स्वागत गर्दै अश्विनीकुमारहरूले भने, ‘अब यहाँ प्रेम पृथ्वीमा जस्तो अरूसँग बाँडिरहनुपर्ने छैन, ढुक्क भए हुन्छ।’ द्रौपदी र नकुल एकअर्कालाई हेरेर मुस्कुराए मात्र!

तेजराज दाहाल तेजराज दाहाल
२०८२ जेठ १७ गते २०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको अन्नपूर्ण पर्वत शृङ्खलाको मुक्तिनाथ क्षेत्रमा धूपी सल्लाका वृक्षहरू युगौं युगका मौन साक्षी बनेका छन्।
  • मुक्तिनाथ मन्दिरको पवित्र भूमि र त्यहाँको प्राकृतिक र सांस्कृतिक महत्त्व दर्शाउँदै, ऋषि मुद्गल्य, नलायनी र अश्विनीकुमारको कथा सुनाइएको छ।
  • महाभारतकालीन द्रौपदी र नकुलको प्रेम र प्रारब्धको कथा, प्रेम, त्याग र कर्मको महत्त्वलाई उजागर गर्दछ।

धार्मिक विश्वासमा प्रकृति र भगवानको महानता र महत्व दर्शाउने पवित्र वनस्पति धूपी सल्लो। देख्न, सुन्न, महसुस गर्न र स्मृति राख्न सक्ने अद्भुत प्रकृतिका रचना धूपी सल्लाका वृक्ष। नेपालको अन्नपूर्ण पर्वत शृङ्खलाको पवित्र भूमि मुक्तिनाथ क्षेत्रमा यस्तै धूपी सल्लाका अजंग वृक्षहरू युगौं युगका अनगिन्ती घटनाको मौन साक्षी बनेर उभिएका छन्। ती रूखले बोकेका मौनताभित्रको यौटा पौराणिक प्रसंगबाट शुरू हुन्छ- द्रौपदी र नकुलको अद्वितीय अतृप्त प्रेमकथा।

***
त्रेतायुगमा मुक्तिनाथको मन्दिरभन्दा माथि धूपी सल्लाका रूखहरूले घेरिएको चट्टानी शिखरमा तपस्वी मुद्गल्य ध्यानस्थ थिए। उनी सांसारिक तृष्णाहरू त्यागेर आत्मशुद्धिको साधना गरिरहेका थिए। ज्ञानको मात्र साधक होइन, ब्रह्माण्डीय सत्यका संरक्षक। सूर्य उदय हुने बित्तिकै, सुनौलो प्रकाश हिउँले ढाकिएका हिमालहरूमा झर्थ्यो, मुद्गल्यको आश्रमलाई उज्यालो पार्दै।

हमेशा सिरसिर चलिरहने बतास सुगन्धित हुन्थ्यो, धूपी र सल्लाको सुवासले। बताससँगै उडिरहने भुईंकुहिरो र बादल अनि घामको लुकामारीले ल्याउने प्रकाशका रंगीविरंगी किरणहरू र परावर्तनले वरिपरिका वनस्पति र डाँडाकाँडाहरू हरबखत अलौकिक लाग्दथे। मुक्तिनाथ मन्दिरमा बजेका घण्टहरूको आवाज बताससँग उडेर आश्रमसम्म आउँथे र नेपथ्यमा हराउँथे।

मुद्गल्य ऋषि सांसारिक चाहनाहरूबाट वैराग्य लिएका वृद्ध तपस्वी थिए, तर उनकी भार्या नलायनी यौवनयुक्त भर्खरकी युवती थिइन्। नलायनीले खुलेर नभने पनि ऋषि आफ्नी श्रीमतीले शारीरिक चाहनाहरू अतृप्त राखेर वृद्धपतिको सेवामा समर्पित भई जीवन जिइरहेको कुराका जानकार थिए। नलायनीको अव्यक्त अन्तर्मन ब्रम्हाण्डद्रष्टा र त्रिकालदर्शी ऋषि मुद्गल्यले सजिलै पढ्न सक्थे।
साधारण सुन्दरी यौवनाले जस्तै उनी पनि आफ्नो प्रेमजीवनमा एकआदर्श धार्मिक, बलवान, पराक्रमी, ज्ञानी र सुन्दर प्रेमीको कल्पना गर्थिन्। नलायनीको मनमा यस्तो कल्पना रहे पनि आफ्ना वृद्धपति मुद्गल्यप्रतिको समर्पण, निष्ठा र पतिव्रताधर्म पालन गर्नमा उनीभित्र कुनै अफसोस थिएन। ऋषि मुद्गल्य र नलायनीको जीवन त्याग, निष्ठा, समर्पण र वैराग्यका उच्च मूल्य र मान्यता मुताविक चल्दैथियो।

एकदिन मुद्गल्य ऋषिको आश्रमछेउमा कोही घाइते पुरुषको आवाज सुनियो। ऋषिले नलायनीलाई बुझ्न पठाए। एक सुन्दर युवक घाइते अवस्थामा आश्रम नजिकै लडेका रहेछन्। घाइते व्यक्तिलाई आश्रममा आश्रय दिने व्यवस्था भयो। त्रिकालदर्शी ऋषिले स्वर्गका देवताहरूका चिकित्सक अश्विनीकुमारहरूमध्ये एक अश्विनीकुमारलाई चिने। तापनि ऋषिले नचिने जस्तो गरी सोधे, ‘तपाईं को हुनुहुन्छ? कसरी यस्तो अवस्था हुन गयो?’ ती व्यक्तिले भने, ‘स्वर्गको युद्धमा घाइते भएर अचानक पृथ्वीमा खसेको म अश्विनीकुमारहरूमध्येको एक हुँ’।

मुद्गल्य ऋषिले आफ्नो तपोबलले घाइतेको कुराको सत्यता जाँचे। रावणका छोरा मेघनादले स्वर्गमा आक्रमण गर्दा घाइते भएका देवताहरूको उपचार गरिरहेका बेला अश्विनीकुमारलाई पनि बाण लागेको रहेछ। घाइते अश्विनीकुमार केही समय उपचार र आराम गर्न पृथ्वीमा झरेका रहेछन्। यति कुरा बुझिसकेर ऋषिले अश्विनीकुमारलाई प्रणाम गरे।

नलायनीलाई, ‘बिरामीको राम्रो रेखदेख र स्याहारसुसार गर्नु’ भनी अह्राए। नलायनीले घाउमा जडीबुटी लगाइन्, मुद्गल्यले मन्त्र फुके। घाइते निको हुँदै गए, उनी ज्यादै कम बोल्थे। धेरै जसो समय मौन तर गहिरा सोचमा मग्न रहे जस्ता देखिन्थे। देवताका चिकित्सक भएकाले आश्रम वरिपरिका औषधीय वनस्पति र जडीबुटीहरू चिनाएर तिनबाट ओैषधि बनाउने तरिकाहरू पनि नलायनीलाई सिकाइदिए।
एकदिन अश्विनीकुमार र नलायनी जडीबुटी खोज्न आश्रम नजिकै वनमा गएका बखत नलायनी ढुंगामा ठेस लागेर लडिन्, अश्विनीकुमारले उनलाई हातमा समातेर उठाए। उनीहरूका आँखा जुधे तर सामीप्यतामा दुवैको कुनै आकांक्षा थिएन। कतिपय बेलामा नलायनीमा अश्विनीकुमारप्रति प्रेमभाव नआएको हैन, तर आफ्नो कर्तव्यपरायणताभित्र ती भावहरू अव्यक्त र मौन भइदिन्थे।

त्यस्तै अवस्था अश्विनीकुमारको पनि थियो, कर्तव्यले बाँधेको र आफूलाई उपचार र स्याहार गर्ने व्यक्तिप्रतिको ममता र आदरभावले थिचेको। यसरी उनीहरू बीचको प्रेम केवल एक गहिरो मौनता, करुणा र अव्यक्त स्नेहको आगो थियो जसले जलाउँदैनथ्यो तर मन शीतल पार्दथ्यो।

उता सम्पूर्ण सांसारिक मायामोह र सुख त्यागेका तपस्वी ऋषि मुद्गल्य नलायनी र अश्विनीकुमार बीचको सामीप्यता देखेर हृदयदेखि खुशी हुन चाहन्थे। तर त्यसमा पनि नलायनीको निष्ठा र समर्पण नडगमगाएको देख्दा उनमा नलायनीप्रति अझ बढी करुणाभाव जाग्दथ्यो।

एक साँझ धूपी सल्लाको रूखमुनि बसेका बेला अश्विनीकुमारले नलायनीसँग विस्तारै भने, ‘मेरो जानेबेला भयो। हामी फेरि भेट्नेछौं। तिमी अग्निकन्या बनेर अर्को युगमा जन्मिनेछौ र म पुनः पृथ्वीमा आउँछु। तर देवताको रूपमा होइन, तिमीलाई मन पराउने एउटा मौन प्रेमीको रूपमा।’

नलायनीले केही भनिनन्। राम्ररी नियालेर अश्विनीकुमारलाई हेरिन्, उनका आँखा भित्र अश्विनीकुमारको एउटा कहिल्यै नमेटिने तस्वीर अङ्कित भयो। अश्विनीकुमार ऋषि मुद्गल्यसँग पनि बिदा मागेर आश्रमबाट अलप भए।

समय बित्दै गयो। नलायनीको सेवाभाव, निष्ठा र त्यागलाई नजिकबाट नियालेका वृद्ध तपस्वीले नलायनीको मनको भाव बुझेर आशीर्वाद दिए, ‘नलायनी, तिमीले मेरो असीमित सेवा गर्‍यौ, म तिम्रो मनोभाव बुझ्छु, तिमीले सोचे जस्तो पाँचवटा गुण भएको पति अर्को जन्ममा अवश्य पाउनेछौ। त्यसका लागि तिमीले महादेवको आराधना गर्नुपर्छ।’

नलायनीले आँखाभरि आँसु पारेर भनिन्, ‘हजुरले यो के भन्नुभएको? म यो जन्म मात्र हैन अरू जन्म पनि हजुरकै भएर रहन पाऊँ।’

ऋषिले थपे, ‘तिमीले यो जुनी मेरो लागि सबै त्यागेर सँगै बितायौ, तर तिम्रो अन्तर्मनको आवाज पनि त सुन। फेरि, नियतिले हामीलाई हाम्रो प्रारब्धको नियम अनुसारको भूमिका दिने हो।’ नलायनी केही बोलिनन्। ऋषिको इच्छामरणको समय आयो। अन्तिम श्वास रोक्नुअघि ऋषिले जीवनभर आफूले आर्जन गरेको तपको आधाशक्ति नलायनीलाई सारिदिए।

प्रकाश-स्वरूप उक्त शक्ति शरीरमा प्रवेश गर्नासाथ नलायनी एक त्रिकालदर्शी प्रौढ तपस्विनीको स्वरूपमा बदलिइन्। ऋषि मुद्गल्य अन्तिम पटक मुसुक्क मुस्काए र श्वास परित्याग गरे।

मुद्गल्य ऋषि समाधिस्थ भएपछि सोही आश्रममा रहेर नलायनीले हजार दिव्यवर्ष महादेवको तपस्या गरिन्। हिमशृङ्खलाबाट निस्केको झोंग नदीको जलमात्र सेवन गरी ‘ॐ नमः शिवायः’ जप्दै नलायनीले गरेको महादेवको तपस्या खेर गएन।

महादेवले प्रशन्न हुँदै नलायनीलाई, ‘बर माग’ भने। ‘हे भगवान, यो जन्म म र मेरा पतिले सबैखाले संसारिक सुख र तृष्णा त्यागेर उपासना गर्यौं। अब मेरा श्रीमानले दिनुभएको आशीर्वाद अनुसार मैले अर्को जन्ममा एकआदर्श धार्मिक, बलवान, पराक्रमी, ज्ञानी र सुन्दर पति पाउन सकूँ’।

महादेवले एकछिन गमेर बोले, ‘हे नलायनी, यतिका धेरै गुणहरू भएको यौटै व्यक्ति पाउन सम्भव छैन। तिमीले अर्को जन्ममा यी पाँच गुणहरू भएका अलग अलग पाँच पति पाउनेछौ। यो कुरा तिम्रो प्रारब्धमा लेखिएको छ, त्यसलाई कसैले बदल्न सक्दैन।’

यति भनेर महादेव अन्तर्ध्यान भए। नलायनी पनि ॐ नम: शिवाय: जप्दै समाधिस्थ बनिन्।

हजारौं वर्षपछि आज पनि मुक्तिनाथ मन्दिरका आसपास सुनसान रातहरूमा तीर्थयात्रीहरूले वरिपरिका हिमाली पाखाहरू, झोंग नदी र कालीगण्डकीका पानीहरूमा झल्किने छायाँहरू र बतासमा गुञ्जिने आवाजहरूमा त्यो समयका प्रतिध्वनिहरू सुन्छन्। शायद पवित्र मुक्तिनाथ क्षेत्रको आत्मामा कुँदिएका ऋषि मुद्गल्य, नलायनी र अश्विनीकुमारको अभिलाषाको अवशेषहरू।

***

शताब्दीयौं पछि द्वापर युगमा, महाभारत कालमा पाञ्चालदेशका राजा द्रुपदले गुरु द्रोणाचार्यसँगको अपमानको बदला लिन सन्तानप्राप्तिका लागि पुत्रकामेष्टि यज्ञ गरेका थिए। राजा द्रुपदको त्यस यज्ञको अग्निबाट दुई सन्तान जन्मिए। एक अपूर्व रूपवती र तेजस्विनी नारीको रूपमा द्रौपदी र गुरु द्रोणाचार्यलाई समेत पराजय गर्न सक्ने एक अत्यन्त पराक्रमी योद्धाको रूपमा धृष्टद्युम्न।

द्रुपद राजाकी छोरी द्रौपदी, पाञ्चालदेशकी राजकुमारी पाञ्चाली, कालो र साँवला वर्णकी भएर कृष्णा, अनि यज्ञको अग्निबाट उत्पत्ति भएकी भएर याज्ञसेनी जस्ता अनेक नाम थिए द्रौपदीका। महाभारतमा द्रौपदी त्यसबखतको राजनैतिक खिचातानी, कौरव-पाण्डव बीचको अन्तरद्वन्द्व, कौरवहरूको विनाशको एक मुख्य पात्रको रूपमा चित्रित छन्।

महाभारत काल शुरूवाततिर हस्तिनापुरको दरबारमा सन्तानहीनताको छायाँ परेको थियो। धृतराष्ट्र जन्मजात अन्धा र राजा बन्न नपाउने नियतिमा थिए। त्यसैले उनका भाइ पाण्डुले गद्दी सम्हाले। पाण्डु वीर योद्धा थिए, शब्दभेदी हतियार चलाउने। एकदिन शिकारमा मृगको आवाज ठानी बाण हान्दा ऋषि कन्दम र उनको पत्नी अलिंगनबद्ध रहेको अवस्थामा बाण लागेर मृत्यु भयो। ऋषिले मृत्युक्षणमा श्राप दिए, ‘जुन क्षण तिमी स्त्रीसँग संसर्ग गर्न खोज्छौ, त्यही क्षण तिमी मर्छौ।’ श्रापित पाण्डु भयभीत भई राजगद्दी त्यागेर दुई पत्नी कुन्ती र माद्री सहित वनतिर लागे, तपस्या गर्दै शान्त र आध्यात्मिक जीवन बिताउन थाले।

पाण्डुकी पत्नी कुन्तीले, किशोर अवस्थामा, एकदिन दुर्वाशा मुनिलाई प्रशन्न पारी एक अद्भुत वरदान पाएकी थिइन्। दुर्वाशा ऋषिले यौटा मन्त्र सुनाउँदै भने, ‘यो मन्त्रद्वारा तिमी कुनै पनि देवतालाई आह्वान गरेर, तिनबाट सन्तान प्राप्त गर्न सक्नेछौ।’

वनमा एक साँझ, पाण्डुले कुन्तीलाई भने, ‘म इतिहासमा निसन्तान भएको दोषी बन्न चाहन्न, फेरि कुलका लागि वंश पनि चाहन्छु। कुन्ती, तिमी आफ्नो वरदान प्रयोग गर्न स्वतन्त्र छौ।’

कुन्तीले नम्रतापूर्वक टाउको हल्लाइन्। त्यस रात, उनले मन्त्र पढिन् र धर्मराजलाई आह्वान गरिन्। युधिष्ठिर जन्मिए- सत्य, धैर्य, धर्म र विवेकको प्रतीक। त्यसपछि, उनले वायुदेवलाई बोलाइन्, भीम जन्मिए- बलशाली र अद्भुत। तेस्रोपटक, स्वर्गका राजा इन्द्रलाई आह्वान गरिन्। अर्जुन जन्मिए- वीरता र युद्ध कौशलताका प्रतीक।

कुन्तीको आह्वानमा इन्द्र पृथ्वीमा गएको कुरा स्वर्गका अश्विनीकुमारहरूले थाहा पाए। त्यसै बखत उनीहरूले पाण्डुकी कान्छी पत्नी माद्रीको मनमा ईर्ष्या जगाइदिए। र कुन्तीसँग आफूलाई पनि सन्तानको रहर लागेको बताउन लगाए।

माद्री पूर्वजन्ममा स्वर्गकी अप्सरा मद्रिका थिइन्। उनी एकदिन इन्द्रसभामा अश्विनीकुमारहरूको सुन्दरतामा मोहित भइन्। उनको नृत्यको भावभंगी बिग्रियो। उनी स्वर्गका राजा इन्द्रबाट श्रापित भई पृथ्वीमा माद्रीको रूपमा मद्रदेशमा जन्मिइन्। हस्तिनापुर र मद्रदेशको लडाइँ भयो। मद्रदेशका राजा शल्यले वृद्धपिता भूतपूर्व राजा ऋतध्वजको सल्लाहमा आफ्नी बहिनी माद्रीको विवाह हस्तिनापुरका राजा पाण्डुसँग गराई सम्झौता गरे।

अश्विनीकुमारहरूको इच्छानुसार एकदिन माद्री कुन्ती नजिक आइन्। आँखाभरि आँसु पार्दै भनिन्, ‘दिदी, के म पनि आमा बन्न सक्छु?’ कुन्तीले करुणा देखाइन्, मन्त्र सिकाइदिइन्।

माद्रीले स्वर्गमा भएको घटना सम्झिइन्। त्यही आसक्तिको निरन्तरतामा अश्विनीकुमारहरू (चिकित्सा र सौन्दर्यका देवता) लाई आह्वान गरिन्। उनीहरूबाट दुई जना जुम्ल्याहा छोरा जन्मिए। एक नकुल- तेजस्वी र सुन्दर, र अर्का सहदेव – गम्भीर, प्रज्ञावान र भविष्यद्रष्टा। आवश्यक परेको बेला माद्री वा छोराहरूले आह्वान गरेमा उपस्थित हुने वरदान दिएर अश्विनीकुमारहरू स्वर्ग फर्किए। स्वर्ग फर्कनुअघि नकुलको टाउकोमा हात राखेर उनलाई पूर्वजन्मको स्मृति जगाइदिए। उनलाई मुद्गल्य ऋषि र नलायनीका साथ बिताएको समय याद आयो।

***
समय बित्दै गयो। ऋषि कन्दमको श्राप बिर्सेर एकदिन माद्रीको सौन्दर्यमा आसक्ति पैदा भई सहवासको इच्छा उत्पन्न हुनासाथ राजा पाण्डुको मृत्यु भयो। माद्री त्यसबेलाको चलनअनुसार सती गइन्। पाँच भाइ छोराहरूको जिम्मा कुन्तीमा आयो। उनी छोराहरू लिएर हस्तिनापुर दरबार फर्किइन्।

पाण्डुका सन्तान पाँच पाण्डव र धृतराष्ट्रका सन्तान सयभाइ कौरवहरू बीच राजपाठ उत्तराधिकारको विषयमा कचिंगल बढ्दै थियो। त्यसबेलाका दरबारिया विशेषगरी कौरवहरूले पाण्डवहरूलाई निमिट्यान्न पार्न गरेका अनेक दाउपेच, जालझेल, उछालपछाल र षडयन्त्रका प्रसंगहरू महाभारत कथामा समेटिएका छन्।

त्यस्तै प्रसंगहरूमध्ये एक लाक्षागृहमा कुन्ती सहित पाँचै भाइ पाण्डवहरूलाई जलाउन रचिएको षडयन्त्रमा काका विदुरको बठ्याईले उनीहरू बाँचे। उता कौरवहरूले पाण्डवहरू जलेर खरानी भएको सम्झे। आफूहरू ज्युँदै भएको कौरवहरूले थाहा नपाउन् भनेर कुन्ती सहित पाँचपाण्डवहरू शहर बाहिर कुटी बनाएर ब्राह्मण भेषमा बसेका थिए।

यही समयमा उता पाञ्चाल देशमा द्रौपदीको स्वयंवर हुने कार्यक्रम थियो। प्रमुखतः क्षत्रीय राजा र राजकुमारहरूले भाग लिने स्वयंवरमा युधिष्ठिरले आफूहरू ब्राह्मण भेषमा भएकाले शुरूमा जान इन्कार गरे। तर नकुलले दाइहरू समक्ष, ‘रमिता हेर्न मात्र भए पनि जाउँ न!’ भनेर बिन्ती गरेपछि पाँचपाण्डव दाजुभाइ पनि स्वयंवरमा भाग लिन गए। ब्राह्मणकुमारहरूको रूपमा उनीहरूको सत्कार भयो।
स्वयंवर हुने दिन बिहानीपख द्रौपदीलाई सपनामा ऋषि मुद्गल्यले भनेका थिए, ‘आज तिम्रो आकांक्षा पूरा हुँदैछ, शिवजीको वरदान सावित हुनेछ।’ ऋषि मुद्गल्यको कुराले द्रौपदीलाई त्यसबेलाका अश्विनीकुमारको अनुहार सम्झना आयो।

स्वयंवरको वरमाला लिएर राजसभामा उपस्थित द्रौपदीले सबै आकांक्षी राजा र राजकुमारहरूलाई नियालेर हेरिन्। कुसैसँग पनि आफूले खोजेको गुणहरू देखिनन्, उनी दुःखी भइन्। द्रौपदीका दाजु धृष्टद्युम्नले बहिनी खुशी नभएको बुझे र बहिनीका छेउमा गई कानमा खुसुक्क भने, ‘सभामा उपस्थित पाँच ब्राह्मणकुमारहरूलाई हेर त! यहाँ आज पक्कै केही अनौठो नतिजा आउनेछ।’

द्रौपदीले नजानिंदो पाराले हेरिन्, सबभन्दा पहिला सुन्दर नकुलसँग उनका आँखा जुधे। नकुलले आँखाकै इशारामा, ‘अघिल्लो जन्ममा भेट भएको अश्विनीकुमार म हुँ।’ द्रौपदीले कुरा बुझिन्, उनको आँखामा चमक देखियो। कार्यक्रम शुरू भयो। वरमाला पहिरिन योग्य हुन भुईंमा राखिएको खड्कुँलाको पानीको छायाँमा हेरी सभाहलको सिलिङमा झुण्ड्याइएको घुमिरहने सुनौलो माछाको आँखाको नानीमा बाणको निशाना लगाउनुपर्ने थियो। तर, निशाना लगाउन कसैले सकेनन्।

असम्भव शर्त राखेर पाञ्चाल दरबारले अरूको मानमर्दन गरेको भनी सभामा होहल्ला भयो। विरोध गर्नेहरूमा दुर्योधन, कर्ण, शकुनिहरू समेत थिए। हात हालाहालसम्मको स्थिति भएपछि धृष्टद्युम्नले स्थिति सम्हाले। सभामा उपस्थित जो–कोहीले निशाना लगाउन प्रयत्न गर्न पाउने नियम बनाइयो। नकुलले अर्जुनलाई विस्तारै भने, ‘साहिंला दाइ, तपाईंले निशाना लगाउन सक्नुहुन्छ, अघि सर्नुहोस्।’

अर्जुनको हिंडाइको चालढाल, धनुमा ताँदो चढाइको तरिका र सभामा देखाएको अदब र शान देखेर धेरैले ब्राह्मणकुमार हैनन् कि भन्ने संशय पनि व्यक्त गरे। अर्जुनको निशाना अचूक भयो, द्रौपदीको हातको वरमाला अर्जुनको गलामा पर्‍यो। द्रौपदीले एकपटक अचम्म मानेर नकुललाई हेरिन्, नकुलले मन्द मुस्कान सहित आँखा झुकाए। धृष्टद्युम्नले राजा द्रुपदको कानमा केही भने। राजाले टाउको हल्लाउँदै खुशीको नजरले पाँचजना ब्राह्मणकुमारहरूका अनुहारतिर हेरे। पाँचै जनाले राजालाई शिर झुकाई अभिवादन गरे।

राजा द्रुपद र द्रौपदीका भाइ धृष्टद्युम्न बाहेक सभामा ब्राह्मणकुमारहरू पाँचपाण्डव दाजुभाइ हुन् भनेर कसैले पनि थाहा पाएनन्। स्वयंवर सकियो, राजारानीसँग बिदावारी भएर ब्राह्मणकुमारहरू द्रौपदीलाई लिएर गए।

पाँचपाण्डवहरू उनलाई लिएर आफ्नो सानो कुटीमा पुगे, जहाँ आमा कुन्ती ध्यानमग्न थिइन्। अर्जुनले खुशीसाथ भने, ‘हे माते, हामीले तपाईंका लागि आज ठूलो भिक्षा लिएर आएका छौं।’ कुन्तीले आँखा नखोली आशीर्वादको मुद्रामा सहजै उत्तर दिइन्, ‘जे ल्याएका छौ, पाँचै भाइले बाँडेर खाऊ।’

ती शब्दले आकाशमा जस्तो गड्गडाहट मच्चायो। अर्जुन स्तब्ध भए, भीमले निधारमा हात लगाए। युधिष्ठिर मौन। द्रौपदी एकछिन चुप भइन्। त्यसपछि थोरै मुस्काउँदै भनिन्, ‘शायद, यही त नियति हो। यस आवाजमा मेरो प्रारब्ध बोलिरहेको छ।’ उनले पूर्वजन्ममा ऋषि मुद्गल्यले दिएको आशीर्वाद र महादेवको वरदान सम्झिइन्।

त्यही बेला व्यासमुनि टुप्लुक्क आइपुगे। उनले गहिरो स्वरमा भने, ‘हे पाञ्चाली, तिमी यो संसारमा एक महान् कार्यका लागि जन्मेकी हौ। पूर्वजन्ममा तिमीले पाँच गुणयुक्त पतिको वर मागेकी थियौ- धर्म, बल, साहस, सौन्दर्य र ज्ञान। यही पाँच गुण अहिले तिमीसामु उभिएका छन्।’

द्रौपदीको नजर एक एक गर्दै पाण्डवहरू माथि गयो। युधिष्ठिरको शान्त अनुहारमा धर्म देखिन्, भीमको शरीरमा बल, अर्जुनको आँखामा साहस, नकुलको मुस्कानमा सौन्दर्य र सहदेवको मौनतामा बुद्धि। द्रौपदीका आँखा नकुलको अनुहारमा फेरि पनि केहीछिन अडिए। उनको मनमा एक किसिमको हलचल मच्चियो। आँखा बन्द गर्दै उनले सोचिन्, ‘यदि यो नै मेरो कर्म हो भने, म यसलाई श्रद्धापूर्वक स्वीकार गर्छु।’

पाण्डव दाजुभाइहरूले व्यासमुनिलाई ढोग गरेर कुटीको सिकुवामा गुन्द्री र राडीमा आसन गराए। कुन्ती पनि कुटीभित्रबाट आइन्। व्यासलाई ढोग गरिन्। आफूले मिलेर बाँडेर खानु भनेको भिक्षा त द्रौपदी पो रहिछन्। द्रौपदीले निहुरेर ढोग गरिन्। कुन्तीले आशीर्वाद दिइन्, ‘आयुष्मति भवः।’

कुन्तीले ऋषि व्यासलाई पाँचभाइबीच द्रौपदी कसरी बाँडफाँड गर्ने सल्लाह दिन अनुरोध गरिन्। एकछिन सोचेर व्यासले भने, ‘प्रत्येक महिना एकभाइको पालो हुनेछ, द्रौपदीसँग २५ दिन साथमा रहन पाउने र ५ दिन द्रौपदीले आफूखुशीले समय बिताउन पाउनेछिन्।’

उनले थपे, ‘कुनै कारण पालोको क्रम छुटेमा अर्को पालो भएको भाइको पालो आउनेछ। उपयुक्त समयमा छुटेको पालोवालाको क्रम आउनेछ।’ पाण्डवहरूले भने, ‘हामीलाई यी शर्तहरू मान्य छन्।’ पाण्डवहरू शक्तिशाली भइकन पनि निरीह भएर आफ्ना दैनिक जीवन चलाउँदै गए। पाँचभाइकी एकपत्नी भइन्- महाभारत कथाको मुख्य कडी यसैको वरिपरि घुम्दैथियो।

यता प्रारब्धले द्रौपदीका पाँच पति भए, पाँच गुणले भरिपूर्ण भएका। तर, उनको प्रेम जीवन भने कता के नमिले जस्तो थियो। युधिष्ठिर सधैं गम्भीर विषयहरूमा तल्लीन रहने – प्रेम उनको लागि गौण विषय। भीम सदैव क्रोध र बदलाको सोचले थिचिएका – उनको प्रेम बढी नै संरक्षणात्मक र नियन्त्रणात्मक।

अर्जुन आफू सर्वश्रेष्ठ धनुर्धर भन्ने घमण्ड र सदैव जीतका प्यासा – प्रेमका लागि समय कम दिने, सहदेव ज्ञानी र भविष्यद्रष्टा – प्रेमप्रति उनको अनुराग र अपेक्षा कम। बाँकी एक थिए नकुल – मौन, सौम्य अनि अति सुन्दर। उनी अरू जस्ता थिएनन्। उनको आँखा, चाल, अनि मौनतामा कुनै अज्ञात परिचय लुकेको थियो।

द्रौपदीलाई जितेर ल्याउने अर्जुन भएतापनि नकुल र द्रौपदीबीच अव्यक्त तर विशेष सम्बन्ध झल्कन्थ्यो। द्रौपदी सधैं नकुलको पालो कुरेर बस्थिन्। नकुल पनि द्रौपदीसँगको सामीप्यताका लागि लालायित रहन्थे। आफ्नो पालोको दिनहरू सकिंदा दुवै दुःखी बन्थे।

आफ्नो पालोको बेला एक साँझ नकुल र द्रौपदी हिण्डन नदीका किनारमा बसेर कुरा गर्दैथिए। ‘नकुल! म हजुरको रूपको घायल प्रशंसक हुँ !, हजुरसँगको साथ र सम्बन्धमा बाहेक म आफूलाई अतृप्त रहेको पाउँछु’, द्रौपदीले मन खोलिन्।

‘द्रौपदी मैले पनि तिमीलाई भन्न नसकेको मात्र थिएँ, मेरो मनमा चल्ने भावहरू शब्दहरूमा व्यक्त गर्न म जान्दिनँ’, नकुलले भने। ‘तर, हामी बचनबद्ध छौं, तिमी जानकार नै छौ’, नकुलले थपे।

केहीबेर दुवै जना मौन रहे, त्यो मौनता तोड्दै दुवैको मुखबाट एकैचोटि आवाज निस्क्यो, ‘मन आफैं बोल्दछ। हामीले केवल सुन्न सक्नुपर्छ। अर्को भेट सम्ममा यौटा उपाय निकालौं।’ यस वाक्यले दुवैको स्मृतिमा पुरानो तार झन्झनायो – एक घाइते देवता, नलायनीका हातहरूको स्याहार, एक धूपी सल्लाको रूख, अनि वृद्ध मुद्गल्य ऋषि।

यो पूर्वजन्मको स्मृतिले दुवैमा एउटा आत्मीयता र सामीप्यता र प्रेम महसुस गराइदियो। जुन द्रौपदी पाँचभाइकी साझा भएको ‘वर्तमानको सत्य भन्दा फरक’ थियो। दुईबीचको यस्तो प्रेम जसलाई कुनै नाममा अटाउन सकिंदैन। वास्तवमा त्यो प्रेम थिएन जसले अधिकार माग्थ्यो, नियन्त्रण खोज्थ्यो। तर त्यो प्रेम थियो जुन मौनतामा चिनिन्थ्यो, बलिदानमा बाँच्दथ्यो र स्वतन्त्र रहन मन पराउँथ्यो।

साँझ झमक्कै हुँदा दुवै जना कुटीमा फर्किए। द्रौपदी भान्सामा कुन्तीलाई सघाउन गइन्, नकुल घोडाहरूको देखभालमा लागे। भोलिपल्ट नकुल र द्रौपदीको पालो सकिने थियो ! अन्तिम रातले दुवैलाई व्यग्रतापूर्वक पर्खिंदैथियो।

***

पाँच पाण्डव जिउँदैछन् भन्ने हल्ला विस्तारै हस्तिनापुर दरबारसम्म पुग्यो। राजा पाण्डुका ज्येष्ठ सुपुत्र युधिष्ठिर हस्तिनापुर राजगद्दीका स्वाभाविक उत्तराधिकारी र भीम, अर्जुन, नकुल र सहदेव राजकुमार थिए। तर धृतराष्ट्रको अनिच्छा, दुर्योधन र शकुनिको महत्वाकांक्षा र कपट अनि हस्तिनापुरका संरक्षक भीष्मपितामह, गुरु द्रोणाचार्य, सल्लाहकार विदुरहरूको निरीहताका कारण पाण्डवहरूले आफ्नो अधिकार पाउन धेरै संघर्ष र अन्त्यमा ‘महाभारतको युद्ध’ नै गर्नुपर्‍यो।

भविष्यद्रष्टा सहदेवले एकदिन कुटीमा बसेका बेला आफ्ना जुम्ल्याहा दाजु नकुललाई आफूहरूले भविष्यमा भोग्नुपर्ने जीवनका सम्पूर्ण पाटाहरू र सुख-दुःखका प्रसंगहरू सुनाइदिए। कौरवसभामा द्युतक्रीडा र द्रौपदीको चीरहरण, पाण्डवहरूको अपमान, १२ वर्ष वनवास र १ वर्ष गुप्तवासको प्रसंगहरू।

पाण्डव कौरवको युद्ध, कौरवहरूको विनाश, अभिमन्यु र चक्रव्यूहको प्रसंग, अश्वस्थामाद्वारा पाँचकुमारहरूको हत्या, पाण्डवहरूको हिमालय यात्रा र स्वर्गारोहण सबै। साथै ती प्रसंगहरूमा पाँचभाइ आफूहरूको भूमिकाबारे पनि जानकारी गराइदिए।

सम्पूर्ण घटना परिघटनाहरूका शृङ्खलाभित्र नकुलले आफ्नो प्रेमिल भावना र द्रौपदीको तृप्तिको चाहनाका लागि यथेष्ट समय निस्किने देखेनन्। केही उपाय गर्नु पर्‍यो भनी आफ्ना पिता अश्विनीकुमारलाई सम्झिए। नकुल र सहदेवको जन्मको समय माद्रीलाई दिएको वाचाअनुसार अश्विनीकुमार प्रकट भए।

नकुलको सबै कुरा सुनेपछि, अश्विनीकुमारले भने, ‘म तिमीहरूको अगाध प्रेमभाव प्रति खुशी छु। तिमीहरूलाई समय पुगोस् भनी म यौटा काम गर्न सक्छु। तिमीहरूलाई आफ्नो पालोभरि ‘स्वरूप र रूपका दुई नकुल र दुई द्रौपदी’ बन्न सक्ने वरदान दिन्छु। स्वरूपका नकुल र द्रौपदी अरू सबैसँग सामान्य दिनचर्यामा चल्नेछन्। रूपका नकुल र द्रौपदी प्रेमिल जोडीको भूमिकामा आफ्नो पालोको भरपूर उपयोग गर्न सक्नेछौ।’ यति भन्दै नकुललाई कानमा यौटा मन्त्र (सदृश-सृजन प्रविधिको सूत्रबद्ध ज्ञान) सुनाएर अश्विनीकुमार अलप भए।

जब द्रौपदी र नकुलको पालो आउँथ्यो, नकुल मन्त्र पढ्दथे र दुवै जना निश्चिन्त भई रूपका नकुल र द्रौपदी बनेर प्रेमिल समय बिताउँदथे। पाण्डवहरूको दिनचर्यामा भने स्वरूपका नकुल र द्रौपदी साथ हुन्थे। कसैले पनि यो प्रेमिल जोडीको बारेमा पत्तै पाएनन्।

महाभारतको युद्ध समाप्त भइसकेको थियो। पृथ्वीमा धर्म पुनःस्थापित भए पनि नकुलको मन शान्त थिएन। आफ्नो दाजुभाइहरूका साथ राजधर्म पालन गर्दै गए पनि उनी सधैं आफ्ना पिता अश्विनीकुमारहरूको उत्तराधिकारीको रूपमा कुनै अदृश्य पुकार सुन्दै आएको अनुभव गर्थे। द्रौपदीलाई पनि यो कुरा नकुलले सुनाएका थिए।

अन्ततः पाण्डवहरूले हिमालयको बाटो भएर स्वर्ग जाने मार्ग रोजे। बाटोमा सबैभन्दा पहिले द्रौपदीको मृत्यु भयो, त्यसपछि लगत्तै नकुलले देहत्याग गरे। द्रौपदी र नकुल स्वर्गको द्वारमा पुग्दा स्वागतार्थ नकुलका पिता- अश्विनीकुमारहरू उभिएका थिए।

नकुल र द्रौपदीलाई स्वागत गर्दै अश्विनीकुमारहरूले भने, ‘अब यहाँ प्रेम पृथ्वीमा जस्तो अरूसँग बाँडिरहनुपर्ने छैन, ढुक्क भए हुन्छ।’ द्रौपदी र नकुल एकअर्कालाई हेरेर मुस्कुराए मात्र!
अहिले पनि द्रौपदीसँग सुखका साथ रहेका नकुल स्वर्गका चिकित्सक देवताहरूका उत्तराधिकारीको रूपमा देवलोक र मर्त्यलोक सबैतिर सदृश-सृजन (cloning) प्रविधिको विकासमा लागिरहेका छन् भनिन्छ।

***

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?