
News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपतीय निर्वाचन हुँदैछ, तीन प्रमुख उम्मेदवार प्रतिस्पर्धामा छन्।
- अधिकारक राष्ट्रपति युन सुक योलले सैनिक शासन प्रयास गरेपछि महाभियोग लाग्यो र पदमुक्त भए।
- मतदाताले राजनीतिक संकटका बीच सक्रिय भाग लिएका छन् र मतदान प्रतिशत घट्दै गएको छ।
१७ जेठ, काठमाडौं । आगामी जुन ३ तारिखमा दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनको लागि निर्वाचन हुँदैछ। त्यहाँका निर्वाचित राष्ट्रपति युन सुक योलले सन् २०२४ को डिसेम्बरमा सैनिक शासन लगाउने प्रयत्न गरे । लगत्तै उनलाई संसदले महाभियोग लगायो र संवैधानिक अदालतले अप्रिल ४ मा पदमुक्त गर्यो ।
विश्वको दशौं ठूलो अर्थतन्त्रमा सैनिक शासनको असफल अभ्यासपछि उक्त समाजमा चरम ध्रुवीकरण देखियो । छिमेकमा उत्तर कोरिया सधैं चुनौती दिएर बसिरहेको छ र देशभित्र पनि इतिहासकै न्यून जन्मदर जस्ता समस्या छँदैछन् । यसैबीच देखिएको आन्तरिक राजनीतिक ध्रुवीकरणलाई पार लगाउने कार्यभारसहित सम्पन्न हुन गइरहेको निर्वाचनले कोरियाली राजनीतिलाई नयाँ मोड दिने अपेक्षा गरिएको छ ।
झन्डै सवा ५ करोड जनसंख्या रहेको पूर्वी एशियाली देश दक्षिण कोरियामा सैनिक शासनको असफल अभ्यासपछिको पाँच महिनामा तीन जना कार्यवाहक राष्ट्रपति बनिसकेका छन् । यूनलाई महाअभियोगपछि चोए साङ-मोक, हान डक र ली जु-हो राष्ट्रपति बनिसकेका हुन् ।
यहीँबाट सुरु भएको राजनीतिक उतारचढावको लामो शृङ्खलामा दक्षिण कोरिया नयाँ राष्ट्रपति निर्वाचनमा जुटेको छ । यही जुन ३ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दर्ता सकिएसँगै अग्रिम निर्वाचन चलिरहेको छ ।
हरेक दिन जस्तै कुन उम्मेदवारको लोकप्रियता कस्तो छ भन्ने मतसर्वेक्षणको नतिजा सार्वजनिक हुने गरेको छ। ६ नेताहरू चुनावी मैदानमा उत्रिए पनि खासगरी तीन उम्मेदवारहरू अग्रपंक्तिमा रहेका देखिन्छन्- डेमोक्रेटिक पार्टीका उम्मेदवार ली जे-म्यङ, पीपुल पावर पार्टीका किम मुन-सु र न्यू रिफर्म पार्टीका ली जुन-सक ।
ली सर्वेक्षणमा सबैभन्दा अगाडि देखिएका छन् । उनी सन् २०२२ को चुनावमा युन सुक-योलसँग निकै झिनो मतान्तरले पराजित भएका थिए ।
किम मून-सो मत सर्वेक्षणमा दोस्रो स्थानमा देखिएका छन् । उनी पूर्वश्रममन्त्री हुन् । उनले देशको अर्थतन्त्र उकास्ने, व्यवसायमैत्री वातावरण र रोजगारी सिर्जनाको बाचा गरेका छन् ।
उम्मेदवारका प्राथमिकतामा दलीय सिद्धान्तको छाप
धेरै नेपालीहरू गएर काम गर्ने र नेपालको कुटनीति सम्बन्ध राम्रो भएको दक्षिण कोरियामा निर्वाचन कसरी हुन्छ ? त्यहाँ राष्ट्रपति कसरी चुनिन्छन् ?
कोरिया मात्र नभएर हरेक लोकतान्त्रिक देशको निर्वाचनलाई नजिकबाट हेर्दा हाम्रा सबल र कमजोर पक्षहरू पहिचान गर्न सहज हुन्छ।
विगत तीन दशकमा चमत्कारिक आर्थिक एवं राजनीतिक विकास गरेको देशको निर्वाचनमा उठेका मुद्दाको विश्लेषणले हाम्रा र उनीहरूका राजनीतिक मुद्दाहरू कसरी फरक छन् भनेर तुलना गर्ने अवसर पनि हो।
राजनीतिशास्त्रमा यस्तो अध्ययन गर्ने विधालाई ‘तुलनात्मक राजनीतिशास्त्र’ भनिन्छ । त्यसभित्र आर्थिक तथा राजनीतिक संस्था बीचको सम्बन्ध अध्ययन गर्ने विधालाई ‘अर्थराजनीति’ भन्ने गरिन्छ।
यो कोरियाली राष्ट्रपतीय निर्वाचनका तीन प्रमुख उम्मेदवारका प्राथमिकताहरूलाई तुलना गरेर हेर्दा हामीले नेपाली निर्वाचन प्रणाली र राजनीतिक अभ्यासका सबल र दुर्बल पक्ष पहिचान गर्न सक्नेछौं ।
शान्त र सौम्य ढंगले चलिरहेको देशमा पछिल्लो समय राजनीतिक र संवैधानिक उतारचढाव अत्यधिक रह्यो । यस्तो विषम परिस्थितिमा भइरहेको निर्वाचनमा पनि उम्मेदवारहरूका नीतिहरू आफू र दलका सिद्धान्तमा आधारित छन् । उनीहरूका प्रमुख १० प्राथमिकताहरूमा त्यसलाई स्पष्ट अवलोकन गर्न सकिन्छ।
संसदमा बहुमत सिट भएको र आफ्नो उम्मेदवार नै राष्ट्रपति हुने पक्का रहेकोमा विश्वस्त ‘लोकतान्त्रिक दल’का उम्मेदवारले कृत्रिम बुद्धिमत्ता (एआई) को विकासलाई आफ्नो प्रमुख मुद्दाको रूपमा छनौट गरेका छन्।
अन्य दलको तुलनामा प्रगतिशील मानिने पार्टी भएकाले सूचना प्रविधिको विकासमा राज्यको प्रत्यक्ष सहभागितालाई विशेष प्राथमिकता दिएको छ।
निवर्तमान राष्ट्रपतिको परम्परावादी पीपल्स पावर पार्टीका उम्मेदवारले आर्थिक नियमहरूलाई खुकुलो बनाएर उद्योग गर्न सहज वातावरण सिर्जनाको नारालाई आफ्नो प्रमुख मुद्दा बनाएका छन्।
त्यस्तै निवर्तमान राष्ट्रपतिको दलबाट बाहिरिएर छुट्टै दल खोलेका न्यू रिफर्म पार्टीका उम्मेदवारले सानो सरकारलाई आफ्नो प्रमुख मुद्दा बनाएका छन्।
पहिलो मुद्दा मात्र हेर्ने हो भने पनि दलहरूले आफ्नो दलको राजनीतिक विश्वास एवं सिद्धान्तका आधारमा आफ्ना प्राथमिकताहरू तर्जुमा गरेको स्पष्ट देखिन्छ।
प्रगतिशील पार्टीले एआईलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रूपमा विकसित गर्न राज्यको लगानी वृद्धि गर्ने र नयाँ प्रतिभाहरूको खोजी गर्ने नीति लिएको देखिन्छ भने दक्षिणपन्थी दलहरूले बजारलाई चलायमान हुन बाधक नीतिहरूलाई हटाएर आर्थिक वृद्धि हासिल गर्ने नीति लिएको देखिन्छ।
प्रगतिशील एवं अहिले संसदको ठूलो दलका उम्मेदवारले उत्कृष्ट लोकतान्त्रिक मुलुकलाई दोस्रो र निष्पक्ष अर्थतन्त्रलाई तेस्रो प्राथमिकतामा राखेका छन्। उनीहरूले प्रगतिशील दल भएको कारणले लोकतन्त्र र बजार व्यवस्थापनलाई उच्च प्राथमिकता दिएको देखिन्छ।
त्यस्तै श्रमिकले सम्मान प्राप्त गर्ने र हरेक नागरिकले आफ्नो अधिकार उपयोग गर्न पाउने समाज निर्माण, जलवायु परिवर्तनसँग जुध्ने जस्ता मुद्दाले उच्च प्राथमिकता पाएका छन्।
निवर्तमान राष्ट्रपतिको दलले दोस्रोमा एआई र ऊर्जा क्षेत्रमा शक्तिशाली मुलुकलाई दोस्रो र युवाहरूलाई अवसर प्रदान गर्ने विषयलाई तेस्रो प्राथमिकतामा राखेको छ।
घट्दो जन्मदरको समाधान, साना व्यापारीहरूलाई सहयोग गर्ने, विपद् व्यवस्थापन र उत्तर कोरियालाई जित्न सक्ने शक्ति आर्जनलाई उच्च प्राथमिकता दिएको छ। दक्षिणपन्थी दल भएकै कारण उसले चलायमान बजार, शक्तिशाली मुलुक बन्न आवश्यक जनसंख्या वृद्धि र बाह्य कूटनीतिक सम्बन्धलाई प्राथमिकता दिएको देखिन्छ।
अन्य दलको तुलनामा युवा उम्मेदवारलाई अगाडि सारेको न्यू रिफर्म पार्टीले चीन र भियतनाममा रहेका कोरियन उद्योगलाई कोरियामा फिर्ता भित्र्याउने, स्थानीय सरकारको क्षमता विकासलाई क्रमशः दोस्रो र तेस्रो प्राथमिकताको रूपमा अगाडि सारेका छन्।
नयाँ दल भए पनि युवालाई अवसर दिने विषय र विज्ञान प्रविधिको विकासमा राज्यले लगानी गर्ने भन्दा बजारमा सो क्षेत्रको लगानी वृद्धि एवं जनशक्ति विकासलाई प्राथमिकता दिएको देखिन्छ।
मतबाट बाटो बदल्ने मतदाताको प्रतिबद्धता
संकट चुलिरहँदा समस्याबाट भाग्ने प्रवृत्ति कोरियाली जनताले देखाएनन् । उनीहरूले राजनीतिक संकटका बीच भइरहेको निर्वाचनमा मतादेशबाट समस्या समाधानको बाटो देखाउन सक्रियतापूर्वक भाग लिए ।
मतदाताले चुनावी एजेन्डा र नेताहरूको छबिको आधारमा मतदान गरेको स्थानीय सञ्चार माध्यमहरूले खबर लेखेका छन् ।
दुई दिनको अग्रिम मतदान अवधिमा करिब १ करोड ५४ लाख दक्षिण कोरियन मतदाताले राष्ट्रपतीय उम्मेदवार छान्न आफ्नो मत हालिसकेका छन्।
देशभरिका ३,५६८ मतदान केन्द्रहरूमा भएको दुई दिनको प्रत्यक्ष मतदानमा मतदाता सहभागिता ३४.७४ प्रतिशत मात्र पुगेको कोरियाको निर्वाचन आयोगले जनाएको छ।
पहिलो दिन अर्थात् बिहीबारको मतदान दर १९.६८ प्रतिशत पुगेपछि, यसपटकको निर्वाचनले नयाँ कीर्तिमान राख्ने आशा गरिए पनि बिस्तारै मतदान प्रतिशत घटिरहेको छ । पछिल्लो समय मतदान प्रतिशत घट्नुमा अग्रिम मतदान केन्द्रहरूमा देखिएको कमजोर व्यवस्थापनलाई पीपल्स पावर पार्टी पार्टीका अन्तरिम अध्यक्ष किम योंग तेले आरोप लगाएका छन् ।
युन सुक योलको मार्शल लपछि उत्पन्न राजनीतिक संकटबाट अझै जुधिरहेको देशका लागि यो निर्वाचन निर्णायक मोड हुने अपेक्षा गरिएको छ।
केही सिकाइ
दक्षिण कोरियाका सम्वर्द्धनवादी पार्टीहरू अति दक्षिणतिर ढल्किएपछि लिबरल पार्टीबाट राष्ट्रपतिका उम्मेदवारले म लिबर पार्टीको भए पनि हाम्रा साथीहरू अति दक्षिणपन्थतिर ढल्किएकाले आफ्नो पार्टीका प्राथमिकता बदल्ने बताए ।
यो भनेको यसअघि पार्टीले वितरणलाई बढी प्राथमिकता दिइरहेको सन्दर्भमा अब वृद्धिलाई पनि उत्तिकै महत्व दिने भन्ने हो ।
दस्तावेज र भाषणमा चर्का सिद्धान्तका कुरा गर्ने तर व्यवहारमा विचारधारात्मक भेद नै नरहने गरी काम गर्ने अभ्यासबाट उनी मुक्त देखिए ।
एजेन्डा र सिद्धान्त परिवर्तन जनतालाई ढाँटेर होइन, सार्वजनिक रूपमा घोषणा गरेर गर्नुपर्छ भन्ने कोरियाले दिइरहेको देखिन्छ ।
उनी ५० प्रतिशतभन्दा बढी लोकप्रिय मत ल्याइरहेका छन् र जितको सम्भावना बलियो बनाइरहेका छन् । यसको सन्देश हो- पार्टीको सिद्धान्त कुनै वाद सापेक्ष भइरहँदैन, यो स्थिर रहने विषय होइन, वाद र विचार समाजको सन्दर्भले माग गर्ने विषय हो ।
दलहरूले घोषणा गरेका आफ्ना प्रमुख १० चुनावी प्राथमिकताहरूले उनीहरूको आधिकारिक दस्तावेज र घोषणापत्रलाई नै प्रतिनिधित्व गर्छन् ।
प्रतिक्रिया 4