+
+
Shares

गौमुखी भ्रमण वर्ष २०८२ घोषणा, एक लाख पर्यटक भित्राउने लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते ६:४७
Photo Credit : Salim Miya

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्युठानको गौमुखी गाउँपालिकाले ‘गौमुखी भ्रमण वर्ष २०८२’ सुरु गरी एक लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ।
  • पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेले भ्रमण वर्ष उद्घाटन गर्दै गौमुखीको पर्यटन विकासमा सरकारको प्रतिबद्धता व्यक्त गरे।
  • भ्रमण वर्षले गौमुखी क्षेत्रको प्राकृतिक र सांस्कृतिक स्थलहरू प्रवर्द्धन गरी क्षेत्रको समग्र विकासमा मद्दत गर्ने अपेक्षा गरिएको छ।

१८ जेठ, काठमाडौं । प्युठानको गौमुखी गाउँपालिकाले एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यसहित ‘गौमुखी भ्रमण वर्ष २०८२’ सुरु गरेको छ ।

शनिबार गौमुखी गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले भ्रमण वर्ष उदघाटन गर्दै गौमुखीको पर्यटन विकासमा सरकारको तर्फबाट आवश्यक पहल गरिने प्रतिबद्धता जनाए ।

‘पर्यटन नेपालको समृद्धिको आधार हो,’ मन्त्री पाण्डेले भने, ‘प्रदेश र स्थानीय तहसँग समन्वय गरेर गौमुखी प्रवर्द्धन गरिनेछ ।’

गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु गिरीले भ्रमण वर्ष समग्र क्षेत्रको विकासमा कोसेढुंगा सावित हुने बताए । उपाध्यक्ष महावीर रानाका अनुसार भ्रमण वर्षले प्रचारप्रसारको अभावमा ओझेलमा परेको गौमुखी क्षेत्रलाई पुनः उजागर गर्ने अवसर प्रदान गरेको छ ।

वर्षभर चल्ने भ्रमण अभियानमा गौमुखी गुफा, बाइस मुल झरना, झाक्रीढुङ्गा, रानीताल, अर्खा–रजवारा झोलुंगे पुल, गोद्रेचौर, टोपरे गुफा लगायत धार्मिक तथा प्राकृतिक स्थलहरू प्रमुख आकर्षण हुनेछन् । यस्तै, यानिमाया भाका, मारुनी, सोरठी, पञ्चेबाजा लगायत स्थानीय सांस्कृतिक कार्यक्रमहरू पनि समेटिनेछन् ।

पर्यटक सुविधाका लागि गौमुखी नजिकैको अर्खा गाउँमा होमस्टे सेवा सञ्चालनमा ल्याइएको छ ।

यसअघि, वि.सं. २०७५ मा नेपाल पत्रकार महासंघ प्यूठानले ‘गौमुखी मिडिया सम्मेलन’ आयोजना गरी क्षेत्रको पर्यटन सम्भावनाबारे बहस अघि सारेको थियो ।

गौमुखी गाउँपालिका–२ मा अवस्थित झिमरुक नदीको उद्गमस्थल ‘गौमुखी गुफा’ यस क्षेत्रको मुख्य आकर्षण मानिन्छ । गाईको मुखजस्तो आकारको ढुंगाबाट निरन्तर पानी झर्ने भएकाले यसको नाम गौमुखी रहन गएको स्थानीय बताउँछन् ।

गौमुखी सदरमुकाम खलंगाबाट झन्डै ४० किलोमिटरको सडक यात्रा र करिब एक घण्टाको पैदलयात्रापछि पुग्न सकिन्छ । विशेषगरी माघे संक्रान्तिमा यहाँ ठूलो मेला लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?