+
+
Shares

काेशीमा राइड सेयरिङ : यातायातकाे सिन्डिकेटसँग झुक्याे दुई तिहाइकाे सरकार

हरि अधिकारी हरि अधिकारी
२०८२ जेठ १७ गते २२:१५

१७ जेठ, विराटनगर । राइड सेयररिङ सम्बन्धी विवादमा कोशी प्रदेश सरकार यातायात व्यावसायीकै पक्षमा उभिएकाे छ । कोशीमा कांग्रेस एमालेको दुई तिहाइ बहुमतसहितको सरकार छ ।

यही सरकारले अध्यादेश मार्फत राइड सेयरिङ सम्बन्धि कानुनी निर्माण गरेको हाे । गत १७ बैशाखमा जारी अध्यादेशमा समावेश यो प्रावधान कार्यान्वयनका लागि कोशी प्रदेश सरकार नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघकै पक्षमा उभिएको हो ।

राइड सेयरिङले आफ्नाे व्यावसायमा असर गर्ने भएपछि सिन्डिकेट चलाइरहेका यातायात व्यावसायीले राताे नम्बर प्लेटलाई राइड सेयरिङ गर्न नदिने अडान राखेका थिए । यहीँ मागसहित नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघकाे नाममा देशभर आन्दाेलन भइरहेकाे छ ।

गण्डकी प्रदेश सरकारले निजी नम्बर प्लेटलाई राइड सेयरिङ सञ्चालनको अनुमति दिएपछि यातायात अवरुद्ध नै गरेका थिए । गण्डकी प्रदेश सरकारले ‘गण्डकी प्रदेश राईड सेयरिङ ( नियमन र व्यवस्थापन) नियमावली २०८२ जारी गर्दै राइड सेयरिङमा प्रयोग हुने सवारी साधनमा ‘आरएस’ लेखिएको गोलो राख्नुपर्ने प्रावधान राखेकाे थियाे ।

कोशी प्रदेशमा यातायात व्यावसायीले निजी (रातो नम्बर) नम्बर प्लेटमा राइड सेयरिङ सञ्चालन गर्न नदिने अडान राखे,उनीहरुले छुट्टै रङको नम्बर प्लेट राख्नुपर्ने प्रस्ताव गरेका थिए । कोशी प्रदेश सरकार व्यावसायीको माग अनुसार छुट्टै रङ राख्न तयार भएको हो ।

शुक्रबार भएको छलफलमा सरकारसँग छुट्टै रङकाे नम्बर प्लेट राख्न सहमति भएको नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले बताए । उनका अनुसार प्रदेशमा राइड सेयरिङ सञ्चालनका लागि प्रदेशमा छुट्टै रङको नम्बर प्लेट प्रयोग गर्नुपर्ने कानुन बन्नेछ ।

प्रस्तावित नमूना नम्बर प्लेट

श्रेष्ठले प्रदेश सरकारलाई राइड सेयरिङमा प्रयोग हुने सवारीको नमुना नम्बर प्लेट पनि सरकारलाई उपलब्ध गराएका थिए । रातो नम्बर प्लेटलाई राइड सेयरिङ सञ्चालन गर्न दिदा जोखिम हुने भएकाले नम्बर परिवर्तन गर्नुपर्ने बताए ।

‘सेवाग्राहीले राइड सेयरिङको सवारी चिन्नका लागि छुट्टै नम्बर प्लेट हुनुपर्छ,’ उनले भने,‘ हामी कालाे नम्बर प्लेट प्रयाेग गर्छाै‌, राइड सेयरिङले कालाे नम्बर प्लेट प्रयाेग नगरेपनि रातो नम्बर प्लेट प्रयाेग गर्न मिल्दैन् ।’

प्रस्तावित नमूना नम्बर प्लेट

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले प्रदेशमा राइड सेयरिङका लागि छुट्टै रङको नम्बर प्लेट हुने बताए । उनका अनुसार सवारी भने निजी नै हुनेछ । ‘निजी सवारीलाई राइड सेयरिङ सञ्चालन गर्न दिन्छौं, तर यसको दर्ता प्रक्रिया र नम्बर प्लेट छुट्टै बनाउँछौं,’ उनले भने,‘ अध्यादेशमा पनि ‘तोकिएको प्रक्रिया पूरा गरी’ राइड सेयरिङ सञ्चालन गर्ने उल्लेख छ ।’ उनका अनुसार राइड सेयरिङ सम्बन्धि नियमावली बनाएर कार्यान्वयन गरिनेछ ।

के छ अध्यादेशमा ?

कोशी प्रदेश सरकारले पनि राइड सेयरीङ्ग सम्बन्धि अध्यादेश मार्फत कानुन निर्माण गरेपनि कार्यान्वयनमा भने आइसकेको छैन । कोशीमा राइड सेयरिङ गर्नेले दुई र चार पाङ्ग्रे सवारीले छुट्टै अनुमति पत्र लिनुपर्ने हुन्छ । सरकारले तोकिदिएको भाडामा यात्रीको बिमा गरी यात्री ओसारपसार गर्न सकिनेछ ।

प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ मा राइड सेयरिङ सम्बन्धि प्रावधान थिएन् । तर सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ को दफा ८ मा उपदफा ४ थप गरी सो राइड सेयरिङलाई सम्बोधन गरेको हो ।

उपदफा (३) पछि देहायको उपदफा (४) थप गरेको अध्यादेशमा भनिएको छ,‘उपदफा (२) मा जनसुकै कुरा लेखिएको भएता पनि निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चार पाङ्ग्रे तथा दुइ पाङ्ग्रे सवारीले छुट्टै अनुमति पत्र लिई तोकिएको प्रक्रिया पूरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिई यात्री बीमा गरी यात्री ओसारपसार (राइड सेयरीङ्ग) गर्न सक्नेछ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?