
१७ जेठ, पोखरा । तरुण दल लमजुङको अधिवेशनमा विवादका क्रममा ज्यानै मार्ने उद्देश्यले खुकुरी प्रहार हुँदा ४ जना घाइते बने । आँखै अगाडि खुकुरी प्रहार हुँदा पनि पक्राउ नगरी छोडिदिएको प्रहरीले तत्काल जाहेरीसमेत लिएन । नेताहरूको दबाबमै जाहेरी दर्ता भयो र खुकुरी हान्ने १ जना पक्राउ परे ।
खुकुरी हान्नेलाई कानुनी कारबाही अगाडि नबढाउन दबाबकाबीच जाहेरी दर्ता भएपछि प्रहरीले अझै ४ जना फरार रहेको बताइरहेको छ । नेताहरूकै वरिपरि हिँडिरहेको खबर पाए पनि प्रहरीले पक्राउ गर्न नसकेको पीडितले गुनासो गरिरहेका छन् ।
प्रहरीले उनीहरूको खोजी भइरहेको जनाएको छ । तर, खुकुरी प्रहारका अभियुक्तले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग बैठक गरेका छन् ।
खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले खाजी गरिरहेका फरार अभियुक्त तथा तरुण दल लमजुङका कार्यबाहक अध्यक्षसमेत रहेका कुमराशी गुरुङ (भूपेश)ले देउवासँग भेटघाट तथा बैठक गरेको तस्वीर सामाजिक सञ्जालमै आएको छ ।
गत जेठ ३ गते तरुण दल लमजुङको अधिवेशनका क्रममा विवाद हुँदा खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट नगरपालिका–९ का वडाअध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य शंकर सापकोटा घाइते भएका थिए ।
चौतर्फी दबाबपछि घटना भएको ७ गतेमात्र जाहेरी दर्ता गरेर ५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । मध्यनेपाल नगरपालिका–७ का किरण गुरुङ, सोही वडाका धनबहादुर तामाङ, राइनास नगरपालिका–६ का गणेश गुरुङ र मर्स्याङ्दी गाउँपालिका–५ का कुमराशी गुरुङ (भूपेश) र होमराज घलेलाई ज्यान मार्ने उद्योगमा पक्राउ पूर्जी जारी भएको छि ।
किरण गुरुङलाई प्रहरीले १५ गते प्रक्राउ गरेको थियो । बाँकी अहिलेसम्म फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर शाह तेलीले जानकारी दिए । ‘उनीहरूको खोजी कार्य भइरहेको छ । सबैलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउँछौं,’ तेलीले भने, ‘किरणलाई भने ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।’
प्रहरीले खोजी गरिरहेको भनिएका ज्यान मार्ने उद्योगका फरार अभियुक्त भूपेशले देउवासँग बैठक तथा भेटघाट गरेका हुन् । गण्डकीका अर्थमन्त्रीसमेत रहेका कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङ, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ, सुन्दरबजार नगरपालिका प्रमुख कृष्ण कोइराला, नेपाली काङ्ग्रेस जिल्ला सभापति तथा गण्डकी अर्थ मन्त्री टकराज गुरुङ, नेवि संघ केन्द्रीय सदस्य राजकुमार गुरुङ, तरुण दल केन्द्रीय सदस्य बृषराज गुरुङ, नेपाली कांग्रेस लमजुङ जिल्ला उपसभापति श्रीकान्त घिमिरे, जिल्ला सचीव कृष्णबहादुर अधिकारीसहित भूपेशले देउवासँग भेटवार्ता गरेका हुन् ।
तरुण दलका केन्द्रीय सदस्य सरोजबहादुर केसीले सो तस्वीर सामाजिक सञ्जालमै सार्वजनिक गरेका छन् ।
‘नेपाली कांग्रेसका सभापति, सम्माननीय पूर्व प्रधानमन्त्री आदरणीय दाइ शेरबहादुर देउवा ज्यूसँग नेपाल तरूण दल केन्द्रीय अध्यक्ष आदरणीय दाजु विद्वान गुरुङज्यूले नेपाल तरुण दल, लमजुङको पांचौं जिल्ला अधिवेशन र अरू जिल्ला तरूण दलको विविध विषयमा भेटघाट गर्नुभएको छ,’ शाहीले फेसबुकमा लेख्दै भूपेशसहितको तस्वीर सार्वजनिक गरेका छन् ।
पछि शाहीले फेसबुक पोस्ट इडिट गर्दै भूपेश देखिएको सामूहिक तस्वीर भने हटाएका थिए ।
तरुण दलको अधिवेशन लमजुङबाट सुरु भएको थियो । तर, लमजुङमा विवाद मात्रै होइन, हिंसात्मक घटना नै घटेपछि स्थगित भएको थियो । खुकुरी प्रहार भइसकेपछि पनि अधिवेशन चलाइरहेको भन्दै देउवाकै फोनपछि स्थगित भएको अधिवेशन फेरि हुन सकेको छैन ।

गुण्डागर्दी पृष्ठभूमि भएका ललित गुरुङ भूपेशलाई कार्यवाहक अध्यक्ष दिएर हङकङ गएका छन् । भूपेशलाई अध्यक्ष बनाउने गरी भएको अधिवेशनमा संस्थापनइतर समूहले विरोध गरेपछि विवाद उत्पन्न भएको थियो ।
संस्थापनइतरका लमजुङका पूर्व सभापतिसमेत रहेका भेषबहादुर पौडेल समूहले वैद्यानिकतामाथि नै प्रश्न उठाउँदै आफूलाई निषेध गरेर अधिवेशन गरिएको भन्दै नाराबाजी गरेपछि वेसीसहर बजारमा खुकुरी प्रहार गरिएको फोटो–भिडियो नै सार्वजनिक भएको थियो ।
लमजुङमा देउवा समूहका डा. टकराज र शेखर कोइराला–गगन समूहका भेषबहादुरबीच प्रतिष्ठा र निषेधकै लडाईँ छ । नेताहरूको समूहबीच प्रतिशोध नै साँधिएपछि घटना घटेको थियो ।
अहिले फरार अभियुक्तलाई लिएर अर्थमन्त्री डा. टकराज नै सभापति देउवासँग पुगेका हुन् । ज्यान मार्ने उद्योगमा फरार अभियुक्त नेताहरुको संरक्षणका कारण उम्किँदै हिँड्ने र पार्टी सभापतिसँग नै बैठक गर्ने गरेपछि घाइते पीडित भने न्याय पाउनेमा सशंकित बनेका छन् ।
‘ज्यान मार्ने नियतले नै प्रहार भएको थियो । तर, सुरुमा जाहेरी लिन मानिएन । पछि पक्राउ पुर्जी जारी भएर पनि अहिलेसम्म पक्राउ गरिएको छैन,’ खुकुरी प्रहारबाट घाइते बनेका सुदीप अधिकारीले भने, ‘फरार अभियुक्त नै शक्ति केन्द्र धाउँदै हिँडेको देखिएको छ । यसले त कानुनी राज्यकै उपहार गरेको महसुस गराएको छ ।’
पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बेसीसहर बजारमै दुई मन्त्रीको द्वन्द्वले खुकुरी प्रहार भएको थियो ।
नेपाली कांग्रेसको १३ औं महाधिवेशनपछि शक्ति संघर्ष गर्दै र प्रतिष्ठाको लडाईं लड्दै आएका गण्डकीका अर्थमन्त्री गुरुङ र वन तथा वातावरण मन्त्री भेषबहादुरको टकरावकै कारण तरुणको पाँचौ जिल्ला अधिवेशन विवाद र आक्रमणको रणभूमि नै बन्न पुगेको थियो । दुई गुटको लडाईंले तरुणलाई विभाजितमात्रै गरिदिएन, हिंसात्मक प्रतिशोधकै रुपमा देखा परेको हो ।
प्रतिक्रिया 4