Comments Add Comment

पुस्तक समीक्षा : बहत्तरको भूकम्पको त्राशद वर्णन

‘बिर्सिएको मृत्यु’ उपन्यास प्रगति राईको ‘लेखककी स्वास्नी’ पछिको कृति हो । यो बहत्तरको विभत्स घटना भूकम्पबारे लेखिएको हो । कोरियामा काम गर्नेले आर्जन गरेको धनले काठमाडौंमा घर बनाउनै पर्ने । गाउँमा उद्योग खोलेहुने, आफ्नो गाउँ परिवर्तन गरे हुने हो । तर त्यस्तो सोच पटक्कै नभएका व्यक्तिहरू जो आर्थिक हैसियत अचानक प्राप्त गर्दछन् तर त्यो झ्वाम्मै झरेमा आत्महत्याबाहेक मानसिक हिसाबले केही सोच्दैनन् ।

यही मूल चिन्तनलाई डोर्याउने पात्र यो कृतिमा कोरियामा श्रम गरेर आर्जन गरेको कमाइले भक्तपुरमा तिनतले घर बनाउँछ । श्रीमती र बच्चाबच्ची बहत्तरको भूकम्पमा एक चिहान भएपछि पर्शुराम विछिप्त बन्छ । त्यही अर्धपागलको अवस्थामा पर्शुरामको बालसखा मधुरामसँग भेट हुन्छ । मधुराम लेखकीय आरोपित पात्र हो । मधुराम लेखक हो साथै एक रेस्टुरेन्ट व्यवसायी पनि । भूकम्पले थिलथिलो बनाएको काठमाडौंमा रेस्टुरेन्टबन्द छ । धेरै दिनपछि झिनो आशासहित रेस्टुरेन्ट खोल्छ । फाट्टफुट्ट ग्राहकहरू आउँछन् । जीवनको आश नाङ्गो हाँगामा पलाउने टुसाजस्तै बिस्तारै टुसाउँछ ।

पात्रहरू प्रायः भोजपुरकै थातथलोबाट काठमाडौं आएका हुन् । एउटा विहङ्गम सपनासहित । मधुरामको काम बालसखा पर्शुरामको मृत्युप्रेमलाई जीवनतिर मोड्नु हो । यो ‘युटर्न’ निक्कै कठिन छ । एकोहोरो बगिरहेको पैह्रो थाम्नुजस्तै हो यो । या बगिरहेको नदिमा आएको घनघोर बाढी सङ्‌लाउनुजस्तै हो ।

यो कृतिलाई अझै त्राशद र कुरुपताको महासंघारसम्म लान सकिन्थ्यो यदि भूकम्पको ‘लाइभ वर्णन’ गरिएको भए । तर ‘पोस्ट इभेन्ट’तिर आख्यानलाई लेखकले केन्द्रिकृत गरेकोले भुकम्पको मानसिक प्रभाव र पोस्ट म्यानेजमेन्टपटि लेखकको ध्यान फोकस भएको देखिन्छ । त्यसैले एक प्रकारले भन्दा ‘बिर्सिएको मृत्यु’ जीवन र मानवतावादी लेखन हो । घटनाभन्दा, घटनापछिको सेटलमेन्ट मानवलाई जरूरी हुन्छ भन्ने सन्देशपूर्ण लेखन यस कृतिमा छ । देशलाई आवश्यक पनि व्यवस्थापन नै थियो ।

मधुरामले एक्कासी बालसखा पर्शुराम भेटेपछि पर्शुराम मानसिक रूपले गलेको मृत्यु चिन्तन गर्ने जीवनप्रति निरास पाउँछ तर लेखक हार्दैन । लेखकको घरमा छुच्ची श्रीमती हुन्छ । साँघुरो कोठामा श्रीमती सुख छोडेर मित्रको जीवनलाई सामान्यीकरण गर्न लेखक हरदम प्रयास गर्छ । साहित्य लेखन गर्न, अनुभूतिहरुलाई लिपीबद्ध गर्न, फेसबुक स्टाटस लेख्न प्रेरित गर्छ । रेस्टुरेन्टमा व्यस्त राख्छ । बेहोसीको बेला स्याहार्छ । खतरनाक बदमासीलाई पनि माफ दिन्छ । सँगै दारु पिउँछ । मानवीय उदार भावनाले सहयोग गर्छ । विछिप्त र बिचलित भएकाहरूलाई मानवीय प्रेमले सहयोग गरेमा सामान्य जीवन जिउन सहयोग पुग्छ भन्ने गहन सन्देश छ । यो धर्ती प्रेमले संरक्षण गर्न सकिन्छ भन्ने शाश्वत प्रयोग छ उपन्यासमा ।

अहिले सामाजिक सञ्जाल वाहियात भन्नेहरूप्रति पनि फेसबुकको सहि प्रयोगले राम्रो काम गर्न सकिने तर्क उपन्यासमा छ ।

पर्शुले कोरियामा धेरै कमाई गरेर कमाएको आर्थिक हैसियतको भूकम्पीय विध्वंसलाई लेखकले अप्रत्यक्ष रूपमा खुशी पनि प्रकट गरेको छ । यो मानवीय अचेतन मनको प्रस्फुटन हो । यस्तो दुःखमा पनि मान्छेको मनको एकछेउबाट जलन पोखिरहेको हुन्छ । त्यो कुरा सबै लेखकले भन्दैनन् तर यस अर्थमा लेखक इमान्दार छन् । पर्शुको डायरी प्रकाशन गरेर आफू नाम कमाउने, चर्चित हुने महत्त्वकाक्षा इन्दिराले चोरेपछि लेखक मर्माहत हुन्छ ।

सर्वसाधारण मानिसको जीवन कथा

बाहिरका बासिन्दा काठमाडौं छिरेपछि गर्ने केही पेशामध्ये ‘रेस्टुरेन्ट एण्ड बार’ पनि एक हो । बारमा वेयटर, कुक, क्लिनरजस्ता सामान्यदेखि अलि खास जागिर म्यानेजरको पनि सृजनाहुन्छ । काठमाडौंको महानगरीय भिडमा धेरैले टिकी खाने स्रोत हो यो । यसर्थ, काठमाडौं मिश्रित नश्लको खोपिल्टो हो । गजलकार मधुराम आफू घरि सब्जी, मासु खरीद गर्न हतार हुन्छ घरि भूकम्प पीडितको सेमिनार धाउन, जिन्दगी व्यस्तताभित्र निर्माण गर्नुपर्ने । अन्तर्राष्ट्रिय निकायहरू भूकम्पसँग जोडिएर आएका छन् । इन्दिरा र लक्ष्मी त्यसैको प्रतिनीधि पात्रहरू हुन् जो ‘एनजीओ’ (गैर सरकारी संस्था) चलाउँछन् ।

यता भूकम्प पीडितलाई राहात संकलनमा साधारण वर्गको पनि त्यत्तिकै योगदान छ । इन्दिरा मधुराम, पर्शुराम र अन्य केही स्थानीय मिलेर लिएर गएको राहात राती नै भोको स्थानीयबाट बाटोमा चोरी हुन्छ । बाँकी राहात फाल्टुमा महङ्गो भाडा तिरेर गन्तव्यमा पुर्याइन्छ । मौकामा चौका हान्ने मात्र छन् । चाहिनेभन्दा अधिक भाडा ड्राइबरले लिन्छ । पर्शुराम एक स्थानीय दुःखी महिलालाई आमाको रूपमा स्वीकार्दै त्यही दुर्गम गाउँमा बस्ने, बाँकी जीवन पनि त्यहि बिताउने, श्रीमतीको स्मृति वृक्ष पीपल त्यही रोप्ने,फलैंचा बनाउने, सडक खन्ने जस्ता स्वप्नदायी आशा जगाउँछ पर्शुराम । यो पर्यावरणीय हिन्दु मिथिकल संस्कृतिको प्रयोगात्मक लेखनलेखकले गहिरिएर प्रयोग गरेका छन् । राहातमा भएका अन्य ढिलाई भ्रष्टाचारको यावत कैरन उल्लेख गर्न नसकेको अवश्य हो । संक्षिप्त रूपमा भए पनि मानवीय संवेदनाहरू माथि कृतिले बोलेको छ ।

पछिल्लो लेखन सांस्कृतिक लेखन हो । सांस्कृतिक लेखनमा सर्वप्रथम स्थानीय लवज मुख्य हो । राईहरू प्रायः आकार लाएर लेघ्रो तानेर बोल्ने भाषिकाको दुरुस्त लवज पर्शुरामको छ । सेविका लक्ष्मी पनि पछि त्यही भाषिका बोल्छे ।

भाषा प्रभावले र संगतले सिकिन्छ । कोरिया नेपालीहरूको आकर्षक गन्तव्य भएसँगै त्यहाँको भाषा संस्कृतिबाट पनि नेपालीहरू अछुतो छैन । त्यसैले उपन्यासमा प्रशस्त राई बान्तावा भाषीका र कोरियन भाषाको प्रयोग पाइन्छ । नेपाली भाषालाई विदेशी भाषाले दिनानुदिन प्रभावित बनाइरहेको छ । यसले एक प्रकारले समृद्धि प्राप्त हुँदैछ भने मौलिक नेपाली भाषा विस्थापित हुने सम्भावना उत्तिकै छ । तर नेपाली मातृभाषाको शब्दहरू नेपाली भाषाले लिनुमा लेखक कविहरूकै प्रमुख हात छ जुन असल पक्ष हो । भाषा प्रतिको जातिय प्रेम र सद्‌भाव हो लेखकमा गहिरो र अमिट छ ।

यस्तै उपन्यासमा राईको ‘तिनचुला मुन्दुमी मिथक’को पनि प्रयोग गरिएको छ । स्थानीय देवीदेउता कुलपृति मान्ने थान राख्ने ‘बिजुवा नछुङ’ र नाक्छोङलाई मुन्दुमर मुन्धुम बकाउने झारफुक संस्कार संस्कृतिप्रति अगाधप्रेम,श्रद्धा देखिन्छ । पीपलको रुख पूजा गर्ने नेवारी–हिन्दु मिश्रित उदार संस्कारको मिथकीय प्रयोग पनि छ ।

रगतको नाताभन्दा मानवताको नयाँ सम्बन्धको स्थापना विश्वले खोजिरहेको सम्बन्धको व्याख्या छ । संसार सम्बन्धको नेटवर्किङमा अनुबन्धित छ । हाम्रा सम्बन्धहरू रगतको कि मानवताको भन्ने बहस चलिरहेको हो । रगतबिना पनि संसारलाई मानवताको सम्बन्धले मजबुत बनाउन सकिन्छ भन्ने गहिरो मानवतावादी सन्देश युरोपियन लक्ष्मीले पर्शुरामको प्रेमिकाको नाटकमार्फत् निर्माण गरेकी छिन् । यो यस कृतिको सबैभन्दा शक्तिशाली पक्ष हो । ‘सम्पतिमा हाईहाई विपत्तिमा कोही न कोही’ नेपाली उखान चित खाएको छ । यो दुनियाँ विपतमा पनि मानवतावादी बन्न उद्यत छ । संसार त्यत्ति निष्ठुर छैन र हुनु हुँदैन । नत्र मान्छे यो सुन्दर धर्तीमा नालायक हुन्छ बाँच्नलाई । युरोपियनहरू हामीले सोचे जतिको गैरजिम्मेवार छैन भन्ने आदर्शवादी मानवतावादी सोच छ ।

सबैभन्दा सशक्त पक्ष सकारात्मक सोच, बाँच्नप्रेरित गर्ने सन्देश हो उपन्यासको । सबै गुमाएर पनि हामी बाँच्नुपर्छ, बाँच्न सकिन्छ । सम्बन्धहरू जतिसुकै शक्तिशाली र जन्मजात भएपनि फेरि निर्माण गर्न सकिन्छ ।

साहित्यको प्रयोजन के हो ? समाजले कवि लेखकलाई पश्न गरिरहेको अवस्थामा प्रगति राईले बाँच्न सिकाउने मार्ग प्रशस्त गर्नु पनि साहित्यको मूल कार्य हो भनेर परिवार, घर, सम्पति गुमाएर आत्महत्यालाई स्वीकार्य ठान्ने पर्शुरामलाई मधुरामले डायरी लेखन र अनुभूति लेखन गराएर बाँच्न सिकाइ मृत्यु बिर्साइएको घटनाबाट प्रमाणित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment