Comments Add Comment

जेठ ३२ अघिनै लकडाउनको मोडल फेर्ने तयारी

उच्चस्तरीय समन्वय समितिले प्रस्ताव तयार पार्दै

१९ जेठ, काठमाडौं । सरकारले जेठ ३२ अघिनै कोरोना संक्रमणको जोखिम हेरेर कम जोखिमका क्षेत्रमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ ।

मन्त्रिपरिषदको पछिल्लो निर्णय अनुसार उच्चस्तरीय समन्वय समितिले विज्ञको समेत राय लिएर कम जोखिम भएको क्षेत्रमा जनजीवन सामान्य बनाउने विषयमा प्रस्ताव तयार गर्ने भएको छ ।

मन्त्रिपरिषदको शनिबारको बैठकले जेठ ३२ सम्म लकडाउन निरन्तर गर्ने तर यसबीचमा सरोकारवाला र विज्ञहरुको राय सुझाव र अरु देशका अनुभव समेत हेरेर लकडाउनको मोडालिटी हेरफेर गर्ने निर्णय गरेको थियो ।

उच्चस्तरीय समन्वय समितिको एक दुई दिनभित्रै बस्ने बैठकमा राय सुझाव लिएर लकडाउन विस्तारै खुलाउँदै जनजीवन सामान्य अवस्थामा फर्काउनेबारे छलफल हुने समिति सदस्यसमेत रहेका पर्यटनमन्त्री योगेश भट्टराईले बताए । लकडाउन हटाउन दबाब दिदै गर्दा महामारी नियन्त्रण बाहिर जाने खतरातर्फ पनि विचार गर्नुपर्ने उनले बताए ।

कोरोनो संकट व्यवस्थापन समिति (सीसीएमसी)ले संक्रमणको अवस्था हेरेर रेड, ग्रीन र एलो जोनको सिफारिस गरेको छ ।यसअघिका कतिपय एलो र ग्रीन जोन भनिएका क्षेत्र अहिले संक्रमण बढेर रेड जोनमा पुगेकाले सीसीएमसीले पछिल्लो अवस्था अनुसार कहाँ कहाँ लकडाउन खुकुल्याउने भन्ने प्रस्ताव तयार पार्दैछ ।

काठमाडौं लगायतका क्षेत्रमा लकडाउन खुकुलो बनाउने तर स्कूल कलेज, सिनेमा हल लगायत भिडभाड हुने क्षेत्रहरु भने बन्दै रहने गरि छलफल भइरहेको छ । रेष्टुरेन्टहरुमा पनि शुरुमा मान्छेहरु बसेर खानपिन गर्ने भन्दा पनि ‘टेक वे’ होम डेलिभरीका रुपमा खुलाउने र पछि विस्तारै मापदण्ड बनाएर एउटा टेबुलमा बढीमा २ जनासम्म बस्ने गरि खुलाउँदै जान सकिनेबारे छलफल भइरहेको छ ।

स्रोतका अनुसार लकडाउन खुकुलो बनाउनेमा प्रधानमन्त्री केपी शर्मा ओली अझै अनुदार छन् । उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरु जोखिम कम भएका क्षेत्रमा आर्थिक गतिविधि बढाउने र जनजीवन सामान्य गराउने पक्षमा रहे पनि प्रधानमन्त्री भने आश्वस्त हुन सकेका छैनन् ।

एक मन्त्रीले भने ‘भोलि एकैपटक संक्रमण बढेर महामारी नियन्त्रण बाहिर जान थाल्यो भने के गर्ने ? अस्पतालले धान्दैनन्, डाक्टरहरु भागाभाग हुन्छन्, परिस्थिति हाम्रो काबु बाहिर जानसक्छ भन्ने कुरा प्रधानमन्त्रीको छ । कतिपय देशको अनुभवले उहाँको आशंकालाई बल पुग्छ तर लकडाउन लम्ब्याइरहदा असन्तुष्टि बढ्ने खतरा पनि छ ।’

पछिल्ला दिनमा कोरोना सांक्रमण तीब्र रुपमा बढिरहेको छ । तर संक्रमितहरु प्रायः सबै भारतीय नाकाबाट भित्रिएकाहरु रहेकाले ती क्षेत्रमा लकडाउन कडाइ गर्दै कम जोखिमका क्षेत्रको जनजीवन खुकुलो बनाउने सम्भावना रहेको छ । विस्तारै कोरोनासँग जुधेर जनजीवन अघि बढाउनुको विकल्प नरहेको सरकारका मन्त्रीहरुको पनि बुझाइ छ ।

मन्त्रिपरिषदको पछिल्लो बैठकमा कोरोनासँग संघर्ष गर्दै अघि बढ्नुको विकल्प नरहेको बारे चर्चा समेत भएको थियो । संक्रमणको खतरा लामो समयसम्म कायमै रहने भएकाले सधैं लकडाउनमा बसेर सम्भव नहुने कोणबाट सो विषय उठेको मन्त्रीहरुले बताएका छन् ।

जेठ ३२ अघिनै काठमाडौं लगायत पहाडी र हिमाली जिल्लाहरुमा लकडाउन खुकुलो बनाएर सावधानीपूर्वक जनतालाई नियमित गतिविधिमा फर्काउनेबारे छलफल भइरहेको छ । उच्चस्तरीय समन्वय समितिले सबै परिस्थ्तििको आँकलन गरेर विज्ञहरुको सुझाव सहित मन्त्रिपरिषदमा लकडाउनको मोडालिटी फेर्न प्रस्ताव लैजाने बताइएको छ ।

समितिले कतिपय जनस्वास्थ्य विज्ञहरुसँग रायसुझाव लिइरहेको छ । स्वास्थ्य मन्त्रालयले पनि लडकाउनेका बारेमा आफ्नो सझुाव दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment