१७ असोज, काठमाडौं । नेपाली कांग्रेसमा केन्द्रीय समितिको आकार बढाउनु पर्ने सुझावहरू आएको छ।
विधान संशोधन मस्यौदा समितिलाई पदाधिकारीको संख्या र खुला केन्द्रीय सदस्यको संख्या बढाउन सुझाव आएको छ। समितिले पार्टीका संरचना र भातृ संस्थाहरूलाई विधान संशोधनका लागि सुझाव आह्वान गरेको थियो।
प्राप्त सुझावहरू एकीकृत गर्ने कार्य भएको र समितिको आज वा भोलि बिहान बैठक गरेर पार्टीमा पेस गर्ने मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले जानकारी गराए। पदाधिकारीमा महिला संख्या थप्नु पर्ने सुझाव आएको छ।
उपसभापतिमा एक जना महिला हुनुपर्ने विधानमा नै व्यवस्था गर्नुपर्ने विषय पार्टीमा उठेको छ। हालको विधानको व्यवस्था अनुसार दुई उपसभापति हुने प्रावधान छ। पदाधिकारीमा सहमहामन्त्री माथिका पदमा महिला कोटा छुट्टै हुने व्यवस्था गरिएको छैन ।
विधान मस्यौदा समितिलाई आएको अर्को सुझावमा सह-महामन्त्री पदमा पनि खुला प्रतिस्पर्धाको व्यवस्था राख्नुपर्ने छ। हालको व्यवस्था अनुसार समावेशिताको आधारमा ८ जना निर्वाचित हुने व्यवस्था छ। ११ जना हुने सह महामन्त्रीमा ३ जना मनोनित गर्ने अधिकार सभापतिलाई छ। सहमहामन्त्री समावेशी क्लर अनुसार जनजाति, महिला, खस आर्य, दलित, मधेशी, थारु र पिछडिएको क्षेत्र गरेर ८ जना निर्वाचित गर्ने हालको व्यवस्था छ ।
खुला केन्द्रीय सदस्यको संख्या बढाउनु पर्ने विषय पनि कांग्रेसमा उठेको छ। खुला केन्द्रीय सदस्य ३५ जना हुने विधानको व्यवस्था छ। उक्त संख्या बढाउनुपर्ने सुझाव आएको समिति सदस्य सचिव पौडेलले जानकारी गराए। पौडेलले अनलाइनखबरसँग भने, ‘ विभिन्न सुझावहरू आएका छन्। विधान मस्यौदा समितिमा छलफल गरेर पार्टीमा पेश गर्छौं।’
विधान मस्यौदा समितिले पेश गरेको विधानलाई केन्द्रीय समितिले अनुमोदन गरेपछि परोटका लागि महाधिवेशनको हलमा पेस गरिने छ ।
२३१ सदस्यीय केन्द्रीय समिति हुने गरी विधान संशोधन गरिएको छ। पदाधिकारी १७ सदस्यीय हुने व्यवस्था गरिएको छ। ६१ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने व्यवस्था राखिएको छ। ३५ वर्षमुनिका २१ जना केन्द्रीय सदस्य हुनेछन् ।
प्रतिक्रिया 4