नीलम कार्की निहारिका मदन पुरस्कार र पद्यश्री साहित्य पुरस्कार विजेता साहित्यकार हुन् । हाल अमेरिकामा बस्दै आएकी उनले योगमाया उपन्यासका लागि २०७४ मा मदन पुरस्कार र चीरहरणका लागि पद्मश्री साहित्य पुरस्कार प्राप्त गरेकी थिइन् । उनको पहिलो उपन्यास मौन जीवन सन् १९९४ मा प्रकाशित भएको थियो ।
उनका प्रमुख कृतिहरूमा योगमाया, चीरहरण, द्रौपदी अवशेष, अर्की आइमाई र राजमाता आदि हुन् । राजमाता उनको पछिल्लो उपन्यास हो । प्रायः महिला अधिकार, सामाजिक असमानता, इतिहास र पुरुष प्रधान समाजका विषयहरू उनको लेखनीमा झल्किन्छ । यसपटक उनैसँग अनलाइनखबरले दिलै खोलेर कुराकानी गरेको छ ।
१. हिजो आज
पछिल्लो समय के कुराले वा कुन समाचारले खुसी हुनु भयो ?
मेरो कान्छो छोरा भर्खरै १८ वर्षको भए । केही दिन अघि उसलाई यूनिभर्सिटीबाट लिएर घर फर्किँदै थिएँ । ३० मिनेटको दूरी तय गर्दैगर्दा विभिन्न शीर्षकमा कुरा भए । त्यही क्रममा मैले एक विषय उठान गरेँ ।
उनले भने – ‘ह्वाइ डोन्ट यू राइट अ नोभेल अबाउट दिस्’ उनको त्यो एउटा प्रश्नले मलाई एकछिन अचम्ममा पारिदियो ।
ठूलो छोरालाई मेरो लेखन र साहित्यमा चासो छ भन्ने कुरा मैले धेरै पहिलेदेखि महसुस गर्दै आएकी थिएँ । तर सानो छोरालाई पनि मेरो लेखनमा त्यतिविधि रुचि छ भन्ने लागेको थिएन । मेरो लेखन यात्रामा श्रीमानको साथ त सधैँ रहँदै आएको छ, ठूलो छोराले पनि धेरैपटक मलाई विषय, विचार र लेखनमा परामर्श दिँदै आएको छ ।
उनैले सुझाए अनुसार मैले द्रौपदी अवशेष लेखेकी थिएँ । तर कान्छो छोरोको त्यस प्रकारको अभिव्यक्ति कहिले पनि कल्पना गरेकी थिइनँ । मेरो लेखनलाई उनले दिएको अत्यन्त ठूलो सम्मान थियो ।
सोचेँ, ओहो ! मेरो कान्छो छोराले पनि मेरो लेखनलाई यति गम्भीरतापूर्वक हेर्दोरहेछ । मेरा कुराहरू सुनेर, आफ्नै तरिकाले त्यसलाई साहित्यको विषयसँग जोड्ने रहेछ । कहिलेकाहीँ जीवनका ठूला खुसीहरू यस्तै साना-साना क्षणमा लुकेका हुँदारहेछन् । त्यस दिन मैले अर्को कुरा पनि महसुस गरेँ – आफ्ना सन्तानले लेखनलाई बुझेर मेरो आमाले लेख्नुहोस् भनी सोचेर एउटा विषयवस्तु नै सुझाइदिनु भन्दा ठूलो खुसी अरू के होला र !
केही बेरमा मैले भने ‘तर मैले त्यसमा उपन्यास लेख्नु अघि फिल्ड भिजिट गर्नुपर्छ । धेरै अध्ययन गर्नुपर्छ ।’ अनि तत्काल छोराले भने ‘सो, ह्वाट्स द बिग डिल ? गो एण्ड रिसर्च इट । आइ विल टक टु बाबा, एण्ड आइ विल फाइन्ड सम बुक्स अवाउट टु ’
मैले त्यो कुरा घरमा पुगेर श्रीमानलाई सुनाएँ । अघिल्ल़ा वर्षहरूसम्म लेखनमा मलाई सधै घच्घचाउने आमा हुनुहुन्थ्यो । अब मेरा छोराहरूले त्यो जिम्मेवारी निभाउने भएछन् । अनि लाग्यो – दुई छोरा, श्रीमान् अनि म आफू, जम्मा चार आधारको कारण अझ बलियो गरि उभिन सक्ने रहेछु ।
दिक्क बनाएको कुरा ?
जलवायु परिवर्तनको ठूलो असर नेपालले भोगिरहेको छ । आफूले गर्दै नगरेको गल्तीको सजायँ पाए जस्तो लाग्छ । नेपाल अल्पविसकित, गरिब हुनुको दुर्भाग्य पनि सँगसँगै छ ।
केही समयअघि रसुवा बाढीले अपुरणीय क्षति पुर्याएको थियो । अहिले फेरि विभिन्न ठाउँमा बाढीपहिरोले बितण्ड मच्चाएको समाचारहरू आइरहेका छन् । पहाडहरू पहिरोले झरेका छन्, तराईलाई बाढीले लपेटेको छ । ठाउँठाउँमा जीवन विस्थापित भएको छ।
मेरो आफ्नै जन्म जिल्ला पाल्पामा पनि पहिरोमा मानिसहरू पुरिएको र ज्यान गएको घटना सुनेँ, पढेँ । देशदेखि टाढा छु । जन्मभूमिमा भएको यस्ता घटनाले निकै धेरै दु: ख लाग्दोरहेछ । पाल्पा मात्र होइन, देशका ठाउँठाउँमा यस्ता घटना भइरहेका छन् ।

कतै मानिसको ज्यान गएको छ, कतै घरबार गोठ बगेको छ, कतै परिवारले आफ्ना प्रियजन गुमाएका छन् । कतिको वर्षभरि बाच्ने आधार खेती, व्यवसाय नष्ट भएको छ । यी सबै कुराले मनमा गह्रौं केहीले थिचे जस्तो आभाष भइरहन्छ ।
अचेल सबभन्दा रोचक लागेको विषय वा व्यक्ति ?
अहिले म इतिहासमै काम गरिरहेकी छु । त्यसैकारणले गर्दा झन् बढी इतिहास पढ्न इच्छा लागिरहेको छ । इतिहासका विषयहरू पढ्दै जाँदा नयाँ-नयाँ कुरा थाहा पाउने र त्यसलाई आफ्नो लेखनसँग जोड्ने रुचि झन् बढ्दै गएको छ ।
पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? पत्रकारिता तपाईंलाई कस्तो लाग्छ ?
किन नहेर्नु ? हामी देशभन्दा बाहिर बस्ने धेरैको दिनको सुरुवात नै अनलाइन समाचार हेरेर हुन्छ भन्दा पनि फरक पर्दैन । अझै पनि सबैभन्दा पहिले घर देशका समाचारहरू नै हेर्छु । त्यहाँ के भइरहेको छ भन्ने जान्न सधैँ उत्सुक हुन्छु । अहिले त सूचनाहरू छिटोभन्दा छिटो सम्प्रेषण हुन्छन् । त्यसैले संसारको जुनसुकै कुनामा बसे पनि देशसँग जोडिएर रहन सजिलो भएको छ । समाजमा भइरहेका घटना, आवाज र सूचनाहरूलाई छिटोभन्दा छिटो मानिसहरूसम्म पुर्याउने महत्वपूर्ण माध्यम पत्रकारिता हो ।
इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?
मान्छेले भुलबाटै सिक्ने हो । तर कहिलेकाहीँ भुलबाट सिक्दा धेरै ढिलो भइसकेको हुँदोरहेछ । त्यसैले इतिहासमा फर्किएर आफूले गरेको कुनै काम सुधार्न पाएँ भने, सायद मेरो पढाइको बाटोलाई अलि फरक ढंगले अघि बढाउँथेँ कि जस्तो लाग्छ ।
कलेज पढ्ने बेलामा नै जीवनमा आफ्नो बाटो यही हो भनेर हामीले पहिल्याउन सक्ने रहेनछौं । मैले सुरुमा नर्सिङ पढेँ । त्यसपछि बीएड गरेँ । हेल्थमा एमएड गरेँ । पछि गएर नेपालीमा एमए गरेँ । पढेका विषय खेर जाने त होइन । स्वास्थ्य शिक्षा मेरो जीवनमा प्रयोग भयो, टेलिभिजनमा पनि स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू गरेँ । कलेजमा अध्यापन गरेँ । अर्थात् केही समय रोजगारी पनि पाएँ । त्यसैले ती सबै अनुभवको आफ्नै महत्व छ ।
तर अहिले पछाडि फर्केर हेर्दा, म साहित्यमा नै जीवनभर समर्पित हुनु थियो भने मैले सुरुदेखि नै साहित्य वा संस्कृत पनि पढेको भए अझ राम्रो हुन्थ्यो कि जस्तो लाग्छ । मैले धेरै तर्फ (पत्रकारिता, अध्यापन, चिकित्सा) तिर काम गर्दै साहित्यलाई पनि २०५१ देखि निरन्तर दोहोर्याइरहेँ । अन्य काम पेशातिर छरिएर भन्दा अलि पहिल्यै स्पष्ट भएर साहित्यमा मात्र सम्वद्ध भएर अघि बढेको भए भन्ने लाग्छ ।
तर फेरि, जीवनमा हामीले हिँडेका हरेक बाटोले हामीलाई केही न केही सिकाएको हुन्छ ।
त्यसैले ती पढाइ र अनुभवहरूलाई म गल्ती नै त भन्दिनँ । बरु आज म जहाँ छु, त्यहाँ आइपुग्न ती सबै बाटाहरूको पनि आफ्नो भूमिका छ भनेर चित्त बुझाउछु ।
२. बाल्यकाल र किशोरावस्था
सानोमा सबैभन्दा बढी कुन खेल खेल्नुहुन्थ्यो ?
खेल्ने खेलहरू पनि समय र उमेर अनुसार फरक-फरक हुन्थे । स्कुलमा हुँदा हामी धेरैजसो रुमाल लुकाउने खेल खेल्थ्यौँ । मेरी आमा मेरो विद्यालयमा शिक्षका हुनुहुन्थ्यो । उहाँले कहिलेकाहीँ कक्षाकोठाबाट बाहिर चौरमा निकालेर हामीलाई रुमाल लुकाउने खेल खेलाउनुहुन्थ्यो । कक्षाकोठामा फ्री टाइम हुँदा कहिलेकाहीँ हामी गट्टा खेल्थ्यौँं । र, गुरुहरूबाट पिटाइ पनि भेट्थ्यौं । अझ मैले डबल पिटाइ खान्थेँ । पहिला अन्य गुरुबाट अनि आमाबाट थप ।
विद्यालय समय भन्दा बाहिर डन्डीबियो खेलिन्थ्यो । लुगामारी खेलिन्थ्यो । एकखुट्टी खेलिन्थ्यो । म त सानो छँदा केटा साथीहरूसँग गुच्चा पनि खेल्थेँ । त्यतिबेला केटीहरूले गुच्चा खेल्ने त्यति चलन थिएन । तर मलाई भने गुच्चा खेल्न एकदमै मन पर्थ्यो ।
अहिले ती दिनहरू सम्झिँदा लाग्छ, खेलहरू सामान्य थिए, तर तीसँग जोडिएका सम्झनाहरू भने निकै विशेष रहेछन् । विशेषगरी मेरी आमाले हामीलाई आफैँ खेलाउनुहुने रुमाल लुकाउने खेलको त्यो सम्झना अहिले पनि मनमा ताजै छ ।
साथीहरूले तपाईंका निकनेमहरू के-के राखिदिएका थिए ?
घरमा म कान्छी छोरी भएकाले मलाई सान्नानी भनेर बोलाउनुहुन्थ्यो । केही साथी मलाई निलु भनेर बोलाउनेहरू पनि थिए । अनि त्यतिबेला मितिनी लगाउने निकै चलन थियो । मलाई पनि मितिनी लगाउने एकदमै रहर थियो तर मेरी आमाले मितेनी लगाउन दिनुहुन्नथ्यो । त्यसैले मितिनी लगाउन नपाए पनि केही साथीहरूले मलाई मितिनी भनेर बोलाउँथे ।
तपाईंको कोहीसँग झगडा परेको थियो ?
विद्यालय हुँदा त परेको सम्झना छैन । हामी त्यस बेलाका साथीहरू अहिले पनि भेट्ने गर्छौं । त्यस सन्दर्भमा कहिले कुरा भएको छैन । त्यस कारण पनि भन्छु, परेन नै । ४६ सालको परिवर्तन लगत्तै म कलेज पढ्न गएकी थिएँ । त्यस समय नेपालमा विभिन्न विद्यार्थी संगठनहरू सक्रिय भए र विद्यार्थीहरूबीच वैचारिक द्वन्द्वहरू मनग्गे हुन्थे । तर त्यो वैचारिक मात्र थिए , व्यक्तिगत द्वन्द्व थिएन । त्यसैले कसैसँग व्यक्तिगत रूपमा मनमुटाव हुने वा झगडा हुने अवस्था आएन ।

अन्य समय कोहीसँग कतिपय कुराहरू चित्त नबुझेका पनि होलान् । पढाइ होस्, जागिर होस् वा काम गर्ने क्रममा होस्, कुनै मिसअन्डरस्ट्यानिङ भएमा झुक्ने भनौं कि सम्झौता गर्ने भनौं – मेरो बानी थियो ।
कतिपय अवस्थामा त्यसको फाइदा पनि भएको छ, कतिपय अवस्थामा बेफाइदा पनि । सम्बन्ध बिग्रिनुभन्दा बरु आफूले अलिकति पछाडि हटेर भए पनि सम्बन्ध जोगाउनु राम्रो हो भन्ने लाग्थ्यो । कहिलेकाहीँ मैले नै किन सम्झौता गरेँ होला ? भन्ने पनि लाग्थ्यो । आमाले सानामा कथा भन्ने क्रममा पटक-पटक कृष्ण र शिशुपालको घटना सुनाउनुहुन्थ्यो । सय पटकसम्म माफी दिनु पर्छ भन्नुहुन्थ्यो । सय पटक नै त होइन तर एकै मानिसका आधा दर्जन जति गल्तीको माफी म पनि दिन्छु । त्यसपछि भने सहन्न । अर्को कुरा, म पहिलाभन्दा अहिले बढी जुझारु र अन्याय विरुद्ध बोल्ने भएको छु ।
तपाईंको सेलिब्रेटी क्रस कोही थियो ?
सेलिब्रिटी क्रस त मेरो कसैसँग परेन । तर मलाई बीपी कोइराला भने धेरै मनपर्छ । उहाँलाई म निकै सम्मान गर्छु, विशेषगरी उहाँको साहित्यिक व्यक्तित्व र विचारका कारण ।
३. सिनेमा, पुस्तक र कला
पहिलोचोटी सिनेमा हेर्दाको सम्झना कस्तो छ ?
ठ्याक्कै पहिलोपटक सिनेमा हेर्दा म कति वर्षकी थिएँ भन्ने अहिले भन्न सक्दिनँ ।
त्यतिबेला मेरी आमा गाउँमा पढाउनुहुन्थ्यो, हामी पनि आमासँगै गाउँमा बस्थ्यौं । हाम्रो बाँकी परिवार भने बुटवलमा हुनुहुन्थ्यो । त्यसैले दसैँको बिदा, जाडो वा गर्मीको छुट्टीमा आमाले हामीलाई सहर लैजानुहुन्थ्यो ।
आमाका मनपर्ने कुराहरु थिए – पुस्तक पढ्ने र सिनेमा हेर्ने । गाउँ फर्किएपछि पाइँदैन भनेर होला ,सहर गएका बेला पुस्तक भेला पार्ने र सिनेमा हेर्न जाने गर्नुहुन्थ्यो । हामीलाई पनि सिनेमा हेर्न लैजानुहुन्थ्यो । हो, सानो छँदा बुटवलको सिनेमाहलमा सिनेमा हेरेको सम्झना अलिअलि रहेछ ।
एउटा सिनेमामा आगो बलेको दृश्य थियो, त्यो दृश्यमा म एकदमै डराएकी थिएँ । सिनेमाको नाम र म कति वर्षकी थिएँ अहिले सम्झना छैन । सायद मेरो दिदीलाई थाहा होला । तर बुबाआमासँग गोरखपुर गएर सर्कस हेरेको चाहिँ पूरा सम्झना छ । सर्कसमा साना-साना बच्चाहरू डोरीमा हिँड्दै, सन्तुलन मिलाउँदै गरेको दृश्य मैले निकै चाख मानेर हेरेकी थिएँ । अहिले उमेर ठ्याक्कै सम्झन नसके पनि ती दृश्यहरू भने बाल्यकालको सम्झना बनेर अझै ताजै छन् ।
कस्ता सिनेमा हेर्न मनपर्छ ?
सिनेमा हेर्ने र मन पराउने कुरा पनि समयअनुसार फरक पर्दोरहेछ ।
कोभिडको समयमा मलाई गम्भीर वा संवेदनशीलभन्दा हँसाउने खालका सिनेमाहरू बढी मन पर्थे । अहिले चाहिँ सामाजिक र संवेदनशील विषयका सिनेमाहरू हेर्छु । तर हरर र धेरै काटमार तथा द्वन्द्व भएका सिनेमाहरू भने मलाई मन पर्दैनन् ।
साह्रै मन परेका सिनेमा ?
अलि अगाडिका सिनेमाहरूमा अर्थ, मेरा नाम जोकर, नेपाली सिनेमा लाहुरे मलाई मन परेका सिनेमाहरू हुन् ।
पछिल्लो समय चाहिँ दयाहाङ राई र मिरुना मगरका सिनेमाहरू प्रायः छुटाउँदिन । फरक कल्चर बुझ्न पाइन्छ उहाँहरूका सिनेमामाबाट । केही समय अघि नेपाली सिनेमा पूर्ण बहादुरको सारङ्गी पनि हेरेँ । विदेशमा नेपाली सिनेमा प्रदर्शन हुँदा सकेसम्म हेर्न जाने गर्छु । अनि युट्युबमा आएका नेपाली सिनेमाहरू पनि कहिलेकाहीँ हेर्छु । संजय लिला भन्सालीको निर्देशनको सिनेमा पनि हेर्छु ।
चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै सिनेमा छन् ?
कुनैकुनै सिनेमाको विषयवस्तु राम्रो हुन्छ तर अभिनय वा अरू कुनै पक्ष अलि कमजोर हुन सक्छ । अलि अलि कमीकमजोरी त चलिहाल्छ तर कुनै सिनेमा चाहिँ मलाई त्यति मन परेन, हेर्न गाह्रो लाग्यो भने म पूरा हेर्दिनँ । कसैलाई डिस्टर्ब नगरी चुपचाप थियटरबाट निस्किएर हिँड्छु ।
हेर्ने सिनेमा कसरी छान्नुहुन्छ ?
म प्रायः सिनेमाको ट्रेलर हेरेर छान्ने गर्छु । कहिलेकाहीँ रिभ्यु पनि हेर्छु । दुई चार वर्ष अघि राम लोहनी, यज्ञश, बन्जाडे लेनिन आदिले लेख्नुभएको प्रतिक्रिया हेरेर पनि कुनै बेला सिनेमा छानेकी हुन्थेँ । अहिले धेरै हेर्ने नेटफ्लिक्स, अमेजन प्राइममा हो । अलि अलि झलक र विषय हेरेर छान्छु । केही दिनअघि यसैगरी छानेर फर्गटन लभ हेरेँ । साँच्चै सुन्दर थियो, सिनेमा ।
पुस्तकहरू कतिको पढ्नुहुन्छ ? पढ्का कस्तो खालका पढ्नुहुन्छ ?
लेखकलाई कति पुस्तक पढ्नुहुन्छ भनेर सोध्नु भनेको किसानलाई कति खेती गर्नुहुन्छ भनेर सोधेजस्तै हो जस्तो लाग्छ मलाई । किसानले माटो, मल, बीउ सबै जुटाएर खेती गरेपछि मात्र उब्जनी हुन्छ । त्यसैगरी लेखनका लागि पनि पठन त कच्चा पदार्थ नै हो । त्यसैले लेखकका लागि पढ्नु अनिवार्य नै हुन्छ ।

पढाइ पनि समयअनुसार फरक हुन्छ । कहिले पुराना पुस्तकहरू पढिन्छन्, कहिले बजारमा चर्चामा रहेका पुस्तकहरू, अनि कहिले आफ्नै लेखन र अनुसन्धानका लागि आवश्यक पुस्तकहरू पढिन्छन् ।
मन परेका कुनै पुस्तक ?
मनपर्ने पुस्तकहरू धेरै छन् । नेपाली, हिन्दी र अंग्रेजी – तीनै भाषाका पुस्तकहरू मेरो अध्ययनका भूगोल हुन् । नेपाली साहित्यमा मलाई माधवी सधैं मनपर्ने पुस्तक हो । बीपी कोइरालाका धेरै आख्यानहरू मन पर्छन् ।
पारिजात, ध्रुवचन्द्र गौतम, ध च गोतामेका आख्यानहरू पनि मन पर्छन् । यस्तै नेपाली साहित्यमा मन परेका पुस्तकहरू धेरै छन् । कारागार, शरणार्थी, उलार, कर्णाली ब्लुज, सेतो धर्ती, मुग्लान केही मन पर्ने आख्यान हुन् ।
धेरै छन ।
चीरहरण लेख्ने क्रममा मैले महाभारत पढेकी थिएँ । त्यसबेलम त्यो महापुस्तकको प्रभाव अझ गहिरो रूपमा महसुस गरेकी थिएँ । महाभारत पढ्दा यो कसरी लेखेको होला भन्ने भएको थियो ।
अर्को तर्फ माया एन्जेलोको आइ नो ह्वाइ द केज्ड बर्ड सिङ्स , हार्पर लीको टु किल अ मोकिङबर्ड, अरुन्धती रोयको द गड अफ स्मल थिङ्स, लियो टल्स्टोयको वार एन्ड पीस, चार्ल्स डिकेन्सको अ टेल अफ टु सिटिज, केन फोलेटको द पिलर्स अफ द अर्थ र खालिद हुसेनीको द काइट रनर मलाई केही पुस्तकहरू हुन् । पढ्दै जाँदा मनपर्ने पुस्तकहरू थपिँदै गएका छन् ।
तपाईंका प्रिय लेखकहरु ?
धेरै हुनुहुन्छ । यहाँ नेर एउटै लेखकको नाम लिएर उहाँ नै मेरा प्रिय लेखक हुन् भन्नुभन्दा पनि, विधाअनुसार मेरा प्रिय लेखकहरू फरकफरक हुनुहुन्छ । छुटाउन नमिल्ने लामो लिस्ट बन्छ ।
एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक वा कुनै पात्रसँग बिताउनुहुन्थ्यो ?
अब म कुनै ठूलो काल्पनिक कुरा गरेर उहाँसँग भेट्न पाएँ भनेँ ! भन्न चाहन्नँ । बरु, साँच्चिकै २४ घण्टा समय मिलाएर मेरा अग्रज दिदीहरूसँग बसेर लामो कुरा गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ।
प्रत्येक पटक अमेरिकाबाट नेपाल जाँदा उहाँहरूसँग भेट्छु, धेरै कुरा गर्छु भनेर जान्छु । तर सबैसँग भेट्न नपाउँदै फेरि फर्किनुपर्छ । २४ घण्टा बसेर जीवनका अनुभव, लेखनका कुरा, आख्यानका कुरा, पात्रहरूका कुरा सुन्न पाए कति राम्रो हुन्थ्यो होला ! अनि त्यहीँ पारिजात दिदी र बानिरा दिदी पनि हुनुहुन्थ्यो भने कस्तो हुन्थ्यो होला ! उहाँहरूका कुरा सुन्दै, आफ्ना प्रश्नहरू राख्दै, छलर्ङ्ग बिहानसम्म आख्यान र पात्रहरूकै बारेमा कुरा गर्न पाए हुन्थ्यो ! त्यस्तो एउटा दिन मेरा लागि सायद धेरै किताब पढेभन्दा पनि फरक ज्ञानको विषय पनि हुने थियो ।
एउटा सफल लेखकलाई कसरी परिभाषित गर्नुहुन्छ ?
सफल लेखक केलाई भन्ने ? जसको धेरै प्रति किताब बिकेको छ, उसलाई सफल लेखक भन्ने कि जो धेरै पाठकको हृदयमा बस्न सफल भएको छ, उसलाई सफल भन्ने ? साहित्यमा सफल र असफलको मापन कसरी गर्ने भन्ने कुरा आफैंमा एउटा ठूलो प्रश्न हो।
मेरो विचारमा सफल लेखक त्यो हो, जसले आफ्नो लेखनमार्फत पाठकको ह्रदय र मस्तिष्क दुवैलाई छोएको हुन्छ । जसका पात्रहरू पाठकको मनमा बस्छन्, जसको कथा पढिसकेपछि पनि केही समयसम्म पाठकको मस्तिस्कमा घुमिरहन्छ । लेखनले सोच्न बाध्य बनाउँछ, आफ्नै जीवन र समाजलाई फरक नजरले हेर्न बाध्य बनाउँछ भने मेरा लागि त्यो सफल लेखन हो ।
नवलेखकहरूलाई तपाईंको के सुझाव छन् ?
मेरो सल्लाहचाहिँ यही हो – तपाईं जति लेख्नुहुन्छ, त्यसको दुगुना अध्ययन गर्नुहोस् । समाज अध्ययन गर्नुहोस्, जीवन अध्ययन गर्नुहोस्, मानिस अध्ययन गर्नुहोस्, पुस्तकको अध्ययन गर्नुहोस् । लेखकका लागि अध्ययनका पन्ना कहिल्यै सकिँदैन ।
नेपाली लेखकहरू विश्वव्यापी हुन कहाँ समस्या भइरहेको छ ?
कुनै भोजन पकाएर मात्र हुँदैन, अरूले ग्रहण गर्न योग्य बनाएर पस्कनुपर्छ । त्यसैगरी, हाम्रो साहित्यलाई पनि अन्य भाषीले पढ्न र मनन गर्न सक्ने गरी टक्राउनुपर्छ । जब हामीले हाम्रो लेखनलाई जगतले ग्रहण गर्न सक्ने भाषामा पस्कन्छौं, त्यसपछि मात्रै नेपाली साहित्य बाहिर जान्छ । विश्व बजारमा पुग्छ ।
४. घुमफिर र सोख
घुमफिर गर्न कत्तिको रुचाउनुहुन्छ ?
घुम्न मन पर्छ । पछिल्लो समय मलाई इतिहास बोकेर बसेका ठाउँहरू पुग्न मनपर्छ । घुम्न जाने भन्ना साथ म त्यस्ता स्थानको नाम लिन्छु । कहिलेकाहीँ साथी र परिवारसँग यो कुरामा फेरो पर्न जान्छ । म अल्पमतमा पर्छु । त्यसैले यस्ता ठाउँ जादा म एक्लै योजना बनाउँछु ।
सबभन्दा धेरै गएको र जान मन भएको ठाउँ ?
त्यहाँ मेरो घर छैन । रगतको साइनो पर्ने कोही पनि छैन । तर पनि त्यो ठाउँका सबै कुरा आफ्नै जस्तो लाग्छन् । त्यहाँ पुगेर एकदुई दिन मात्रै बस्दा पनि मनमा फरक अपनत्व भरिन्छ । सायद त्यसैले होला, समय मिल्नेबित्तिकै फेरि-फेरि त्यही ठाउँ बस्न पुग्न मन लाग्छ । त्यो पाल्पाको झडेवा हो ।
यो मेरो बाल्यकाल, मेरा मान्छेहरू र मेरा सम्पूर्ण सम्झनाहरू भेटिने ठाउँ हो । झडेवा त्यही ठाउँ हो, जहाँ म आज पनि पुग्दा मेरा विगतका पदचापहरू भेट्छु । त्यहाँका धारा, बाटा र गोरेटाहरूमा म मेरा दाइ, आमा र बुबालाई भेट्छु । उहाँहरूलाई अब कहिल्यै प्रत्यक्ष भेट्न नसके पनि, उहाँहरू हिँडेका बाटामा हिँड्दा र उहाँहरूसँग जोडिएका ठाउँमा पुग्दा उहाँहरूलाई त्यहीँ भेटेजस्तो लाग्छ ।

मेरो जीवनका सबैभन्दा धेरै र गहिरा स्मृतिहरू त्यही ठाउँमा खिपिएका छन् । झडेवा मेरा लागि एउटा ठाउँ मात्र होइन । मेरो बाल्यकाल र मेरा आफ्ना मान्छेहरूको स्मृतिलाई जोगाएर राखेको ठाउँ हो ।
गीत कत्तिको सन्नुहुन्छ ? सबभन्दा मन परेका गायक ?
म गीत धेरै सुन्छु । मेरा लागि गीत सुन्नु एक किसिमको ध्यानजस्तै हो । म दुःखमा हुँदा पनि गीत सुन्छु, सुखमा हुँदा पनि गीत सुन्छु । मनमा जुनसुकै भाव चलिरहेको होस्, गीतसँग केही समय बिताउँदा आफूभित्रै फर्किएजस्तो लाग्छ । कुनै एउटा निश्चित गीत सर्जक, संगीतकार या गायकको नाम भन्न सक्दिनँ । समय र मनःस्थितिअनुसार फरकफरक गीत सुन्छु । तर गीत मेरो जीवनको एउटा यस्तो साथी हो, जसले शब्दभन्दा पर गएर पनि मलाई छोइरहन्छ । नाम भन्नै पर्छ भने झट्ट नाम लिन्छु – नारायण गोपाल, हरिभक्त कटुवाल, ईश्वर बल्लभ, दिनेश अधिकारी।
खानाको कत्तिको सोखिन हुनुहुन्छ ? मन पर्ने परिकार ?
खानाको कुरा गर्दा म खासै सोखिन मान्छे होइन । बरु कहिलेकाहीँ म पनि आफैँलाई त्यही प्रश्न गर्छु – हामी बाँच्नका लागि खान्छौँ कि खानका लागि बाँच्छौँ ?
मेरो विचारमा खाना जीवनको साधन हो, जीवनको उद्देश्य होइन । त्यसैले खानाका विषयमा म धेरै सोच्दिन । शरीरलाई चाहिने जति खायो, मनलाई सन्तुष्ट हुने गरी खायो, पुग्यो । अँ… कहिलेकाहीँ भने आज यो खान पाए हुँदो हो भन्ने चाहिँ हुन्छ । जस्तै– सेलरोटी, म:म ।
उम्… तोरीको साग, घ्यु राखेको भात र सानो गोलभेडाको चटनी खान मनपर्छ । तर सधैं होइन । हामी श्रीमान श्रीमती दुवै प्राय: उसिनेको नुन कम राखेको खाना खान्छौं ।
किनमेल गर्न कति रुचाउनुहुन्छ ?
किनमेललाई मैले रुचिको विषयभन्दा पनि आवश्यकताको विषयका रूपमा लिएको छु । त्यसैले म सधैँ आवश्यकतालाई नै प्राथमिकता दिएर चाहिएको जे छ, त्यही किन्छु । रुचिका लागि मात्र किन्ने मेरो बानी छैन ।
के कस्ता किनमेलका लागि बजार जानुहुन्छ ?
मुख्य चाहिने ग्रोसरी हो । पहिलापहिला ग्रोसरीलाई आफैं जानैपर्थ्यो । तर अहिले चाहिँ कहिले आफैँ जान्छु, कहिले अनलाइनबाटै पनि किन्छु । वर्किङ डेजको पाँच दिन बिहान देखि साँझ ४ बजेसम्मको समयमा घरबाट लाइब्रेरीबाहेक म अन्त निस्किन्नँ ।
फेरि परिवारलाई मात्र नभएर नजिकका साथीभाइलाई समेत थाहा छ – त्यो मेरो लेखपढको समय हो । विकेन्ड, सँझ ४ पछिको समय मात्र मेरो किनमेल या अन्य कामका लागि हो ।
कहिलेकाही श्रीमानससँग सँगै किनमेलमा जाँदा बाटोमा गफगाफ हुन्छ, एकअर्कासँग समय बिताउन पाइन्छ भन्ने मनसायले दुई सँगै जाने गर्छौँ । कहिले त एउटै सामान किन्न दुई जना नै जानुको खासै अर्थ देख्दिनँ । त्यसैले कहिलेकाहीँ चाहिने सामानको लिस्ट लेखेर पठाइदिन्छु, श्रीमान् नै कामबाट फर्किँदा बाटोमा पर्ने स्टोरबाट ग्रोसरी गरेर फर्किनुहुन्छ । त्यो पनि हप्तामा एक पटक भन्दा पर्दैन ।
सानोतिनो थप कुरा केही चाहियो भने अहिले घरदेखि इन्डियन स्टोर र वालमार्ट एकदम नजिक छ । पाँच सात मिनेटको ड्राइभमा । अनुकुल समयमा आफैं पनि जान्छु । घरका अन्य किनमेललाई शनिबारको दिन दुवै जनासँगै जान्छौं । घरका फर्निचर या डेकोरेसन या यस्तै केही सामना किन्दा हामीले हेरे पछि छोराहरूलाई गुप्रमा फोटो पठाएर सबैको चित्त बुझे पछि मात्र किन्छौं ।
बच्चाहरूलाई निर्णयमा सहभागी गराउँदा अपनत्व बढ्ने हुँदा पनि हरेक कुरा सोध्न मन लाग्छ । आज भोलि छोराहरूको लुगा हामीले किन्न जानु पर्दैन । उनीहरू दाजुभाइ जान्छन् । अनि फोटोसहित हाउ अबाउट दिस ?, हाउ डज दिस लुक ? भनी पठाउँछन् । अनि हामी हेरेर सल्लाह दिन्छौं । बच्चाहरू हुर्किएसँगै हाम्रो किनमेलको समयमा बचत हुँदै गएको छ ।
आफ्नो लुगाफाटो आफैँ किन्नुहुन्छ कि अरूले किनिदिन्छन् ?
लुगा किन्न चाहिँ म अनलाइन किने पनि भिडियोमा हेरेर मात्र किन्छु, अथवा आफैँ स्टोर गएर हेरेर मात्र । आफूले नहेरीकन किनेको लुगा प्रायः छैन भन्दा पनि हुन्छ । साथीहरूले उपहार दिएको भए बेग्लै कुरा भयो, नत्र लुगा चाहिँ म आफैँ हेरेर, आफैँ छानेर किन्छु । अँ… मेरा साथीहरूलाई मलाई कस्तो मन पर्छ थाहा छ । त्यसकारण उनीहरूका उपहार पनि आफैंले किनेको जस्तो लाग्छ । नेपाल गएको बेला भने समय छ भने साडी, कुर्था पसलमा चहार्ने गर्छु ।
अहिलेसम्म किन्नु भएको सबैभन्दा महँगो वस्तु अथवा खर्च गरेको सेवा ?
मैले त्यति धेरै महँगो सामान किनेकी छैन भन्दा पनि हुन्छ ।
उमेर बढ्दै गएपछि चाहिँ कम्फर्टेबल कुरालाई बढी महत्त्व दिइँदो रहेछ । सामान किन्दा पैसा कति पर्छ भन्ने भन्दा पनि त्यो कत्तिको कम्फर्टेबल छ, त्यसको मटेरियल कस्तो छ भन्ने कुरा म बढी हेर्छु । आफूलाई कम्फर्टेबल लाग्यो भने मूल्यबारे म धेरै सोच्दिनँ ।
महँगो सामानको कुरा गर्दा अलि पैसा पर्ने मोबाइल, घडी, या ल्याबटप हो । आजसम्म ती कुनै पनि मैले आफैँ किनेको छैन । अहिले मोबाइल छोराले किनिदिएको हो । कम्प्युटर र घडी पनि परिवारबाट बर्थ डे या यस्तै केही अवसरमा उपहार पाएकी हुँ । मैले आफैँले किनेको सबैभन्दा महँगो सामान भनेको चाहिँ झोला । ती पनि खासै महङ्गा होइनन् ।
म आफूले किन्दा चाहिने कुरा मात्र किन्ने गर्छु । जुन कुरा अत्यावश्यक छ, त्यसको मूल्य म खासै हेर्दिनँ । उदाहरणका लागि, ग्रोसरीकै कुरा गरौँ न, कुन सामानको मूल्य कति छ, प्रतिकिलो कति पर्छ भन्ने कुरा मलाई प्रायः मैले हेक्का राख्दिनँ ।
किन्नैपर्ने कुरा हो भने म त्यसको मूल्यभन्दा आवश्यकतालाई प्राथमिकता दिन्छु । तर जुन कुरा नकिन्दा पनि चल्छ, नहुँदा पनि खासै फरक पर्दैन, त्यस्तो कुरा किन्दा चाहिँ म मूल्य हेर्छु एक पटक होइन पटक-पटक हेर्छु । मेरो किनमेलमा चाहनाले भन्दा आवश्यकताले स्थान पाउछ ।
५. सामाजिक सञ्जाल र डिजिटल डिभाइस
कुन ब्रान्डको मोबाइल चलाइरहनु भएको छ ?
आईफोन १७ प्रो म्याक्स ।
दिनको कति घन्टा मोबाइल र सञ्जालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?
म किताब पढ्न र लेख्नतिर लागेपछि सामाजिक सञ्जालबाट स्वाभाविक रूपमा टाढै हुन्छु । दिनमा कति घण्टा सामाजिक सञ्जाल चलाउँछु भनेर कहिल्यै हेरेकी छैन । यसको कुनै निश्चित समय पनि छैन । परिस्थिति र घटनाअनुसार फरक पर्छ । देशमा कुनै ठूलो घटना वा विपत्ति आएको बेला चाहिँ के भइरहेको छ भनेर जान्न सामाजिक सञ्जाल अलि बढी हेर्ने गर्छु ।
सामान्य अवस्थामा बिहान साँझ एकचोटि न्युज हेरेपछि सामाजिक सञ्जालमा त्यति धेरै समय बिताउँदिनँ । उपन्यास लेखिरहेको बेला, विशेषगरी अन्तिम चरणमा पुगेपछि, मोबाइलबाट यस्ता एयाप नै हटाइदिन्छु । बिहान एकचोटि र कहिलेकाहीँ साँझ पनि कम्प्युटरबाट लगइन गरेर हेर्छु ।
एआई टुलहरू कतिको चलाइरहनु भएको छ ? बढी कुन चलाउनुहुन्छ ?
एआई टुलहरू चाहिँ म धेरै प्रयोग गर्दिनँ । कहिलेकाहीँ अंग्रेजी लेख्दा ग्रामर मिलाउन वा कुनै कुराबारे तत्काल भ्वाइसमा बुझ्नका लागि चाहिँ एआई प्रयोग गर्छु । त्यसमध्ये पनि म च्याटजीपीटी नै प्रयोग गर्छु ।
सामाजिक संजाललाई आजको समयमा कसरी व्याख्या गर्नुहुन्छ ?
आजको समयमा सामाजिक सञ्जाल मान्छेको जीवनको एउटा महत्त्वपूर्ण अंग जस्तो छ । देश विदेशमा के भइरहेको छ भन्ने कुरा छिट्टै थाहा पाउन, आफ्ना विचार र सिर्जना अरूसम्म पुर्याउन सकिन्छ ।

२०४८/५० साल तिरको कुरा । मेरो दाजु रसियामा चिकित्सा पढ्न जानुभएको थियो । त्यतिबेला नेपालबाट टेलिफोन गर्नु पनि सहज थिएन । दसैँ तिहारका बेला हामी घरपरिवारका आवाजहरू चक्कामा रेकर्ड गरेर पठाउँथ्यौँ । उताबाट पनि आफ्ना मनका कुरा त्यसरी पठाउनुहुन्थ्यो । हामी सबै मिलेर उहाँहरूको आवाज सुन्थ्यौँ । त्यो आवाजभित्रै भेटेजस्तो महसुस गर्थ्यौँ । नियास्रो मेट्न पटक-पटक सुन्ने गरिथ्यो ।
अहिले पनि घरघरका सन्तान संसारभरि परिवार छरिएका छन् । बाबुआमा र आफन्तबाट टाढा बसेर जीवन बिताउनुपर्ने अवस्था भए पनि प्रविधिले त्यो दूरीलाई धेरै हदसम्म छोट्याइदिएको जस्तो लाग्छ । सामाजिक सञ्जाल र भिडियो कलका कारण संसारको जुनसुकै कुनामा रहेका आफन्तसँग पनि छिनमै अनुहार हेरेर कुरा गर्न सकिन्छ ।
भौतिक दूरी उस्तै भए पनि प्रविधिले दूरी निकै कम गरिदिएको आभास हुन्छ । म यसलाई समयको एउटा ठूलो उपलब्धिका रूपमा लिन्छु । सोच्छु, उ बेला पनि यस्तो सुविधा भएको भए कति सुन्दर हुँदो हो । सन्तानसँग टाढा हुँदाको पीडा आमाका आँखाले कम रुनु पर्थ्यो होला । जुन कुराको म धेरै पटक साक्षी समेत थिएँ ।
६. रोचक तथ्य
पुन: जन्म हुने भए अब के बन्न मन छ ?
पुन: जन्म भयो भने म फेरि उही आमाबुबाको सन्तान, उही दाजुदिदीकी बहिनी भएर जन्मिन चाहन्छु । अनि फेरि उही छोराहरूकी आमा बन्न चाहन्छु ।
तनाव, दबाबहरू कसरी कम गर्नुहुन्छ ?
तनावको कुरा गर्दा, व्यक्तिगत तनाव र बाहिरको सामाजिक तनावलाई म फरक रूपमा लिन्छु । ठूलाठूला विपत्ति वा सामाजिक घटनाहरूले मनलाई धेरै बिचलित पारेको बेला चाहिँ मन भुलाउन निकै गाह्रो हुन्छ ।
तर व्यक्तिगत रूपमा कुनै तनाव भयो भने पढ्ने, लेख्ने, चलचित्र हेर्ने या गीत सुन्ने यी चारवटा कुरा मेरा लागि तनाव कम गर्ने माध्यम हुन् । विशेषगरी लेख्न र पढ्न थालेपछि म आफ्नो सुखान्त संसारमा फर्किएजस्तो महसुस गर्छु । गीत सुन्ने र चलचित्र हेर्ने पनि मेरा लागि मन हलुका बनाउने अचुक तरिका हुन् । अक्षर र संगीत र कलामा हिलिङका लागि ठूलो शक्ति हुन्छ जस्तो लाग्छ।
तपाईलाई के को सुगन्ध सबैभन्दा मन पर्छ ?
मलाई ज्यास्मिनको सुगन्ध मन पर्छ । विशेषगरी साँझपख ज्यास्मिनको सुगन्धले नरम मिठास र शान्ति महसुस गराउँछ ।
अहिलेसम्म तपाईंले पाउनुभएको राम्रो सुझाव ?
सुझाव त विभिन्न क्षेत्रमा विभिन्न किसिमका हुन्छन् । घरभित्रका कामदेखि बाहिर जाँदासम्म, लेखन, पठन वा अन्य कामका सन्दर्भमा पनि मैले फरकफरक सुझाव पाउने गर्छु ।

कोहीको जीवनमा केही आइलाग्यो भने त्यसमा सायद म पनि पो दोषी हुँ कि ? अर्थात् मैले समय भनिदिएको भए, सुझाएको भए रोकथाम हुने थियो कि ? जस्ता आफूलाई दोष दिन थाल्छु । यो मेरो एउटा नराम्रो बानी पनि हो । कुनै बेला अरूले सामान्य रूपमा लिएको कुरालाई पनि म धेरै सोचेर आफैँलाई पीडा दिने रहेछु ।
यस्तो बानीले मलाई नै दुःख हुन्छ । हरेक कुराको दोष आफूलाई नदिऊँ, अनावश्यक रूपमा धेरै सोच्ने बानी छोड र घटनालाई अलि सहज रूपमा लिन सिक भनि साथीहरूले पनि मलाई बारम्बार यही सल्लाह दिन्छन् । श्रीमान पनि भन्नुहुन्छ – कथाकविता जस्तो होइन जीवन । तिमी लेख्ने मान्छे भएको हुँदा बढी सोचेर आफ्नै दुख पाउने गर्छौ ।
तपाईंलाई अत्यन्तै प्रभाव पारेको कुनै पात्र, व्यक्ति अथवा घटना कुनै छ ?
अहिलेकै समयमा भन्नुपर्दा, मलाई सबैभन्दा प्रभाव पारेको पात्र मेरो उपन्यास राजमाताकी देवदेवी हुन् । उनले विस १३८१ पछि नेपालमण्डलको शासन व्यवस्थामा खेलेको भूमिमा प्रति म आफू नारी हुनुमा गर्व समेत गर्छु ।
त्यस्तै योगमाया, मल्लिकावती, तीन घुम्तीकी ईन्द्रमाया मलाई औधी मन पर्ने पात्र हुन् ।
आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?
अर्को पुस्ताका लागि दिने सबैभन्दा ठूलो सम्पत्ति धन, जग्गा वा घर–सम्पत्ति भन्ने कतिको सोच छ । त्यसैले यसरी भष्ट्राचारमा डुब्छन् मानिस । पैसा कै निम्ति प्रकृतिलाई दोहन गरिरहेका छन् । तर, आउँदो पुस्ताका निम्ति ठूलो सम्पत्ति भनेको हामीले सिकाउने नैतिकता हो । आफैं नैतिक भएर देखाउन पर्छ ।
अनि अर्को कुरा स्वच्छ, सफा र सुरक्षित वातावरण हो । त्यसैले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न, हरित वातावरण र प्राकृतिक स्रोतको संरक्षण गर्न तथा प्रदूषण कम गर्न हामीले अहिलेबाटै ध्यान दिनुपर्छ। आजको पुस्ताले भावी सन्तानको लागि सोच्नु पर्ने गम्भीर विषय हुन् यी ।

प्रतिक्रिया 4