News Summary
Generated by OK AI. Editorially reviewed.- सुरज सुवेदीले सामाजिक सञ्जाललाई काम देखाउने र अडियन्स खोज्ने ठूलो प्लेटफर्म भने पनि यसले मानिसलाई पोलराइज्ड र एडिक्टिभ बनाउने बताए।
सुरज सुवेदीले पछिल्लो समयमा आफ्नो नयाँ पहिचान बनाइरहेका छन् । गीतको व्याख्या गर्ने, शब्दहरू अर्थाउने अथवा कसैले गलत गाए औंल्याउने । उनको यो शैली नेपाली डिजिटल स्पेयरमा राम्रै रुचाइएको पनि छ । यसबाहेक उनले लेखन कार्यशाला पनि गर्दै आइरहेका छन् । यसपटक उनैसँग दिलै खोलेर कुराकानी गरिएको छ ।
१. हिजोआज
पछिल्लो समय के कुराले वा कुन समाचारले खुसी हुनुभयो ?
भोटेकोशीमा विनाशकारी बाढी आएको १० दिन भइसकेको थियो । सबैमा डर, त्रास र अन्यौल थियो । १०औं दिनमा सञ्जय शाहको सुरुङबाट सकुसल उद्धार भएको समाचार आयो । उद्धार गरिएको उहाँको फोटो देख्दा एकदमै मन नै भरिएजस्तो भएको थियो । आइ थिङ्क, त्यो नै होला खुसीको समाचार । किनकि जति ठूलो एउटा क्षति भए पनि कम्तीमा एकजना मान्छे कथा सुनाउन बाँच्नुभयो भन्ने जस्तो लागेको थियो ।
दिक्क बनाएको कुरा ?
आइ थिङ्क, सोसल मिडिया नै हो । बाढीकै कारण आफ्नो श्रीमान हराइपछि खोजीका लागि हारगुहार गरिरहेकी महिलाको फोटोमा पनि मान्छेले गाली गरिराखेका थिए । त्यो देख्दा मन कटक्क भएको थियो । युजुअली दिक्क बनाउने कुरा चैं बाटोमा हिँड्दा लाग्छ । हाम्रो फुटपाथहरू खत्तम छन् । हिँड्न मन पराउने मलाई हाम्रा फुटफाथहरूमा सामान्य इन्जिनियरिङ प्रयोग भए जस्तो लाग्दैन ।
अचेल सबभन्दा रोचक लागेको विषय वा व्यक्ति ?
आजकल म साइन्सको भिडियोहरू खुबै हेर्न थालेको छु । ती भिडियोहरू हेरिरहँदा सानोमा पढ्ने बेलामा यसरी बुझ्न पाएको हुन्थ्यो भन्ने लाग्छ । जस्तो, ग्राभिटीले कसरी काम गर्छ अथवा सूर्य वरिपरि किन पृथ्वी घुम्छ भन्ने जस्ता विषयहरू । आइन्स्टाइनले थ्योरी अफ रिलेटिभिटी कसरी पत्ता लगाएका थिए ? अथवा कुनै पनि म्याथको फर्मुलाको पछाडि कस्तो कथा हुन्छ ? यस्तै-यस्तै खालका भिडियो हेरिरहेको हुन्छु ।

यस्ता भिडियोहरू हेर्दा, एउटा मान्छेले आफ्नो जिन्दगीभर काम गरेको हुँदोरहेछ भन्ने थाहा पाइरहेको छु । अनि आजकल मलाई अल्बर्ट आइन्स्टाइन एकदमै रोचक लागिरहेको छ । आइ थिङ्क, यो फिजिक्सको एकदमै ठूला ठूला कुराहरू पनि सानो एउटा व्यक्तिको कल्पनाबाट सुरु हुँदो रहेछ भन्ने कुरा पनि मलाई रोचक लागेको छ ।
नेपाली समाजको सबभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?
अप्ठ्यारो पर्यो भने एकजुट हुने गुण साह्रै राम्रो । नराम्रो पक्ष चाहिँ अप्ठ्यारो नपरुन्जेलसम्म केही नगर्ने बानी । अप्ठ्यारो पर्नु भनेको लास्ट स्टेज हो । तर समाज भनेको लास्ट स्टेजमा नपुगीकनै अघिबाटै साथसहयोग गर्ने खालको हुनुपर्छ ।
झन् अहिले सबै कुरा होलसेलमा बुझ्ने, होलसेलमा प्रतिक्रिया दिने, कुराहरू एकदमै सामान्यिकरण गर्ने, यो त यस्तो हो भनेर तोकि हाल्ने जस्ता प्रवृत्ति बढिरहेका छन् । तर, विवेचना चाहिँ नेपाली समाजले कम गर्छ । त्यसैले हामीले प्रतिक्रिया कम, विचेचना बढी गर्नु पर्छ जस्तो लाग्छ ।
पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? पत्रकारिता तपाईंलाई कस्तो लाग्छ ?
हेरिरहेकै हुन्छु । धेरै जसो अनलाइनमै हेरिन्छ । बिहान कुनै काम गर्नु पर्यो, क्याफेमा कतै बस्नु पर्यो भने पनि पहिला चाहिँ दुई तीनटा पत्रिकाको लिंक खोलेर एकैचोटी सरर हेर्ने गर्छु । मलाई चाहिँ नेपालको पत्रकारिता एउटै कुराको पछि दौड्या छ जस्तो लाग्छ । विधागत रूपमा काम गर्ने पत्रिका अलिकति कमै देखिन्छ ।
इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?
आइ थिङ्क, म अंग्रेजी भाषालाई अलि अगाडि बाटै बढी जोड गर्थेँ कि ! भनौं न भाषामा काम गर्थेँ । यसो भन्नुको मतलब म लेखनलाई पहिलेदेखि नै सिरियल्सी लिन्थेँ ।
२. बाल्यकाल र किशोरावस्था
सानोमा सबैभन्दा बढी कुन खेल खेल्नुहुन्थ्यो ?
छर्रा र पिटु खेल्थ्यौं । छर्रा चैं ढुङ्गाहरू झारेर अनि खाने वाला हुन्थ्यो । अहिले सम्झँदा यो खेलमा म अलि बढी झेली पनि गर्थेँ । पिटु चाहिँ ढुंगा एकअर्का माथि राखेर त्यसलाई बलले लडाउने, त्यो मिलाउने र अरूले मिलाउन ननदिने यस्तै-यस्तै केही थियो अलिअलि बिर्सेंछु ।
साथीहरूले तपाईंको निकनेम के-के राखिदिएका थिए?
मेरो निकनेम त एकदमै धेरै थियो । साथीहरुले लोकु पनि भन्थे । नामको अन्त्यमा ‘जे’ लगाउने वाला पनि हुन्थ्यो । घरमा ममीले किटिली भन्नुहुन्थ्यो । यस्तै यस्तै ।
तपाईंको कोहीसँग झगडा परेको थियो?
अँ, परेको थियो । मेरो एउटा साथीसँग बोलचाल नै बन्द हुने गरी । तर के भएर झगडा परेको बिर्सेँ । अहिले ठ्याक्कै याद छैन । एकछिन, सम्झिन्छु है ।
तर त्यो साथीसँग नबोल्दा चाहिँ लास्टै गाह्रो भएको थियो । किनभने ऊ कस्तो भने, सधैं एकदम मिल्ने साथी थियो । एउटै बेन्चमा बस्ने थियो ।
पछि फेरि बोल्न थालेका थियौं । त्यसो हुँदा पनि ‘ओइ, नबोल्ने मान्छे’ भन्दै जिस्काउने चाहिँ हुन्थ्यो । तर कुटाकुट गर्ने खालको झगडा थिएन । बोलचाल बन्द भएको थियो ।
तपाईंको सेलिब्रेटी क्रस कोही थियो ?
भन्नै पर्ने हो ? आइ थिङ्क, निरुता सिंह हो । निरुता सिंहको केही अन्तर्वार्ता हेरेको मलाई अलिअलि याद छ ।
त्यतिबेला हाम्रोमा ‘मुना’ ‘युवा मञ्च’ जस्ता पत्रिका आउँथे । आइ थिङ्क, तिनैको कुनै अंकमा हो कि… निरुता सिंहको अन्तर्वार्ता पढेको । उहाँ आज पनि मलाई उत्तिकै मनपर्छ । विशेषगरी बोल्ने शैली ।
३. सिनेमा
पहिलोचोटी फिल्म हेर्दाको सम्झना कस्तो छ ?
पहिलोचोटि फिल्म चाहिँ मैले खासमा ९ क्लासमा गएपछि मात्रै हेरेको हो । किनकि हाम्रो गाउँतिर सिनेमा हेर्ने हल नै थिएन । पारिपट्टि खाँदबारी जानुपर्थ्यो, खाँदबारीमा हल थियो । तर त्यतिबेला सिनेमा हेर्न जाने गरी जुटेको थिएन ।
पछि म खाँदबारी पढ्न गएँ, ९-१० पढ्नलाई । अनि त्यतिबेला ‘परदेशी’ भन्ने फिल्म हेरेजस्तो लाग्छ । राजेश हमालको फिल्म थियो क्या हो…
अनि म त त्यो फिल्म हेरेर कथा अलिअलि सुनाउने पनि गर्थें ।
कस्ता फिल्म हेर्न मन पर्छ ?
पहिला त नेपाली फिल्म नै हेर्ने हुन्थ्यो । पछि प्लस टु पढ्न इटहरीमा झरेपछि अलि बढी हिन्दी फिल्म हेर्न र हिन्दी गीत सुन्ने बानी भयो । त्यसपछि फेरि विराटनगरमा ब्याचलर पढ्न गएपछि अंग्रेजी फिल्महरू हेर्न थालेँ । त्यहाँ भरत दाइ भन्ने एकजना हुनुहुन्थ्यो, उहाँले एकदम राम्रा अंग्रेजी फिल्महरू हेर्न सिकाउनुभयो ।
त्यसैले अहिले ठ्याक्कै यही खालको फिल्म मनपर्छ भन्ने छैन । सबै खालको फिल्म हेर्छु । युट्युबमा कुनै नेपाली फिल्म आयो भने पनि १० मिनेटमै काटेर हेरेर छोड्ने होइन, हेर्न मन लाग्यो भने हेर्छु । तर आफ्नो टेस्टको कुरा गर्दा चाहिँ अहिले अलिकति काव्यिक खालको, सोच्न लगाउने, अलिकति मनलाई हिर्काउने फिल्म मनपर्छ ।
माइन्डका लागि एउटा खालको फिल्म र हर्टका लागि चाहिँ एकदमै रोमान्टिक फिल्महरू पनि मन पर्छन् । सिरिजहरू पनि मन पर्छ । स्टोरी राम्रो छ भने म मजाले हेर्छु ।
साह्रै मन परेका फिल्म ?
साह्रै मन परेका फिल्महरू त धेरै छन् । तर फरक-फरक कारणले मन पर्छन् । जस्तो, इन त मुड फर लभ मलाई क्राफ्टको हिसाबले एकदमै मनपर्छ । त्यसबाहेक केरोसावाको टेस्ट अफ चेरी पनि एकदम मन परेको फिल्म हो ।
मलाई लाग्छ, फिल्म पनि फेजफेजमा हुँदोरहेछ । कुन समयमा हेरेको हो भन्ने कुराले पनि धेरै फरक पार्दो रहेछ । जिन्दगी नाउलीको दोभारा चाहिँ मैले विराटनगरमा हुँदा हलमै हेरेको हो । त्यतिबेला त्यसको फिलोसफी त्यति धेरै बुझ्न सकेको रहेनछु । पछि फेरि हेर्दै जाँदा झन् धेरै कुरा बुझ्दै गएजस्तो लाग्यो । त्यसैले त्यो फिल्म धेरैपटक हेरेको छु ।

कसैले कुनै फिल्मको राम्रो इन्टरप्रिटेसन गरिदियो भने पनि म त्यो फिल्म फेरि हेर्छु । अनि पहिला नबुझेको कुरा पनि फेरि हेर्दा बुझिन्छ र फिल्म झन् मन पर्छ ।
मुन्ना भाइ एमबीबीएस त पहिले पनि धेरै हेर्थेँ । तर पछि लगे रहो मुन्ना भाइ चाहिँ अलि गहिराइमा हेर्दा त्यसको कुरा बुझेपछि झन् धेरै मनपर्न थाल्यो । कति चोटि हेरेँ, आफैँलाई थाहा छैन । अहिले पनि कसैले हेर्न बसायो भने हेर्न सक्छु । त्यसका धेरै डायलगहरू त याद नै छन् ।
द लन्चबक्स पनि एकदम मनपर्छ । म राइटिङ पढाउँदा पनि द लन्चबक्सको कुरा गरिरहेको हुन्छु । खासगरी त्यसमा आउने लेटरहरूको कुरा मलाई एकदमै मन पर्छ ।
अंग्रेजी फिल्ममा पछिल्लो समय र्यागिङ बुल पनि एकदम मन परेको छ । पुरानै फिल्म हो, तर दोहोर्याएर हेर्दा झन् मन परेको। तारे जमिन पर पनि एकदम मन पर्छ । त्यसैले मलाई मन परेका फिल्मको लिस्ट बनाउन गाह्रै हुन्छ । फरक-फरक कारणले मन परेका फिल्महरू धेरै छन् । अहिले सम्झिँदा यति हो, अरू सम्झिएँ भने फेरि भनौँला ।
चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?
त्यस्तोभन्दा पनि अहिले चाहिँ म आफैँले धेरै फिल्टर गर्न थालेको छु जस्तो लाग्छ । बलिउडमा पछिल्लो समय आएका धेरै फिल्महरू त्यस्तै लाग्छन् । नेपाली फिल्ममा पनि धेरै हल्ला भयो भने आजकल म अलि हेर्न छोडेको छु ।
युट्युबमा आयो भने बरू काटेर हेर्छु । तर धेरै चर्चा भयो, धेरै ओभर मार्केटिङ भयो भने मलाई किन हो, फिल्म खासै गतिलो छैन कि जस्तो लाग्छ । हुन त त्यो फिल्म मान्छेहरूले मन पराएरै त्यति चर्चा भएको पनि हुन सक्छ । तर अहिले चाहिँ मेरो दिमागमा त्यस्तो फिल्टर बसेको छ ।
त्यसैले ठ्याक्कै एउटा फिल्मको नामै लिएर भन्नचाहिँ गाह्रो हुन्छ । चर्चा धेरै पाएर हेर्दा खासै नलागेकोभन्दा पनि, अहिले त्यस्ता फिल्महरूमा म पुग्नुअघि नै धेरै कुरा फिल्टर गरिसकेको हुन्छु ।
हेर्ने फिल्म कसरी छान्नुहुन्छ ?
धेरैजसो रिभ्युहरू हेर्छु । पहिले फिल्मको रिभ्यु, रेकमेन्डेसनहरू हेर्छु । कहिलेकाहीँ चाहिँ इन्ट्युसनले पनि हुन्छ । ट्रेलर हेरेपछि पनि अलिकति थाहा हुन्छ – यो फिल्ममा कमिट गरूँ कि नगरूँ भनेर ।
आजकल फिल्म हेर्नेभन्दा पनि फिल्ममा कमिट गर्ने कुरा जस्तो भइसक्यो । दुईअढाई घण्टा समय दिनुपर्ने हुन्छ । त्यसैले त्यो समय यो फिल्मलाई दिँदा ठीक हुन्छ कि हुँदैन भन्ने कुरामा अलि बढी स्ट्रगल हुन्छ ।
पहिले म फिल्मका रिभ्यु र रेकमेन्डेसनहरू गर्थेँ । त्यतिबेला मान्छेहरूले किन फलो गर्नुहुँदो रहेछ भन्ने कुरा अहिले अलिअलि बुझ्दै छु । फिल्म हेर्नभन्दा पनि फिल्म छान्न नै समय लाग्दो रहेछ जस्तो लाग्छ मलाई ।
नेपालमा कस्ता फिल्म धेरै बनुन् जस्तो लाग्छ?
नेपालको सिनेमा उद्योग पनि एउटा हिसाबले भारतीय सिनेमा उद्योगलाई पछ्याउँदै आएको हो । त्यसैले मेनस्ट्रिममा एउटा खालको सिनेमा छ, अनि अर्कोतिर आर्ट सिनेमा, फेस्टिभल जाने सिनेमा छन् । यी दुईवटा एकदमै टाढा छन् जस्तो लाग्छ ।
मलाई चाहिँ यी दुईवटाको बीचमा आउने खालका फिल्महरू धेरै बनुन् जस्तो लाग्छ । निर्देशकले अलिकति आर्ट बुझेको होस्, म्युजिक बुझेको होस्, राइटिङ बुझेको होस् । एउटा मात्रै पक्ष समातेर होइन, कला, लेखन, संगीत – सबै कुरालाई सँगसँगै लिएर हिँड्ने खालको फिल्म ।
अनि विषय पनि नेपालकै कुनै निस विषय मात्रै समातेर बनाउनेभन्दा, नेपालमा भएको कुनै कुरालाई समातेर त्यसमा भएको युनिभर्सल कुरा निकाल्न सकेको राम्रो हुन्थ्यो जस्तो लाग्छ । नत्र आर्ट फिल्महरूमा धेरै निस विषयतिर मात्रै जाँदा धेरै दर्शकले त्यसलाई धान्न सकिरहेका हुँदैनन् जस्तो लाग्छ ।
अर्को कुरा, संगीत पनि एकदमै महत्त्वपूर्ण लाग्छ मलाई । अहिले म म्युजिक एल्बमहरूलाई पनि म्युजिकको पोइन्ट अफ भ्युबाट हेरिरहेको छु । पुराना फिल्महरू हेर्दा पनि संगीत र फिल्म सँगसँगै गएको देखिन्छ । विशेषगरी इस्टर्न फिल्महरूमा संगीत, नृत्य र अरू आर्ट फर्महरू जोडिएर आउँदा त्यसले सिनेमालाई अझ फराकिलो बनाउँछ जस्तो लाग्छ।
मलाई चाहिँ धेरै कुरा एकै ठाउँमा भएको, एउटा कम्प्लिट प्याकेजजस्तो फिल्म मन पर्छ । अहिले हामीकहाँ प्रायः दुईवटा एक्स्ट्रिममा गएको जस्तो लाग्छ, कि एकदमै रोनाधोना, कि एकदमै हँसाउने । यी दुईको बीचको एरिया चाहिँ हामीले त्यति धेरै एक्सप्लोर गरेका छैनौं जस्तो लाग्छ ।
त्यो बीचको ठाउँमा पनि धेरै कुरा गर्न सकिन्छ। त्यसैले कला, संगीत, लेखन, कथा, मनोरञ्जन – सबैलाई सँगसँगै लिएर हिँड्ने खालका फिल्महरू धेरै बने भने हाम्रो सिनेमा अझ राम्रो ठाउँमा जान्छ जस्तो लाग्छ ।
४. पुस्तक
पुस्तकहरू कतिको पढ्नुहुन्छ ? पढ्दा कस्तो खालका पढ्नुहुन्छ ?
पुस्तकहरू त पढ्छु । अहिले म राइटर पनि भएको छु । क्रिएटिभ राइटिङ पनि पढाउँछु । त्यसैले नर्मली पढिरहेकै हुन्छु । तर अहिले पढ्ने मेरो लेन्स अलिकति फरक भएको छ जस्तो लाग्छ ।
जस्तो, कुनै उपन्यास पढ्दा ‘यो ठाउँमा यस्तो तरिकाले लेखेको रहेछ, कस्तो दामी!’ भनेर अरूलाई पनि राइटिङ पढाउँदा उदाहरण दिन सकियोस् भन्ने हिसाबले पढिरहेको हुन्छु । त्यसैले अहिले मेरो पढ्ने तरिकामा क्राफ्ट अलिकति बढी हाबी भएको हो कि जस्तो लाग्छ ।
तर त्यो फेरि समयअनुसार पनि डिपेन्ड गर्छ । कहिलेकाहीँ समय अलिकति कन्फिडेन्ट छ भने छोटाछोटा किताब, सर्ट स्टोरीहरू पढ्न पनि मन लाग्छ । त्यसरी नै पढिरहेको हुन्छु।
मन परेका कुनै पुस्तक ?
मन परेका पुस्तकहरू पनि सिनेमा जस्तै एकदमै धेरै छन् । एउटा मात्रै भनेर छान्न गाह्रो हुन्छ मलाई ।
प्लस टुमा कोर्समै पढेको भएर होला, द ग्रेट ग्याट्सबी मलाई एकदमै मन पर्छ । एफ. स्कट फिट्जेराल्डको । त्यो किताबले मलाई मल्टिपल लेयरबाट इन्टरप्रिटेसन गर्न सिकायो जस्तो लाग्छ । बेलाबेलामा फेरि पढिरहेको हुन्छु । त्यसमा सुरुमा जुन किसिमले न्यारेटरलाई राखिएको छ, एउटा एक्टिभ न्यारेटरले किताबलाई कसरी अगाडि लैजान सक्छ भन्ने कुरा एकदमै रोचक लाग्छ मलाई ।
त्यसपछि मिलान कुन्देराको द अनबियरेबल लाइटनेस अफ बिइङ पनि एकदमै धेरै इन्जोय गरेको हुँ । उहाँको राइटिङ नै मन पर्छ । नेपालीमा अमर न्यौपानेको सेतो धरती पनि एकदम मन पर्छ । अहिले मेरो रुचि अलि बढी राइटिङ क्राफ्टतिर गइरहेको भएर होला, त्यसको सुरुवातका दुईतीन पेज एकदमै मास्टरफुल लाग्छन् । विशेषगरी सासको बारेमा जसरी त्यहाँ लेखिएको छ, त्यो एकदमै राम्रो लाग्छ ।
कहिलेकाहीँ त किताबको कभरले गर्दा पनि किताब मन परिरहेको हुन्छ । त्यसबाहेक महाभारा पनि मलाई एकदमै रोचक लागेको किताब हो । महाभारामा मेरो कविता पनि छ, तर त्यो भएर मात्रै मन परेको होइन । झुम्पा लाहिरीका किताबहरू पनि मन पर्छन् । एलिफ शफाकको द बास्टर्ड अफ इस्तानबुल पनि मन पर्छ । दोतोस्भेस्कीको ह्वाइट नाइट्स पनि एकदमै राम्रो लागेको थियो । उलार त टाइमलेस नै भयो जस्तो लाग्छ मलाई ।
अझै धेरै छन् । अहिले एकैचोटि भन्नुपर्दा चैं माइन्ड ब्ल्याङ्क नै हुन्छ । किताबको लिस्ट बनाउन गाह्रो हुन्छ मलाई ।
तपाईंका प्रिय लेखकहरू?
प्रिय लेखकहरू भनेर छान्न पनि गाह्रो हुन्छ । नाम लिँदा मिलान कुन्देरा भनेँ । उहाँको लेखाइमा जुन फिलोसफी छ, पोलिटिकल सटायर छ, ह्युमर छ, अनि जुन किसिमको सेन्सिबिलिटी उहाँले ल्याउनुहुन्छ, त्यो एकदमै डेरिङ लाग्छ मलाई । त्यसैले उहाँको लेखन मन पर्छ ।
झुम्पा लाहिरीको राइटिङ पनि मन पर्छ । पारिजातका चिठीहरू मलाई एकदमै मन पर्छन् । अहिले म बायोग्राफी लेखिरहेको भएर पनि होला, कन्फेसनहरू, व्यक्तिगत कथा र मान्छेले आफैँबारे भनेका कुराहरू अहिले मलाई झन् रोचक लागिरहेका छन्।
फ्रान्ज काफ्काको लेटर टु मिलेना पनि त्यही कारणले मन पर्छ । मान्छेको निजी जीवन, उसको स्वीकारोक्ति र उसले बाँचेको जीवनलाई नजिकबाट हेर्न पाइने कुरा मलाई अहिले एकदमै रोचक लाग्छ ।

अहिले म एउटा कुरा धेरै सोचिरहेको हुन्छु – हरेक मान्छेको कथा आफैँमा इतिहास हो । एउटा मान्छेले बाँचेको कुरा पनि इतिहास हो । त्यसैले पढाउँदा पनि म त्यो कुरामा अलि बढी फोकस गरिरहेको हुन्छु । जति नजिक गएर एउटा मान्छेको कथा लेख्यो, त्यति नै त्यसमा युनिभर्सल कुरा भेटिन्छ जस्तो लाग्छ ।
प्रिय लेखकमा गोपाल योञ्जनलाई पनि म राख्छु । उहाँलाई लेखक मान्ने हो भने उहाँको काव्य एकदमै राम्रो लाग्छ । उहाँको लेखनमा एउटा छुट्टै गहिराइ छ ।
एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक वा कुनै पात्रसँग बिताउनुहुन्थ्यो ?
मलाई लाग्छ, गोपाल योञ्जनसँग बिताउँथेँ होला। उहाँसँग गीतको बारेमा कुरा गर्न एकदम मजा आउँथ्यो होला जस्तो लाग्छ। उहाँले गीतलाई कसरी हेर्नुहुन्थ्यो, गीत लेख्दा के सोच्नुहुन्थ्यो, जीवन र गीतको सम्बन्धलाई कसरी बुझ्नुहुन्थ्यो भन्ने कुरा घण्टौँ गफ गर्न मन लाग्थ्यो ।
नेपालमा के कस्तो विषयमा धेरै पुस्तक लेखिनुपर्छ?
यस्तो नै विषय भनेर ठ्याक्कै भन्न त गाह्रो छ मलाई । तर अहिले चैं व्यक्तिका युनिभर्सल कुराहरूलाई अलि बढी लेखिनुपर्छ जस्तो लाग्छ । युनिभर्सल कुरा भनेको पनि नितान्त व्यक्तिको जीवनबाटै आउने हो । तर एउटा व्यक्तिको जीवन लेख्दा त्यसमा अलिकति युनिभर्सल अपिल पनि आउन सक्ने गरी लेखिनुपर्छ जस्तो लाग्छ । किनकि जति नजिक गयो, उति नै युनिभर्सल हुन्छ हरेक कथा ।
त्यसैले मान्छेले बाँचेको जीवन, उसको व्यक्तिगत संघर्ष, उसको अनुभव, उसको स्वीकारोक्ति यस्ता कुराहरू अझै धेरै आउनुपर्छ जस्तो लाग्छ । अनि अलि बढी बायोग्राफीहरू पनि आउनुपर्छ । विशेषगरी संगीत क्षेत्रको । म आफैं पनि संगीतमा काम गरिरहेको भएर होला, त्यो क्षेत्रमा अझै धेरै कुरा लेखिन बाँकी छ जस्तो लाग्छ ।
अहिले आइरहेका बायोग्राफीहरूभन्दा पनि अझ गहिराइमा गएर, मान्छेको जीवनको भित्री कथा, उसको समय, उसको संघर्ष, उसको सिर्जना र उसको व्यक्तिगत संसारलाई जोडेर लेखिएका बायोग्राफीहरू अझै धेरै आउनुपर्छ जस्तो लाग्छ ।
५. घुमफिर र सोख
घुमफिर गर्न कत्तिको रुचाउनुहुन्छ ?
रुचाउँछु । मलाई मजा लाग्छ । वर्षमा एकपटक ट्रेकिङ जाने भन्ने हुन्छ, तर यो वर्ष यताउता गरेर जान पाइनँ । अगाडि पनि बीचबीचमा ग्याप भइहाल्थ्यो । म केही अगाडिसम्म बाइक टुरहरू पनि गर्थेँ । त्यसैले घुम्न एकदमै मन पर्छ ।
सबभन्दा धेरै गएको र जान मन भएको ठाउँ ?
यस्तो प्रश्नमा भन्न गाह्रो हुँदोरहेछ मलाई । म सानैदेखि घुम्ने कुरामा अलि यस्तै थिएँ । तर जान मन भएको ठाउँ रारा हो । रारा अहिलेसम्म जान पाएको छैन । रारा जान एकदमै मन छ ।
सबभन्दा धेरै गएको ठाउँको प्याटर्न हेर्ने हो भने ताल भएको ठाउँहरू धेरै गएको छु जस्तो लाग्छ । तिलिचो गएँ, पाँच पोखरीको माथि गएर ताल हुने ठाउँहरू… मलाई किन हो, ताल भएको ठाउँ एकदम मन पर्छ ।
सबभन्दा मन परेको ठाउँ वा यात्रा ?
मन परेको ठाउँ वा यात्रा भन्नुपर्दा तिलिचो नै भन्छु म । अहिलेसम्म म गएकोमध्ये त्यति ब्युटिफुल ठाउँ, त्यति ब्युटिफुल यात्रा मैले गरेको छैन जस्तो लाग्छ । तिलिचोको यात्रा पनि मलाई एकदमै रोचक लागेको थियो । त्यसैले त्यो मेरो लागि विशेष छ ।
गीत कत्तिको सुन्नुहुन्छ ? सबैभन्दा मन परेका गायक ?
गीत त एकदमै सुन्छु । गीत सुन्न एकदमै मन पर्छ । नेपालीदेखि हिन्दी, अंग्रेजी सबै खालका गीत सुनिन्छन् ।
नेपालीमा गोपाल योञ्जन एकदमै मन पर्छ । त्यसबाहेक बच्चु कैलाश पनि मन पर्छ । बच्चु कैलाशका गीतमा जुन एउटा सफ्टनेस छ, एउटा फेमिनिटी आउँछ नि, त्यो मलाई एकदम मन पर्छ ।
अंग्रेजीमा जोन लेननका गीतहरू र द बीटल्सका गीतहरू एकदमै धेरै मन पर्छन् । अहिले आफूलाई गिटारमा पनि अलिअलि रुचि बढेको भएर होला, गिटार राम्रोसँग सुन्न पाइने, इन्स्ट्रुमेन्टेसन राम्रो भएको गीतहरू पनि अलि बढी मन पर्न थालेका छन् ।
के कुराको विशेष सोख छ ?
मलाई विशेष सोख के छ भनेर भन्नचाहिँ गाह्रो लाग्यो । ‘विशेष सोख’ भन्ने नै अलि गाह्रो प्रश्न हो कि क्या हो!
गीत सुन्ने त हो नै । तर गीत सुन्नुभन्दा पनि त्यसको इन्टरप्रिटेसन गर्ने, विवेचना गर्ने मेरो विशेष सोख हो जस्तो लाग्छ । कुनै पनि कुरालाई अलिकति गहिरिएर हेरौँ, यताउता दायाँबायाँ कुरा गरेर हेरौँ भन्ने हुन्छ ।
त्यो इन्टरप्रिटेसन गर्ने कुरा मेरो स्वभावमै छ जस्तो लाग्छ । अनि लेख्ने कुरा पनि छ । लेख्नका लागि मैले धेरै कुरा छोडेको छु । त्यसैले त्यो विशेष सोख मात्रै नभएर छोड्नै नसकिने कुरा हो कि जस्तो लाग्छ मलाई ।
खानाको कत्तिको सोखिन हुनुहुन्छ? मन पर्ने परिकार ?
खानाको चाहिँ धेरै सोखिन होइन । तर म एउटै खालको खाना लगातार पनि खान सक्छु । मलाई चैं एकदमै मिक्स भेज खानुपर्छ । अलि धेरै थरी तरकारी मिसाएर पकाएको, मिक्स भएको खाना मलाई एकदम मन पर्छ । कहिलेकाहीँ दाइले फोन गरेर ‘आज कति थरी तरकारी पाक्या छ त?’ भनेर सोध्नुहुन्छ । म सातआठ थरी तरकारी मिसाएर पकाएर खान्छु ।
त्यसैले मनपर्ने परिकार भनेर ठ्याक्कै यही हो भनेर छान्न चाहिँ गाह्रो हुन्छ मलाई । धेरै कुरा मिक्स भएको चाहिँ मलाई एकदम मन पर्छ । किन हो, थाहा छैन।
किनमेल गर्न कति रुचाउनुहुन्छ ?
किनमेल गरिरहेकै हुन्छु । धेरै रुचाउनेभन्दा पनि पर्यो भने गर्ने हो । म अलि लास्ट आवरमा गर्ने खालको मान्छे हुँ । कहिलेकाहीँ त प्यानिक बाइङ पनि गर्छु । पछि ‘नचाहिने कुरा पो किनेछु’ जस्तो हुन्छ । त्यो चाहिँ अलि घटाउन खोजिरहेको छु । नत्र अहिले म काठमाडौँमा एक्लै बस्छु, त्यसैले ग्रोसरी किनमेल चाहिँ नियमित भइरहन्छ ।
के-कस्ता किनमेलका लागि बजार जानुहुन्छ ?
लुगा र ग्रोसरीजकै लागि बढी जाने हो। ग्रोसरीज अझै बढी हुन्छ, किनभने खाना बनाउनुपर्यो। त्यसैले दैनिक चाहिने सामान किन्न बजार गइरहेको हुन्छु।
आफ्नो लुगाफाटो आफैँ किन्नुहुन्छ कि अरूले किनिदिन्छन् ?
म आफैँ किन्छु । अरूले किनिदिँदैनन्। अरूले किनिदिएको पनि त्यति मन पर्दैन मलाई। आफैँले छानेर किनेको चाहिँ मन पर्छ ।
अहिलेसम्म किन्नुभएको सबैभन्दा महँगो वस्तु अथवा खर्च गरेको सेवा ?
सायद क्यामेरा होला । मैले सोनीको क्यामेरा किनेको थिएँ । मलाई क्यामेरा, ल्यापटपजस्ता गियर्सहरू किन हो, एकदम मन पर्छ । त्यो क्यामेरा मैले सात–आठ वर्ष अगाडि नै किनेको थिएँ । त्यतिबेला धेरै काम पनि गरेको थिइनँ त्यसबाट । तर अहिले आएर भिडियो बनाउन काम लागिरहेको छ । त्यसैले पुराना कुराहरू पनि यसरी जोडिँदै आएका रहेछन् कि क्या हो जस्तो लाग्छ ।

मलाई आफूलाई चाहिने खालका गियर्सहरू किन्न चाहिँ मन पर्छ । तर नयाँ आयो भन्दैमा तुरुन्तै नयाँ किनिहाल्ने खालको चाहिँ होइन । धेरैजसो रिफर्बिस्ड नै किन्छु । ल्यापटप, म्याक पनि रिफर्बिस्ड नै किनेको हुँ ।
त्यसैले सबैभन्दा महँगो वस्तु चाहिँ सायद त्यही क्यामेरा नै होला ।
६. राजनीति
नेपालको राजनीति कस्तो लाग्छ ?
एकदमै तरल लाग्छ । अडिँदै अडिँदैन के । कहिले जमेजस्तो हुन्छ, फेरि जम्दै जम्दैन । जम्नु पनि हुँदैन होला, तर एकदमै अनप्रेडिक्टेबल लाग्छ ।
हाम्रो देश जुन हिसाबले विकास हुनुपर्ने हो, त्यो किन हुन सकेन? जुन किसिमको लिप आउनुपर्ने हो, त्यो किन आएन? भन्ने प्रश्न पनि यही अनप्रेडिक्टेबल पोलिटिक्ससँग जोडिएको जस्तो लाग्छ मलाई। हाम्रो राजनीति एकदमै अस्थिर छ ।
हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?
मुख्य समस्या यही अस्थिरता हुन सक्छ । तर मलाई लाग्छ, हाम्रोमा तयारी एकदमै कम हुन्छ । पूर्वतयारी नै गर्दैनौँ ।
उज्ज्वल थापाले एउटा कार्यक्रममा भूकम्पपछिको सन्दर्भमा नेतृत्व भनेको पूर्वतयारी हो भन्नुभएको थियो । त्यो कुरा मलाई एकदमै रोचक लागेको थियो। वास्तवमै पूर्वतयारी चाहिँ हामी पटक्कै गर्दैनौँ जस्तो लाग्छ।
पहिला यसो गरौँ, ड्याङड्याङ गरिदिऊँ, अनि त्यसपछि हेरौँला भन्ने टाइपको हुन्छ। धेरै राजनीतिक दलमा पनि त्यही कुरा देखिन्छ। भोलि म नेता भएँ भने के गर्ने? भोलि म मन्त्री भएँ भने के गर्ने? भन्ने तयारी धेरै कममा मात्रै देखिन्छ।
अनि अर्को कुरा, पावरमा माथि जाँदै गएपछि तलको सिटसँग, जनतासँग अलि डिस्टेन्स हुने, आफ्नो वरिपरि आफ्नै मान्छेहरू राख्ने एउटा प्याटर्न पनि देखिन्छ। मलाई लाग्छ, यो हाम्रोमा ५०–६० वर्षदेखि नै चलिरहेको एउटा प्याटर्न हो।
नेताहरूको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुधार्नुहुन्थ्यो ?
पूर्वतयारी गर्ने गुण राखिदिन पाए हुन्थ्यो जस्तो लाग्छ। म्यानेजमेन्ट स्किल चाहिँ हाम्रो नेताहरूमा कम छैन जस्तो लाग्छ। गुड म्यानेजमेन्ट भनेको पनि एउटा ठूलो काम हो। आफ्नो मान्छेलाई दायाँबायाँ कतै जान नदिने गरी व्यवस्थापन गर्नु पनि एक किसिमको ठूलो म्यानेजमेन्ट नै हो।
तर त्यो ऊर्जा गलत ठाउँमा प्रयोग भइरहेको जस्तो लाग्छ। त्यही म्यानेजमेन्ट स्किल चाहिँ क्राइसिस आयो भने के गर्ने? अहिले जस्तो संकट आयो भने के गर्ने? भन्ने कुरामा प्रयोग हुनुपर्छ।
पूर्वतयारी गर्नु एकदमै गाह्रो काम हो। हामी सबै त्यसमा स्ट्रगल गर्छौँ। म पनि गर्छु होला। अरूलाई भनेजस्तो आफूले गर्न नसक्ने पनि हुन्छ। तर त्यो चाहिँ हाम्रो डीएनएमै बस्नुपर्छ जस्तो लाग्छ । देशकै रूपमा, शिक्षादेखि नै पूर्वतयारी गर्ने संस्कृति बनाउनुपर्छ होला। हाम्रोमा चाहिँ परेपछि पढ्ने, परेपछि गर्ने, अन्तिम समयमा सोच्ने भन्ने खालको बानी छ। त्यसैले नेता पनि आखिर हामीबाटै आउने हो नि। यो दुवैतिरबाटै जोडिएको कुरा हो जस्तो लाग्छ ।
त्यसैले एउटा चरित्र सुधार्नै पर्ने भयो भने, अलिकति बढी पूर्वतयारी गर्ने गुण चाहिँ हालिदिन पाए हुन्थ्यो।
मन परेका वा प्रभाव पारेका नेता/राजनीतिज्ञ ?
मलाई एलेक्जान्ड्रिया ओकासियो-कोर्टेज रोचक लाग्छ । उहाँसम्बन्धी एउटा डकुमेन्ट्री हेरेको थिएँ । त्यसपछि उहाँको काम गर्ने तरिका पनि इन्ट्रेस्टिङ लागेको थियो । बराक ओबामाका किताबहरू पढ्दा पनि उहाँ रोचक लाग्नुभएको थियो। नेपालमा बीपी कोइराला पनि रोचक लाग्छ। साहित्य र राजनीति दुवैलाई एकैचोटि सँगसँगै लैजाने उहाँजस्तो व्यक्तित्व कमै हुनुहुन्छ जस्तो लाग्छ। अहिलेको समयको कुरा गर्दा गगन थापा पनि रोचक लागिरहेको छ।
उहाँले पुरानो पार्टीलाई बदल्ने गरी जुन किसिमले हस्तक्षेप गर्न खोज्नुभएको छ, त्यो गाह्रो काम हो। यस्तो काम गर्ने हिम्मत सबैमा हुँदैन। उहाँले गर्न खोजेको त्यो कुरा चाहिँ मैले अहिलेको सन्दर्भमा प्रशंसनीय प्रयासका रूपमा हेरेको छु।
मानौँ तपाईं प्रधानमन्त्री हुनुभयो, सबैभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?
अँ… यस्तो हाइपोथेटिकल प्रश्न हो । खासमा प्रधानमन्त्री नै हुने रहर छैन मलाई, सांसद वा प्रधानमन्त्री हुने रहर पनि छैन । म त यतै आफ्नो काममै छु । त्यसैले ‘पहिलो काम यही गर्छु’ भनेर कुनै पपुलिस्ट आइडिया भन्न पनि मन लाग्दैन । आधारभूत कामहरू जे गर्नुपर्ने हो, त्यही गर्ने होला ।
तर नेपालजस्तो देशले अहिले पनि आर्ट डिप्लोमेसीमा अलिकति बढी काम गर्न सक्छ जस्तो लाग्छ मलाई। हाम्रो देश सानो छ, अनि कलाको एक्सचेन्ज, कलामार्फत मान्छेहरू जोडिने कुरा एकदमै राम्रो हो। कलाले मान्छेलाई जोड्छ। हाम्रो आर्ट डिप्लोमेसी चाहिँ अलि कम भएको जस्तो लाग्छ।
अर्को कुरा, प्रधानमन्त्री भएर त्यसरी चलाउन मिल्थ्यो भने नेपालको हरेक स्कुलमा स्टोरीटेलिङ र कन्टेन्ट क्रिएसन पढाउने कुरामा काम गर्थेँ होला।
किनभने अबको वर्ल्डमा स्टोरी भन्न सक्ने क्षमता नै एउटा ठूलो हतियार हुनेवाला छ जस्तो लाग्छ। हामी यो कुरामा अलि ढिलो पनि छौँ । मैले धेरै ठाउँमा भनेको पनि छु – कथा भन्न सिकाउने कुरा हाम्रो करिकुलममा अझै रमाइलो तरिकाले आउनुपर्छ । कथा भन्ने विषयमा परीक्षा लिएर पास हुनुपर्ने भनेको होइन । तर बच्चाहरूले कसरी कथा भन्न सिक्ने, कसरी आफ्नो कुरा प्रस्तुत गर्न सिक्ने भन्ने कुरा करिकुलममै रमाइलो तरिकाले राख्न सकिन्छ।
त्यो कुरामा चाहिँ काम गर्थेँ होला जस्तो लाग्छ ।
७. सामाजिक सञ्जाल र डिजिटल डिभाइस
कुन ब्रान्डको मोबाइल चलाइरहनुभएको छ ?
मसँग आइफोन ११ प्रो–म्याक्स छ । अलि पुरानो हो, रिफर्बिस्ड नै किनेको । तर यसले अहिलेसम्म राम्रोसँग काम दिइरहेको छ । कहिलेकाहीँ भिडियोहरू, विशेषगरी आफ्ना कन्टेन्टका भिडियोहरू पनि यसैले खिच्छु ।
दिनको कति घन्टा मोबाइल र सामाजिक सञ्जालमा बिताउनुहुन्छ? बढी चलाउने कुन हो ?
त्यो चाहिँ अलि डिपेन्ड गर्छ । भिडियोहरू हालेको बेला कहिलेकाहीँ कमेन्टहरू हेर्न र रिप्लाई गर्न मन लाग्छ, त्यसबेला अलि बढी समय जान्छ । ठ्याक्कै यति घन्टा भनेर भन्न सक्दिनँ । दुई तीन घन्टा त यत्तिकै केही न केही गर्दै, हेर्दाहेर्दै गइरहेको हुन्छ ।
अनि स्क्रिप्टमा काम गर्दा डिक्सनरीहरू पनि फोनमै चलाउँछु, त्यसले गर्दा पनि समय जान्छ । सामाजिक सञ्जालमा हेर्दा इन्स्टाग्राम स्क्रोल गर्न थाल्यो भने चाहिँ एकदमै एडिक्टिभ छ । तर म सबैभन्दा बढी चलाउनेचाहिँ युट्युब नै हो जस्तो लाग्छ । युट्युबमा हेर्ने चिजहरू धेरै छन् । फुटबलका हाइलाइटदेखि टेनिसका हाइलाइटसम्म, गेमहरूदेखि टेस्टसम्म । त्यसैले मेरो धेरै समय युट्युबमै बित्छ जस्तो लाग्छ ।
बिहान उठ्नासाथ र राति सुत्नेबेला फोन हेर्ने बानी छ कि छैन ?
बिहान उठ्नासाथ चाहिँ हेर्ने बानी छैन, किनभने म बिहान जिम जान्छु। राति सुत्ने बेला चाहिँ हेर्ने बानी भइरहेको हुन्छ। त्यो चाहिँ घटाउनुपर्छ जस्तो लाग्छ। खासमा सुत्ने बेलामा फोन नहेर्नु पर्ने हो।
हेरेनँ भने पनि कहिलेकाहीँ केही सुन्दै सुत्ने बानी छ। पोडकास्ट सुन्दै सुत्ने। त्यो पनि खासमा हटाउनुपर्ने रहेछ। त्यसैले यो मेरो अलिअलि खराब बानी भएको छ। अब यसलाई कट गर्नुपर्छ।
सामाजिक सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ?
राम्रो पक्ष धेरै छ। अहिले कन्टेन्ट क्रिएटर भएर सोच्दा, तपाईंको अडियन्स जति सामाजिक सञ्जालमा पाउन सकिन्छ, त्यति ठूलो अडियन्स अरू कतै पाउन गाह्रो हुन्छ। सबैजसो मान्छे सामाजिक सञ्जालमै हुनुहुन्छ।
सबैभन्दा राम्रो कुरा चाहिँ यसले तपाईंलाई आफ्नो कला वा काम आफैँ एक्सप्लोर गर्ने र प्रस्फुटन गर्ने ठाउँ दिएको छ। पहिले जस्तो कुनै थर्ड पर्सन वा एजेन्सी आएर ‘तपाईंको काम यस्तो हुनुपर्छ’ भन्नेमा भर पर्नुपर्दैन। आफैँले आफ्नो काम राख्न सकिन्छ, आफ्नै अडियन्स खोज्न सकिन्छ। त्यो हिसाबले यो एकदमै डेमोक्रेटिक छ जस्तो लाग्छ।
नराम्रो पक्ष चाहिँ त्यही, यो अलि एडिक्टिभ छ। हेर्ने बानी लाग्छ। अर्को कुरा, यो अलि पोलराइज्ड पनि छ। कमेन्टहरू हेर्दा त्यसले कहिलेकाहीँ असर गर्छ जस्तो लाग्छ। तर यो सामाजिक सञ्जालमा मात्र होइन, धेरै कुरामै हुने कुरा हो।
फलोअर्स, लाइक, कमेन्ट र भ्युजले तपाईंलाई केकति प्रभाव पार्छ ?
म चाहिँ मुख्य रूपमा राम्रो कन्टेन्ट बनाउने कुरामै फोकस गर्छु। फलोअर्स, लाइक, कमेन्ट, भ्युज भनेका त्यसका बाइप्रोडक्ट हुन् जस्तो लाग्छ। मैले भिडियो राम्रो बनाएँ, त्यो मिलियनमा गयो भने फलोअर्स आउँछन्, लाइक–कमेन्ट आउँछन्, भ्युज पनि आउँछ। त्यसैले मेरो फोकस राम्रो कन्टेन्ट बनाउनेमै हुन्छ।
तर कहिलेकाहीँ चाहिँ प्रभाव पर्छ। जस्तो, ‘मैले यो भिडियोमा अलि राम्रो काम गरेको छु, यसलाई अलि बढी मान्छेले हेरे हुन्थ्यो’ भन्ने लाग्छ। अनि आफूले सोचेको जति गएन भने ‘ल, के भयो होला?’ जस्तो हुन्छ। तर एक–दुई दिनपछि फेरि ‘सायद यो कारणले गर्दा होला’ भनेर बुझ्न थालिन्छ।

त्यसैले प्रभाव त कहिलेकाहीँ पर्छ, तर त्यो मेरो लागि ठूलो फ्याक्टरचाहिँ होइन। यति काम गरेपछि कुन कन्टेन्ट जाने र कुन नजाने भन्ने पनि अलिअलि थाहा भइसकेको छ। तर जाने कन्टेन्ट मात्रै बनाउनुपर्छ भनेर म लोभिएको छैन। ‘यो चाहिँ मान्छेले हेर्नुपर्छ’ भन्ने लाग्ने कन्टेन्ट पनि ल्याइरहेको हुन्छु। त्यसैले जाने र आफूले गर्नुपर्ने कन्टेन्ट – यी दुईटालाई ब्यालेन्स गर्न खोजिरहेको हुन्छु।
एआई टुलहरू कतिको चलाइरहनुभएको छ? बढी कुन चलाउनुहुन्छ ?
एआई टुलहरूमा चाहिँ अलिअलि बढी च्याटजीपीटी, जेमिनाई र क्लाउड चलाउँछु। विशेषगरी रिसर्च गर्नुपर्यो भने प्रयोग हुन्छ।
सामाजिक सञ्जाललाई आजको समयमा कसरी व्याख्या गर्नुहुन्छ ?
मलाई लाग्छ, आजको समयमा सामाजिक सञ्जाल भनेको तपाईंले अवोइड नै गर्न नसक्ने एउटा शक्ति हो। मानव जातिको अहिलेसम्मकै सबैभन्दा ठूलो ग्राउन्डब्रेकिङ चिजमध्ये सामाजिक सञ्जाल पनि एउटा हो जस्तो लाग्छ। किनभने यति धेरै मान्छेलाई आफ्नो कुरा राख्ने, आफ्नो काम देखाउने र आफ्नै अडियन्स खोज्ने खुला ठाउँ अरू कुनै चिजले दिएको थिएन होला।
पहिले टेलिभिजन हुन्थ्यो, सूचनाका अरू माध्यमहरू हुन्थे। तर ती धेरै हिसाबले वान–वे थिए। मान्छेले फोटो राखे पनि त्यो प्राइभेट हुन सक्थ्यो, अर्कोले हेर्ने मात्रै हुन्थ्यो। अहिलेचाहिँ इट्स ओपन टु एभ्रिबडी । त्यसैले सामाजिक सञ्जाल एकदमै ठूलो ओपन एक्सेस जस्तो लाग्छ। त्यसका रिस्कहरू पनि उत्तिकै धेरै छन्। तर आफ्नो केही काम गर्छु, क्रिएट गर्छु र त्यसको अडियन्स खोज्छु भन्ने मान्छेका लागि यतिको ठूलो प्लेटफर्म सायद आजसम्म थिएन।
८. रोचक तथ्य
पुनः जन्म हुने भए अब के बन्न मन छ?
पुनर्जन्म हुने भए मलाई लाटोकोसेरो बन्न मन छ। लाटोकोसेरो मलाई एकदमै मन पर्छ। उसको लिस्निङ, अर्थात् सुन्ने क्षमता एकदमै राम्रो हुन्छ। कति डिग्रीसम्म फर्केर पनि सुन्न सक्छ। उसको मेमोरी पनि एकदम राम्रो हुन्छ।
अनि लाटोकोसेरोलाई धेरैले त्यति नोटिस पनि गर्दैनन्। उसको ब्युटी, उसको पावरलाई धेरैले खासै ध्यान दिँदैनन्। त्यसैले लाटोकोसेरोको आँखाबाट यो वर्ल्ड हेर्न मन छ मलाई।
तनाव, दबाबहरू कसरी कम गर्नुहुन्छ ?
धेरै तनाव भयो भने मलाई कफी खानुपर्छ जस्तो लाग्छ, कफी खान्छु पनि। त्यसबाहेक हाइकिङ गर्ने जस्तो पनि हुन्छ। तर पछिल्लो समयचाहिँ त्यसका लागि त्यति समय मिलिरहेको छैन।
मलाई पढाउन पायो भने पनि तनाव कम हुन्छ। अनि लेख्न बस्यो भने पनि त्यस्तै हुन्छ। लेख्न बस्नु आफैँमा कहिलेकाहीँ तनावको काम हुन्छ, तर एकपटक लेख्न बसेपछि चाहिँ म अरू कुरा बिर्सिन्छु। तनाव पनि बिर्सिन्छु। त्यसैले लेख्न बस्नु पनि मेरो लागि तनाव कम गर्ने एउटा तरिका हो।
तपाईंलाई केको सुगन्ध सबैभन्दा मन पर्छ ?
मलाई सबैभन्दा मनपर्ने सुगन्धचाहिँ कटर चम्पाको हो। हाम्रो स्कुलमा भोजपुरतिरका साथीहरूले कहिलेकाहीँ कटर चम्पा ल्याउँथे। त्यो फूल एकछिन हातमा बोकेपछि दिनभरि हातमा बासना आइरहन्थ्यो।
कटर चम्पाजस्तो मिठो बासना अरू कुनै फूलको लाग्दैन मलाई। एकदमै मिठो लाग्छ, एकदमै।
अहिलेसम्म तपाईंले पाउनुभएको राम्रो सुझाव ?
रिसेन्ट टाइममा म जुन किताबमा काम गरिरहेको छु, १९७५ को बायोग्राफीमा, त्यसको एडिटर अजित बराल दाइले दिनुभएको एउटा सुझावले मलाई पछिल्लो समय सबैभन्दा बढी हेल्प गरेको छ ।
उहाँले राइटिङमा अलि बढी ‘देखाउन’ प्रयत्न गर भन्नुभएको थियो। कुनै चिज ‘यस्तो भएको थियो’ भनेर भन्नुभन्दा पनि ‘कसरी भएको थियो’ भनेर देखाउनुपर्छ भन्नुभएको थियो। त्यसो गर्दा त्यो यस्तो भएको थियो भन्ने कुरा पाठकले आफैँ बुझिहाल्छ।
त्यो कुरा अहिले म मेरा स्टुडेन्टहरूलाई पनि भनिरहेको हुन्छु। त्यसले मेरो राइटिङ र सोच्ने इन्टायर तरिका नै चेन्ज गरिदिएको छ। पहिला पनि त्यो कुरा अलिअलि थाहा थियो होला, जाने–नजाने प्रयोग पनि गरेको थिएँ होला। तर अहिलेचाहिँ त्यसले एकदमै ‘इट मेक्स सेन्स’ भन्ने भएको छ।
आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?
आउँदो पुस्ता भनेको कति समयपछिको पुस्ता भन्ने पनि होला। तर मलाई के लाग्छ भने, अब आउने पुस्ता झन् बढी एकअर्काबाट, मान्छेबाट डिट्याच हुँदै जाने सम्भावना छ। सामाजिक सञ्जालदेखि एआई टुल्ससम्म, प्रविधि हेर्दा पनि यो झन् बढी इन्डिभिजुअलिस्टिक हुँदै गइरहेको छ।
त्यसैले अब आउने पुस्तालाई समुदायमा राखिराख्नका लागि उनीहरूलाई मान्छेहरूसँग भेट्ने, ग्यादरिङ हुने वातावरण अझै धेरै बनाउनुपर्छ होला। उनीहरूलाई एकअर्कासँग जोडिराख्ने खालका ठाउँ र गतिविधि चाहिन्छ ।
कथावाचन पनि त्यसको एउटा माध्यम हुन सक्छ जस्तो लाग्छ। जहाँ मान्छेहरू भेला हुन्छन्, आफ्ना कथा सुनाउँछन्, अरूका कथा सुन्छन्। समुदायबाट टाढा नहुनका लागि अब हामीले त्यस्ता ठाउँ र संस्कृतिमा अझै धेरै काम गर्नुपर्छ जस्तो लाग्छ।
दिलै खोलेर अनलाइनखबरको साप्ताहिक कुराकानी श्रृंखला हो । यसमा हामी विभिन्न विषयमा अझ नजिक हुने गरी कुराकानी गर्छौं।
प्रतिक्रिया 4