
९ साउन, विराटनगर । हत्या अभियोगमा कैद सजाय माफ भएर बिहीबार जेलमुक्त भएका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको विषयले प्रदेश नम्बर १ को प्रदेशसभा बैठकमा प्रवेश पाएको छ ।
शुक्रबारको प्रदेशसभा बैठकमा बोल्ने सांसदहरुले हत्यारालाई छाड्दा गलत नजिर बस्ने भन्दै आपत्ती जनाए ।
जारी अधिवेशनको अन्तिम बैठकको शून्य समयमा बोल्दै नेकपा प्रदेश सभा सदस्य अम्बिका थापाले श्रीमतीको क्रूरतापूर्वक हत्या गर्ने व्यक्ति जेलबाट मुक्त हुनुले न्यायप्रति प्रश्न उठेको बताइन् । थापाले भनिन्, ‘आफ्नै श्रीमतिको हत्या गर्ने र आफैं मृत्यु भएको भन्दैमा कोइरालाले छुटकारा पाउनु कहाँको न्याय हो ?’ आफ्नै श्रीमती गीता ढकालको हत्या गरेर फालेका कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरासहितको इजलासले छुट दिनु आपत्तिजनक भएको थापाको गुनासो छ ।
प्रदेश सभासदस्य थापाले श्रीमती हत्या गरेर हात हल्लाउँदै बाहिरिएका कोइरालाप्रतिको अदालती निर्णय पुनरावलोकन गर्न प्रदेश सभामार्फत अपिल गरेकी थिइन् ।
नेकपा धनकुटाकी सांसद कुसुम श्रेष्ठले हत्यारा कोइरालालाई छुटाउनका लागि गरिएको प्रपञ्च गलत भएको बताइन् । अदालतबाट न्याय भन्दापनि अन्यायले प्रश्रय पाउने गरि परिदृष्य थपिदै गएको उनले गुनासो गरिन् ।
प्रतिक्रिया 4