Comments Add Comment

प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा बाराका पत्रकार हिरासतमा

१८ साउन, वीरगञ्ज । प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पर्सामा प्रहरीले बाराका पत्रकार उमेश दुवेलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले बाराको फेटा गाउँपालिका फुलवरिया निवासी टिभी टुडेका सम्वाददाता दुवेलाई ४ दिनअघि पक्राउ गरी सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको म्याद पनि लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखा (क्राइम ब्रान्च) को टोलीले साउन १४ गते वीरगञ्जस्थित माई टिभीको कार्यालय अगाडिबाट दुवेलाई नियन्त्रणमा लिएको थियो । पत्रकार दुबे टिभी टुडे, माई टिभी, जनगुनासो दैनिक, आर्थिक राष्ट्रिय दैनिक र न्यु सन्देश दैनिकमा आवद्ध छन् ।

पत्रकार दुवेले पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्त र प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरकै सामुन्ने वीरगञ्जको पावर हाउस चोकमा ड्युटीमा खटेका प्रहरीसँग विवाद गरेको आरोप लागेको छ ।

बुधबार नै पत्रकार दुवेले सामजिक सञ्जाल फेसबुकमा प्रहरी प्रमुख एसपी पन्तलाई लक्षित गरेर दुईवटा स्टाटस लेखेका छन् । सोही विषयलाई लिएर पर्सा प्रहरीको क्राइम ब्रान्चको टोलीले उनलाई नियन्त्रणमा लिएको दुबे पक्षको आरोप छ ।

तर प्रहरीले भने प्रहरीका उच्च अधिकारीकै सामुन्नेमा ड्युटीमा खटिएका प्रहरीलाई दुव्र्यबहार गरेपछि पक्राउ गरेको दावी गरेको छ । बिहीबार दिउँसो प्रहरीले पत्रकार दुबेविरुद्ध पर्सा जिल्ला अदालतमा सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि अनुमति लिएको छ ।

पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले दुबेविरुद्ध सार्वजनिक शान्तिविरुद्ध कसूरमा अनुसन्धान चलिरहेको बताए ।

‘उनी बाइकमा थिए, ज्याकेट (प्रेस लेखिएको) लगाएका थिएनन् । प्रहरीले रोक्न खोज्दा अटेर गरेर अघि बढे’ उनले भने ‘प्रहरीले रोकेर सोधपुछ गर्दा उल्टै ड्युटीमा रहेका प्रहरी कर्मचारी माथि दुव्र्यबहार गरे । संयोगवश सखुवा प्रसौनीतिर निस्केको वान सर (एसपी) र म त्यहीँ थियौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment