Comments Add Comment

धर्म, संस्कृति र जीवनको बहस

‘नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागरण’ नेपाललाई सम्बोधन गरेर एक पत्र लेखें । त्यो छापिएपछि कतिले लेखे ‘अरु धर्ममा वर्त बस्न हुँदैन भनेको भए तपाईंलाई के गर्थे होलान् ?’ “अरु धर्मलाई आलोचना गरेर हेर्नुस् त ।’

धेरैले मेरो त्यो लेख पढेपछि धेरै विचार दिए । कसैले ठीक भने, कसैले ठीक होइन भने ।

‘अरु धर्मलाई भनेर त हेर’ भन्ने पढ्दा चाहिँ मलाई लाग्यो, कुनै मानिसको खुट्टा भाँचिएर शल्यक्रिया गर्नुपरेको छ, तर ‘मेरो शल्यक्रिया होइन, मेरो छिमेकीको शल्यक्रिया गरिदेऊ, मलाई त दुख्छ’ भने जस्तै भयो । शल्यक्रिया गरेपछि बिरामी ठीक भएर हिँड्न सक्छ । उसको जीवन व्यवस्थित हुन्छ । उसले काम गर्न सक्छ । र, पहिलेजस्तै गरी पैसा कमाउन सक्छ भन्ने थाहा नभएर हो कि अबुझ बिरामीले त्यस्तो भनेको ?

म हिन्दु हुँ,, मलाई मेरो समाजमा धार्मिक आस्था राख्नेहको जिन्दगी सुचारु होस, मैले पनि गर्वपूर्वक मेरो धर्म प्रगतिशील छ, भन्न पाउँ, हिन्दु देवी देवताका मन्दिरहरू फोहोर नहुन् । आशाराम बाबुजस्ता पाखण्डीले किशोरीलाई बलात्कार गर्दा त्यस्ता पाखण्डीहरू जेलमा हाल्न सक्ने साहस हामीसँग आओस् भन्ने मान्यता छ । त्यसैले नै कसैले ‘लोग्नेको खुट्टाको पानी खान्न भन्ने साहस’ हिन्दु नारीसँग आएको विश्वास गर्छु ।

हिन्दु धर्मको सहनशील भएकाले नै मैले गर्वपूर्वक भन्ने गर्छु ‘म हिन्दु हुँ ।’ तर अन्य धर्मलाई पनि म आदर गर्छु । तर, मेरो धर्ममा भएको गलत कर्मकाण्ड, र पाखण्डको विरोध गर्ने अधिकारचाहिँ मलाई छ । अरु धर्मका बारेमा आलोचना गर्ने अधिकार मलाई कसरी हुन्छ ? मलाई उनीहरूको धर्मको ज्ञान छैन,  कसरी बोल्न सक्छु र  थाहा नपाएको विषयमा ? तर, हिन्दु धर्ममा त दैनिक बाँच्छु ।

आफ्नो–आफ्नो घर फोहोर हुँदा हामी आफैंले सफा गर्ने हो । छिमेकीको घर फोहोर छ, म त्यो सफा गर्छु भनेर छिमेकीलाई हपार्न अधिकार मलाई हुन्छ र ?

मेरो यो विचारलाई नसहेर एक व्यक्तिले लेखे–

‘हाम्रो धर्ममा भएको कुप्रथाको बारेमा तपाईंको आक्रोश देखियो, जुन आफैंमा तपाईंको अल्पज्ञानको उदाहरण हो । आफूले अनुसन्धान नै नगरेको विषयमा हावा कुरा लेख्न पढेलेखेकी हुँ भनी गर्व गर्ने तपाईं जस्ता महिलालाई सुहाउँदैन । हिन्दु धर्ममा जात र लिङ्गका आधारमा विभेद गरियो भन्ने आक्रोस तपाईंको लेख तथा टिप्पणीमा देखियो । यो हाम्रो सनातन धर्मको मुख्य निर्देशक ‘वेद’ अनुरुप होइन, यो त तपाईंजस्ता केही पाखण्डीहरुले चलाएको संस्कार हो ।’

मैले त कुनै पनि जात सानो ठूलो हुँदैन नै भन्छु । तर, त्यसै प्रतिक्रियामा उनले यस्तो पनि लेखे, ‘हाम्रो शास्त्रमा त नारीलाई पूजा गरेमा देवता खुशी हुन्छन् भनिएको छ । अनि सबै मानिस जन्मँदा शुद्र हुन्छन् र आफ्नो कर्मद्वारा जात प्राप्त गर्दछन् भनिएको छ । ब्रह्म अर्थात् ईश्वरलाई देख्ने व्यक्ति मात्र ब्राह्मण हो भनेर शास्त्रले भनेको छ । भलै तपाईंका बुबाले आफूलाई ब्राह्मण भनेर मिथ्या भाषण गर्नुभयो । तपाईंको पिताजीले आफूलाई ब्राह्मण भनेर मिथ्या भाषण गर्नुको प्रमाण के हो भने यदि उहाँले ब्रह्म दर्शन गर्नुभएको भए तपाईंजस्ती पाखण्डीको जन्म हुने थिएन ।’

हाम्रो धर्ममा महिलालाई पूजा गर्ने त भनिएको छ महोदय, तर आमाबुबाको मृत्यु हुँदा ‘अग्नि’ दिने अधिकार दिएको छैन नि महोदय भनेर उनलाई कसले भनिदिने ? मेरा मृत पितासम्म जाईलाग्ने व्यक्ति कसरी सच्चा हिन्दु होलान् त ?

पहिले हिन्दु धर्ममा सतीप्रथाको चलन थियो । भारतमा राममोहन रायजस्ता व्यक्तिहरूले सतीप्रथा विरुद्ध सामाजिक क्रान्ति गरे र अंग्रेजहरूले त्यो ‘कुरीति’ हटाउन कानुन ल्याए । नेपालमा पनि सतीप्रथा भंग भयो । यदि त्यो प्रथा अन्त्य नभएको भए शायद मेरा कति हजुरआमा, बुढीहजुरआमा पनि बाँचेका हुँदैन थिए । शायद उनीहरू मरेका भए म पनि हुँदैन थिएँ कि ? हिन्दुहरूले नै अमानवीय सतीप्रथाको विरुद्धमा नबोलेको भए त्यो प्रथा अहिलेसम्म रहिरहन्थ्यो होला नि त । के त्योबेलामा कतिले ‘सती’ प्रथा ठीक हो भनेनन् होला त ? समयअनुसार परिवर्तन हुन सक्ने संस्कृतिले नै मानिसको जिन्दगीमा सुधार ल्याउँछ ।

पाँच हजार वर्षअघिका पूर्खाहरूले मोबाइल, मोटर, प्लेन, इमेल प्रयोग गर्दैन थिए । विज्ञानले अहिले हामी सबैको त्यसमा पहुँच छ । हामी त सनातनी मोबाइल प्रयोग गर्दैनांै भनेर कसैले भन्छन् त ?

यदि मैले हिन्दु धर्ममा भएको खराबीका बारेमा बोल्दा कसैलाई म देह व्यापारमा लागेको छु भन्ने लाग्छ भने मेरो भन्नु केही छैन

भजन सुन्न रुचाउने, र भजनमा नाच्ने गाउने तर अरुको आवाजमा विरोधको स्वर सुन्न नचाहनेले लेखे गीत संगीत भनेको राष्ट्र गहनाका रुपमा रहेको हुन्छ, ती गीतहरुले राष्ट्रको प्रतिनिधित्वसमेत गरेका हुन्छन्, जुन संस्कृतिसँग राष्ट्रको सामीप्य गाँसिएको छ । त्यसका विरुद्ध गाइने जुनसुकै गीत या सिर्जनाहरु कदापि स्वीकार्य हुँदैन र हुन्न पनि ।

मेरो लेखमाथिको एउटा प्रतिक्रियामा भनिएको छ–

‘अरुणाजीले अझै थप्दै भन्नुभएछ । तिज व्रत नबस्दैमा धर्म मासिन्छ र भनेर । कठै महान लेखिकाज्युको कति साँघुरो चिन्तन धर्म त अविनासी छ, कहाँ मासिन्छ ? परम्परा मासिन्छ, संस्कृति मासिन्छ्र दशैँमा टीका नलगाए, तीजमा व्रत नबसे, तीहारमा देउसी नखेले ती पर्वको महत्व के ? समाजका केही कथित अगुवाहरुले समेत छाडापनलाई प्रश्रय दिँदा मासिने हो परम्परा । अनि के नेपालमा हिन्दु धर्म मात्रै छ ? मुस्लिम, क्रिश्चियन आदि छैनन् अरुणा जी ? मुस्लिमको एक महिने रोजामा थुक निल्न समेत डराउनेहरुलाई गएर भन्न सकिन्छ ‘नो रोजा प्लिज ?’ कदापि सक्नुहुन्न । किनकि हिन्दुत्वको पर्याय नै सहनशीलता हो । त्यसैले त त्यही सहनशीलतालाई भर्याङ बनाउँदै तपाईं जस्ता केही महान लेखिकाहरु, वा सोफियाजस्ता केही ब्यापारी कलाकारहरु बारम्बार हिन्दुत्वलाई नै प्रहार गर्नुहुन्छ । गीत गाएँ भन्दैमा धर्म र संस्कृति माथिको प्रहार कसैलाई सह्य हुँदैन ।’

एकातिर हिन्दु धर्मको सहनशीलताको बखान गर्नेले ‘नो व्रत, प्लिज’ शब्दमा किन शहनशीलता अपनाउन नसकेका होलान् । ‘सनातन’ कुरा गर्नेले फेरि नयाँ विज्ञानको कुरा त आत्मसात गरेकै छन् । ‘हामी पुरातन धर्म मान्ने, सनातनी ज्ञानको आदर गर्ने’ भनेर कुनै पनि धार्मिक गुरुले ‘म त मोबाइल चलाउँदिन’ भन्दैनन् । फिल्म हेर्ने, यु–ट्युबमा आफ्ना कुरा राख्न पनि सबै धार्मिक गुरु पण्डित खप्पिस हुन्छन् ।

पशुपतिनाथको पूजासमेत इन्टरनेटबाट गर्न सकिन्छ । अर्थात आफूलाई मन पर्ने, सहज हुने कुराचाहिँ ‘धर्मले’ लपक्क लिने, तर आफूलाई चित्त नबुझे कि ‘तेरो बा ब्राम्हण भए, तेरो जन्म हुँदैन थियो’ भनेर शब्दवाण हान्ने कस्तो रमाइलो धार्मिक गुरुलाई !

लेख पढेपछि आएका प्रतिक्रियाहरू अचम्मका छन् । त्यो पढेपछि मलाई  लेख मन पर्यो भनेर टिप्पणीमा मैले केही जवाफ दिइनँ । तर, जसले आलोचना गरेर लेखे प्रत्येकलाई मैले धन्यवाद दिएँ । विभिन्न व्यक्तिहरूले लेखेका लाइनहरूमध्ये मैले जस्ताको त्यस्तै उतारेकी हुँ ।

नेपाली भाषाको ह्रस्व–दीर्घ नमिले पनि वहाँहरुको कुराचाहिँ बुझिन्छ । ‘हिन्दु धर्म महान’ हो भन्ने कुरा छलफल गर्दा ‘यो धर्ममा भएका कुरीतिको आलोचना गर्ने महिला चाहिँ देह व्यापारमा लागेका हुन्छन्, छाडा हुन्छन् वा अरु कसैको पैसा खाएर हिन्दु धर्मको विरुद्ध बोलेर क्रिश्चियन धर्म फैलाउन खोजेका हुन्’ पनि कतिले लेखे ।

यदि मैले हिन्दु धर्ममा भएको खराबीका बारेमा बोल्दा कसैलाई म देह व्यापारमा लागेको छु भन्ने लाग्छ भने मेरो भन्नु केही छैन । मैले केही ब्यक्तिहरूले लेखेको इमेलजस्ताको त्यस्तै उद्धृत गरेकी हुँ । वहाँहरूको भनाइ पढ्दा मलाई लाग्यो, हिन्दु धर्मको धारण गर्न योग्य मानिस तपाईंहरू बाहेक पृथ्वीमा कमै छन् होला कि ?

हिन्दु धर्मको जग नै कमजोर भएर हो कि नमिलेका कुरा उठाउने वित्तिकै उक्त व्यक्तिलाई ‘खत्तम’ भन्नैपर्ने ? तर, एउटा कुराका लागि चाहिँ म वहाँहरूलाई धन्यवाद दिन्छु– मेरो लेख पढेर यति लामो लेख्न वहाँहरूले जुन समय दिनुभएको छ, त्यसका लागि म आभारी छु । वहाँहरूले वास्ता गरेर, पढेर, लेखेर मेरो लेखको महत्व बढाइदिनुभएको छ ।

केही धार्मिक व्यक्तिले लेखे –

‘डा. लेखिकाका श्रीमानले व्रत बस्नैपर्छ, मेरो खुट्टाको पानी खानैपर्छ भनेका छन् ? छैनन् भने अरुले पनि भनेका छैनन् । महिला आफैं आस्था राख्छन् र गर्छन् भने पुरुषले हस्तक्षेप नगरेको मात्र हो । यसैलाई तिललाई पहाड बनाएर आफैंले आफंैलाई विद्वान सावित गर्न नखोजौं। विश्वमा सर्वाङ्ग नांगै हिँड्न पाउनुपर्छ भन्ने महिला पनि छन् र पैतालादेखि टुप्पीसम्म बुर्काले छोपिने महिला पनि छन् । हामी हिन्दु यति वैज्ञानिक र व्यवहारिक छौं कि यस्ता दुवै अतिवाद  मान्दैनौं । तर, परम्परादेखि चलेको रीतिरिवाज मान्छौं । श्रीमान–श्रीमतीको यौन अंग चुस्ने जमातले धोईपखाली एउटा औंलाको पानी खाएजस्तो जाग्दा आकाश खस्दैन । चेतना भया ।’

यस्ता शब्द लेख्नेहरूको घरमा ‘यौन अंग’ चुस्ने जमात छ होला भन्ने कुरा भनिदिनु भएकोमा धन्यवाद त दिनैपर्छ । कसैले व्यक्तिगत कोठामा के–के हुन्छ, त्यो मैले देख्ने कुरा भएन । केही विद्धानहरूले देख्नुभएको रहेछ । त्यस्तो चेतना हामीलाई छैन ।

जहाँसम्म आंैलाको पानी खाँदा आकाश खस्दैन भन्ने लाग्छ, श्रीमानले पनि श्रीमतीको औंलाको पानी खाएर तीजको व्रत बसे हुने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment