Comments Add Comment
सांस्कृतिक बहस :

हिन्दु जागरण नेपाललाई पत्र

मैले कहिल्यै पनि तिजको ब्रत बसेको छैन । स्वास्नीले ब्रत बसेर लोग्नेको आयु बढ्छ भनेर म विश्वास गर्दिनँ र मेरो वरिपरिकालाई पनि यस्तो ब्रत नगर, यस्तो कुरामा विश्वास नगर भनेर ‘वकालत’ गर्छु ।

मेरा थुप्रै परिचित महिलाहरू ‘तिजको ब्रतमा’ लपक्क खान्छन् वा बाहिर ब्रत बसेको भन्छन् । उनीहरूलाई ‘ब्रत नबसे परिवारले के भन्ला’ भन्ने डर हुन्छ । उनीहरूलाई तपाईंजस्ता जागृत मान्छेले के सजाय दिने होला ?

‘हिन्दु जागरण नेपालका केही धार्मिक व्यक्तिले’ तिज ‘ब्रत बस्दिनँ’ भन्ने शब्द भएको गीत युट्युबबाट हटाउन चाहेछन् । हटाए छन् पनि । उनीहरूले ठूलो काम गर्‍यौं भन्ठानेका होलान् ।

धेरै महिलाहरूले एकै स्वरमा ‘हामी तीजको ब्रत बस्दैनौं’ भनेमा के उनीहरुले ती महिलालाई कुट्नेछन् ? लछार पछार पार्नेछन् ? ‘हिन्दु धर्म’ के त्यति कमजोर छ, ‘कसैले म तिजको ब्रत बस्दिनँ’ भनेर गीत गाउँदैमा ढलिहाल्ने ? यदि यस्तो हो भने त्यस्तो धर्मलाई धारण गर्नुको के औचित्य रह्यो र ? होइन, यस्ता गीत जति गाए पनि हिन्दु धर्म रहिरहन्छ भने किन गीत हटाउन मरिहत्ते गरेको ?

हिन्दु जागरण नेपालले साँच्चि नै हिन्दुहरूको र हिन्दु धर्मको विकास चाहने हो भने त समुदायमा गएर क्रिश्चियन बन्नबाट दलित, जनजाति, चेपाङलाई रोके हुन्थ्यो । उनीहरूको शिक्षा, दीक्षा र भोजनको प्रबन्ध गरे हुने थियो । गीत गाउने गायिकालाई विभिन्न अपशब्द बालेर, धम्की दिएर हिन्दु धर्म त जागरण हुँदैन होला ।

जब नेपालका मन्दिरहरू पुरानो भएर भत्किन्छन्, तब त त्यो बनाउन त हिन्दु जागरण नेपालले के गरेको छ भनेर प्रश्न गरे के भन्ने होला हिन्दु जागरण गराउनेले ?

‘हिन्दु जागरण’ गराउनेले कहिले मन्दिरका वरिपरि बसेका गरिब मानवहरूको ‘जीवनमा जागरण’ ल्याउन केही गरेको छ ? ‘हिन्दु जागरण’ गराउनेहरूले योगी नरहरीनाथले संकलन गरेका हजारौं धार्मिक ग्रन्थहरू मुसाले खाएर नष्ट हुँदा केही गरेको छ ?

‘हिन्दु जागरण’ गर्नेहरूले जब एक हिन्दु सुत्केरी महिला रगत बगेर जीवन र मृत्युको संघारमा पुग्छिन्, उनलाई रगतदान गरेर जीवन बचाएको छ ? जब कोरोनाबाट त्रस्त भएर, मजदुरी गर्न नपाएर हिन्दुहरू भोकै बस्न बाध्य हुँदा के ‘हिन्दु जागरण’कर्ताले उनीहरूलाई भात, रोटी दियो ?

नेपालका गाउँघरमा महिलाहरू ‘बोक्सी’भनेर अपमानित हुँदा के ‘हिन्दु जागरण’ वालाहरूले ‘बोक्सी’ प्रथाविरुद्ध जागे ? कुनचाहिँ ‘हिन्दु जागरण’ गर्ने मानिसले अहिले पहिरोमा परेका मानिसहरूको उद्धार गरेको छ ? पहिरोमा मरेकाहरूको सदगती गरेको छ ?

‘हिन्दु जागरणका’ नाममा स्कुलमा बालबालिका पढाउनुपर्छ भनेर कति वकालत गरेको छ ? हिन्दु धर्ममा भएका विकृति हटाउन ‘हिन्दु जागरण’ले कति काम गरेको छ ?

‘ब्रत’ आफैंमा नराम्रो कुरा होइन । सक्ने मान्छेले त हरेक हप्ता ब्रत बसे हुन्छ । अझ सके त हरेक दिन एक छाकमात्रै अन्न खाए हुन्छ । सक्ने मानिसले तीन दिन ब्रत बसेर स्वास्थ्य राम्रो पारे हुन्छ । तर, तिजको ब्रत बसेर ‘लोग्नेको आयु बढ्छ’ भन्ने गलत विचार, लोग्नेको खुट्टाको पानी खाए महिलाको जीवन धन्य हुन्छ भन्ने मूर्खतापूर्ण ज्ञान म मान्दिनँ भनेर महिलाले गीतमा भन्दा यहाँहरूलाई कति चित्त दुखेको ?

आफूले साँच्चि नै समाजमा जागरण ल्याउन सिन्का पनि भाँच्न नसक्नेले ‘युट्युब’ को गीत हटाउन कत्रो हल्लाखल्ला ? ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै हिन्दु समाजमा रहेका पीडा, दुःख, बेथिति हटाउन औंला नउठाउने, तर ठूलो स्वरले गीतको विरुद्ध लाग्ने ?

हिन्दु जागरणका मानिसहरूले मन्दिरबाट हिन्दु देवी देवताहरूको मूर्तिहरू चोरी हुँदा ‘चोर को हो’ भनेर पत्ता लगाउन किन आवाज नउठाएका होलान् ?

‘ब्रत’ आफैंमा नराम्रो कुरा होइन । सक्ने मान्छेले त हरेक हप्ता ब्रत बसे हुन्छ । अझ सके त हरेक दिन एक छाकमात्रै अन्न खाए हुन्छ । सक्ने मानिसले तीन दिन ब्रत बसेर स्वास्थ्य राम्रो पारे हुन्छ । तर, तिजको ब्रत बसेर ‘लोग्नेको आयु बढ्छ’ भन्ने गलत विचार, लोग्नेको खुट्टाको पानी खाए महिलाको जीवन धन्य हुन्छ भन्ने मूर्खतापूर्ण ज्ञान म मान्दिनँ भनेर महिलाले गीतमा भन्दा यहाँहरूलाई कति चित्त दुखेको ?

त्यो चित्त यदि ‘बालविवाह भएर’ जीवन नष्ट भएका युवतीहरूका लागि दुखे हुन्थ्यो । बालविवाह अपराध हो भनेर यहाँहरूले जागरण गरे हुन्थ्यो । वा यहाँहरूलाई ‘बाल विवाह’ त हिन्दु धर्मको एक सबल पक्ष हो, बालविवाहले समाजमा राम्रो गर्छ, भनेर जागरण फैलाउने विचार छ कि ?

जुन धर्मले मानिसको जीवनलाई सुखी बनाउँदैन, त्यो धर्मको केही औचित्य छैन भनेर मैले हाकाहाकी भन्दा यहाँहरुले मलाई पनि ‘जेल’ हाल्ने भनेर ‘सरकारलाई पत्र लेख्न’ हुुन्छ कि ? तपाईहरु जस्ता ‘जागरण’ गर्ने मानिसहरुको कारणले नै क्रिश्चियन धर्ममा लाग्ने मानिसहरुको संख्या बढ्दो छ भन्ने यहाँहरुलाई हेक्का छ कि छैन ?

काठमाडौंमा बसेर ‘गीत’को विरुद्धमा आवाज फैलाउन त सजिलो छ नि महोदय । तर, सुुुदूूर पश्चिमका र कर्णालीका गाउँमा गएर दलित, सीमान्तकृत व्यक्तिहरु ‘क्रिश्चियन’ धर्ममा लागेपछि उनीहरुलाई तपाईको ‘जागरण’ ले केही लछारपाटो लगाउन सक्दैन भन्ने भान छ कि छैन ? कि तपाईहरु शुतुरमुर्ग जस्तै हुनुहुन्छ ? काठमाडौँको गल्लीमा टाउको घुसाएर बसेपछि सम्पूर्ण नेपाल नै यही हो भनेर सारा नेपाल नै मन्दिरले भरिएको छ भनेर दाबी गर्ने ?

म हिन्दु आमाबुबाबाट जन्मेकी एक हिन्दु हुँ । तर, म नास्तिक हिन्दु हुँ । तपाईंहरूले भनेको कर्मकाण्डमा मेरो विश्वास छैन । मेरो ईश्वर त घट–घटबासी छ । पत्थर, रुख, बिरुवा, नदी, कुकुर, बिरालो र प्रत्येक मान्छेमा ईश्वर बास गर्छ ।

ईश्वरको पूजा गर्न मलाई पशुपति गएर दूध र पेडा चढाउनुपर्दैन । एउटा रुख रोप्दा, एक छाक भात कसैलाई दिँदा मैले ईश्वरको पूजा गरेको भान हुन्छ । मलाई तपाईंहरूको ‘फोस्रो जागरण’ चाहिएको छैन भनेर लेख्दा के तपाईंहरू मलाई लछार–पछार गर्न आउनुहुन्छ ?

तिजको ब्रत महिलाले बस्दा लोग्नेको आयु बढ्ने भए लोग्नेले तिजको ब्रत बसेर महिलाको आयु बढाउने काम गर्नलाई पनि यहाँहरूजस्तो जागरुक मानिसले ‘जागरण’ ल्याए हुन्थ्यो नि ।

यहाँहरू आफैंले त ‘हिन्दु धर्म नेपालमा नेपालमा सबैले बुझुन् भनेर के काम गर्नु भएको छ, त्यसको फेहरिस्त पाए हामी पनि यहाँहरूको ‘जागरण’ मा समाहित हुने थियौं । त्यसैले ‘हिन्दुु जागरण’ का महोदय, कर्मकाण्डमा लागेर होइन, काम गरेर हिन्दुलाई जागरण गरेको बेश ।

जहाँसम्म तिजको र पञ्चमीको व्रतको सवाल छ । यो ढकोसकालमा मैले विश्वास कहिले गरिनँ भनेर मैले लेख्दा के तपाईको ‘हिन्दु जागरण’ काहरू रिसाएर मलाई झम्टिन आउलान् ? हिन्दु धर्मको ‘जागरण’ तपाईभन्दा ती व्यक्तिले गरिरहेका छन, जो गरिब, बिरामीको सेवा गर्छन् चुुपचाप लागेर । उनीहरु तपाईंहरु जति वाहियात काममा संलग्न हुँदैनन् भनेर यहाँले बुझेकै बेश ।

पर्खिरहेछु यो पत्रको उत्तर पाउन । ‘हिन्दु जागरण’ समाजका साथीहरूलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment