News Summary
Generated by OK AI. Editorially reviewed.- लक्ष्मीपूजाका दिन काठमाडौंको कलंकीस्थित नेसनल बिजनेस ट्रेड सेन्टर मार्केटमा आगलागी हुँदा सात वटा दमकल परिचालन गरिएको थियो ।
- बाँकेको जानकी गाउँपालिका–३ कोरियनपुरस्थित लक्ष्मी बिजुली भण्डार र जय हनुमान ट्रेड एन्ड सप्लायर्समा विद्युत् तारको खराबी वा सर्ट सर्किटबाट आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
- भारत उत्तर प्रदेशको खिरी जिल्लाको वनगाउँ बजारमा लागेको आगलागीमा करिब ६० पसल जलेका थिए, र धनगढीले तीन वटा दमकल पठाएर सहयोग गरेको थियो ।
दसैं र तिहार नेपाली समाजका सबैभन्दा उल्लासपूर्ण, सांस्कृतिक र धार्मिक महत्त्व बोकेका चाडपर्व हुन् । विशेषगरी तिहारलाई दीपावली अर्थात् उज्यालोको पर्वका रूपमा लिइन्छ । घर, पसल, कार्यालय र सार्वजनिक स्थानमा दीप प्रज्ज्वलन गर्ने, दियो बाल्ने, मैनबत्ती राख्ने र विभिन्न प्रकारका विद्युतीय झिलिमिली बत्तीले सजाउने हाम्रो सुन्दर परम्परा छ । तर, यही सुन्दर परम्पराको अर्को पक्ष पनि छ, जसलाई हामीले पर्याप्त गम्भीरतापूर्वक लिएका छैनौं । त्यो हो– आगलागीे जोखिम ।
हरेक वर्ष तिहारको समयमा, विशेषगरी लक्ष्मीपूजाको दिन, विभिन्न स्थानमा आगलागीका घटना हुने गरेका छन् । धार्मिक आस्था, सांस्कृतिक परम्परा र आधुनिक जीवनशैलीसँग जोडिएका दियो, धूप, दीप, मैनबत्ती, विद्युतीय सजावट तथा अन्य प्रज्ज्वलन साधन पर्याप्त सावधानीविना प्रयोग गर्दा सामान्य कारण पनि ठूलो दुर्घटनाको रूप लिन सक्छ ।
तिहारलाई उज्यालो पर्वका रूपमा मनाउने हाम्रो चाहना स्वाभाविक हो । तर, त्यो उज्यालोले कसैको घर, पसल, व्यवसाय, परिवार र जीवन नै अँध्यारोमा पुर्याउने अवस्था आउन दिनु हुँदैन । त्यसैले अब हामीले चाडपर्वमा आगलागी भएपछि कसरी निभाउने भन्ने विषयमा मात्र होइन, आगो नै लाग्न नदिने उपायमा बढी ध्यान दिनुपर्ने समय आएको छ ।
परम्परा, आधुनिकता र आगलागीका नयाँ जोखिम
हाम्रो धार्मिक तथा सांस्कृतिक परम्परा अनुसार लक्ष्मीपूजाको दिन धनसम्पत्ति, भण्डार, दराज, सेफ तथा आर्थिक कारोबार हुने स्थानमा लक्ष्मीको प्रतीकका रूपमा दियो बालेर पूजा गर्ने चलन छ । कतिपयले घरको धुरीदेखि आँगनसम्म दियो र बत्ती बाल्छन् । आधुनिकतासँगै अहिले विद्युतीय झिलिमिली बत्ती, एलईडी लाइट, बाल्ने चलन छ । तर, समस्या परम्परा वा आधुनिकतामा होइन, तिनको असुरक्षित प्रयोगमा छ ।
घरको धुरी, छाना, भित्ताको बाहिरी भाग, स्टोररुम, भण्डार र पहुँच गर्न कठिन स्थानमा जडान गरिएका बत्ती नियमित निगरानी गर्न सकिँदैन । त्यस्तै पूजा सकिएपछि दियो, मैनबत्ती वा अन्य प्रज्वालित सामग्री निभाउन बिर्सेर मानिसहरू अन्यत्र जाने प्रवृत्तिले आगलागी जोखिम बढाउँछ । विशेषगरी पसल, गोदाम र व्यावसायिक भवनमा लक्ष्मीपूजा गर्दा दियो बालेर व्यवसायी घर फर्किने तर आगो पूर्णरूपमा निभेको सुनिश्चित नगर्ने अवस्था अत्यन्त जोखिमपूर्ण हुन्छ ।
अर्कातर्फ, विद्युतीय सजावटका लागि घरको मिटर, तार, सर्किट र सुरक्षा उपकरणको क्षमताभन्दा बढी लोड प्रयोग गर्दा विद्युतीय प्रणाली तात्ने, इन्सुलेसन कमजोर हुने, स्पार्क उत्पन्न हुने र आगलागी हुने सम्भावना रहन्छ । कमजोर गुणस्तरका तार, असुरक्षित जोडाइ, बिग्रिएका प्लग र ओभरलोड भएका मल्टिप्लगले जोखिम थप बढाउँछन् । यसर्थ, दीपावलीको वास्तविक अर्थ उज्यालो मात्र होइन, सुरक्षित उज्यालो पनि हुनुपर्छ ।
२२ कात्तिक लक्ष्मीपूजाका दिन तथा त्यस आसपास नेपालका विभिन्न स्थानमा भएका आगलागीका घटनाले हाम्रो अग्नि सुरक्षा व्यवस्था र हाम्रो चेतनामाथि गम्भीर प्रश्न उठाएका छन् ।
नेपालगञ्जसँग जोडिएको बाँके कोरियनपुरमा आगलागी
बाँकेको जानकी गाउँपालिका–३ कोरियनपुरस्थित लक्ष्मी बिजुली भण्डार एन्ड जनरल अर्डर सप्लायर्स र जय हनुमान ट्रेड एन्ड सप्लायर्समा लक्ष्मीपूजाको साँझ भीषण आगलागी भयो । प्रारम्भिक विवरण अनुसार विद्युत् तारमा आएको खराबी वा सर्ट सर्किटका कारण आगो सुरु भएको र आगो नियन्त्रणका लागि दमकल परिचालन गर्नुपरेको थियो । यो घटनाले विशेषगरी विद्युतीय सामानको व्यापार गर्ने पसल तथा गोदाममा विद्युतीय भार व्यवस्थापन, सुरक्षित तार जडान र अग्नि नियन्त्रण उपकरण उपलब्धता कति आवश्यक छ भन्ने देखाउँछ ।
भारत सीमावर्ती वनगाउँ बजारमा भीषण आगलागी
लक्ष्मीपूजाकै दिन भारत उत्तर प्रदेशस्थित खिरी जिल्लाको वनगाउँ बजारमा भीषण आगलागी भयो । बजारका करिब ६० पसल पूर्णरूपमा जलेर नष्ट भए । भारतीय क्षेत्रमा आगलागी भएको जानकारी प्राप्त भएपछि धनगढी उपमहानगरपालिकाले मानवीय सहयोगको उदाहरण प्रस्तुत गर्दै तीन वटा दमकल र एउटा ब्याकहो लोडर सहित टोली परिचालन गर्यो । किनकि, आगलागी सिमारहित सेवा हो ।
तीन दमकलले तीन–तीन पटक पानी भरेर आगो नियन्त्रणमा सहयोग गरे । आगो थप फैलिन नदिन ब्याकहो लोडरको सहायताले फायर लाइन निर्माण गरी जोखिमयुक्त संरचना अलग गर्ने कार्यसमेत गर्यो । राति करिब १२:३० बजे आगो नियन्त्रणमा आएको थियो । प्रारम्भिक विवरणमा विद्युतीय झिलिमिली बत्तीबाट आगलागी सुरु भएको हुन सक्ने उल्लेख छ ।
यो घटनाले सीमा र राष्ट्रियताभन्दा माथि उठेर विपद्को समयमा स्थानीय तहहरूबीच आपसी सहयोग र सहकार्य कति महत्त्वपूर्ण हुन्छ भन्ने देखाएको छ । साथै, घना बजार क्षेत्रमा एउटा पसलबाट सुरु भएको आगोले दर्जनौं पसललाई कसरी प्रभावित गर्न सक्छ भन्ने पनि यसले स्पष्ट पारेको छ ।
कलंकीस्थित एनबीटीसी व्यावसायिक भवनमा आगलागी
काठमाडौंको कलंकीस्थित नेसनल बिजनेस ट्रेड सेन्टर (एन्बीटीसी) मार्केटमा लक्ष्मीपूजाको राति आगलागी भयो । विवरण अनुसार आगलागी नियन्त्रणका लागि सात वटा दमकल परिचालन गरिएको थियो । करिब बिहान २ बजेतिर आगो पूर्णरूपमा नियन्त्रणमा आएको थियो । प्रारम्भिक विवरणमा चारवटा पसल पूर्णरूपमा क्षतिग्रस्त भएको र थप १५ वटा पसलमा धुवाँको असर परेको उल्लेख गरिएको छ । यस घटनाले ठूला व्यावसायिक भवन तथा मलहरूको अग्नि सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
हजारौं मानिसको आवतजावत हुने, धेरै व्यवसाय सञ्चालन हुने र ठूलो आर्थिक कारोबार हुने भवनमा फायर अलार्म सिस्टम, अटोमेटिकक स्प्रिंकलर सिस्टम, फायर हाइड्रेन्ट, होज रिल, फायर एक्स्टिन्गुइसर, स्मोक म्यानेजमेन्ट सिस्टम, इमर्जेन्सी एक्जिटजस्ता स्थायी अग्नि सुरक्षा संरचना प्रभावकारी अवस्थामा हुनु अनिवार्य छ । यस्ता संरचना जडान गरेरमात्र हुँदैन, नियमित परीक्षण, मर्मतसम्भार र सञ्चालनयोग्य अवस्थामा राख्नुपर्छ ।
दरबारमार्गस्थित लिक्विड लाउन्जमा आगलागी
लक्ष्मीपूजाकै दिन दरबारमार्गस्थित होटल उडल्यान्ड परिसरको लिक्विड लाउन्ज बारमा बिहान आगलागी भयो । आगो नियन्त्रणमा लिन सुरुमा दुई वटा दमकल परिचालन गरिएको र पछि पाँच वटा दमकल परिचालन गर्नुपरेको थियो । आगो नियन्त्रण गर्न करिब चार घण्टा लागेको थियो ।
लाउन्ज, रेस्टुरेन्ट तथा मनोरञ्जन स्थलहरूमा बन्द समयमा आगलागी भए धुवाँ जम्मा हुने, भेन्टिलेसन कठिन हुने र आगो लागेको स्थानसम्म पहुँच बनाउन समस्या हुने सम्भावना रहन्छ । त्यसैले यस्ता भवनमा स्मोक डिटेक्सन, स्मोक भेन्टिलेसन, इमर्जेन्सी लाइटिङ र सुरक्षित निकासको व्यवस्था अत्यन्त महत्त्वपूर्ण हुन्छ ।
धनगढीको बङ्लामुखी अटो सर्भिस सेन्टरमा आगलागी
कैलाली धनगढी उपमहानगरपालिका–१३ भाटभटेनी नजिक रहेको बङ्लामुखी अटो सर्भिस सेन्टरमा लक्ष्मीपूजाको साँझ आगलागी भएको थियो । प्रहरीको प्रारम्भिक जानकारी अनुसार मैनबत्तीबाट आगो सल्किएको हुन सक्ने जनाइएको छ । प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
लक्ष्मीपूजाको भोलिपल्ट ठमेलस्थित स्पामा आगलागी
जुद्ध बारुण यन्त्र कार्यालयबाट फायर प्राप्त घटना सम्बन्धी जानकारी अनुसार लक्ष्मीपूजाको भोलिपल्ट बिहान ठमेलस्थित प्रान क्वालिटी एन्ड स्पामा आगलागी भएको थियो । एक कोठामा रहेका स्पाका सामग्री जलेर नष्ट भएको र अन्य स्थानमा धुवाँका कारण क्षति पुगेको विवरण प्राप्त भएको छ ।
यी सबै घटना एउटै प्रकृतिका छैनन् । कतिपयमा विद्युतीय समस्या आशंका गरिएको छ, कतिपयमा दियो वा मैनबत्तीबाट आगो सल्किएको प्रारम्भिक जानकारी आएको छ भने केही घटनाको वास्तविक कारण अनुसन्धानबाट मात्र निश्चित हुनेछ । तर, यी घटनाको साझा सन्देश भने एउटै छ– आगोको स्रोत सानो भए पनि क्षतिको परिणाम निकै ठूलो हुन सक्छ ।
आगो सबैको घरमा बल्छ, नियन्त्रणको जिम्मा दमकलको मात्रै किन ?
पहिले प्रचलित एउटा भनाइ सम्झौं– आगो निभाउने काम सबैको हो भन्ने भावनाले समुदायलाई समेत अग्नि सुरक्षामा सहभागी गरिन्थ्यो । तर, अहिले काठमाडौं जस्ता ठूला सहरी क्षेत्रमा व्यवहार भने त्यसको ठिक उल्टो देखिन थालेको छ । आगो बाल्ने सबैको काम, आगो निभाउने काम चाहिँ दमकलको मात्रै भन्ने मानसिकता विकास हुँदै गएको छ । आगलागी भएपछि दमकल खोज्नेभन्दा आगलागी हुन नदिने समाज निर्माण गर्नु ठूलो उपलब्धि हो । अग्नि सुरक्षित समाज बनाइ दमकलको निभर्रता घटाउनुपर्छ ।
काठमाडौंमा लाखौं मानिस बसोबास गर्छन् । प्रत्येक घरमा खाना पकाउन आगो प्रयोग हुन्छ । पूजा गर्दा धूप, दीप र दियो बालिन्छ । पसल तथा कार्यालयमा विद्युतीय उपकरण र झिलिमिली बत्ती प्रयोग हुन्छन् । उद्योग, होटल र रेस्टुरेन्टमा विभिन्न ताप तथा ऊर्जा स्रोत प्रयोग गरिन्छन् ।
यी सबै मानिसले आगो वा तापका स्रोत प्रयोग गरिरहेका हुन्छन् । त्यसैले प्रत्येक व्यक्ति आगलागीको जोखिमसँग प्रत्यक्ष सम्बन्धित छ । तर आगोको जोखिम बुझ्ने, त्यसलाई नियन्त्रणमा राख्ने र दुर्घटना हुन नदिने जिम्मेवारीप्रति पर्याप्त सचेतना छैन । आगो प्रयोग गर्ने प्रत्येक नागरिक नै आफ्नो घर, पसल र कार्यस्थलको पहिलो जोखिम व्यवस्थापक हो ।
पेशागत अर्थमा फायर फाइटर अर्थात् अग्नि नियन्त्रक भनेको तालिमप्राप्त, दक्ष र आवश्यक सुरक्षा उपकरण सहित आगो नियन्त्रण तथा उद्धारमा खटिने व्यक्ति हो । तर, व्यापक सामाजिक अर्थमा दियो बाल्ने, खाना पकाउने, पूजा गर्ने, विद्युतीय बत्ती जडान गर्ने र आगो प्रयोग गर्ने प्रत्येक व्यक्तिले पनि अग्नि सुरक्षा संस्कृतिको जिम्मेवारी वहन गर्नुपर्छ ।
त्यसकारण हामीले नागरिकलाई आगोको सुरक्षित प्रयोगकर्ता, घरको पहिलो अग्नि सुरक्षा जिम्मेवार र समुदायको प्रारम्भिक प्रतिकार्यकर्ता बनाउनु आवश्यक छ । दमकल सेवा आगलागीमा परिचालित हुने आपत्कालीन सेवा हो । तर, आगलागी हुनुअघि जोखिम पहिचान गर्ने र आगो फैलन नदिने पहिलो जिम्मेवारी नागरिककै हो ।
प्रतिक्रिया 4