+
+
Shares

नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

‘नेपाल संवत् केवल समय गणना गर्ने पात्रमात्र होइन यो नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानको महत्त्वपूर्ण सम्पदा हो’, उनले भने ।

रासस रासस
२०८३ कात्तिक २४ गते १७:२८

२४ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय भएको बताएका छन् ।

नेपाल संवत् ११४७ (नयाँ वर्ष) को अवसरमा न्हूँद राष्ट्रिय समारोह समितिले मंगलबार वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पञ्चायती शासनकालमा भाषा, संस्कृति, लिपि र पहिचानको अधिकारका लागि नेपाल संवत् अभियानले महत्त्वपूर्ण आवाज उठाएको स्मरण गरे ।

‘शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा, नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता प्रदान तथा सरकारी कागजातमा समेत यसको उल्लेख गर्ने निर्णय यस आन्दोलनका महत्त्वपूर्ण उपलब्धि हुन्’, सभामुख अर्यालले भने, ‘अब यी उपलब्धिलाई व्यवहारमा कार्यान्वयन गर्दै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा नेपाल संवत्को प्रयोग विस्तार गर्न आवश्यक छ ।’

नेपालको संविधानले स्वीकार गरेको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान राष्ट्रिय शक्ति रहेको उनले बताए । उनले नेपाल संवत् कुनै एक समुदायको मात्र सम्पत्ति नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा भएको पनि बताए ।

नेपाल भाषा, रञ्जना लिपि र समग्र मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा राज्य र समाज दुवैको सक्रिय भूमिकाको आवश्यकता औँल्याउँदै सभामुख अर्यालले यस अभियानलाई नयाँ पुस्तासँग जोड्दै शिक्षा, अनुसन्धान, प्रविधि र दैनिक जीवनमा नेपाल संवत्को प्रयोग विस्तार गर्न सकेमात्र यसको दीर्घकालीन संरक्षण सम्भव हुने बताए ।

‘नेपाल संवत् केवल समय गणना गर्ने पात्रमात्र होइन यो नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानको महत्त्वपूर्ण सम्पदा हो’, उनले भने ।

नेपाल संवतको प्रारम्भ राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोक कल्याणकारी योगदानसँग जोडिएको उल्लेख गर्दै सभामुख अर्यालले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराई उनले स्थापना गर्नुभएको यस संवत्ले सामाजिक न्याय, परोपकार र सामूहिक हितको सन्देश दिएको बताए । ‘उहाँको योगदान कुनै एक समुदायमा सीमित नभई सम्पूर्ण मानव समाजका लागि अनुकरणीय छ’, सभामुख अर्यालले भने ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?