+
+
Shares
विचार :

पूर्वतयारीमा नकुरौं विपद् 

अब हामीले विपद्लाई केवल घटनापछि उद्धार गर्ने विषयमा मात्र होइन, कुनै पनि विपद् आएपछि तत्काल सक्रिय भएर काम गर्न सक्ने राष्ट्रिय प्रणालीका रूपमा विकास गर्नुपर्छ ।

किशोरकुमार भट्टराई किशोरकुमार भट्टराई
२०८३ भदौ ३१ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी नदीमा १० भदौ २०८३ मा आएको बाढीले नेपालमा पूर्वतयारीलाई सबै प्रकारका विपद्‌सम्म विस्तार गर्नुपर्ने पाठ दिएको छ ।
  • लेखमा औद्योगिक दुर्घटना, रासायनिक पदार्थ, इन्धन भर्ने पेट्रोल पम्प, विद्युतीय सवारी चार्जिङ स्थल र विद्युत् प्रणालीका जोखिमलाई पनि राष्ट्रिय विपद् पूर्वतयारीमा ल्याउनुपर्ने भनिएको छ ।
  • काठमाडौँमा अग्ला भवन, दमकल क्षमता र राष्ट्रिय भवन संहिता पालना नगरी बनेका संरचनाको जीवनचक्र र आगलागी उद्धार तयारीबारे बेलैमा मूल्यांकन गर्नुपर्ने उल्लेख छ ।

नेपालमा विपद्को कुरा गर्दा हाम्रो ध्यान प्राय: तीन–चार वटा परिचित घटनातर्फ जान्छ– आगलागी, बाढी, पहिरो र भूकम्प । वर्षौंदेखि नै हाम्रो विपद् सम्बन्धी छलफल, तालिम योजना र पूर्वतयारी पनि धेरै हदसम्म यिनै घटना वरिपरि केन्द्रित हुँदै आएको देखिन्छ । वास्तवमा नियमित  घट्ने विपद्का घटनामध्ये यिनै प्रमुख हुन् ।

अबको प्रश्न नेपालको विपद्को स्वरूप यतिमै सीमित छ त ? उत्तर स्पष्ट नै छ– छैन । नेपालको भौगालिक बनोट, तीव्र सहरीकरण, जलवायु परिवर्तन, हिमाली क्षेत्रमा बढ्दो तापक्रम, कमजोर पूर्वाधार, अव्यवस्थित बस्ती विकास र प्रविधिमा बढ्दो निर्भरताले विपद्का नयाँ–नयाँ जोखिम थपिरहेका छन् ।

नेपाल सरकारले विपद् जोखिम क्षेत्रमा भूकम्प, बाढी पहिरो, डढेलो, हावाहुरी चट्याङ, हिमपहिरो, अतिवृष्टि गर्मी/चिसो लहर र हिमताल विष्फोटन आदिलाई नेपालका महत्त्वपूर्ण विपद् जोखिमका रूपमा सूचीबद्ध गरेको छ । तर, हामी किन सबै विपद् व्यवस्थापन क्षेत्रमा पूर्वतयारीमा लागेनौं भन्ने प्रश्न गम्भीर छ ।

१० भदौ २०८३ को रसुवा भोटेकोशी नदीमा आएको बाढीले निम्त्याएको विपद् हामीले चिनेकोभन्दा पनि ठूलो हुन सक्छ भन्ने पाठ हामीलाई सिकाएको छ । अब हामीले सबै विपद् पूर्वतयारीलाई जोड दिनुपर्दछ भन्ने कुराको बोध पनि गराएको छ । नेपालको बदलिँदो विपद् जोखिम हाम्रो पूर्वतयारी र प्रतिकार्य क्षमताबारे समेत यो बाढीको घटनाले गम्भीर बहस उठान गरेको छ । त्यसैले अब हामीले विपद्लाई केवल घटनापछि उद्धार गर्ने विषयमा मात्र होइन, कुनै पनि विपद् आएपछि तत्काल सक्रिय भएर काम गर्न सक्ने राष्ट्रिय प्रणालीका रूपमा विकास गर्नुपर्छ ।

नेपाल सरकारले विपद् जोखिम क्षेत्रमा भूकम्प, बाढी पहिरो, डढेलो, हावाहुरी चट्याङ, हिमपहिरो, अतिवृष्टि गर्मी/चिसो लहर र हिमताल विष्फोटन आदिलाई नेपालका महत्त्वपूर्ण विपद् जोखिमका रूपमा सूचीबद्ध गरेको छ । तर, हामी किन सबै विपद् व्यवस्थापन क्षेत्रमा पूर्वतयारीमा लागेनौं भन्ने प्रश्न गम्भीर छ ।

अब हामीले गम्भीर भएर सोच्नुपर्छ । हामीले नदेखेको र नभोगेको विपद् अझ भयानक हुने रहेछ । विपद् सधैं आकाशबाट पानी परेर, जमिन हल्लिएर वा पहाड खसेरमात्र आउने होइन रहेछ । नेपालमा विपद् जोखिमका अन्य सम्भावना पनि छन् । त्यसतर्फ पनि हाम्रो ध्यान जानुपर्छ र सोही अनुसार पूर्वतयारी गर्नु आवश्यक छ । भोटकोशीको बाढी आएलगतै उद्धारका लागी सुरक्षाकर्मीहरूले तत्काल परिचालित भई प्रतिकूल भौगोलिक अवस्था, सीमित साधनस्रोत, सोचेभन्दा फरक प्रकारको विपद्बीच जुन किसिमले उद्धार कार्य गरे, वास्तवमा प्रशंसायोग्य उद्धार कार्य गरेका छन् ।

केही वर्षअघि भूमिगत ग्यासका कारण काठमाडौंको स्युचाटारमा पानीविना नै ठूलो भूभाग आफैं विस्फोट (ब्रस्ट) भएको घटना लिन सकिन्छ । औद्योगिक दुर्घटना, रासायानिक पदार्थका कारण उत्पन्न हुने घटना, इन्धन भर्ने पेट्रोल पम्प, विद्युतीय सवारी चार्जिङ स्थल र विद्युत्गृह र प्रसारण प्रणालीमा गडबडी भई हुन सक्ने घटना, त्यसैगरी ग्यास भण्डारण स्थल प्लान्टमा हुन सक्ने सम्भावित जोखिम आकलन तथा पूर्वतयारी गर्न जरुरी छ ।

यस्ता दुर्घटना पूर्व नै तयारी गरिएन भने विपद्छि पछुताउने बाहेक अर्को उपाय रहँदैन । यस्ता खाले विपद्लाई पनि राष्ट्रिय विपद् पूर्वतयारीको दायरामा ल्याउनु जरुरी देखिन्छ । हामीले अहिलेसम्म नदेखेको जोखिमलाई हुँदैन भनेर छाड्नु हाम्रो गल्ती हुन सक्छ । विपद् व्यवस्थापनको सिद्धान्त अनुसार सम्भावित विपद्लाई घटनापछि होइन, घटना हुनुअघि नै पहिचान गर्नुपर्छ । विपद् कहिले आउँछ भन्ने भविष्यको कुरा हो । तर, विपद्को सम्भावना नकार्नु हुँदैन, यसको आकलन र अनुमान गर्न सक्नुपर्छ ।

काठमाडौमा राष्ट्रिय भवन संहिता पालना नगरी आफूखुसी बनाइएका  सिमेन्टेड भवन संरचना धेरै छन । सिमेन्टको आयु, डन्डीको आयु लोड थेग्ने क्षमता निर्माण गर्दा अपनाएको सुरक्षा मापदण्डको लेखाजोखा गरिएको छैन । यस्ता मौन जोखिम र आयु घट्दै गएको कंक्रिटका भवन सानो भूकम्पको झट्काले कुनै पनि बेला ढल्न सक्छन् । यस्ता विपद् व्यवस्थापन कसरी गर्ने भन्ने विषयलाई बेलैमा सोच्न जरुरी देखिन्छ ।

हामीले अग्ला भवन बनायौं । अपार्टमेन्ट, अस्पताल, सपिङ कम्प्लेक्स, होटल र व्यावसायिक भवन थप्दै गइरहेका छौ तर यी भवनको जीवनचक्र, संरचनागत स्वास्थ्य र आपत्कालीन उद्धारबारे कहिले सोचेका छैनौं । यसको मूल्यांकन हुनुपर्छ कि पर्दैन ? पर्छ भने कसले गरिरहेको छ त ? हामीले अग्ला घर बनायौं, तर त्यही घरमा आगलागी भए निभाउने दमकलको क्षमता अग्ल्याउने काम गरेका छैनौं । हाम्रो फायर सर्भिसले कति तलासम्म अग्नि नियन्त्रण तथा उद्धारका लागि पहँुच राख्न सक्छ भन्नेतर्फ गम्भीर हुन जरुरी छ ।

सहरमा बनेका अग्ला भवनमा आगलागी नियन्त्रण तथा उद्धार कार्य गर्नुपरे त्यस्ता भवनसम्म पुग्ने बाटो, उद्धार गर्ने भारी सवारीसाधन जान सक्छ कि सक्दैनै भन्ने जाँचेका छैनौं । ठूला भवनमा आगलागी हुँदा सामान्य दमकल पुगेरमात्र हुँदैन । त्यसका लागि बिसौं तलासम्म पुग्ने टर्नटेबुल ल्याडर, प्रशिक्षित ‘हाइराइज फायर फाइटिङ क्रु’ पनि चाहिन्छ । हामीसँग यस्ता फायर फाइटर तयार गर्ने बेला भइसक्यो । अग्ला भवन निर्माण गर्दा नै ‘एक्टिभ एन्ड प्यासिभ फायर फाइटिङ सिस्टम’ जडान गरेको छ कि छैन भनेर जाँच गर्ने जिम्मेवारी कसको हो ? काठमाडौंमा अग्ला भवनमा आगलागी भए काठमाडांै फायर सर्भिससँग जनशक्ति, साधनस्रोत तथा उपकरण अभाव छ । अग्ला भवनको माथिसम्म पुग्ने क्षमताको टर्नटेबुल ल्याडर नभएको बारेमा सञ्चारमाध्यममा यसअघि नै विवरण सार्वजनिक भइसकेको विषय हो ।

नेपालमा विपद् व्यवस्थापनका लागी कानुनी संरचना छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले राष्ट्रिय विपद् जोखिम न्यूुनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमजे) को व्यवस्था गरेको छ । विपद् व्यवस्थापन प्राधिकरणलाई विपद्को इन्जिनका रूपमा विकास गर्नुपर्छ । सबै प्रकारको विपद्का लागि उद्धारकर्मीको विकास गर्न तालिम केन्द्र बनाइ विपद् पूर्वतयारीको सम्पूर्ण कार्य गर्ने र विपद्पछि सबै निकायलाई उद्धार कार्यमा केन्द्रीय प्रणालीद्वारा स्वत: सक्रिय गराउने हुनुपर्छ । घटनाको लगत राख्ने निकायका रूपमा मात्र प्राधिकरणलाई राख्नु हुँदैन ।

नेपालमा केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा आपत्कालीन कार्य सञ्चालन केन्द्रको व्यवस्था गरिएको छ । २०८२ सालमा आपत्कालीन कार्य सञ्चालन केन्द्रको सञ्चालन कार्यविधि समेत स्वीकृत भइसकेको अवस्था छ । अब आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई साधनस्रोत, तालिमप्राप्त जनशक्ति सहित सक्रिय परिचालन गर्न सक्ने बनाउन जरुरी छ । स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र व्यवस्थित सञ्चालन गर्न सकियो भने स्थानीय स्तरमा घट्ने विपद्लाई समयमा नै प्रतिकार्य गरी क्षति न्यूनीकरण गर्न सकिन्छ ।

हालको दिनमा सामाजिक सञ्जालले विपद् व्यवस्थापनमा नयाँ चुनौती थपेको छ । यदाकदा निजी क्षेत्रबाट हुने उद्धार तथा राहतमा विपद्स्थलबाट नै लाइभ गर्ने गरेको पनि देखिएको हँुदा यस्ता क्रियाकलाप नियन्त्रण र नियमन गर्न जरुरी छ । यसले पीडितको आत्मसम्मानमा ठेस पुग्छ । वैयक्तिक स्वतन्त्रता र गोपनीयताको हक कुण्ठित हुन जान्छ । हो फोटो–भिडियो चाहिन्छ, कार्यालय प्रयोजनका लागि तर उद्धारमा बाधा पर्ने गरी फोटो–भिडियो बनाउनु हुँदैन । विपद्मा जस लिन होइन, जीवन बचाउन काम गर्नुपर्छ ।

विपद् क्षेत्रमा हालै विद्युुतीय गाडीमा आगलागीका घटना बढ्दै गइरहेको अवस्था छ । यसलाई नियन्त्रण गर्न दमकलको फायर फाइटरलाई विद्युुतीय सवारीसाधनमा लागेको आगो नियन्त्रण गर्ने तालिम दिई आवश्यक साधनस्रोत उपलब्ध गराउनुपर्छ । साथै, विद्युतीय सवारीसाधनबारे आम नागरिकमा सचेतनामूलक कार्यक्रम लैजानुपर्छ ।

हामीले पूर्वतयारी गर्न विपद् कुर्ने होइन, विपद् अगाडि नै पूर्वतयारी गर्नुपर्छ । पूर्वतयारी परीक्षा घटना घटेपछि हुन्छ । विपद्पछि लगत्तै व्यक्ति खोज्ने होइन, सिस्टम चल्नुपर्छ । फोन नम्बर खोज्ने होइन, सञ्चार हुनुपर्छ । उद्धारका लागी कमान्ड संरचना स्वत: सक्रिय हुनुपर्छ । औजार, उपकरण खोज्ने होइन, घटनास्थलमा परिचालन हुनुपर्छ । आधुनिक विपद् व्यवस्थापनको चित्र यही हो । यस्तो भए विपद्वाट हुने क्षति न्यूनीकरण गरी जनधनको सुरक्षा गर्न सकिन्छ ।

विपद् क्षेत्रमा हालै विद्युुतीय गाडीमा आगलागीका घटना बढ्दै गइरहेको अवस्था छ । यसलाई नियन्त्रण गर्न दमकलको फायर फाइटरलाई विद्युुतीय सवारीसाधनमा लागेको आगो नियन्त्रण गर्ने तालिम दिई आवश्यक साधनस्रोत उपलब्ध गराउनुपर्छ । साथै, विद्युतीय सवारीसाधनबारे आम नागरिकमा सचेतनामूलक कार्यक्रम लैजानुपर्छ ।

कस्तो विपद् कहिले कुन स्केलमा आउँछ हामीलाई जानकारी हुँदैन, तर विपद् आउँदा कसरी प्रतिकार्य गर्ने र कुन प्रकारको प्रतिकार्य योजना बनाउने भन्ने कुरा हाम्रो हातमा छ । हामीले विपद्को प्रकार गन्ने होइन, जुनसुकै प्रकारको विपद् आए पनि तत्काल प्रतिकार्य गर्न सक्ने प्रणाली निर्माण गर्नुपर्छ । देशव्यापी वा ठूलो भूभाग प्रभावित पार्ने गरी विपद् आए सरकारी र सुरक्षा निकायको जनशक्ति तथा संयन्त्रले मात्र धान्न सकिँदैन । गैरसरकारी संघसंस्था र नागरिक समाजको पनि सहयोग लिनुपर्छ ।

ठूला विपद् व्यवस्थापनका लागि पूर्वतयारी स्वरूप तालिमप्राप्त स्वयंसेवकको व्यवस्था गर्नुपर्छ । तालिमप्राप्त स्वयंसेवक विपद् व्यवस्थापनको शक्ति हो । प्रशिक्षित जनशक्ति व्यवस्थित परिचालन गरे प्रभावकारी उद्धार कार्य गर्न सकिन्छ । स्वयंसेवकका नाममा तालिमप्राप्त नगरेका स्वयंसेवक भनेको शक्ति होइन, भिडमात्र हो । यस्तो भिडबाट व्यवस्थापनमा झन् समस्या सिर्जना हुन्छ ।

वास्तवमा स्वयंसेवक विपद् व्यवस्थापनको तालिमप्राप्त हुनुपर्छ । विपद् ज्ञान भएका, उद्धार तरिका जानेका र साधनस्रोत परिचालन गर्न सक्ने, कमान्डको भाषा बुझ्ने, शारीरिक तन्दुरुस्त, सहनशील क्षमता भएको हुनुपर्छ । नेपालमा विपद् व्यवस्थापन स्वयंसेवकको छुट्टै राष्ट्रिय मोडेल तयार गरी सोही बमोजिम अनुमति दिएर एकीकृत सुरक्षा कमान्ड अन्तर्गत परिचालन गरे विपद् उद्धारमा सहयोग पुग्न सक्छ ।

तालिमप्राप्त स्वयंसेवकलाई पनि उसको तालिम र क्षमताभन्दा बाहिरको काम गर्न र गराउनु हुँदैन जसले अर्को दुर्घटनाको सम्भावना राख्दछ । स्वयंसेवक उद्धारकर्ता हो तर ‘प्रोफेसनल रेस्पोन्डर’ भने होइन भन्ने कुराको जानकारी दिनुपर्छ ।

विपद् व्यवस्थापनमा रुचि भएका फुर्सदिलो, शारीरिक तन्दुरुस्त र परेको समयमा उपस्थित हुन सक्ने व्यक्तिलाई तालिम दिई लगत राखी विपद् समयमा फोन, म्यासेज वा इमेलबाट खबर गरी परिचालन गर्न सकिन्छ । यसका लागि छुट्टै  एप बनाइ काम गरेको विवरण स्वयंसेवक आफैंले भर्ने व्यवस्था गरी काम गरेको समयको निश्चित पारिश्रमिक दिने व्यवस्था गर्न सके स्वयंसेवकलाई आकर्षित गर्न र टिकाउन सकिन्छ ।

(लेखक भट्टराई जापानबाट फायर एन्ड डिजास्टर व्यवस्थापन तालिमप्राप्त हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?