+
+
Shares
पूर्वी पहाडका दु:ख :

बर्सेनि बाढी-पहिरोको पिरलो, छैन पर्याप्त पूर्वतयारी

पछिल्ला वर्षमा पूर्वका पाँचथर, इलाम, ताप्लेजुङमा बाढी–पहिरोले ठूलो क्षति गरिरहेको छ । ज्यान जाने, घर बगाउने, सडकदेखि पुलमा क्षति हुने घटना लगातार भइरहेका छन् ।

गिरिराज बाँस्कोटा गिरिराज बाँस्कोटा
२०८३ जेठ ९ गते २०:३३

९ जेठ, पाँचथर । दिनभरि घाम लागेको थियो, राति एकाएक मेघगर्जनसहित ठूलो पानी पर्‍यो । त्यसपछि आएको बाढी-पहिरोले पाँचथरको याङ्वरक गाउँपालिका त्राहिमाम् बन्यो । कावेली र तमोर नदीका आसपासका क्षेत्र पनि प्रभावित भए ।

याङ्वरक गाउँपालिकाका १, २ र ३ नम्बर वडाका बासिन्दा बढी प्रभावित भए । दुई घर बगायो भने मध्यपहाडी लोकमार्गसहित सडक अवरुद्ध बनेका छन् ।

विद्युत्, खानेपानी, सिँचाइमा ठूलो क्षति पुगेको छ । नगदेबाली अलैँची खेती क्षेत्र बगाएको छ । नदी तटीय क्षेत्रमा रहेका कैयौं खेत बगेका छन् । मोटरेबल पुल, झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ ।

‘बाढी–पहिरोले ठूलो क्षति गरेको छ । मेघगर्जनसहित पानी निक्कै ठुलो पर्‍यो,’ याङ्वरक–३ का वडाध्यक्ष विमल राईले भने, ‘बाटो, खानेपानी, बिजुली, कृषि क्षेत्र, मन्दिर सबैमा क्षति पुगेको छ ।’

जेठ महिनामै यति ठूलो वर्षा, बाढी र पहिलो आएको आफूलाई सम्झना नभएको उनी बताउँछन् । ‘पछिल्ला दुई वर्षयता एकाएक यसैगरी ठूलो पानी पर्छ । सबैथोक बगाउँछ,’ आश्चर्य भावमा उनी सुनाउँछन् ।

याङ्वरकसँगै छिमेकी जिल्ला ताप्लेजुङको सिदिङ्वामा पनि यसैगरी पानीले असर पारेको छ । पानी कति पर्‍यो ? मापन केन्द्र छैन । स्थानीयवासीका अनुसार निकै ठूलो पानी बर्सिएको छ । उता भारतको सिक्किमका क्षेत्रमा पनि केही दिनयता यसैगरी वर्षा भइरहेको समाचार छ ।

‘सरकारी तथ्याङ्क धेरै पानी परेको देखिँदैन, मापन केन्द्र नभएर यस्तो भएको हुनसक्छ । आइसोलेट रेन फल भएको अनुमान गर्न सकिन्छ,’ जलवायुविज्ञ डा. धर्मराज उप्रेती भन्छन्, ‘एकैठाउँमा धेरै पानी पर्दा यस्तो क्षति हुने गरेको छ । पश्चिमतिर अत्यधिक गर्मी बढिरहेको छ, त्यहाँ बाढी पहिरो गयो ।’ मापन स्टेसन सबै ठाउँमा नहुँदा प्रस्ट तथ्यांक संकलन हुन नसकेको उनी बताउँछन् । ‘हामीले पटक–पटक मापन केन्द्र थप्न भरिहेका छौँ, सरकारले सुनिरहेको छैन,’ उनले भने ।

पछिल्ला वर्षमा पूर्वका पाँचथर, इलाम, ताप्लेजुङमा बाढी–पहिरोले ठूलो क्षति गरिरहेको छ । ज्यान जाने, घर बगाउने, सडकदेखि पुलमा क्षति हुने घटना लगातार भइरहेका छन् ।

पानी पर्ने तरिका र समय नै बदलिएको छ । विगतमा असार–साउन–भदौमा बढी वर्षा हुन्थ्यो, त्यही बेला बाढी–पहिरो जाने गर्दथ्यो । तर, अहिले वैशाख–जेठ, असोज–कात्तिकमै ठूलो वर्षा हुन्छ । क्षति पनि उसैगरी हुन्छ ।

‘मनसुनको चेन नै परिवर्तन भइरहेको छ । इतिहास तोडिने गरी असोजमै इलाममा पानी पर्‍यो,’ उप्रेती भन्छन्, ‘जलवायु परिवर्तनले समुद्रको तापक्रममा बढेकाले यस्तो भइरहेको छ । बंगालको खाडी नजिकै रहेकाले कोशीमा बढी पानी परिरहेको छ ।’

बेमौसममै ठूलो क्षति

गत असोज १९ गते इलामको बाढी–पहिरोमा ३९ जनाको मृत्यु र १ जना बेपत्ता भए, ११ अर्बको क्षति भयो ।

सडक, पुल, खानेपानी, सिँचाइ तहसनहस भए । सूर्योदय नगरपालिकामा रहेका हिमाली गाउँ केन्द्रमा ३३२ दशमलव ६ पानी परेको थियो । जुन त्यहाँको ४२ वर्षपछिको रेकर्ड ब्रेक वर्षा थियो । यही बेला पाँचथरमा पनि दुई जनाको मृत्यु र ठूलो संख्यामा विस्थापित भए ।

२०७९ मा पनि ताप्लेजुङको सिदिङ्वालगायतका क्षेत्रबाट ठूलै क्षति भएको थियो । सोही वर्ष कात्तिक ४ मा पाँचथरको मिक्लाजुङ गाउँपालिका आसपासमा भएको बेमौसमी वर्षाले ३० जनाको ज्यान लिएको थियो भने चार जना बेपत्ता भएका थिए । भौतिक संरचना र खेतीपातीमा ठूलो क्षति भएको थियो ।

०८० असारमा पाँचथरको फालेलुङमा भएको अधिक वर्षाले पाँच वटा मोटरेबल पुल बगाउनुका साथै खोलातटका खेतीबाली, अलैँची खेती बगेका थिए । त्यो वर्षापछिका घटनामा पाँचथरमा मात्रै पाँच जना बेपत्ता हुँदा एकसय भन्दा बढी विस्थापित भएका थिए ।

२०८१ असोज दोस्रो साता आएको बाढी–पहिरोले आठ जनाको पाँचथरमा ८ जनाको मृत्यु र तीन बेपत्ता भएका थिए । हेवा खोलाको पुल पुनः बगेको थियो, सडक, कृषि, जलविद्युत् आयोजनामा ठूलै क्षति भएको थियो ।

छैन प्रभावकारी पूर्वतयारी

पूर्वी पहाडमा बर्सेनि किन यस्तो क्षति भइरहेको छ भन्ने विषयमा हालसम्म कसैको पनि चासो गएको छैन । जलवायु परिवर्तन र अव्यवस्थित विकासे आयोजनाका कारण भएको भनिए पनि ठोस अध्ययनमा सरकारको ध्यान पुगेको छैन ।

विपतको पूर्व तयारीमा पनि सरोकारवालाको ध्यान पुगिरहेको देखिँदैन । संघ, प्रदेश र स्थानीय सरकार सबै यसबारे उदासीन छन् ।

विपद् व्यवस्थापन समिति पनि बैठकमा मात्र सीमित छन् । पूर्व तयारीका सामाग्री जुटाउने, जनशक्ति तयारी अवस्थामा राख्ने, पूर्व सूचना प्रणाली दरिलो बनाउने, जोखिम आकलन र प्रभावितलाई स्थानान्तरण गर्ने योजना हालसम्म देखिएका छैनन् ।

लेखक
गिरिराज बाँस्कोटा

बाँस्कोटा अनलाइनखबरका पाँचथर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?