+
+
Shares
टिप्पणी :

गगनको प्रारम्भिक कार्यकाल : देउवाभन्दा विधिमुखी, गुटगत जोखिम उस्तै

विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति चयन भएको चार महिना पूरा भएको छ । उनको प्रारम्भिक कार्यकाल पूर्ववर्ती सभापति शेरबहादुर देउवाको भन्दा बढी गतिशील, संस्थागत र प्रक्रियामुखी देखिन्छ ।

केशव सावद केशव सावद
२०८३ जेठ ९ गते १८:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गगन थापाले चार महिनामा कांग्रेसको संगठनात्मक पुनर्निर्माणमा जोड दिँदै केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समिति बैठकहरू नियमित रूपमा डाकेका छन्।
  • थापाले प्रदेश-प्रदेश पुगेर निर्वाचन पराजयको समीक्षा गर्दै ७७ वटै जिल्लामा सदस्यता अद्यावधिकका लागि ‘जरा अभियान’ सञ्चालन गरिरहेका छन्।
  • उनका केही कदमले कांग्रेसमा पुरानै गुटगत र नेताकेन्द्रित शैली फेरि दोहोरिनसक्ने चिन्ता पनि देखिएको छ ।

८ जेठ, काठमाडौं । विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति चयन भएको चार महिना पूरा भएको छ । उनको प्रारम्भिक कार्यकाल पूर्ववर्ती सभापति शेरबहादुर देउवाको भन्दा बढी गतिशील, संस्थागत र प्रक्रियामुखी देखिन्छ ।

गत पुस मसान्तमा सभापति बनेका थापाले छोटो समयमै पार्टीका धेरै संरचनाहरू बनाउने, बैठक संख्या बढाएर छलफल गर्ने, सामूहिक निर्णय प्रक्रिया अपनाउने, प्रदेश-प्रदेश पुगेर कार्यकर्ताका कुरा सुन्ने कामको सुरुवात गरेका छन् ।

तर, विशेष महाधिवेशनबाट बहिर्गमनमा परेका निवर्तमान सभापति देउवाको जस्तै लामो कार्यकालसम्म थापाको गतिशीलता कायम रहन्छ कि गुटीय शैलीमा फर्किन्छ भन्ने मुख्य परीक्षा भने बाँकी नै छ ।

चार महिनाका अवधिको कार्यसम्पादन गर्ने शैली हेर्दा सभापति थापाले संगठनात्मक पुनर्निर्माणमा जोड दिइरहेको देखिन्छ । उनको प्रारम्भिक कार्यकालले कांग्रेसलाई पुरानो शक्ति सन्तुलन र नेताकेन्द्रित शैलीबाट प्रक्रिया, संस्था र नीतिमा आधारित पार्टी बनाउन खोजेको देखिन्छ ।

निवर्तमान सभापति देउवाको कार्यकालमा पार्टी विशेष गरी सत्ता व्यवस्थापन, गठबन्धन र गुट सन्तुलनमा केन्द्रित थियो । थापाको प्रारम्भिककालले निर्देशिका निर्माण, प्रशिक्षण, नीति बहस, संगठनात्मक आधुनिकीकरणजस्ता विषयहरू प्राथमिकता परेका देखाउँछ ।

सभापति थापाले कार्यकाल चार महिना पूरा हुँदैगर्दा केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समितिका बैठक डाकेर संगठनात्मक सक्रियता र संस्थागत प्रक्रियामा जोड दिएका छन् ।

सभापति थापाको सभापतित्वमा ९ माघमा पहिलो केन्द्रीय कार्यसमिति बैठक बसेको थियो । त्यसयता जेठ पहिलो सातासम्म चार पटक कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भइसकेको छ ।

पहिलो बैठकबाटै सभापति थापाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय गरेका थिए । केन्द्रीय कार्यसम्पादन समिति गठन भएको १५ दिनपछि पहिलो बैठक बसेको थियो ।

२५ वैशाखमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक ‘भर्चुअल’ थियो । त्यसयता थप चार पटक केन्द्रीय कार्यसम्पादन समिति बैठक बसिसकेको कांग्रेसले सञ्चारमाध्यमहरूलाई गरेको पत्राचार (इमेल) ले देखाउँछ ।

सभापति थापाले केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट सर्वसम्मत निर्णय गर्दै आएका छन् । तथापि, दुई कार्यकाल नेतृत्वमा रहेका देउवा पनि अधिकांश निर्णयहरू सर्वसम्मत गर्दैआएका थिए ।

सभापति थापाको अहिलेसम्मका कामको विश्लेषण गर्दा उनले सांगठनिक संरचनाहरूलाई सक्रिय बनाउने प्रयास गरेको देखिन्छ । थापा २१ फागुनको निर्वाचनमा पार्टीले बेहोर्नुपरेको पराजयको समीक्षा प्रदेश–प्रदेश पुगेर गरिरहेका छन् ।

उनले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठन भएको ‘प्रदेश तथा स्थानीय तह निर्वाचन केन्द्रीत नेपाली कांग्रेस निर्वाचन ब्युरो’ विस्तार गर्दै नेताहरूलाई कार्यादेशसहित जिम्मेवारी तोकेका छन् ।

ब्युरोमार्फत् पार्टीको देशव्यापी निर्वाचन डाटाबेस निर्माण गर्ने, निर्वाचन तयारीलाई तथ्याङ्क–आधारित र वैज्ञानिक बनाउने, ७५३ स्थानीय तह, ६ हजार ७४३ वडा र सात प्रदेशस्तरमा विस्तृत निर्वाचन योजना तयार गर्ने उनको उद्देश्य छ ।

मतदाता र वस्तुस्थिति विश्लेषण गरी उम्मेदवार छनोट प्रणाली वैज्ञानिक र तथ्यपरक बनाउने, स्पष्ट र प्रभावकारी निर्वाचन रणनीति तय गर्ने, पार्टीको निर्वाचन अभियानलाई आधुनिक राजनीतिक अभियान संरचनामा रूपान्तरण गर्ने लक्ष्य राखेर थापाले ब्युरो गठन गरेको भनिएको छ ।

चार महिनाको अवधिमा उनले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, केन्द्रीय सदस्यता व्यवस्थापन समिति, केन्द्रीय अनुशासन समिति, लेखा समिति, मर्यादा निर्धारण समिति, निर्वाचन ब्युरो विस्तार गरेका छन् ।

सभापति थापाले पार्टीका क्रियाशील सदस्यता अद्यावधिकका लागि देशव्यापी ‘जरा अभियान’ सञ्चालन गरेका छन् । ‘जरा अभियान’ का लागि उनले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएका छन् ।

१ वैशाखदेखि सुरू भएको एक महिने ‘जरा अभियान’ को म्याद २१ जेठसम्मका लागि थप गरिएको छ । तर, विशेष महाधिवेशनमा सहभागी नभएको पार्टीको एक तप्का सदस्यता अद्यावधिक नगर्ने अड्डी कसेर बसेको छ ।

निवर्तमान सभापति देउवाकालमा पार्टीका सांगठनिक संरचनाहरू लामो समयसमम निष्क्रिय रहने, गठन भएका संरचनाहरू पनि औपचारिकतामा मात्रै हुने गरेका थिए ।

देउवाले दोस्रो कार्यकालमा आफू सभापतिमा निर्वाचित भएको सात महिना पछिमात्रै तत्कालीन उपसभापति पूर्णबहादुर खड्कालाई प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा मनोनयन गरेका थिए ।

यस्तै, उनले तत्कालीन केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई झन्डै तीन वर्षपछि कोषाध्यक्ष बनाएका थिए । तर, थापाले भने आफू सभापतिमा चुनिएको चार महिनाभित्रै उनै श्रेष्ठलाई केन्द्रीय सदस्य मनोनीत गरेर कोषाध्यक्षको जिम्मेवारी सुम्पिएका छन् ।

निवर्तमान सभापति देउवाले दोस्रो कार्यकालमा निर्वाचित भएको झन्डै आठ महिनापछि सदस्यता व्यवस्थापन केन्द्रीय समिति, केन्द्रीय अनुशासन समिति र लेखा समिति गठन गरेका थिए ।

तत्कालीन समयमा सदस्यता व्यवस्थापन केन्द्रीय समितिको संयोजकमा महामन्त्री गगन थापालाई तोकिएको थियो । यसैगरी आनन्द ढुंगानालाई केन्द्रीय अनुशासन समिति संयोजक र श्यामकुमार घिमिरे लेखा समितिका संयोजक बनाइएको थियो ।

तर, सभापति थापाले चार महिनाको अवधिमै यी तीनवटै समिति गठन गरिसकेका छन् । उनले केन्द्रीय सदस्यता व्यवस्थापन समितिको संयोजक महामन्त्री प्रदीप पौडेललाई बनाएका छन् ।

केन्द्रीय सदस्य तारामान गुरुङलाई केन्द्रीय अनुशासन समिति संयोजक र केन्द्रीय सदस्य भरतकुमार शाहलाई लेखा समिति संयोजकको जिम्मेवारी थापाले दिएका छन् ।

निवर्तमान सभापति देउवाले दुवै कार्यकालमा विधानमा भएको व्यवस्थाअनुसार ढिलो गरी केन्द्रीय सदस्यहरू मनोनीत गर्ने गरेका थिए । तर, थापाले सभापतिमा चयन भएको चार महिना नपुग्दै १९ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिसकेका छन् ।

उनले २८ वैशाखमा निवर्तमान सभापति देउवा र उनीसँगै १४ औं महाधिवेशनमा सभापति पदका लागि प्रतिष्पर्धा गरेका नेता डा. शेखर कोइरालानिकट १९ जना नेताहरूलाई केन्द्रीय कार्यसमिति सदस्य मनोनयन गरेका थिए ।

यद्यपि, देउवा समूहको नेतृत्व गरिरहेका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता कोइरालाले सभापति थापाले गरेको मनोनयनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । विशेष महाधिवेशनबाट उत्पन्न आन्तरिक किचलोका कारण उनीहरू मनोनयनबाट सन्तुष्ट देखिँदैनन् ।

सभापति थापाले गरेको केन्द्रीय सदस्यहरू मनोनयनबारे खड्का र कोइरालाको समान धारणा छ । उनीहरूले केन्द्रीय सदस्य मनोनीतबारे सामाजिक सञ्जाल फेसबुकमार्फत् छुट्टाछुट्टै प्रतिक्रिया दिँदै भनेका छन्, ‘पार्टी वृहत्तर एकतामा ठेस पुग्यो ।’

पाँच कार्यकाल सत्ताको बागडोर सम्हालीसकेका पूर्वप्रधानमन्त्री देउवा कांग्रेसको १३ औं र १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए । उनका दुवै कार्यकालमा केन्द्रीय कार्यसमिति बैठकहरू लामो समयसम्म पनि बस्ने गरेका थिएनन् ।

प्राय: एक्लै वा निकटवर्ती गुटबाट निर्णय गर्ने प्रवृत्ति देउवामा देखिन्थ्यो । गुटीय सन्तुलनमा आधारित नियुक्तिमा उनको जोड हुने गरेको आलोचकहरूको टिप्पणी हुन्थ्यो । नयाँ पुस्तालाई कम अवसर दिएको देउवामाथि आरोप लाग्ने गरेको थियो ।

देउवा सत्ता गठबन्धन, प्रधानमन्त्री बन्ने र टिकाउनेमा बढी केन्द्रित हुन्थे । संगठनात्मक सुधारभन्दा पनि सत्ताकेन्द्रित राजनीति उनको प्राथमिकतामा पर्दैआएको थियो । देउवाका दुवै कार्यकाल पार्टीको आन्तरिक द्वन्द्वमा बितेका थिए ।

देउवाको तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल (हाल राष्ट्रपति), नेता डा. शेखर कोइराला, तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माजस्ता नेतासँग निरन्तर टकराव रह्यो ।

वर्तमान सभापति थापाले केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिका लगातार बैठक, प्रशिक्षण, अभिमुखीकरण र प्रदेशस्तरीय भेलाले पार्टीलाई व्यवस्थित र सक्रिय बनाउने प्रयास गरेको देखिन्छ । यी कामलाई सभापति थापाका सकारात्मक कदमका रूपमा लिन सकिन्छ ।

तर, विशेष महाधिवेशनमा सहभागी नभएको पक्षलाई पर्याप्त रूपमा समेट्न नसकेको, छोटो समयमा धेरै मनोनयन गरिएको भन्दै पार्टीभित्र सभापति थापाको आलोचना पनि भइरहेको छ । उनका केही कदमले कांग्रेसमा पुरानै गुटगत र नेताकेन्द्रित शैली फेरि दोहोरिनसक्ने चिन्ता पनि देखिएको छ ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?