+
+
Shares

पूर्वराष्ट्रपति यादव, कांग्रेस सभापति थापासहितले हेरे फिल्म ‘बिगुल’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १२:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति रामवरण यादव, कांग्रेस सभापति गगन थापा लगायत नेताहरूले फिल्म 'बिगुल' को विशेष शो जमलस्थित विश्वज्योति हलमा हेरेका छन्।
  • फिल्म 'बिगुल' भ्रष्टाचार, राजनीतिक बेथिती र युवाको संघर्ष विषयमा आधारित छ र पुनःप्रदर्शनको तयारी भइरहेको छ।
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले 'बिगुल' अत्यन्त उत्कृष्ट, यथार्थवादी र सन्देशमूलक फिल्म भएको बताए।

काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादव, कांग्रेस सभापति गगन थापासहितका नेताहरूले फिल्म ‘बिगुल’ हेरेका छन् । मंगलबार बेलुका जमलस्थित विश्वज्योति हलमा विशेष शो आयोजना गरिएको थियो ।

भ्रष्टाचार, राजनीतिक बेथिती र युवाको संघर्ष लगायतका राजनीतिक कथावस्तुमा फिल्म आधारित छ । यो फिल्म यसअघि नै प्रदर्शनमा आइसकेपनि २१ फागुनको प्रतिनिधिसभा चुनावको कारण बीचमै उतारिएको थियो । पुनःप्रदर्शनमा ल्याउने तयारी भैरहेको जानकारी निर्माता दिनेश कोइरालाले दिए ।

फिल्मको विशेष शोमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस नेता प्रदीप पौडेल, सांसद अर्जुननरसिंह केसी लगायतका नेता पनि हलमा पुगेका थिए ।

पूर्वराष्ट्रपति यादवले यथार्थलाई कलात्मक रूपमा प्रस्तुत गरेको यो फिल्म समाज परिवर्तनको प्रभावकारी माध्यम बन्न सक्ने विश्वास व्यक्त गरे । पूर्वप्रधानमन्त्री नेपालले आफू धेरै समयपछि हलमा आएर नेपाली फिल्म हेरेको बताए ।

देशको वास्तविकता बोल्ने फिल्म भनेर सुनेपछि हलसम्म आएको नेता नेपालले बताए । ‘धेरै वर्षपछि हलमा आएर नेपाली चलचित्र हेरेको हुँ । देशको यथार्थ बोल्ने फिल्म भनेर सुनेपछि हेर्न आएको हुँ । वास्तवमै ‘बिगुल’ अत्यन्त उत्कृष्ट, यथार्थवादी र सन्देशमूलक फिल्म रहेछ,’ उनले भने ।

काग्रेस सभापति थापाले यो फिल्मलाई परिवर्तनको ऐना भएको बताउदै युवा पुस्तालाई सोच्न बाध्य बनाउने र समाज रुपान्तरणको अभियानलाई थप बल पुर्‍याउने विश्वास ब्यक्त गरे ।

‘यो केवल मनोरञ्जनका लागि बनेको फिल्म होइन, देशको यथार्थ बोल्ने चलचित्र हो,’ उनले भने । शोमा उपस्थित पाहुनाले फिल्मले उठाएको विषयवस्तु, प्रस्तुतिकरण र सन्देश प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए ।

दिनेश कोइरालाको कथा र निर्माण रहेको ‘बिगुल’ रमेश कोइरालाको निर्देशनमा बनेको हो । निर्माता कोइरालाले समाज परिवर्तनको उद्देश्यसहित फिल्म निर्माण गरिएको बताए ।

‘यो फिल्म कुनै व्यक्ति वा दलविरुद्ध नभई देशमा मौलाएको विकृति, अन्याय र भ्रष्ट प्रवृत्तिविरुद्ध उठाइएको कलात्मक आवाज हो,’ उनी भन्छन्, ‘फिल्म समाजको ऐना हो र ‘बिगुल’ ले यही ऐनामा आजको नेपालको अनुहार देखाएको छ,’ उनले बताए ।

जुन २६ देखि अष्ट्रेलियाका विभिन्न शहरमा समेत प्रदर्शन गर्न लागिएको फिल्मको नेपाल पुनः रिलिजको मिति केही समयमा तय गरिने भएको छ । १ फागुनमा प्रदर्शनमा आएको फिल्मको चार दिनमै प्रदर्शन रोकिएको थियो ।

फिल्ममा बेनिशा हमाल, नरेन खड्का, जेएन घिमिरे, हेमन्त बुढाथोकी, विनोद न्यौपाने, मीरा पण्डित, मान्सी शर्मा, रवीन्द्र खड्कालगायतका कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?