३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसको पार्टी सभापतिका रूपमा अहिले घर झगडाभन्दा बढी देशका मुद्दामा चिन्तन गर्ने बेला भएको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसको आन्तरिक समस्या भन्दा ठूला अहिले देशका समस्या रहेको बताएका हुन् ।
‘मैले आज बीपी कोइरालाले लगाउनुभएको जुत्तामा खुट्टा हालेको छु । यो जुत्ता सबैभन्दा महँगो, बलियो, भरपर्दो हो,’ सभापति थापाले भने, ‘यो जुत्तामा खुट्टा हालेको कांग्रेसको सभापतिले देशको समस्याको चिन्तन गर्ने कि घर झगडाको ?’
कांग्रेसमा धेरै व्यक्ति लामो लडाइँ लडेर आएको बताउँदै उनले त्यो लडाइँ देश र लोकतन्त्रका लागि रहेको बताए । ‘यहाँ धेरै लडाइँ लडेर, यति धेरै मानिसको जीवन र जवानी गएको छ यसभित्र, हामीहरूको त केही पनि होइन, हामी एउटा कारण कि लोकतन्त्र, त्यहाँभित्र नागरिकको स्वतन्त्रता हुन्छ, नागरिकको आत्मसम्मान हुन्छ, नागरिकको सहभागिता हुन्छ र त्यसैबाट नागरिकको जीवनमा परिवर्तन आउँछ, परिवर्तनको त्यो बाटो सम्भव छ भनेर’, उनले भने ।
देशका मुल मुद्दामा पार्टीलाई ठीक ठाउँमा उभ्याउनका लागि कांग्रेसलाई तयार बनाउन पार्टीभित्र छलफल गर्ने र समर्थकलाई बताउनुपर्ने उनले बताए ।
‘मैले विशेष महाधिवेशन गर्नुपर्छ भन्दैगर्दा मेरो तर्क त्यही थियो, को हो नेपाली कांग्रेस ? कांग्रेस भनेर हामी संगठनको संरचनाभित्र बसेको मान्छे मात्रै हौं भन्न पाउँछौँ ?,’ उनले प्रश्न गरे ।
यसपालि कांग्रेसले यस्तै १० लाख शुभेच्छुक र समर्थकको मत गुमाएको उनले बताए । उनले अगाडि भने, ‘त्यो १० लाख शुभेच्छुक/समर्थकको बीचमा म पुग्न चाहन्छु । म उनलाई भरोसा दिलाउन चाहन्छु पार्टी सभापतिका रूपमा । जे कारणले कांग्रेस हुनुभएको हो म त्यही फिर्ता गर्न चाहन्छु ।’
प्रतिक्रिया 4