News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले बारा जिल्लाका सबै सांगठनिक कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ।
- रास्वपाले २७ वैशाखमा बारा जिल्ला कमिटी विघटन गरेको र शनिबार विस्तारित बैठक आह्वान गरेको छ।
- विस्तारित बैठकले नयाँ निर्णय नगरेसम्म सदस्यता वितरण बाहेकका सबै कार्यक्रम स्थगित रहने छ।
३ जेठ, बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्लाका सबै सांगठनिक कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ ।
आगामी असारमा हुने महाधिवेशन लक्षित गरेर देशैभर संगठन निर्माणमा लागेको रास्वपाको बारा जिल्लामा भने जिल्ला कमिटीनै विघटन भएकाले सांगठनिक कार्यक्रम प्रभावित बनेको हो ।
२७ वैशाखमा बारा जिल्ला कमिटी विघटन गरेको रास्वपाले बारा जिल्लामा देखिएको संगठनात्मक समस्या समाधान तथा आवश्यक समन्वयका लागि आगामी शनिबार विस्तारित बैठक आह्वान गरेको छ ।
बारा जिल्ला संगठन निर्माण विशेष समितिकी संयोजक कामीनी चौधरीले एक विज्ञप्ति प्रकाशित गरी वडा, पालिका तथा निर्वाचन क्षेत्र स्तरीय सबै सांगठनिक कार्यक्रमहरू स्थगित भएको जानकारी दिएकी हुन् ।
उनका अनुसार शनिबार बस्ने विस्तारित बैठकले नयाँ निर्णय नगर्दासम्म सदस्यता वितरण बाहेकका पार्टीका अन्य सबै कार्यक्रमहरू स्थगित गरिएको छ ।
९ जेठका लागि बोलाइएको विस्तारित बैठकमा बाराका चारैजना संघीय सांसद, उनिहरुले मनोनयन गरेका पाँच/पाँचजना प्रतिनिधि, पार्टीको केन्द्र, प्रदेश समिति तथा विभागका सदस्य, विघटित जिल्ला समिति, निर्वाचन क्षेत्र समितिका सभापति, अद्यावधिक भएका वडा समितिका सभापति तथा पालिका कमिटीका पदाधिकारीहरू सहभागी हुने जनाइएको छ ।
चन्दन स्वर्णकारको सभापतित्वमा रहेको बारा जिल्ला समिति पटकपटक विवादमा परेपछि रास्वपाको केन्द्रिय समिति वैठकले गत २७ वैशाखमा पार्टीको बारा जिल्ला कमिटी विघटन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4