News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसमा विशेष महाधिवेशनपछि सुरु भएको विवाद प्रतिनिधिसभा निर्वाचनपछि झन् चर्किएको छ।
- सभापति गगनकुमार थापाले पार्टी एकताको लागि १४औं महाधिवेशनबाट निर्वाचित नेताहरूलाई समितिमा समेट्ने प्रस्ताव राख्नुभयो।
- नेता पूर्णबहादुर खड्का र शेखर कोइरालाले पार्टी मेलमिलापका लागि समान धारणा राखेका छन् र औपचारिक सहमति आवश्यक बताएका छन्।
५ जेठ, काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनपछि सुरु भएको आन्तरिक विवाद प्रतिनिधिसभा निर्वाचनपछि झन् चर्किँदै गएको छ । संस्थापन पक्ष पार्टीको एकता जोगाउने प्रयासमा देखिए पनि संस्थापन इतर समूह गुटभेला र शक्ति प्रदर्शनमा सक्रिय देखिएको छ ।
विशेष महाधिवेशनबाट आएको नेतृत्व र बाहिरिएको नेतृत्वबीचको मतभेद पछिल्लो समय शक्ति संघर्षमा रूपान्तरण भएको छ । पार्टीभित्र एकताको सन्देश दिइए पनि नेताहरूबीचको दूरी घट्नुको सट्टा झन् बढिरहेको छ ।
कांग्रेसभित्रको विवाद तत्काल साम्य हुने संकेत देखिँदैन । बरु, आगामी दिनमा यो विवाद अझै चर्किने सम्भावना बढ्दो छ । दुवै पक्षले सार्वजनिक रूपमा पार्टी एकताको कुरा गरिरहे पनि औपचारिक पहल कतैबाट हुन सकेको छैन ।
नेताहरूबीच बढ्दो अविश्वासका कारण कांग्रेसभित्रको विवाद समाधान हुनेभन्दा पनि थप गहिरिँदै गएको देखिन्छ । शनिबारमात्रै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गृह जिल्ला सुर्खेत पुगेर सभापति गगनकुमार थापा सिंगो पार्टीको सभापति बन्न नसकेको टिप्पणी गरे ।
उनले आफूलाई भेट्न आएका सभापति थापालाई सिंगो पार्टीको सभापति बन्न सुझाव दिएको पनि बताए । नेता खड्काले अहिले पनि थापा सानेपाको मात्रै सभापति भएको आरोप लगाए ।

‘पार्टी विभाजनको डिलमा छ, म त्यो बाटोमा जान हुन्न भन्छु,’ २३ वैशाखमा सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा आफूले भनेको कुरा स्मरण गर्दै खड्काले भने, ‘तर पार्टी मिलाउने कि फुटाउने तपाईंहरूको जिम्मामा छ भनेको छु ।’
त्यसको एक दिनपछि (आइतबार) सभापति थापाले काठमाडौंबाट १४औं महाधिवेशनबाट निर्वाचित नेताहरूलाई समेटेर अगाडि बढ्न आफू तयार रहेको जवाफ फर्काए ।
‘प्रजातान्त्रिक विचार समाज’ले आयोजना गरेको कार्यक्रममार्फत् उनले विशेष महाधिवेशनमा छुटेका नेताहरूलाई केन्द्रीय कार्यसमिति र अन्य समितिहरूमा समेट्ने प्रस्ताव गरे ।
‘पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित भएका नेताहरूको ठूलो पंक्ति बाहिर छ,’ सभापति थापाले भने, ‘म के भनिरहेको छु– १४ औं महाधिवेशनबाट निर्वाचित नेताहरू जो हुनुहुन्न मेरो समितिभित्र । त्यो प्रत्येक नेता जो चाहनुहुन्छ, म अहिलेको केन्द्रीय समितिभित्र ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, जसलाई जे ठाउँमा राखेर हुन्छ म उहाँहरूलाई सँगै राखेर काम गर्न चाहन्छु । मेरो प्रस्ताव हो यो ।’

साथै सभापति थापाले निर्वाचन समिति, सदस्यता छानबिन समिति र अनुशासन समितिमा पनि बाहिर रहेका नेतालाई समेटेर १५ औं महाधिवेशन पारदर्शी गर्न चाहेको बताए । त्यसका लागि छलफलमा आउन उनले इतर पक्षका नेतासँग आग्रह गरे ।
पार्टीमा विशेष महाधिवेशनमा सहभागी भएको र नभएको आधारमा विभेद नगर्ने पनि उनले प्रतिबद्धता व्यक्त गरे ।
‘को विशेष महाधिवेशनबाट आएको थियो, को आएको थिएन भन्ने आधारमा पार्टीभित्र अवसर प्राप्त गर्ने कुरा पनि हुँदैन,’ सभापति थापाको भनाइ थियो, ‘पार्टीको निर्णय पनि चाहे त्यो प्रादेशिक सरकार होस्, चाहे संसदीय दलका बारेमा होस्, चाहे त्यो स्थानीय सरकारका बारेमा होस्, चाहे त्यो भ्रातृसंस्थाका बारेमा होस् ।’
तर, निवर्तमान सभापति शेरबहादुर देउवानिकट नेताहरूले बाहिर एकताको कुरा गरे पनि सभापति थापाले व्यक्तिगत स्वार्थका लागि मान्छे तान्ने र संगठनको संरचना बिगार्ने काम गरेको भन्दै आलोचना गरेका छन् ।
देउवानिकट नेता मीन विश्वकर्माले सभापति थापाको आइतबारको प्रस्तावमा मञ्चमा आफ्ना अभिव्यक्तिलाई आकर्षक बनाउनेबाहेक केही पनि नभएको टिप्पणी गरे ।

‘यो कस्तो उल्टो भयो भने नि, जस्तो– अहिले सरकारले हामी बस्ती उठाउदैनौं, व्यवस्थित गरेको हो भन्छ र अनि सुकुमवासीको घर उठाउँछ हैन,’ उनले भने, ‘गगनजीको पनि ठ्याक्कै त्यही भयो । म सबै कुरा दिन तयार छु भन्ने तर, संवाद नगर्ने । अनि मञ्चमा भन्ने । मञ्चलाई आकर्षक बनाउने । त्यति मात्रै भयो ।’
सभापति थापाले मञ्चबाट गरेको प्रस्तावका आधारमा पार्टी एकता गर्न कठिन हुने भन्दै नेता विश्वकर्माले एकताका लागि स्पष्ट प्रक्रिया र सहमति आवश्यक पर्नेमा जोड दिए ।
उनले उदाहरण दिँदै भने, ‘मैले भोक लाग्यो भनेको छु, मेरो घरको भान्सेले बाटोमा गएर भात पकाएको छु, खाँदैनन् त के गर्नु भन्यो भने त्यसको उपाय के छ ?’
पार्टी एकताका लागि सार्वजनिक प्रस्ताव पर्याप्त नहुने, व्यवहारिक तयारी र आपसी समझदारी अनिवार्य रहने नेता विश्वकर्माको आशय थियो ।
देउवानिकट नेता रामहरि खतिवडाले सभापति थापाको आइतबारको प्रस्ताव सकारात्मक भए पनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताए । उनले मिडियामा अभिव्यक्ति दिँदैमा मात्रै पार्टीभित्रको एकता सम्भव नहुने टिप्पणी गरे ।
नेता खतिवडाले सभापति, पूर्वकार्यवाहक सभापति तथा नेता डा. शेखर कोइरालालगायतले सार्वजनिक अभिव्यक्तिभन्दा पनि मेलमिलाप र एकताको प्रक्रियामा देखिने गरी अघि बढ्नुपर्नेमा जोड दिए ।
‘सभापतिजीको भनाइ एकदम सकारात्मक छ । तर, त्यो कार्यमा प्रारम्भ होस् । अब बाहिर मिडियामा बोलेर मात्रै हुँदैन । सभापति, पूर्व कार्यवाहक सभापति, वरिष्ठ नेता कोइरालाले कसैले पनि मिडियामा बोलेर मात्र हुँदैन,’ खतिवडाले भने,
उनले ‘सेन्टिमेन्टल’ प्रस्तुति मात्रै पर्याप्त नहुने उल्लेख गर्दै पार्टीभित्र मेलमिलाप र एकताको वातावरण निर्माणका लागि सबै पक्ष व्यवहारिक रूपमा तयार हुनुपर्नेमा जोड दिए ।
‘कमी–कमजोरी भए, कसैका कुनै सेक्टरबाट भए होलान्, कसैका कुनै सेक्टरबाट,’ नेता खतिवडाले भने, ‘सधैं एउटाले अर्कोलाई आरोप प्रत्यारोपको राजनीति गरेर मात्रै मुलुकको समस्या समाधान हुँदैन ।’
नेता विश्वकर्माले सभापति थापा र निवर्तमान कार्यवाहक सभापति खड्काबीच कुराकानी भए पार्टीमा मेलमिलाप हुने पनि तर्क गरे । ‘पार्टी मिलाउँन चाहँदा पूर्ण दाइसँगमात्रै बसे कुरा मिल्छ,’ उनले भने ।
नेता विश्वकर्माले देउवा समूहको नेतृत्व गरिरहेका नेता खड्का र छुट्टै विचार समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालाको पार्टी मेलमिलापका लागि समान धारणा रहेको पनि बताए ।
‘उहाँहरूको भनाइ के छ भने १४ औं महाधिवेशनबाट निर्वाचित भएका जो साथीहरू विशेष महाधिवेशनलाई अफिसियल होइन भनेर जानुभएन । तर, अदालत र आयोगले विशेषलाई मान्यता दियो, त्यो दुर्घटना भयो । त्यसैले १४ औं महाधिवेशनका सबै साथीहरूलाई १५ औं महाधिवेशनमा सहभागी हुने वातावरण बनाउनुपर्छ,’ उनले भने ।
पहिले देखि नै विशेष र नियमित महाधिवेशन भनेर नेताहरू विभाजित भएका कारण आशन्न महाधिवेशनसम्बन्धी सबै संरचनाहरूलाई सम्मानजनक सहभागितामा बनाउनु पर्ने खड्का–कोइरालाको दोस्रो माग रहेको नेता विश्वकर्माको भनाइ छ ।
उनले थपे, ‘तेस्रो कुरा– जुन उहाँहरूले पार्टी मिलाउन छोडेर जरा अभियान भनेर अध्यावधिकका नाममा क्रियाशील सदस्य छान्ने काम गरेर नेता–कार्यकर्ता छुट्याउने काम गर्नुभएको छ, त्यो बन्द गर्नु पर्यो । त्यस पछाडि पार्टी एकताको सन्देश लिएर जरामा जाऊँ, पातमा जाऊँ, हागामा जाऊँ, सबै तिर जाऊँ ।’
पार्टी मेलमिलापका लागि नेताद्वय खड्का र कोइरालाले अघि सारेको प्रस्ताव सकारात्मक रहेको भन्दै विश्वकर्माले त्यसलाई अस्वीकार गर्ने ठाउँ नरहेको बताए ।
‘राम्रो कुरा छ, त्यसलाई ‘नाइँ’ भन्ने ठाउँ छैन । तर, बाहिर गएर म सबै दिन तयार छु भन्ने, अनि आफैंले भनेका कुरा पनि किन पूरा भएनन् भन्ने शैलीमा सभापतिले जुन गर्नुभएको छ, त्यसले पार्टी एकतालाई झन् ठेस पुर्याएको छ,’
तर, प्रस्तावलाई औपचारिक रूपमा स्वीकार नगरी सभापति थापाले बिना परामर्श केन्द्रीय सदस्य चयन गरेको कदमले पार्टी एकतामा थप ठेस पुगेको उनको आरोप छ । सभापति थापाले सार्वजनिक रूपमा एकताको पक्षमा अभिव्यक्ति दिए पनि व्यवहारमा त्यसअनुसार काम नगरेको नेता विश्वकर्माले टिप्पणी गरे ।
उनले नेताहरूलाई व्यक्तिगत रूपमा बोलाएर जिम्मेवारी दिने आश्वासन दिएर समूहगत छलफलभन्दा व्यक्तिकेन्द्रित रूपमा अघि बढ्नु उचित नभएको बताए ।
‘बाहिर एकताको कुरा गर्ने अनि व्यक्ति–व्यक्ति तान्ने, आउने जतिलाई जिम्मेवारी दिन्छु भन्दै एक्लाएक्लै बोलाउने काम राम्रो भएको छैन,’ विश्वकर्माले भने ।
नेता खतिवडाले कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि अब एकता नै प्रमुख विकल्प भएको बताए । उनले पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न औपचारिक सहमतिभन्दा पनि विश्वास र भावनात्मक एकताको आवश्यकता रहेकोमा जोड दिए ।
‘अब विकल्पहरू छैनन् । हामी कोही जरा अभियान, कोही एकताको अभियान भनेर ठाउँ–ठाउँ, गाउँ–गाउँ छिर्ने काम गरिरहेका छौं,’ खतिवडाले भने, ‘जरा दह्रो बनाउन पनि, पात–हाँगा दह्रो बनाउन पनि एकता नभइ केही हुँदैन । त्यो पनि मनैदेखिको एकता आवश्यक छ ।’

कांग्रेसमा अहिलेको पहिलो आवश्यकता सबै नेताहरू एक ठाउँमा बस्नु पर्ने भएको र कसैले पनि ‘मेरो गोरुको बारै टक्का’ गर्न नहुने खतिवडाको भनाइ छ ।
‘कसले के पद पाउने, कसले के गुमाउने भन्दा पनि सम्पूर्ण राष्ट्रका लागि कांग्रेस एकताको आवश्यकता छ,’ उनले भने ।
खतिवडाले सभापति थापा र उपसभापति शर्माले मेलमिलापका लागि निवर्तमान सभापति खड्का र नेता कोइरालासँग बन्द कोठामा बसेर छलफल गर्नुपर्ने पनि सुझाए ।
‘पूर्णबहादुर खड्का र शेखर कोइरालासँग सभापति र उपसभापति बृहत रुपमा बाहिरका कुरा नसुनिकन एउटा कोठामा दुई–चार घण्टा बस्नै पर्छ,’ उनले भने, ‘दुई–चार घण्टा बसेर पार्टी मिलाएको सन्देशसहित १५ औं महाधिवेशमा जानुपर्छ । अरू विकल्प हामीसँग छैन ।’
सभापति थापाले आइतरबार सार्वजनिक रूपमा गरेका प्रस्तावहरू इतर पक्षका नेतासमक्ष भेटेर पनि राखेको बताएका थिए । तर, नेता खड्काले आफूसँगको भेटमा सभापति थापाले गरेको उक्त प्रस्तावबारे केही खुलाएका छैनन् ।
सभापति थापा र उपसभापति शर्मासँग २३ वैशाखमा भएको भेटबारे नेता खड्काले पहिलोपटक २९ वैशाखमा सार्वजनिक रूपमा मुख खोलेका थिए । सामाजिक सञ्जाल फेसबुकमा उनले थापा–शर्मासँग तीन विषय राखेको उल्लेख गरे पनि आफूलाई गरिएको प्रस्तावबारे केही खुलाएका थिएनन् ।
आइतबार नै खड्काको गृह जिल्ला सुर्खेतमा सम्पन्न प्रदेशस्तरीय दुई दिने भेलाले १५औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने, सभापति थापाले तत्काल पार्टीका शीर्ष नेता, पूर्वपदाधिकारीसँग सघन संवाद गर्नुपर्ने, विगतमा नवीकरण भइसकेका क्रियाशील सदस्यलाई महाधिवेशनमा सहभागितामा सुनिश्चित गर्नुपर्ने लगायत निष्कर्ष निकालेको थियो ।
प्रतिक्रिया 4