News Summary
Generated by OK AI. Editorially reviewed.- भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीले रसुवागढी, टिमुरे र स्याफ्रुबेंसीका बस्ती, पुल, सडक र हाइड्रोपावर संरचना सोहोरेको छ।
- पूर्वसूचना प्रणाली र विपद्बारे जनचेतना फितलो हुँदा तल्लो तटीय क्षेत्रमा क्षति बढेको र अहिले खोज, राहत, उद्धार तथा पुनर्निर्माण चलिरहेको छ।
- लेखले जोखिमरहित स्थानमा संरचना बनाउन, नदीको बाटो नदीलाई नै छाड्न र नेपाल–चीनबीच हिमाल, हिमताल र नदी जोखिमबारे निरन्तर संवाद गर्न सुझाव दिएको छ।
२०७२ सालको महाभूकम्पको कहरबाट रसुवा विस्तारै तङ्ग्रिंदै थियो। सिमानामा टिन र प्रिफ्याबका केही टहराबाट सरकारी सेवा चलेका थिए। स्याफ्रुबेंसी, रसुवागढी र टिमुरेका घरहरू बिस्तारै ठडिन थालेका थिए। भूकम्पले थिलथिलो बनाएको भूगोलमा जोखिम जिउँदै थियो।
साँघुरो बाटोमा माथि भीरबाट चोइटिएका ढुङ्गाहरू खस्थे। कसैलाई लाग्थ्यो, कसैले छल्थे। हरेक यात्रामा बाँच्नु र बाँचिरहनु पनि अनौठो आकस्मिकता जस्तो लाग्थ्यो। यो २०७४ सालतिरको कथा हो।
उता चीनपट्टि भने भूकम्प गएको नामोनिसान बाँकी थिएन। सुविधासम्पन्न अध्यागमन भवन, पार्किङ अनि अलिपर डिपार्टमेन्टल स्टोर। केरुङ पुग्ने चिल्लो सडक। एउटा फलामे पुलले छुट्याएका दुई अलग संसार जस्ता। लाग्थ्यो, उतापट्टिका संरचनाले प्रकृतिका हरेक आवेगलाई थेग्न सक्षम छन्। लाग्थ्यो, ओहो ! प्रकृतिको विनाशकारी वेगलाई टक्कर दिने क्षमता राख्ने यस्तो विकास पो विकास!
एक वर्षको बसाइमा रसुवाका भूगोलहरू घुमिरहँदा डाँडाकाँडा र गाउँघर मात्रै होइन, मान्छे र समाजका अवयवहरू पनि छोइँदो रहेछ, भावना र संवेदना पनि छामिंदो रहेछ। त्यसैले रसुवा मेरो लागि नेपालको नक्शाको एउटा भूगोल मात्रमा सीमित रहेन।
रसुवा हिमाली भेगका कठिन चुनौतीसँगै बाँच्ने मान्छेको ज्याद्रोपनाको पर्याय थियो। विनाश र त्रासदी पनि फेरि उठ्ने मान्छेको उत्थानशील स्वभावको उदाहरण थियो। ज्याद्रो मान्छेलाई हिमालले अझ बढी ज्याद्रो बन्न सिकाउँछ। त्यसो त ज्याद्रोपना हिमालमा बाँच्ने पूर्वशर्त नै हो, तर गत भदौ १० गते हिमाली नदीले प्रलयकारी वेगमा मान्छेको त्यो ज्याद्रोपनालाई जरैदेखि हल्लाइदियो।
कुनै ‘अपोक्यालिप्टिक’ चलचित्रमा देखाइने जस्तो त्यो दृश्य एकछिन त ‘एआई’ जस्तो लाग्यो। त्यो हामीले देख्दै आएको भोटेकोशी र त्रिशूलीको शान्त र रौद्र दुवै रूपभन्दा पृथक् रूप थियो। भोटेकोशी रिसले उद्वेलित थियो; वर्षौंदेखिको उकुसमुकुसपछि कुनै हिंस्रक प्रलयकारी शक्तिले एकाएक निकास भेटे जस्तो।
हजारौं टन बारुद एकैपटक पड्किए जस्तो वेगमा आएको बाढीले भोटेकोशीको माथिल्लो तटीय क्षेत्रमा रहेका रसुवागढी, टिमुरे, स्याफ्रुबेंसी लगायतका गाउँहरू एकाएक नक्शाबाट मेटिए। रसुवाको खोंच हुँदै गोसाइँकुण्डको जलधारा मिसिएर त्रिशूली बनेर निस्किसक्दा पनि भोटेकोशीको आवेग रोकिएन। हाइड्रोपावरका संरचनाहरू, पुल, सडक र मानव बस्तीलाई सोहोर्दै क्रोधित भोटेकोशी वेगले अगाडि बढ्यो।
कुनै समय पिताजीको कार्यक्षेत्र रहेको नुवाकोटका त्रिशूली, बेत्रावती, तुप्चे लगायतका ठाउँमा मेरा बाल्यकालका स्मृतिहरू प्रशस्त छरिएका छन्। बर्खाको बेला आएको त्रिशूलीको भेलमा हेलिएर दाउरा बटुल्न जाने स्थानीय बालबालिकाको पछि लाग्दा खप्की खाएको स्मृति अझै ताजा छँदैछ। नदीको खतरा समेत आँक्न नसक्ने उमेर थियो त्यो। तर भदौ १० मा भिडियो हेर्दाहेर्दै स्मृतिका ती नक्शाहरूलाई त्यही नदीले निमेषभरमै मेटाइदियो।
विष्णुको मत्स्यावतारको वर्णन होस् वा नोहाको आर्कको कथा, मानव सभ्यतामा महाप्रलयका मिथकहरू नदी र पानीसँगै जोडिएका छन्। त्यस्तै, कुनै महाप्रलयले छोपे झैं एक निमेषमा रसुवा र नुवाकोटमा कति जीवनहरू खोलामा बगे, कति लेदोमा पुरिए वा घरभित्रै अड्किए र कति हराइरहेका छन्। कति अझै उद्धारको पर्खाइमा सुरुङको अन्धकारमा छन्।
सकुशल रहेकाहरूले पनि अरूलाई बचाउँदा–बचाउँदै रुने फुर्सद पाएका छैनन्। बर्दीमा रहेका उद्धारकर्मीहरूले हिलो र लेदोले शरीर ढाडिंदा समेत लुगा फेर्न पाएका छैनन्। भोक लाग्दा खाने र सुस्ताउने फुर्सद पाएका छैनन्।
थातथलो भनेको नक्शामा देखिने भूगोल मात्र होइन। जीवन भनेको सङ्ख्या मात्र होइन, सिङ्गो कथा हो, अझ भनौं धेरै अन्तरसम्बन्धित कथाका जालोहरू हुन्। भाग्यले बाँचेकाहरू विनाशका साक्षी भए। हराइरहेकाहरूसँगै कतिका जीवनका अन्तरसम्बन्धित कथाहरू अधुरा भएका छन्। आशा अनि प्रार्थना गरौं, ती फोन नलाग्ने कुनै कुनामा सुरक्षित छन् र फर्केर आउनेछन्।
जीवनको अकल्पनीय क्षतिले आज अत्यासलाग्दो शून्यता पैदा गरेको छ। हिमपहिरोपछि खण्डहर बनेको लाङटाङ गाउँ पुग्दा त्यस्तै शून्यता अनुभव भएको थियो। स्थानीयसँग कुरा गर्दा उनीहरूभित्र एउटा पीडादायी रिक्तता थियो। त्यहाँ पनि मरेर जानेहरू कथा बने। ती कथा भन्न जो बाँचेका थिए, उनीहरूभित्रको रिक्तता उनीहरूको आँखा र शब्दमा मात्र होइन, वरिपरिको हावाको तरङ्गमा समेत अनुभूत गर्न सकिन्थ्यो।
मान्छे पीडामा रुन अभिशप्त छ, तर मान्छे ज्याद्रो पनि छ। आदिम सभ्यतादेखि नै मान्छे ज्याद्रोपनाको बलले जीवन जोगाउँदै आएको छ। नेपाल वा संसारभरिकै ठूला विपद् हेर्यौं भने हामी सजिलै निष्कर्ष निकाल्न सक्छौं- ज्याद्रोपना मान्छेको नैसर्गिक गुण हो।
२०७२ सालको महाभूकम्पमा नेपालीको ‘रेजिलियन्स’ (उत्थानशीलता) का किस्साहरू विश्वभर चर्चित बने। शोक र सृष्टिलाई सँगसँगै लैजानुपर्ने मान्छेको बाध्यतालाई बढी नै रोमान्टिसाइज गर्दा हामीले समस्याको नीतिगत रूपमा दिगो समाधान गर्न धेरै ठाउँमा चुक्यौं। हामी अक्सर विपद्हरूमा यसरी चुकेका छौं। त्यसैले पीडितहरूको ज्याद्रोपनालाई भरथेग गर्न सरकारको दह्रो हात पनि चाहिन्छ।
खोज, राहत र उद्धार सँगसँगै अब घरबासको जोहो गर्नुपर्छ। भत्किएका पुलहरू जोड्नुपर्छ। गाडी गुड्ने सडक मर्मत गर्नुपर्छ। र, विनाशको रसातलबाट जीवन फेरि उठाउनुपर्छ। अहिले लास छाडेर ग्यास तान्ने वा लासका कानमा रहेका गहना तान्ने एकाध अमानवबाहेक खोज, राहत, उद्धार र पुनर्निर्माणमा सिङ्गो देश एकताबद्ध भएर लागेको छ। यो साँच्चै लोभलाग्दो छ। हामी शोक मनाउँदै छौं तर एकअर्काको घाउमा मलम पनि लगाउँदैछौं। समानुभूति भएर त हामी मान्छे–मान्छे कहलिएका हौं।
यो विनाशकारी विपद्सँगै आशा छ हामीले मानव जीवन र संरचना सुरक्षित राख्न महत्त्वपूर्ण पाठ सिक्नेछौं। ‘रेजिलियन्ट’ अर्थात् उत्थानशील संरचना होइन, अब जोखिमरहित स्थानमा वा जोखिम अनुसारका संरचनाहरू बनाउनुपर्छ। नदीको बाटो नदीलाई छाडिदिएर उसलाई शान्त हुन वा अस्तिको जस्तो क्रोधी हुन उसैको स्वतन्त्रतामा छाडिदिनुपर्छ। नत्र देश विकासको नाममा निर्माण, विनाश र पुनर्निर्माणको कुचक्रमा सधैं घुमिरहनेछ।

जस्तो कि नदी किनारमा रहेको चीनपट्टिको संरचना प्रकृतिको विनाशकारी वेगलाई टक्कर दिने मानवनिर्मित संरचना जस्तो भान हुन्थ्यो। त्यसलाई पनि भीमकाय राक्षस प्रकट भएर सर्लक्क निले जस्तो निमेषभरमै बाढीले निलिदियो। नदीले आफ्नो सिमानामा आफ्नै पिल्लर गाड्यो। मानिसले लगाएका सिमानाका तारबारहरू प्रकृतिलाई स्वीकार्य किन हुन्थ्यो र ! अहिलेको विध्वंसपछि चीन र नेपाल सिमाना वरपरका दुई संसार समान देखिएका छन्- खण्डहर।
भूपीले भने जस्तै शायद ‘हामी फगत पानीको थोपा हौं, पानीका निर्बलिया थोपा।’ नदी र हिमालका विशाल वेगसँग तुलना अयोग्य।
प्रकृति चलायमान छ। सदियौंदेखि यहाँ उत्पत्ति र विनाशको अनवरत शृङ्खला चलिरहेको छ। तर विकास र विनाशको ‘इक्वेसन’ मिलाउन नसक्दा हामीले हिमाल र नदीलाई बढी रिसाहा बनाएका छौं। हामीले हिमाल रिसाएको सोलुखुम्बुको थामेमा देख्यौं। करिब एक वर्षअघि रसुवामै पनि देख्यौं।
हाम्रा देशको शिरमा रिसले तात्तिएका हिमालका गर्भमा हिमनदी र हिमतालहरू छन्, जुन अक्सर शान्त बस्थे। अब तिनीहरू स्वभाव परिवर्तन गर्न थालेका छन्। शान्त नदी बनेर विस्तारै पग्लिने हिमालहरू पनि अब उस्तै रहेनन्। उच्च हिमाली भेगमा ‘पर्माफ्रोस्ट’ हरू विस्तारै पग्लिन थालेका छन् र भविष्यमा हाम्रा अरू हिमनदीहरू पनि यसैगरी रिसाहा र वेगवान् बन्नेछन्।
चीन र नेपाल बीचको कृत्रिम सिमानासँग ती हिमाल अनि नदीहरूलाई केही लिनुदिनु छैन। ती एउटा स्वतन्त्र आकाशले बाँधिन्छन् र प्रकृतिको भाषा बोल्छन्। अब हामीले ‘विपद् कूटनीति’ वा अरू जेसुकै नाम दिए पनि प्रकृतिको भाषा बुझ्न र दुई देश बीच हिमाल, हिमताल र नदीको जोखिमबारे निरन्तर कुराकानी गर्नु जरुरी छ।
माथिल्लो तटीय क्षेत्रको भोटेकोशी ताण्डव अप्रत्याशित थियो। तर, तल्लो तटीय क्षेत्रसम्म बाढी आइपुग्दा हामीसँग केही समय थियो- बाँच्ने र बचाउने। पूर्वसूचना प्रणाली र विपद्बारे जनचेतना फितलो हुँदा हामी चुक्यौं। प्रकृतिको क्रोधलाई कम आँक्दा भयानक दुर्घटना भयो। नदीले लखेटिरहँदा पनि सेल्फी खिच्दै र भिडियो बनाउँदै भाग्नेहरूलाई अब विपद्को ज्ञान दिने मात्र होइन, जीवनको मूल्य पनि पढाउनुपर्छ। साथै अब नीतिनिर्माताहरूले विकास गर्दा हिमाल र नदी अनि मानव बसोबासका आदिम कथाहरू पनि बुझ्नुपर्छ।
अहिले हामी सबै शोकमा छौं। पीडा अनुभव हुनु र शोक गर्नु मान्छे हुनु हो। भगवान् बुद्धले भन्नुभए जस्तै यो दुःखद् समय पनि बितेर जानेछ। तर यो समयका स्मृतिहरू जीवनपर्यन्त बाँकी रहनेछन्। रसुवाका गाउँ घुम्दा थाहा भयो- हिमालमा मरेका मान्छेहरू छोर्तेनमा सम्झना बनेर बाँच्दा रहेछन्। आशा छ हामी आत्मकेन्द्रित भएर आफ्नाहरूका लागि मात्रै होइन, विपद्मा हामीले गुमाएको सिङ्गो मानव समुदायलाई मनमा एउटा छोर्तेन बनाएर राख्नेछौं। भाग्यले बाँचेका हामी सबैले जीवनप्रति अनुगृहीत हुँदै ती ठाउँहरूलाई शून्यबाट फेरि दरिलो गरी उठाउन सकेको कोशिश गर्नेछौं।
(लेखक नेपाल सरकारको शाखा अधिकृत हुन्।)
प्रतिक्रिया 4