+
+
Shares
नाटक :

सुधाकरको न्यू मुन : जहाँ निष्ठाभन्दा किस्ता भारी बन्छ

नाटकले नैतिक स्खलन र राजनीतिक खोक्रोपनमाथि कडा व्यङ्ग्य गरेको छ ।

सापेक्ष सापेक्ष
२०८३ भदौ २५ गते १७:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सागर दाहालको कथा र मुक्तिको लेखन तथा निर्देशनमा मञ्चन भइरहेको ‘सुधाकरको न्यु मुन’ले राजनीतिक घोषणापत्र र खोक्रा आश्वासनमाथि व्यङ्ग्य गरेको छ।
  • नाटकका मूल पात्र सुधाकरले पार्टीका घोषणापत्र र भाषण लेख्छन् र पैसाका लागि दल परिवर्तन गरिरहन्छन्।
  • नाटकमा चन्द्रमाले सुधाकरलाई स्वार्थभन्दा निष्ठा र इमानतर्फ फर्किन सम्झाइरहेकी छिन्।

हरेक चुनावमा राजनीतिक दलहरूले जनतासामु बाँड्ने सपनाले भरिएका घोषणापत्र कत्तिको इमान्दार हुन्छन् ? के ती नेताहरूका आफ्नै वैचारिक मन्थन र प्रतिबद्धताका उपज हुन् वा कुनै कोठामा बसेर बैंकको किस्ता तिर्न धौधौ परेका घोस्ट राइटरले तयार पारिदिएका कोरा शब्दजाल मात्र  ?

कथाकार सागर दाहालको कथा तथा मुक्तिको लेखन र निर्देशनमा मञ्चन भइरहेको नाटक सुधाकरको न्यु मुनले यही नैतिक स्खलन र राजनीतिक खोक्रोपनमाथि कडा व्यङ्ग्य प्रहार गरेको छ । 

आउनोस् चर्चा गरौं, नाटक कस्तो छ ?

विषयवस्तु

गोपाल योञ्जनको बनेको छ पहराले यो छाती बज्दै नाटक सुरु हुन्छ । 

गीत पूरा बजिसक्दासम्म सुधाकरले धमाधम केही लेखिरहन्छ । उनी जुन वातावरणमा बसेर लेखिरहेका छन्, हेर्दा लाग्छ –  कुनै सिर्जनात्मक काम गरिरहेका छन् । तर, वास्तवमा उनले कुनै एक पार्टीका लागि घोषणा पत्र लेखिरहेका हुन्छन् । त्यो पार्टीले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई मूल विचारका रूपमा अङ्गीकार गरेको छ । 

सुधाकर, नाटकको मूल पात्र हो । उनको मुख्य काम राजनीतिक दलका घोषणापत्र तथा नेताका भाषण लेख्नु हो । तर, उनी आर्थिक लाभले लोभिएर विभिन्न राजनीतिक दल परिवर्तन गरिरहन्छन्  ।  यस्तो लाग्छ – उनको आदर्श नै पैसावाद हो । 

एक्लो, लोभी र केही स्वार्थी सुधाकरको जीवनमा सम्झाइबुझाइ गर्ने अर्का पात्र छन् – चन्द्रमा । ती काल्पनिक पात्र हुन् । उनले सुधाकरलाई पार्टी नछाड्न, स्वार्थी भएर पैसा नकमाउन अनेकन् भनिरहन्छिन् । तर, के सुधाकरले उसको कुरा मान्छ ? के ती पात्रका कारण उनी सुध्रिन्छन्  ? अथवा उनीहरूबीच केही नयाँ हुन्छ ?

यी यस्तै प्रश्नहरूको उत्तर नै सुधाकरको न्यू मुन हो । 

नाटक रैखिक शैलीमा अघि बढ्छ । पूर्णत कथा तिनै सुधाकर र चन्द्रमाको वरिपरि घुम्छ । यसका लागि नाटकको सुरुआतमै रोचक घटना घटाइएको छ । सुधाकरले लेखेर तयार पारेको घोषणापत्रको मस्यौदा मुसाले लैजान्छ । मस्यौदा हराएपछि नयाँ पात्र र घटनाक्रमको शृङ्खला सुरु हुन्छ ।

त्यो क्रममा भावना, विचार, नाम अनि नैतिकता कसरी परिस्थितिको दास हुन्छन् भन्ने मज्जैले देखाइएको छ । 

जस्तो,

कार्ल मार्क्सको क्यापिटलका उद्धरणहरू छाट्दै पुँजीवादले मजदुरको रगत चुसेको भाषण गर्नेले व्यवहारमा भने किस्ताबन्दी र सुविधाकै हिसाब किताब गरिरहेको कुरा देखिन्छ । कसरी हचुवाको भरमा सपनाहरू बेचिन्छन् ? भन्ने कुरा देखिन्छ । कसरी दलहरूले घोषणापत्रमा हचुवाका भरमा सपनाहरू देखाउँछन् भन्ने खुलासा हुन्छ । 

त्यही क्रममा केही राजनैतिक व्यङ्गहरू समेत खरो रूपमा आउँछन् ।

विशेषत, व्यक्तिगत स्वार्थका लागि वैचारिक निष्ठा बेच्ने बौद्धिक वर्ग र सम्भव नहुने चुनावी आश्वासन बाँड्ने सिद्धान्तहीन दलीय राजनीतिमाथि तिखो व्यङ्ग्य नाटकको मुल विषयवस्तु हो ।  र यसको अग्रभागमा रहेकाहरूको द्वन्द्वलाई नाटकले दुई विपरीत चरित्रमार्फत विशेष उतारेको छ । 

पहिलो त सुधाकर नै हुन् । उनी नेपाली समाजका त्यस्ता बौद्धिक र पेसेवर वर्गका प्रतिनिधि हुन्, जसले घरको किस्ता तिर्न, जग्गा जोड्न र गाडी किन्नका लागि आफ्नो विवेक र कलमलाई सत्ता र पैसाको पाउमा बुझाएका छन् । उनी जुनसुकै दलको घोषणापत्र लेख्न तयार हुन्छन् र त्यसलाई आफ्नो मेहेनतको कमाइ भन्दै पन्छाउन खोज्छन् । 

अर्कोतिर चन्द्रमा निष्ठा र इमान्दारिताको प्रतिनिधित्व गर्छिन् । घर र सम्पत्ति जोड्ने नाममा सुधाकरले गरिरहेको सम्झौतामा चन्द्रमाले प्रश्न गरिरहन्छन् । उनी अरुका लागि अदृश्य छन् । काल्पनिक छन् । खासमा हरकोहीसँग आ-आफ्नो चन्द्रमा हुने गर्छ । उसलाई कति सुन्ने, कति नसुन्ने त्यो कुरा व्यक्ति र परिस्थिति तय गर्छन् ।

त्यस्तै, प्रेम, विवाह, कर्जा, भौतिकवादी होडबाजी, सहरी जीवन जस्ता विषय नाटकमा सहायकका रूपमा आएका छन् ।

प्राविधिक दृष्टि

नाटकको सबैभन्दा राम्रो कुरा यसको सेट हो । सेट निकै चिटिक्कको देखिन्छ । मिनिमल पनि देखिन्छ । सेटमा प्रयोग गरिएको निलो र पहेँलो रङको प्रयोगले यो कोठा एउटा लेखकको हो भनेर आभाष मिल्छ । 

त्यसमाथि लाइटिङको काम राम्रो गरिएको छ । कोठाको परिवेश र पात्रहरूको आन्तरिक तनावलाई जीवन्त बनाउन लाइटिङको सक्दो प्रयोग गरिएको छ । विशेष गरी पात्रहरूमा गरिएको स्पट लाइटिङ र चन्द्रमाका लागि गरिएको लाइट उत्कृष्ट छ । 

देव न्यौपानेको साउन्ड डिजाइनले नाटकको व्यङ्ग्यात्मक मुड र नाटकीय घटनाक्रमलाई गति दिएको छ । कल्पनाको गगन, मलाई खुत्रुकै पार्यो जेठान तिम्रो बहिनीले जस्ता केही पुराना गीतको प्रयोग पनि सुहाउँदो छ । यद्यपि केही ठाउँमा त्यसो नगरिएको भए हुन्थ्यो भन्ने भान हुन्छ । 

नाटकमा जम्मा ५ जना देखिने पात्र छन् । सागर दाहाल, शकु शाह, आहान भण्डारी, रोहित श्रेष्ठ र सुजता गुरुङ । सागर दाहाल र शकु शाहको केमेस्ट्री रोचक देखिन्छ । उनीहरूका संवाद र केही हर्कतहरू सम्झनलायक छन् । मुसाको भूमिकामा रहेका आहान भण्डारीले यस जनावरको स्वभावलाई टिपेका छन् । रोहित श्रेष्ठ र सुजता गुरुङको अभिनय ‍औसत छ। 

नाटकमा पात्रहरूबीचको तिखो नोकझोक र वैचारिक बहसले दर्शकलाई बाँधेर राख्छ । यद्यपि कतिपय ठाउँमा संवाद केही बनावटी सुनिन पुगेको छ । जसमा काम गर्न सकिने थियो । 

समग्रमा तिखो र समसामयिक व्यङ्ग्यलाई मञ्चमा उतार्नु सबैभन्दा उत्कृष्ट काम हो । जसमा निर्देशक मुक्ती पूर्णत सफल छन् । उनले कतिपय ठाउँमा सोझै त कतिपय ठाउँमा बिम्बको सहायतामा यो कुरा भनेका छन् । जस्तो, एकातिर कोठामा मस्यौदा चोर्ने वास्तविक मुसा छ भने अर्कातिर देशको सम्भावना, बजेट र जनताको भविष्यलाई भित्रभित्रै चोरिरहेका राजनीतिक मुसाहरू छन् ।

अर्कोतिर, नाटकीय रूपान्तरणको हतारो केही देखिन्छ । जस्तो, दलका प्रतिनिधिहरूको आगमन र सुधाकरको विचार परिवर्तन अलि हतारमा र दोहोरिएको जस्तो देखिन्छ । त्यसमा निर्देशकले केही काम गर्न सक्ने ठाउँ राखेका छन् । 

यसरी यो नाटक नेपाली राजनीतिको रङमञ्चमा दैनिक देखिने दृश्यहरूको कोलाज बनेको छ । 

बिकाउ बुद्धिमत्ता, खोक्रा दलीय आश्वासन र सिद्धान्तहीन राजनीतिप्रति तिखो प्रश्न उठाउन नाटक सफल छ । 

विचार र इमान हराउँदै गएको वर्तमान समयमा नाटकले उठाएको नैतिक प्रश्न अत्यन्तै प्रासंगिक छ ।

फोटो : चन्द्रबहादुर आले/अनलाइनखबर

नाटक : सुधारको न्यू मुन
कथा : सागर दाहाल
लेखन/निर्देशन : मुक्ति
नाटकघर : ओस्कार कलेज, साधना घर
मञ्चन अवधि : २७ भदौसम्म
मञ्चमा : सागर दाहाल, शकु शाह, आहान भण्डारी, रोहित श्रेष्ठ र सुजता गुरुङ

 

 

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?